डा. सुमिस्ति शाक्य
स्त्रीरोग विशेषज्ञ
धुलिखेल अस्पताल
- धुलिखेल अस्पतालले महिनावारी सुक्ने अवस्थामा महिलाहरुमा देखिने समस्या, त्यसको न्यूनिकरण तथा उपचारका सन्दर्भमा आयोजना गरेको सप्ताहब्यापी अभियानको बारेमा बताईदिनुस् न ?
महिनावारी सुक्ने भनेको पहिले महिनावारी हुँदा १९५० तिरको महिलाहरुको उमेर हेर्ने हो भने जम्मा ३० वर्षको आयु रहेको पाइन्छ । अहिले २०२५ सम्म आईपुग्दा महिलाहरु ७२ वर्षसम्म बाँचेका छन । २०५० सम्म महिलाहरुको ७९ वर्ष सम्म आयु रहनेछ भनिएको छ । यसबाट पहिलेको तुलनामा अहिले ४७ देखि ४८ उमेर समूहमा महिनावारी सुक्छ भनिएको छ । तर सामान्यतया ४५–५० वर्षसम्म महिनावारी सुकेको पाइन्छ । हामीले महिनावारी सुकिसके पछिको पछाडिको जीवन हेर्ने हो भने अर्थात एक तिहाई जीवनलाई हेर्ने हो भने अब बाँकीको जीवन कसरी जिउने, महिनावारी सुक्दा के के असर पर्छ भन्ने कुरा अगाडि नै बुझ्यो भने र हामीले पनि समयमै समस्याको स्क्रिनिङ गरेर बाँकी जीवन सहज तरिकाले जिउनको लागि यो मेनोपज अभियान थालिएको हो ।
- महिलाहरुले मेनोपज परीक्षण अनिवार्य गर्नुपर्छ ?
पहिला पहिला विरामीहरुमा स्वास्थ्य सेवाको पहुँच पुगेको थिएन । जसको कारण अल्पायूमै उपचार नपाएर मर्नुपर्ने अवस्था थियो । तर अहिले समय त्यस्तो छैन । अहिले स्वास्थ्य क्षेत्रमा धेरै प्रगति भएको छ । जसको कारण समयमै उपचार पाएर धेरै वर्षसम्म बाँच्न सक्ने भएका छन् । हरेक समस्याको शल्यक्रियाबाट उपचार हुन थाल्यो जसको कारण औसत आयु बढ्दै गयो । तर आयु बढ्दै गयो भन्दैमा सबै चिज राम्रो नै हुन्छ भन्ने छैन । बाँकीको जीवन कसरी गुणस्तर बनाउने भन्ने कुरामा निर्भर हुन्छ । जस्तो महिनावारी सुकिसके पछिको समस्याहरु के के छन् त ? महिनावारी हर्माेनको कारणले सुक्ने गर्दछ । हर्माेनको कारण पछि गएर मुटुमा, हड्डीमा लगायत शरीरको अन्य कुनै अंगमा कस्तो असर गर्छ भन्ने बारेमा समयमै पहिचान गर्न सकिएमा र त्यसको उचित उपचार हुन सकेमा बाँकी जीवन कसरी प्रभावकारी बनाउने भन्ने हो ।
- महिलाले महिनावारी सुकेको कतिबेला थाहा हुन्छ ? वा कतिबेला अस्पताल आउने ?
सामान्यतया १२ महिनादेखि महिनावारी भएन भने त्यो अवस्थामा महिनावारी सुकेको भन्छौं । महिलाहरुको महिनावारी अन्तिम हो भनेर थाहा पाउन सकिँदैन । महिनावारी सुक्नु केहि महिना भने गडबडी हुन्छ । अनियमित हुँदै जान्छ । यसको लागि उचित उपाय भनेको क्यालेण्डरमा मार्क गर्न सकिन्छ । कुन दिन महिनावारी भएको हो सो चिन्ह लगाएमा भने महिनावारी सुकेको थाहा पाउन सकिन्छ । अर्काे कुरा महिनावारी सुकेको ६ महिनापछि फेरि महिनावारी भयो भने त्यो राम्रो होइन । त्यस्तो अवस्थामा पाठेघरमा क्यान्सर हुने समस्या हुन सक्छ । यसको लागि सम्बन्धित डाक्टरकहाँ आएर परामर्श लिनु आवश्यक हुन्छ ।
- महिलाहरुमा महिनावारी रोकिनु गभर्वतीको लक्षण पनि पो हो कि ?
