2026 August 14/ 11:54: 05pm

    धुलिखेल/देशभर नियन्त्रणमा आएको बर्डफ्लु महामारीले उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लालाई समेत प्रभावित बनाएको छ । कोशी प्रदेशबाट २०८२ चैतमा सुरु भएको महामारी २०८३ असार मसान्तसम्म काभ्रेपलाञ्चोकसहित विभिन्न स्थानमा फैलिएको थियो ।
    तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा महामारी फैलिएको सरोकारवाला निकायका अधिकारीहरूले बताएका छन् । उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकमा बीपी तथा अरनिको राजमार्गका साथै अन्य सहायक सडक र खुला नाकाबाट भित्रिने पन्छीजन्य सामग्रीका कारण बर्डफ्लुको जोखिम बढेको पशु सेवा कार्यालय काभ्रेका प्रमुख वरिष्ठ पशु चिकित्सक ब्रजकिशोर ठाकुरले बताए । उनका अनुसार बर्डफ्लु प्रमाणित भएका ३० जना कृषकका खोरमा रहेका कुखुरा तथा अन्य पन्छी नष्ट गरिएको छ । प्रमाणित नभएका कृषकहरूको खोरमा समेत करिब त्यतिकै संख्यामा पन्छी मरेका छन् । सरकारले बर्डफ्लु प्रमाणित भएका कृषकलाई भने केही राहत उपलब्ध गराएको छ ।
    बर्डफ्लु प्रमाणित हुन समय लाग्ने, प्रमाणित भइसकेपछि पनि पन्छी नष्ट गर्न समय लाग्ने तथा अन्य विविध कारणले कृषकहरू संकटमा परेको डा. ठाकुरले बताए । काभ्रेपलाञ्चोकमा गिरिराज कुखुरा, लेयर्स, ब्रोइलर, राजहाँस, स्थानीय कुखुरा र पेकिङ हाँसलगायत गरी ९० हजार २ सय ७५ वटा पन्छी नष्ट गरिएको छ । त्यस्तै, ३८ हजार १ सय ८३ वटा अण्डा, १० हजार २ सय १० केजी दाना र ५ हजार २ सय ७५ वटा क्रेट नष्ट गरिएको पशु विकास अधिकृत डा. सुशिला श्रेष्ठले जानकारी दिइन् । बर्डफ्लु प्रमाणित भएका ३० जना कृषकमध्ये २० जनाभन्दा बढीले आर्थिक वर्ष २०८२/०८३ मै राहत रकम प्राप्त गरिसकेका छन् । केही कृषकले भने प्राविधिक कारणले भुक्तानी पाउन नसकेको कार्यालयले जनाएको छ ।  चालु आर्थिक वर्षमा खाता सञ्चालन भएलगत्तै राज्यले उपलब्ध गराउने राहत रकम कृषकलाई वितरण गरिने डा. ब्रजकिशोर ठाकुरले बताए ।