2026 August 14/ 11:53: 30pm

काभ्रेमा १ हजार ४ सय ९५ सहकारीमध्ये ६४६ मात्रै सञ्चालनमा, विवरण बुझाउनेको संख्या ३ सय पनि पुगेन । प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा अलग्गै विवरण बुझाउन प्रदेश स्तरीय सहकारीहरुलाई पत्राचार गरिएको छ । 

मोतीराम तिमल्सिना
बनेपा

    राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई दर्ता अभिलेखीकरण गरी सञ्चालन इजाजतपत्र लिन पुनः समयसीमा तोकेपछि काभ्रेपलाञ्चोक जिल्लाका सहकारी संस्थाहरूमा नियामकीय दबाब बढेको छ ।
    प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरणका लागि ‘दर्ता अभिलेखीकरण मापदण्ड, २०८२’ जारी गर्दै २०८२ मंसिर १० गतेदेखि प्रक्रिया सुरु गरेको थियो । मापदण्डको चौथो संशोधनको दफा ३(४) बमोजिम तोकिएको समयसीमा २०८३ असार ३२ गतेसम्म थियो । त्यसपछि प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार अभिलेखीकरणका लागि आवश्यक विवरण प्रविष्ट गरी तोकिएको अवधिभित्र सञ्चालन इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । प्राधिकरणका निर्देशक केशवराज भट्टराईले सम्बन्धित सहकारी संस्थालाई तोकिएको समयभित्र दर्ता अभिलेखीकरणको प्रक्रिया पूरा गर्न सूचित गरेका छन् ।
    यसैबीच, आर्थिक वर्ष २०८२÷०८३ मा पाकेको ब्याज २०८३ साउन १५ गतेभित्र भुक्तानी भएमा सोही आर्थिक वर्षको आयका रूपमा गणना गर्न सकिने व्यवस्था कार्यकारी निर्देशक रामकुमार महत्तोले जारी गरेको निर्देशनमा उल्लेख थियो। तर उक्त निर्देशन अधिकांश सहकारीले कार्यान्वयन नगरेको बताइएको छ । 

८४९ सहकारीको अवस्था अज्ञात
    काभ्रेपलाञ्चोक जिल्लामा कुल दर्ता भएका सहकारीको संख्या करिब १ हजार ४ सय ९५ रहेको छ । जिल्ला सहकारी संघको तथ्यांकअनुसार जिल्लाका १३ स्थानीय तहमा ६४६ वटा सहकारी मात्रै सञ्चालनमा छन् । बाँकी ८४९ वटा सहकारी निष्क्रिय वा अवस्था अज्ञात रहेको तथ्यांकले देखाएको छ ।
    जिल्लामा दर्ता भएका सहकारीको संख्या १,४९५ रहेको छ । सञ्चालनमा रहेका ६४६ वटा छन् भने निष्क्रिय वा अवस्था अज्ञात ८४९ वटा छन् । बचत तथा ऋण सहकारीका ३ सयभन्दा बढी सक्रिय छन् । संकटमा रहेका बचत तथा ऋण सहकारी ५० भन्दा बढी छन् । काभ्रेमा कुनै समय करिब ५ सय सहकारी बचत तथा ऋणको कारोबारमा रहेको भए पनि पछिल्लो समय केही सहकारी एकीकरण भएका, केही बन्द भएका र केही संकटग्रस्त अवस्थामा पुगेका छन् । बहुउद्देश्यीय, कृषि, दुग्ध तथा अन्य प्रकृतिका सहकारीको संख्या पनि उल्लेख्य भए पनि सबैको सञ्चालन अवस्था समान छैन । 

