2025 January 19/ 04:52: 21am

डा.अम्बुभवानी कार्की
संस्थापक क्याम्पस प्रमुख 
तेजगंगा बहुमुखी क्याम्पस, पनौती 

- कक्षा १२ को परीक्षाफल आइसकेको छ, यस सन्दर्भमा तेजगंगा क्याम्पस कसरी ब्याचलर तहको अध्ययनका लागि तयारी गरिरहेको छ ? 
           तेजगंगा बहुमुखी क्याम्पसले विद्यार्थीहरुको व्यक्तित्व विकासको लागि जोड दिदै आइरहेको छ । त्यस अन्तर्गत विद्यार्थीहरुलाई कसरी पढाईमा ध्यान केन्द्रित गराउने भन्ने कुरामा चिन्तन गरिरहेका छौं । अहिलेका विद्यार्थीहरु पढाईमा भन्दा बढी अतिरिक्त क्रियाकलापमा बढी ध्यान गएको हुनाले त्यसको समाधान के हो भन्ने विषयमा ध्यान केन्द्रित रहेको छ । हाम्रो क्याम्पस अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्राप्त ९त्तब्ब्० प्राप्त क्याम्पस भएकोले व्याचलर लेभलमा विद्यार्थीहरुको आकर्षण पनि छ । क्युएए प्राप्त काभ्रेमा दुईवटा मात्र क्याम्पस रहेका छन् । जिल्लाको दोश्रो तेजगंगा बहुमुखी क्याम्पस हो । हामी यसलाई थप गुणस्तर बनाउनको लागि अघि बढेका पनि छौं । क्युएए प्राप्त क्याम्पसले कोर्षमा रहेको बाहेक अन्य विषयहरु पनि पढाउने अधिकार राख्छ । पछिल्लो समय विद्यार्थीहरु कक्षा १२ उत्तीर्ण भए पछि विदेशिने लहडले गर्दा हामीलाई अलि गाह्रो बनाएको छ । विदेश नजाऊ पनि भन्न सकिने अवस्था छैन । 

- तेजगंगा क्याम्पसमा अध्ययनरन विद्यार्थीले विदेशमा पनि सोहि विषयमा अध्ययनलाई निरन्तरता दिन पाउँछ ?
          हाम्रो क्याम्पसमा जुन विषय पढिरहेका छन् विदेशमा रहेका कलेजहरुमा पनि सोहि विषयमा अध्ययन गर्न पाउँछ । क्युएए प्राप्त भनेको त्यहि हो । क्युएए प्राप्त क्याम्पसलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ । 

- तेजगंगा बहुमुखी क्याम्पसमा कुन कुन विषयमा पढाई भइरहेका छन् ?
          हामीकहाँ आर्टस् अन्तर्गत आरडी र सोसोलोजी, कमर्स र एजुकेशनमा अँग्रेजी र गणित, जनसंख्या र नेपाली विषयमा रहेर पढाई हुन्छ । त्यसैगरी होटल म्यानेजमेन्ट पनि पढाई हुन्छ ।

- विद्यार्थीहरु किन नेपालमै टिक्न सकिरहेका छैनन् ?
          विद्यार्थीहरुमा पैसा कमाउने र मस्ती गर्ने मनसायले जरो जाडेको अवस्था छ । यसमा अलिअलि अभिभावकको पनि कमी कमजोरी हो जस्तो लाग्छ । पहिले अभिभावकहरुले छोराहरुको शिक्षा र जीवनस्तरलाई ध्यान दिन्थे भने अहिले छोराछोरीहरुको आवश्यकतालाई प्राथमिकता दिएको पाइन्छ । अर्काे कुरा साथीभाई छरछिमेकमा पनि विदेशिने होड चलेको कारण नेपालमा विद्यार्थीहरु खासै अध्ययन गर्न रुचाउँदैनन् ।

- यसको कमजोरी पक्ष चाहिँ के हो त ?
          राज्यले व्यवहारिक र रोजगारमूलक शिक्षा दिन सकेन । यसमा राज्यको पनि कमीकमजोरी छ । विद्यार्थीको लागि पढाईसँगै कमाई पनि सँगसँगै हुने खालको शिक्षा चाहिन्छ । तर हाम्रो क्याम्पसमा व्याचलर तहमा अध्ययन गर्ने प्रायः सबै रोजगारी नै छन् । तर पनि उनीहरु सन्तुष्ट भने छैनन् ।

- क्याम्पस आफैले यो खालको शिक्षा प्रदान गर्न सक्छ ?
       एउटा विद्यार्थीले ४० लाखसम्म ऋण गरेर काम गर्ने खालको सुविधा पनि विश्वविद्यालय अनुदान आयोगले प्रदान गरेको छ । तर विद्यार्थीहरुको त्यतातिर ध्यान नै छैन । सबैभन्दा दुःख लाग्दो कुरा भन्नुपर्दा पनौती नगरपालिकाले विद्यार्थीहरुको लागि छात्रवृत्ति बापतको रकम चेकमार्फत दिइएको छ । तर त्यो चेकको रकम क्याम्पसमा आएर फि तिरेको छैन कि जापानीज भाषाको लागि प्रयोगमा आएको छ । राज्यले पनि के गल्ती गरेको छ भने छात्रवृत्ति मार्फत आएको रकम संस्थागत भन्दा पनि विद्यार्थी केन्द्रित रहेको पाइयो । जसले गर्दा विद्यार्थीहरुको पकेट खर्चको लागि दिइएको जस्तो भयो । राज्यले पनि शैक्षिक संस्थाहरुसँग समन्वय नगरेको पाइयो । यसले गर्दा विद्यार्थीहरुमा विदेशमा जानको लागि थप प्रोत्साहन मिल्न जान्छ । नेपालको पढाई प्रति आस्था र विश्वास नै छैन विद्यार्थीहरुमा ।