यो हुन पनि सक्छ । महिनावारी नसुकेसम्म हरेक महिलाहरु गर्भवती हुने सम्भावना हुन्छ । परिवार नियोजनको साधन प्रयोग नगरेको खण्डमा यसको सम्भावना प्रचुर हुन्छ । कतिपय महिलाहरु आत्तिएर आएको पनि देख्छु । बच्चाहरु ठूलो भएको छ तर पेटमा गर्भ आयो कि भनेर चिन्तित हुनुहुन्छ । त्यस्तो अवस्थामा के भन्छु भने जबसम्म महिनावारी रोकिँदैन अथवा ४५–५० वर्षको जुन उमेर छ त्यसको १–२ वर्ष सम्म अस्थायी साधन प्रयोग गर्न सुझाव दिन्छु । अस्थायी साधन प्रयोग नगरी सम्बन्ध रहेको खण्डमा चाहिँ चेकजाँच गर्नु नै पर्छ । महिनावारी सुक्यो भनेर ढुक्क हुनुपर्ने अवस्था चाहिँ छैन । यसको समस्याको समाधान भनेको नै अस्थायी साधन प्रयोग गर्नु हो ।
- महिनावारी सुकेपछिका समस्याहरु के के आउँछन् ?
महिनावारी सुकेपछिका स्टेजहरु रहेका छन् । जुन चाहिँ महिनावारी सुक्नु अगावै महिनावारी गडबड हुने एउटा हो भने अर्काे १२ महिनादेखि महिनावारी सुकेको अवस्था । यो अवस्थामा भने केहि समस्याहरु आउन सक्छन् । यो स्टेज अनुसार फरक फरक समस्या देखा पर्छ । महिनावारी सुक्न लागेको सुरुको अवस्थामा धेरै गर्मीको अनुभव हुने, शरीरमा तापक्रम बढेको अनुभव हुने, यस्तो अवस्थामा महिलाहरुमा एन्जाईटी भएको जस्तो लक्षण देखा पर्ने हुन्छ । मुटुको धड्कन बढेजस्तो, छट्पटाहट बढ्ने हुन्छ । त्यसैगरी कुनै पनि कामप्रति केन्द्रित हुन सक्दैन । यसले दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।
यसैगरी महिनावारी रोकिसके पछि पाठेघर खुम्चिदै जाने, हर्माेनहरु कम हुँदै जाने हुँदा पाठेघर झर्ने समस्या देखापर्न सक्छ । हर्माेनको कारण गन्हाउने पानी आउने, चिलाउने, संक्रमण देखिने जस्ता समस्या आउन सक्छ । त्यसैगरी खोक्दा पिसाब चुहिने, रोक्न नसक्ने, हड््डीमा समस्या, कोलेस्ट्रोलको कारण मुटुमा समस्या लागयत धेरै समस्या देखापर्न सक्छ । यी समस्याहरुमा आफ्नो घरपरिवार, साथीसंगी, छिमेकी लगायतले बुझेको खण्डमा धेरै न्युनीकरण गर्न सकिन्छ ।
- महिनावारी सुक्दैछ भन्ने लक्षणहरु कसरी थाहा पाउने ?
साधारणतया महिनावारी सुक्नु ४÷५ वर्ष अगाडि नै गर्मी हुने लक्षण थाहा पाइन्छ । त्यससँगसँगै महिनावारी गडबढ पनि भइरहेको हुन्छ । कोहि कसैलाई एन्जाईटीको लक्षणहरु पनि देखा पर्न सक्छ । यो सुरुको लक्षणहरु हुन् । र यसको लक्षणका आधारमा कुनै पनि डक्टरले महिनावारी सुक्न लागेको हो भन्ने कुरा बताई पनि दिनुहुन्छ । तर महिलासम्बन्धी कुनैपनि लक्षण देखा परेमा गाइनेकोलोजिस्टमा परिक्षण गरेको राम्रो हुन्छ ।
- सप्ताहब्यापी अभियान अन्तर्गत शिविरमा के के परिक्षण हुन्छ ?
