2026 November 07/ 12:09: 11am

         बनेपा/काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन भइरहेका आयुर्वेद सेवा तथा कार्यक्रमहरूको जिल्लास्तरीय समीक्षा एवं चालु आर्थिक वर्षको योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । जिल्लाका ८ वटा पालिकामा उक्त कार्यक्रम संचालनमा छ । 
          गोष्ठीमा जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गत सञ्चालित आयुर्वेद औषधालय तथा नागरिक आरोग्य केन्द्रहरूले आर्थिक वर्ष २०८२÷०८३ मा हासिल गरेको भौतिक तथा वित्तीय प्रगति, सेवा प्रवाहको अवस्था, देखिएका समस्या तथा चुनौती र आगामी आर्थिक वर्षका लागि प्रस्तावित योजनाबारे विस्तृत समीक्षा गरिएको थियो । आफ्नो स्वास्थ्य आफ्नै हातमा (आ–हा), मेरो स्वास्थ्य मेरै हातमा (मे–हा), हाम्रो स्वास्थ्य हाम्रै हातमा (हा–हा) भन्ने भावना उजागर गर्न आर्युर्वेद कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।         धुलिखेल नगरपालिकाअन्तर्गत धुलिखेल आयुर्वेद औषधालयले ग्रामीण आयुर्वेद स्वास्थ्य सेवा, शिरोधारा, बस्ती तथा नस्यकर्म, तनाव एवं जीवनशैली व्यवस्थापन र विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गरेको बताईयो । कार्यालय प्रमुख उषा पौड्यालले संघीयतर्फ विनियोजित ६ लाख रुपैयाँ बजेटमध्ये ५ लाख ९९ हजार ६ सय रुपैयाँ खर्च भएको तथा स्थानीयतर्फ १० लाख ७५ हजार रुपैयाँमध्ये १० लाख ४५ हजार रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरिन् । सेवा विस्तार, पर्याप्त औषधि र समयसापेक्ष तालिमको अभावलाई प्रमुख चुनौतीका रूपमा औंल्याइएको थियो ।
          मण्डनदेउपुर नगरपालिकास्थित कुन्तावेशी नागरिक आरोग्य केन्द्रले शतप्रतिशत भौतिक तथा वित्तीय प्रगति हासिल गरेको छ । कार्यालय प्रमुख सियाराम चौधरीका अनुसार केन्द्रबाट नियमित औषधि खरिद, स्तनपायी आमाहरूलाई दुग्धवर्धक औषधि वितरण, ओपीडी सेवा तथा घरभेट कार्यक्रम सञ्चालन गरिएका छन् । पर्याप्त जनशक्ति, कम्प्युटर, टेलिफोन र अन्य भौतिक पूर्वाधारको अभाव भने चुनौतीका रूपमा रहेको छ । रोशी गाउँपालिकाको मंगलटार आयुर्वेद शाखाले आर्थिक वर्ष २०८२÷०८३ मा संघीय सशर्त अनुदानतर्फ विनियोजित ६ लाख रुपैयाँमध्ये ५ लाख ९२ हजार ४ सय २३ रुपैयाँ खर्च गरी ९८.७३ प्रतिशत वित्तीय र ९६.९४ प्रतिशत भौतिक प्रगति हासिल गरेको विवरण प्रस्तुत गरेको थियो । शाखाबाट वर्षभरि ओपीडी सेवा, ज्येष्ठ नागरिकलाई रसायन औषधि वितरण, स्नेहन तथा स्वेदन सेवा, स्थानीय जडीबुटीसम्बन्धी कार्यक्रम र विद्यालय आयुर्वेद तथा योग शिक्षा सञ्चालन हुँदै आएको बरिष्ठ बैद्य रौशन रायले बताए । 
             पनौती नगरपालिकास्थित खरिबोट नागरिक आरोग्य केन्द्रले संघीय र स्थानीय गरी कुल ९ लाख रुपैयाँ बजेटमा शतप्रतिशत प्रगति हासिल गरेको कार्यालय प्रमुख शर्मिला लामाले जानकारी दिइन् । केन्द्रबाट निःशुल्क औषधि वितरण, स्तनपायी सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, अन्तर्राष्ट्रिय योग दिवस तथा स्थानीय जडीबुटी संकलन र प्रदर्शनीलगायतका कार्यक्रम सम्पन्न भएका छन् । औषधि तथा भवनको अभावलाई केन्द्रले प्रमुख समस्याका रूपमा प्रस्तुत गरेको छ । बेथानचोक गाउँपालिकास्थित नागरिक आरोग्य केन्द्र, ढुंखर्कले अत्यावश्यक औषधि खरिद, विद्यालय आयुर्वेद तथा योग शिक्षा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन, नियमित योग कक्षा, पञ्चकर्म तथा पूर्वकर्म सेवा र घरभेट कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कार्यालय प्रमुख गणेशप्रसाद थारुका अनुसार कार्यालय सञ्चालनका लागि पर्याप्त कोठा नहुनु तथा केन्द्रीय प्रणालीमा तथ्यांक प्रविष्ट गर्न आवश्यक कम्प्युटर र इन्टरनेटको अभाव प्रमुख चुनौती रहेका छन् ।