- शैक्षिक नीतिले गर्दा पनि विद्यार्थीहरुमा असर पर्न गएको हो कि?
            ब्याचलर तह अन्तर्राष्ट्रिय स्तरमा ४ वर्षको छ । यो पढाईको हिसाबले अति राम्रो पनि छ । तर पछिल्लो समय विद्यार्थीहरुले यसलाई लामो समय मानिरहेको अवस्था छ । ४ वर्ष पढिसकेपछि विद्यार्थीहरु सक्षम पनि हुन्छन् । यो राम्रो पक्ष पनि हो । तरैपनि शिक्षा नीति कमजोर चाहिँ छ नै ।

- व्याचलर तहमा अन्तिम चार वर्षसम्म विद्यार्थीहरु रहिरहन्छन् ?
          व्याचलरमा १०० जना विद्यार्थीहरु भर्ना भएका छन् भने अन्तिम ४ वर्षमा ३२÷३३ जनाले मात्र परीक्षा दिन्छन् । अवस्था नाजुक छ । यो देशैभरीको अवस्था हो । देशैभरी उच्च शिक्षा पढ्न नचाहिरहेको अवस्था छ । पछिल्लो समय टेक्निकल शिक्षामा पनि विद्यार्थीहरुको संख्या घटिरहेको छ । राज्यले यसतर्फ ध्यान पु¥याउनु आवश्यक छ । कुन शिक्षा विद्यार्थीहरुको लागि उपयोगी छ त्यो शिक्षा राज्यले भित्र्याउन सके मात्र विद्यार्थीहरु विदेशिनबाट रोकिने थियो । होइन भने विद्यार्थीहरु बाहिर जाने रोकिने वाला छैन । अर्काेकुरा पैसाको हिसाबले पनि यहाँ थोरै तलब हुने तर विदेशमा भनेजस्तो तलब आउने भएकै कारण पनि विदेशिने क्रम जारी नै रहेको छ । 

- विषयगत शिक्षकको अभावको बारेमा के भन्नुहुन्छ ?
        पछिल्लो समय मानिसहरु शहर केन्द्रित भएका छन् । सुख सुविधाको हिसाबले पनि यो स्वभाविक नै हो । हामीकहाँ पहिले गणित पढ्ने १०/१२ जना हुन्थे । तर पछिल्लो समय गणितका विद्यार्थीहरु आएकै छैन । अहिले गणित पढ्ने विद्यार्थी नआउनु भनेको भोलिका दिनमा गणित शिक्षकको अभाव हुनु हो । यसबारेमा राज्यले सोच्नुपर्ने देखिन्छ । 

- विद्यार्थी नै नभएपछि क्याम्पसहरु रहन्छन् कि रहँदैनन् ? तेजगंगाको भावी योजना के छ ?
            अहिलेको समय भनेको संक्रमणकालीन अवस्था हो । पछि विस्तारै मिलेर जान्छ । हामीले खाली सरकारलाई मात्र दोषारोपण गर्छाैं । हुन त आधा जस्तो हिस्सा त सरकारलाई पनि जान्छ । हामीमा पनि चेतना आउनु जरुरी छ । हामीले गरेको पनि राज्यको लागि हो । सार्वजनिक संस्था भनेको राज्यको सम्पत्ति हो । राज्यले पनि यस विषयमा ध्यान पु¥याउनु पर्छ । हाम्रो काभ्रे जिल्लामा पब्लिक क्याम्पसहरुको उत्थानको लागि नगरपालिकाले कस्तो भूमिका खेल्यो भन्ने पनि मुख्य कुरा हुन आउँछ । हामीले कतिसम्म धान्न सक्छौ भन्ने हो । यहाँ राजनीतिकरण गर्नुपर्ने जरुरी छैन । शिक्षाको विकास हुनु भनेको देशको पनि विकास हुनु हो । यसतर्फ नगरपालिकाका जनप्रतिनिधिहरुको पनि ध्यान जान जरुरी देखिन्छ ।

- तेजगंगामा पढ्न चाहने विद्यार्थीहरु कसरी पढ्न सक्छन् ?
           साधारणतया एउटा फर्म भरेर पढाईलाई अगाडि बढाउन सक्नुहुन्छ । छात्रवृत्तिको पनि योजना राखेको छ क्याम्पसले । विभिन्न प्रकारका छात्रवृत्तिका कार्यक्रमहरु छन् । तेजगंगाले कसरी हुन्छ आफ्ना विद्यार्थीहरुलाई सक्षम बनाउने, सबल बनाउने भन्ने तर्फ अग्रसर रहेर पढाइरहेको छ । हामी पढाईलाई धेरै ध्यान दिन्छौं । अर्काेतिर राज्यले पनि विद्यार्थीहरुका लागि केहि सोच्नु आवश्यक देखिन्छ । विद्यार्थीहरु विदेश पलायन हुनबाट जोगाउन राज्यले केहि सोच्न जरुरी देखिन्छ । प्रस्तुतीः लोकबहादुर थापा