![](https://www.cheshtaweekly.com.np/img/News/62910.jpg?t=1891030789)
ईश्वरवल्धव सापकोटा
अध्यक्ष
राष्ट्रिय युवा संघ, काभ्रेपलाञ्चोक
– तपाँईको राजनीतिक यात्राको प्रारम्भ ?
मेरो जन्म साविक रविओपी गाविसमा राजनीतिक परिवारमा भएको थियो । त्यतिबेला राजनीतिक चेतना भर्न गाउँभरिका मानिस आँगनमा भेला भएर, क्यासेट बजाएर जननेता मदन भण्डारीका भाषणहरु सुनाउने गरिन्थ्यो । घरमा राती अबेरसम्म भुमिगत बैठकहरु सञ्चालन हुन्थे । म बुझेर पनि नबुझेर पनि नेताका कुरा सुनिरहेको हुन्थे । अहिले सँम्झिदा लाग्छ त्यतिबेला बैठकमा प्रयोग हुने शब्दहरु गहकिला रहेछन् । मेरो सानो मस्तिष्कले ती कुराहरु बुझ्ने थिएनन । समयक्रम सँगै अगाडि बढ्ने क्रममा नेकपा एमाले पार्टी प्रतिको झुकाव बढ्दै गयो । विभिन्न राजनीतिक अनि सामाजिक परिवर्तन अँगाल्दै निरन्तर सक्रिय भईरहेको छु ।
– राष्ट्रिय युवा संघमा कसरी आबद्ध हुनुभयो ?
राष्ट्रिय युवा संघमा २०६८ साल देखि मेरो प्रवेश भयो । शुरुमा रविओपी गाउँ कमिटीमा आवद्ध भएँ । दुई कार्यकाल गाउँ कमिटीमा रहेर काम गरें । क्षेत्रिय कमिटी सचिव, उपाध्यक्ष हुँदै जिल्ला अध्यक्षको जिम्मेवारीमा पुगको हुँ ।
– तपाईं निर्वाचित भए पश्चात जिल्ला कमिटी के ग¥यो ?
दशांै जिल्ला अधिवेशनबाट म अध्यक्षमा निर्वाचित भएँ । जिल्ला अधिवेशन निकै लामो समय पछिको अधिवेशन थियो । युवाहरुको भावनालाई सम्बोधन हुने किसिमको कार्यक्रम गर्ने निर्णय गरियो र तत्कालै ६ सय युवाको प्रत्यक्ष सहभागिता रहेको फुटसल प्रतियोगिता सम्पन्न गरियो । रक्तदान, वृक्षारोपण, सामाजिक क्षेत्रमा स्वयंसेवकीय भुमिकाहरु सँगै अगाडी बढाउँदै छौं । बनेपा, पाँचखाल, मण्डन, भुम्लु, चौरी लगायतका पालिकाहरुमा अधिवेशन तथा भेला सम्पन्न गरि त्यहाँका कमिटीहरुलाई चलायमान बनाएका छौ । अन्य पालिकाहरुमा पनि अधिवेशन तयारी र छलफल भइरहेका छन । अहिले हामी विभिन्न विधाका फरक क्षमता र फरक भुमिकामा रहेका विभिन्न विधाका उत्कृष्ट युवाहरुलाई सम्मान गर्ने कार्यक्रमको तयारीमा छौ ।
– युवा संघ भन्ने वित्तिक्कै जुलुस गर्ने, टायर बाल्ने र उग्र आन्लोलन गर्ने भन्ने बुझाई बदलिएको हो ?
पार्टीका जनसंगठनहरु मध्ये विशेसत युवा विद्यार्थीलाई झडा बोक्ने, जुलुस गर्ने, टायर बाल्ने तथा उग्र आन्लोलनका लागि मात्रै प्रयोगमा आउँछन कि भन्ने बुझाई थियो । हिजो कुनै बेला त्यो अवस्था र आवश्यकता पनि थियो । आज परिस्थिती बदलिएको छ । नयाँ संविधान अनुसार गणतान्त्रिक मुलक निर्माणका लागि भएका प्रयासमा हाम्रो पार्टीको अभियान सम्मृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाँक्षा सम्बोधन हुने गरि युवा संघ अघि बढिरहेको छ । युवाहरुको हक हितका लागि, मुलुक परिवर्तनका लागि युवासंघ रचनात्मक र संगठनात्मक कार्यका साथ अघि बढिरहेको छ । राजनीतिक, सामाजिक रुपमा कुनै पनि संयन्त्रद्वारा जनताको अधिकार माथी प्रहार हुने अवस्था रह्यो भने युवा संघ राजनीतिक प्रतिकारका निम्ति सधै तयार छ । अहिले उत्पादन, उद्योग, सिप, रचनात्मक कृयाकलपामा युवासंघ कृयाशिल छ ।
– अहिले घोषणा गरिएको युवा सम्मान के हो ? किन गर्दै छ युवा संघले ?
शैक्षिक, कृषी, खेलकुद, कला संस्कृती र साहित्य, वन वातावरण र पर्यटन, उधमशिलता, बैक बितिय, विज्ञान तथा सुचना प्रविधी, पत्रकारिता लगायतका क्षेत्रबाट उत्कृष्ट १५ जना ४० वर्ष मुनिका काभ्रेली युवाहरुलाई युवा संघले सम्मान गर्दैछ । उक्त अभियानमा सहभागी हुन इच्छुक युवाहरुका लागि अनलाइन आवेदनको ब्यवस्था गरिएको छ । भाद्र १६ गतेसम्म फारम भर्न सकिने ब्यवस्था गरिएको छ । २०८१ असोज ३ गते संविधान दिवसको अवसर पारी विशेष समारोहका विच जिल्लाका उत्कृष्ट १५ युवाहरुलाइ सम्मान गरिनेछ । यो कार्यक्रम मार्फत युवाहरुको सशक्तिकरण र समृद्धीको माध्यम बन्ने विस्वास लिएका छौ । कार्यक्रमले युवाहरु समाजका विभिन्न क्षेत्रहरुमा उत्कृष्ट नेतृत्व गरिरहेका छन भन्ने उदाहरण प्रस्तुत गर्नेछ । स्वदेशमै पनि सम्भावना देखाउने कार्यक्रमका रुपमा समेत हामिले लिएका छौ । यस्तै युवाहरुको उत्कृष्ट र प्रेरणात्मक उदाहरणहरुले अरु युवाहरुलाइ समेत हौसला प्रदान गर्नेछ । फाराम भर्न बाँकी युवाहरुले पनि यो कार्यक्रममा सहभागि हुन सक्नु हुनेछ ।
– अन्त्यमा युवाहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
सवैभन्दा ठूलो जनसंख्या युवाहरुको छ । ठुला– ठुला परिवर्तनहरु युवाका कारण मात्र सम्भव भएका छन । देश युवाको हातमा छ । आफ्नो अधिकार र सामाजिक दायित्वहरु बुझ्दै दृढईच्छा शक्ति र आत्म विस्वासका साथ अघि बढ्नुस । तपाईहरुको साथमा युवा संघ छ ।
–प्रस्तुती : विकास तिमल्सिना