2026 November 07/ 12:09: 21am

    बनेपा/बनेपा नगरपालिका वडा नम्वर ३ र ४ नालामा रहेको चामुण्डा दुग्ध संकलन केन्द्र, पञ्चेश्वर दुग्ध संकलन केन्द्र, दाहाल दुग्ध संकलन केन्द्रका कृषकहरुलाई प्रति कृषक ५ केजीका दरले ५ सय केजी हिउँदे जै घाँसको विउ निःशुल्क वितरण गरिएको छ । नालामा रहेको पशु सेवा केन्द्रमा जै घाँसको विउ हस्तान्तरण गरिएको हो । 
    वडा अध्यक्षहरु रमेश दाहाल र श्यामसुन्दर श्रेष्ठलाई पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ पशु चिकित्सक डा.ब्रजकिशोर ठाकुरले हिउँदे जै घाँसको विउ हस्तान्तरण गरेका हुन् । दुग्ध उत्पादनमा लाग्ने लागत कम गर्नुका साथै पशु आहारमा पौष्टिक तत्वको मात्रा बृद्धि गर्ने उद्देश्यले पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले कृषकलाई हिउँदे जै घाँसको बीउ वितरण गरेको छ । हिउँदको समयमा हरियो घाँसको अभाव कम गरी पशुपालनलाई सहज बनाउने लक्ष्यसहित कार्यालयले कृषकलाई बीउ उपलब्ध गराएको हो । सोहि कार्यक्रममा बनेपा नगरपालिकाका पशु सेवा शाखाका नारायण शर्मा, रामसुन्दर सापकोटा, कृषक कवि दाहाल लगायतका कृषकहरुले पशु सेवा कार्यालयले उपलब्ध गराएको जै घाँसको विउ उपयोगी रहेको बताए । 
    त्यस्तै पनौती स्थित खोपासीमा रहेको भू–मित्र कृषक समुहमा आवद्ध कृषकहरुलाई जै घाँसको विउ वितरण गरिएको हो । पशु आहार विकास कार्यक्रम अन्र्तगत २ सय केजी घाँसको विउ हस्तान्तरण गरिएको हो । जै घाँस पशुपालनका लागि उपयोगी हिउँदे घाँसमध्ये एक हो । यसलाई विशेषगरी गाईभैंसीको हरियो आहारका रूपमा प्रयोग गर्न सकिन्छ । हिउँदमा खेतबारीमा अन्य हरियो घाँसको उपलब्धता कम हुने अवस्थामा जै घाँसले पशुलाई नियमित हरियो आहार उपलब्ध गराउन सहयोग गर्छ । यसमा पाइने प्रोटिन, ऊर्जा तथा अन्य पोषक तत्वले पशुको पोषण व्यवस्थापनमा योगदान पु¥याउँछन् । पर्याप्त र सन्तुलित आहारले पशुको स्वास्थ्य कायम राख्न तथा दूध उत्पादनलाई सहयोग गर्न सक्छ । जै घाँसको खेतीले पशुपालक कृषकलाई बजारबाट खरिद गर्नुपर्ने दाना तथा अन्य आहारमा हुने खर्च व्यवस्थापन गर्न पनि मद्दत गर्न सक्छ । आफ्नै खेतबारीमा घाँस उत्पादन गर्न सकेमा बाह्य आहारमाथिको निर्भरता घटाउन सकिन्छ । यद्यपि, यसको प्रभाव घाँसको उत्पादन, पशुको जात, दूध दिने अवस्था र समग्र आहार व्यवस्थापनमा निर्भर हुन्छ ।
    त्यस्तै पाँचखाल नगरपालिका वडा नम्वर ५ स्थित केराघारीमा रहेको मुडेपानी दुग्ध उत्पादक सहकारीका अध्यक्ष रामप्रसाद ढुंगाना मार्फत १ सय ६४ केजी र पाँचखाल ६ ढुंगानाबेशी स्थित माहांकल दुग्ध संकलन केन्दका अध्यक्ष रामप्रसाद सापकोटा र ब्यवस्थापक गणेश पराजुली मार्फत २ सय ३६ केजी हिउँदे जै घाँसको विउ निशुल्क उपलब्ध गराईएको छ । पशु सेवा कार्यालय काभ्रेका बरिष्ठ पशु चिकित्सक डाक्टर ब्रजकिशोर ठाकुर र पशु चिकित्सक डा.शुशिला श्रेष्ठ लगायतले उक्त घाँसको विउ हस्तान्तरण गरेका हुन् । डा. ठाकुरका अनुसार जै घाँस हिउँदको समयमा उत्पादन हुने भएकाले हरियो घाँसको माग पूरा गर्न र पशु आहार व्यवस्थापनलाई सहज बनाउन उपयोगी हुन्छ । प्रतिरोपनी पाँच केजीका दरले बीउ रोप्न सकिने जानकारीसहित वितरण गरेको उनले बताए । जै घाँसको उत्पादन बढाउन बीउको उचित छनोट, समयमै रोपाइँ, खेतको चिस्यान व्यवस्थापन र आवश्यक मलखादको प्रयोग महत्वपूर्ण मानिन्छ । घाँस काट्ने उपयुक्त समय र पशुलाई खुवाउने तरिकामा ध्यान दिन सके यसको पोषण उपयोगिता बढाउन सकिन्छ । स्थानीय हावापानी, माटो र बीउको जातअनुसार उत्पादन फरक पर्न सक्ने भएकाले प्राविधिकको सल्लाहअनुसार खेती गर्नु उपयुक्त हुन्छ । जिल्लाभर २५ सय केजी जै घाँसको विउ वितरण गर्ने डा.ठाकुरले बताए । कार्यक्रममा पशु सेवा कार्यालयका पशु चिकित्सक डा. शुशिला श्रेष्ठ, प्रशासन शाखाकी रविना पोखरेल लगायतको सहभागिता रहेको थियो । निःशुल्क रूपमा जै घाँसको बीउ पाएपछि कृषकहरू खुसी भएका थिए ।