यी हुन् प्रदेश नियमनमा रहेका सहकारी 
    स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने सहकारीले प्रदेशमा छुट्टै अभिलेखीकरण गर्नु पर्दैन तर राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा भने अभिलेखीकरण गर्नुपर्छ । बचत तथा ऋण कारोवार गर्ने सहकारीले अनिवार्य रुपमा प्राधिकरणमा अभिलेखीकरण गर्नु पर्ने उल्लेख छ । प्रदेशको नियमन क्षेत्रअन्तर्गत पर्ने सहकारी संस्थाले आर्थिक वर्ष २०८१÷०८२ को साधारण सभा सम्पन्न गरी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले माग गरेको वार्षिक विवरण पेश गरेका छन् । २०८३ असार ३२ गतेसम्म प्राप्त विवरणअनुसार प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयको सम्पर्कमा १ हजार ३ सय १९ वटा सहकारी आएका छन् । तीमध्ये करिब १ हजार २ सय सहकारीले तोकिएको सूचनाअनुसार विवरण पेश गरेका छन् भने १ सय १९ वटा सहकारीले हुलाक तथा अन्य माध्यमबाट विवरण पठाएका छन् । हुलाक तथा अन्य माध्यमबाट प्राप्त विवरणको प्रमाणीकरण भने बाँकी रहेको कार्यालयले जनाएको छ ।
    प्रदेश नियमन क्षेत्रअन्तर्गत रहेका विभिन्न संघमध्ये प्रदेश संघ ३, जिल्ला सहकारी संघ १२ मध्ये ९, जिल्ला बचत संघ ११, जिल्ला बहुउद्देश्यीय संघ ११, जिल्ला कफी संघ ३, जिल्ला दुग्ध संघ ३, साना किसान÷कृषि संघ १, उपभोक्ता संघ १ र जुनार संघ १ गरी ३६ वटा संघ रहेको विवरणमा उल्लेख छ ।

काभ्रेका दर्जनौँ सहकारीले विवरण बुझाए
    प्रदेश रजिस्ट्रार कार्यालयमा विवरण बुझाउने सहकारीमा बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर, रोशी, बेथान्चोकलगायत क्षेत्रका सहकारी छन् । विवरण बुझाउनेमध्ये विन्धबासिनी सहकारी, शुभ विहानी बचत, मोडेल बचत, गाउँले बचत, जागरण बचत, आर्थिक विकास मित्र बचत, अटल पाँचकुण्ड बचत, लक्ष्मी महिला बचत, शुलभ बचत, ज्योती मिर्मिरे सामूहिक बचत, बनेपा बचत, जिल्ला सहकारी संघ, प्रगतिशील बहुउद्देश्यीय सहकारी, एकता बचत, मनकामना बचत, हिमकाली समाजसेवा, उग्रतारा बहुउद्देश्यीय सहकारी, आभाष बचत तथा ऋण सहकारी, सामुदायिक बचत, अर्थभूमि बचत लगायत छन् ।
    त्यस्तै बुडोल बचत, नवदुर्गा बचत, प्रिमियर बचत, गौरीशंकर साना किसान कृषि सहकारी, दाप्चाली बचत, नेपाली बुद्ध बचत, शंखु बचत, श्रृजना बहुउद्देश्यीय सहकारी, श्री अग्रसर पञ्चामृत बहुउद्देश्यीय सहकारी, बागमती प्रदेश बचत तथा ऋण सहकारी, सदाज्योती बचत, रोतिम कृषि सहकारी, बाँसडोल बचत, आयआर्जन बचत, सिड नेपाल बहुउद्देश्यीय सहकारी, जनउत्थान बचत, नोबेल बचत, दुमो बचत, श्वेत गणेश बचत, उपकार बचत, मिसन बचत लगायतले पनि विवरण पेश गरेको जनाइएको छ । यसैगरी बृहत्त बहुउद्देश्यीय सहकारी, माइक्रो श्रमिक बचत, बाँसडोल सामुदायिक बहुउद्देश्यीय, सुडेश्वर बचत, श्वेत आदर्श बहुउद्देश्यीय, चक्रेश्वर प्रतिभा बचत, सारथी बहुउद्देश्यीय, श्रमिक जनउत्थान बहुउद्देश्यीय, आत्मनिर्भर बहुउद्देश्यीय, पिपुल्स बचत, हाम्रो साझा महल बचत, जनमैत्री बचत, आवर स्ट्यान्डर्ड बचत, संस्कार बहुउद्देश्यीय, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ, काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ, गोर्खा विकास बचत, नारी चेतना बचत, शिक्षक हित बचत, साना किसान कृषि सहकारी, स्वर्ण लक्ष्मी बचत, दिगो विकास बचत र सुनकोशी भिलेज बहुउद्देश्यीय सहकारी पनि विवरण बुझाउनेमा रहेका छन् ।
    हुलाक तथा अन्य माध्यमबाट विवरण पठाउनेमा महिला आधारशिला बचत, बनेपा रहेको छ । कार्यालयका अनुसार उक्त संस्थाबाट प्राप्त कागजात सूचना बमोजिम पूर्ण नभएकाले आवश्यक कागजात तथा विवरण प्रमाणीकरणको काम बाँकी छ । प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले साधारण सभा सम्पन्न गरी सूचनामा तोकिएबमोजिम विवरण पेश गरेका सहकारीको विवरण सार्वजनिक गरिएको जनाएको छ । २०८३ असार ३२ गतेसम्म प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार गरिएको भन्दै कुनै सहकारीको विवरण छुटेको भए मन्त्रालय वा रजिस्ट्रारको कार्यालयमा इमेलमार्फत थप विवरण पेश गर्न तथा सहकारी शाखासँग सम्पर्क गर्न आग्रह गरिएको छ ।
    सहकारी क्षेत्रको वास्तविक अवस्था पहिचान, निष्क्रिय संस्थाको छानबिन तथा बचतकर्ताको हित संरक्षणका लागि अभिलेखीकरण र सञ्चालन इजाजतपत्रको व्यवस्था महत्वपूर्ण हुने देखिएको छ । काभ्रेमा दर्ता भएका करिब १ हजार ४ सय ९५ सहकारीमध्ये ८४९ वटा निष्क्रिय वा अज्ञात अवस्थामा रहेको तथ्यांकले भने जिल्लाको सहकारी क्षेत्रको नियमन र व्यवस्थापनमा ठूलो चुनौती रहेको उजागार गरेको छ । 