यस हस्पिटलमा अरु बेलामा पनि महिनावारी सुकेको उपचार त भइरहन्छन् नै । तैपनि हामीले यस हप्ता चाहिँ मेनोपजकै लागि भनेर अभियानको रुपमा ल्याएका छौं । यसमा हामीले ४० वर्षभन्दा माथिका उमेरका र केहि महिनावारी सम्बन्धी समस्या भएका महिलाहरुको विशेष उपचार तथा परामर्श दिन्छौं । हामी महिलाहरुको ब्रेस्ट लगायत स्क्रिनिङ पनि गछौं । स्क्रिनिङमा हर्माेन टेष्ट, ब्रेस्ट क्यान्सर लगायत हेर्छौं । कतिपय समस्या महिनावारी सुकेको कारण मात्र नभै अन्य कारणले पनि हुनसक्छ । त्यसलगत्तै हामीले अल्ट्रासाउण्ड÷एक्स रे गरेर पाठेघरको क्यान्सर छ छैन पत्ता लगाउँछौं । त्यसको अलावा एजुकेशन सेसन भनेर पनि राखेका छौं । त्यसमा महिनावारी सुकेपछि हुने समस्या तथा सुक्नु अगावै देखिने लक्षणको बारे सचेतनामूलक जानकारी दिन्छौं ।
त्यस्तै यस अभियानमा लामो समयदेखि महिनावारी सुकेका महिलाहरुले पनि सहभागी हुन पाउनुहुनेछ । उहाँहरुले आफूमा भएको समस्या लिएर हामीकहाँ परामर्श लिन सक्नुहुनेछ । जसको लागि छुट्टै महिला क्लििनिकको व्यवस्था गरिएको छ ।
- महिनावारी सुकेको अवस्था तर अस्पताल आएर उपचार गर्न नसक्नेहरुका लागि के गर्न सकिन्छ होला ?
यसको लागि घरमै बसेर पनि केहि रोकथाम गर्न सकिन्छ । लक्षण अनुसार धेरै गर्मी भएको खण्डमा विस्तारै लुगा खोल्न सकिन्छ । गर्मी बनाउने खानेकुराहरु कम खाने । शारीरिक व्यायाम गर्ने । तौल बढ्न नदिने । खानपिनमा ध्यान दिने । सन्तुलित आहार गर्ने । योग ध्यान गर्ने जसले स्ट्रेस हुन दिँदैन । यति गर्दा गर्दै पनि गाह्रो भएको छ भने अस्पताल नै आएर परामर्श तथा उपचार गर्नुपर्ने हुन्छ ।
- पाठेघर फ्याँक्ने भ्रमलाई के भन्नुहुन्छ ?
महिनावारी रोकिनु भनेको प्राकृतिक कुरा हो । पाठेघर निकाल्नु नै समस्याको समाधान भने होइन । उल्टो हानि हुन पनि सक्छ । यो भनेको अप्राकृतिक रुपमा महिनावारी सुकाउनु हो । यसले भविष्यमा समस्या झन् निम्त्याउँछ । विना कारण विना समस्या पाठेघर नै निकाल्नु राम्रो होइन ।
विश्व मेनोपज दिवस मनाइरहँदा महिनावारी सुक्नुको न्यूनीकरणका लागि सरोकारवाला निकायहरुको भूमिका के हुन सक्छ ?
मुख्यकुरा महिनावारी सुक्नु भनेको बुढेसकाल निम्तिनु हो भन्ने गलत धारणा राख्नु भएन । महिलाहरुमा देखिने यो समस्या जटिल समस्या होइन । यसलाई समयमै पहिचान गरी परामर्श लिन सकेको खण्डमा बाँकी जीवन सरल र सहज हुनेछ ।
- शारिरीक सम्बन्धमा महिनावारी सुक्नुले केहि असर गर्छ ?
महिनावारी सुके पछि शारिरीक सम्बन्धमा हर्माेनहरुको गडबढीले गर्दा केहि असर आउन सक्छ । महिलाहरुमा यौन सम्पर्क राख्ने इच्छा भने क्रमशः घट्दै जान्छ । अर्काे कुरा शारीरिक सम्पर्कमा जुन तरल पर्दा आउनुपर्ने हो त्यसको कमी हुन जान्छ अर्थात सुख्खापन आउँछ । त्यसले गर्दा दुख्ने पोल्ने हुन जान्छ । त्यसले गर्दा श्रीमान् श्रीमतीको पारिवारीक सम्बन्धमा समस्या भने आउन सक्छ ।
- अन्त्यमा,
हामीले विश्व मेनोपज दिवसको अवसर पारेर धुलिखेल अस्पतालमा महिलाहरु महिनावारी सुक्ने समस्याको क्लिनिक चलाईरहेका छौं । तपाई सम्पूर्ण महिलाहरु जो यसबाट पीडित हुनुहुन्छ । कृपया समयमै आफ्नो समस्याको पहिचान गरी स्वास्थ्य लाभ लिई बाँकी जीवन सरल र सहज जिउनुहुन अनुरोध गर्दछु । हामी उहाँहरुलाई परामर्श तथा उपचारमा सहज वातावरण दिन्छौं ।
– प्रस्तुती लोकबहादुर थापा