             यसैगरी, भुम्लु गाउँपालिकास्थित नागरिक आरोग्य केन्द्रले संघीय सशर्त अनुदानतर्फ विनियोजित ५ लाख रुपैयाँमध्ये ४ लाख २७ हजार ७ सय २६ रुपैयाँ खर्च गरेको विवरण प्रस्तुत गरेको थियो । कार्यालय प्रमुख प्रकाश सिंह थारुका अनुसार केन्द्रबाट ज्येष्ठ नागरिक सेवा, सर्वाङ्ग तथा एकाङ्ग स्वेदन, शिरोधारा, उपचारात्मक योग, घरभेट तथा स्तनपायी आमाहरूलाई दुग्धवर्धक औषधि वितरणलगायतका सेवा सञ्चालन गरिएका छन् । यी सेवाबाट बाथरोग, अम्लपित्त तथा उदर रोगलगायतका समस्या भएका सेवाग्राही लाभान्वित भएका छन् । बजेट, आवश्यक औषधि तथा उपकरण र औषधि भण्डारणका लागि उपयुक्त स्थानको अभावलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरिएको थियो ।
             पाँचखाल नगरपालिकामा संचालित आयुर्वेद कार्यक्रमले आयुर्वेद तथा स्वस्थ जीवन शैली आहार बिहार योग बारे जानकारी पाउनुका साथै आयुर्वेद सेवा लिने अवसर पाएको बताए । जडिबुटी औषधिको श्रोत हुने भएकाले तिनको संरक्षण गर्नु पर्ने अभियानमा सक्रिय भएका छन् । आफ्नो स्वास्थ्य आफ्नै हातमा (आ–हा), मेरो स्वास्थ्य मेरै हातमा (मे–हा), हाम्रो स्वास्थ्य हाम्रै हातमा (हा–हा) भन्ने भावना उजागर भएको छ । कार्यालय प्रमुख मुना आचार्यले पुर्वाधार, संरचना लगायतका समस्या रहेको बताईन् । बालुवा आयुर्वेद औषधलायमा रहेका विभिन्न गतिविधि समिक्षामा प्रस्तुत गरिएका थिए । 
             गोष्ठीमा प्रस्तुत विवरणले जिल्लाका विभिन्न स्थानीय तहमा आयुर्वेद सेवाको पहुँच विस्तार हुँदै गएको देखाएको छ । यद्यपि, अधिकांश केन्द्रमा पर्याप्त जनशक्ति, आवश्यक औषधि, भौतिक पूर्वाधार, प्रविधि तथा बजेटको अभाव साझा समस्याका रूपमा देखिएको छ । गोष्ठीले जिल्लाभर सञ्चालन भइरहेका आयुर्वेद सेवाको प्रभावकारिता मूल्यांकन गर्न, सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय खोज्न तथा आगामी आर्थिक वर्षका लागि आवश्यक योजना र बजेट तर्जुमा गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । साथै, स्थानीय स्रोतसाधन र जडीबुटीको सदुपयोग गर्दै आयुर्वेद सेवालाई थप व्यवस्थित, गुणस्तरीय र नागरिकमैत्री बनाउन यस्ता समीक्षा तथा योजना तर्जुमा कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।

जिल्ला स्तरीय समीक्षा 
               आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेद्वारा आयोजित आयुर्वेद सेवा तथा कार्यक्रमहरुको जिल्ला स्तरीय समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यालय प्रमुख डा.अर्जुन उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तहमा संचालित आयुर्वेद तथा बैकल्पिक चिकित्सालयको गतिविधिहरु प्रस्तुत गरिएको थियो । धुलिखेल नगरपालिकाकाका कार्यवाहक नगर प्रमुख निराजन जंगम, जनस्वास्थ्य प्रमुख रागीश्री कक्षपति श्रेष्ठ, मेथिनकोट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामशरण श्रेष्ठ, नेपाल पत्रकार महासंघ, काभ्रेका अध्यक्ष विनोद न्यौपाने,प्र.ले.नि.का.लेखा अधिकृत जनक खड्का, धुलिखेल नगरपालिका स्वास्थ्य संयोजक सन्दिप के.सी, धुलिखेल अस्पताल सामुदायिक विभागका शृंखला श्रेष्ठ तथा  प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यसम्पादनमा उत्कृष्ट आयुर्वेद औषधालयमा धुलिखेल नगरपालिका अन्तर्गत धुलिखेल  आयुर्वेद औषधालय, नागरिक आरोग्य केन्द्रमा भुम्लु  गाउँपालिका उत्कृष्ट भए । कार्यक्रममा आर्थिक वर्ष २०८३/०८४ मा शाखाको कार्ययोजना प्रस्तुत गरिएको थियो ।