फेरि मिटरब्याजविरुद्ध उजुरी
    नयाँ सरकार गठन भएसँगै देशभरका जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडितहरूले उजुरी दिन थालेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेमा पनि मिटरब्याज पीडितहरूले उजुरी दिएका छन् । उजुरी परेपछि पहिलो चरणमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
    पीडितहरू चक्रबहादुर धमला, राजेन्द्र पौडेल र केशव थापाले जिल्ला प्रशासन कार्यालय काभ्रेमा उजुरी दिएका हुन् । पाँचखाल निवासी चक्रबहादुर धमलाले २०८२ फागुन १० गते उजुरी दिएका थिए । पटक–पटक गरी २० लाख रुपैयाँ कारोबार भएको र २५ लाख रुपैयाँ बुझाइसक्दा समेत सुरुकै रकम बुझाउन बाँकी रहेको भन्दै आफूलाई मानसिक यातना दिएको आरोप लगाउँदै उनले उजुरी दिएका हुन् ।
    त्यस्तै, धुलिखेल–१० निवासी राजेन्द्र पौडेलले २०८३ असार २६ गते प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका थिए । पौडेलले २०८० चैत ४ गते ३ लाख रुपैयाँ ऋण लिएको र साँवा तथा ब्याजसहित ८ लाख रुपैयाँ फिर्ता गरिसक्दा पनि त्यति नै रकम बाँकी रहेको भन्दै मानसिक यातना दिएको आरोप लगाएका छन् । 
    अर्का पीडित बनेपा निवासी केशव थापाले २०८३ साउन १२ गते उजुरी दिएका छन् । थापाले २०७०/०७१ मा ३ लाख रुपैयाँ ऋण लिएको र हालसम्म १० लाख रुपैयाँ बुझाइसकेको बताएका छन् । तर, पुनः ५ लाख र ३ लाख रुपैयाँको चेक काट्न लगाई चेक बाउन्स गराएको तथा सोही अभियोगमा मुद्दा दायर गर्न प्रहरीमा जाहेरी दर्खास्त दिएका जनक लामाविरुद्ध उनले प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई पटक–पटक छलफलका लागि बोलाएको जनाएको छ । छलफलबाट सहमति जुट्न नसके कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाउने तयारी प्रशासनले गरेको छ ।