2026 November 20/ 02:37: 44am

          धुलिखेल/काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि धुलिखेल अस्पतालसँगको सहकार्यमा सञ्चालन हुँदै आएको स्वास्थ्य बीमा तथा उपचार सुविधाको विषय फेरि प्रश्नको घेरामा परेको छ । पटक पटक दुई संस्थाबीच उत्पन्न विवाद केहि मत्थर देखिए पनि नयाँ उपकुलपति र रजिस्ट्रार नियुक्तिसँगै बल्झिन पुगेको छ । 
          विद्यार्थीबाट स्वास्थ्य बीमाबापत रकम असुलेको तर त्यसअनुसार उपचार सेवा उपलब्ध नहुँदा विश्वविद्यालय प्रशासन मौन रहेको विद्यार्थीहरुले सामाजिक सञ्जाल मार्फत टिप्पणी गरेका छन् । यद्यपी अन्य विषयमा विद्यार्थी संगठनहरु सक्रिय देखिए पनि यो विषयमा मौन छन् । दशै र तिहार बीचको लामो विदाका कारण पनि यो विषयमा सबै मौन जस्तै देखिएका छन् । विश्वविद्यालय र अस्पतालबीचको विवाद समाधानका लागि २०८१ माघ ४ गते बसेको ९८ औँ विश्वविद्यालय सभाले सहजीकरण समितिको प्रतिवेदन पारित गरेको थियो । तीन महिनाभित्र नयाँ सम्झौता तयार गर्ने निर्णयसमेत भएको थियो । तर त्यसपछि नयाँ सम्झौता सम्पन्न भएको, विद्यार्थी बीमा सुविधाको निरन्तरता सुनिश्चित भएको वा विद्यार्थीका गुनासा सम्बोधन भएको दस्तावेजहरु सार्वजनिक भएका छैनन ।
         विश्वविद्यालयमा नयाँ उपकुलपति र नयाँ रजिस्ट्रार नियुक्त भएका छन् । तर पुरानो विवादले प्रभावित विद्यार्थी सुविधाको विषयमा नयाँ नेतृत्वले अस्पतालसँग औपचारिक छलफल गरेको वा समस्या समाधानका लागि ठोस निर्णय गरेकोे छैन ।

विवादको पृष्ठभूमि
              काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच २०५९ चैत १९ गते (२ अप्रिल २००३) सहकार्यसम्बन्धी सम्झौता भएको थियो । सम्झौताअनुसार धुलिखेल अस्पताललाई ५० वर्षसम्म विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा विकास तथा प्रयोग गर्ने सहमति गरिएको थियो । तर समयक्रममा दुई संस्थाबीच आर्थिक, प्रशासनिक र कर्मचारी व्यवस्थापनका विषयमा मतभेद बढ्दै गयो । २०६७ कात्तिक १८ गते अर्को सम्झौता गरेर कुनै कारणले सहकार्य अन्त्य गर्नुपरे साढे पाँच वर्षअघि लिखित सूचना दिनुपर्ने व्यवस्था गरिएको थियो । सम्झौताका मुख्य ब्यक्ति विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा.सुरेशराज शर्माको निधन भएको छ । 
              २०८१ साउन ३० गतेको ९७ औँ विश्वविद्यालय सभामा प्रधानमन्त्री तथा तत्कालीन कुलपति केपी शर्मा ओलीले दुवै संस्थाबीचको सहकार्य कायम राख्न निर्देशन दिएका थिए । विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी र धुलिखेल अस्पतालले छुट्टै प्रतिष्ठानका रूपमा अघि बढ्ने प्रयासले पनि विवादलाई थप जटिल बनाएको थियो । २०८१ पुस ८ गते राष्ट्रिय योजना आयोगकी सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन भयो । समितिमा विश्वविद्यालय र अस्पताल दुवै पक्षका प्रतिनिधि थिए । त्यसपछि २०८१ माघ ४ गतेको ९८ औँ सभाले समितिको प्रतिवेदन स्वीकार गर्दै नयाँ सम्झौताको मस्यौदा तीन महिनाभित्र तयार पार्ने निर्णय ग¥यो । नयाँ सम्झौता नहुँदासम्म अन्तरिम सहजीकरण समितिमार्फत दैनिक काम सञ्चालन गर्ने व्यवस्था पनि गरिएको थियो । 

विवादको मुख्य जड आर्थिक र प्रशासनिक अधिकार
               स्कुल अफ मेडिकल साइन्सेजको आर्थिक कारोबार र अस्पतालको खातामाथिको नियन्त्रण विवादको एउटा प्रमुख कारण थियो । विश्वविद्यालयले स्कुल अफ मेडिकल साइन्सेजको खाता आफ्नो नियन्त्रणमा ल्याउने निर्णय गरेपछि अस्पताल प्रशासन असन्तुष्ट बनेको थियो । अस्पतालको भनाइमा सम्झौताअनुसार दुवै संस्थाले खर्च गर्ने अधिकार पाउनुपर्ने रकममाथि विश्वविद्यालयले एकलौटी अधिकार लिन खोजेको थियो । समितिको पहलपछि उक्त अधिकार पुनः फर्काइएको र त्यसपछि अस्पताल पक्ष केही लचक भएको थियो । यस विवादमा आर्थिक व्यवस्थापन, प्रशासनिक अधिकार, मानव संसाधन र कर्मचारीको सेवा सर्त मुख्य विषयका रूपमा उठेका थिए । त्यतिबेला रजिस्ट्रार रहेका र उपकुलपति भएका प्रा.डा.अच्युत वाग्लेले विश्वविद्यालयका तर्फबाट विवाद समाधानमा मुख्य भूमिका निभाएका थिए । 
             काठमाडौँ विश्वविद्यालयमा भर्ना भएका विभिन्न तहका विद्यार्थीहरुलाई धुलिखेल अस्पतालको स्वास्थ्य बीमा प्याकेजमा सहभागी हुन शुल्क तोकिएको थियो । बीमा सुविधा सक्रिय गर्न रकम जम्मा गरी अस्पतालको रजिस्ट्रेसन विभागमा फाराम, बैंक भौचर र विद्यार्थी परिचयपत्र बुझाउनुपर्ने व्यवस्था थियो । प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । अहिले सबै संकायका विद्यार्थीबाट कति रकम उठाइएको छ, कति विद्यार्थी बीमामा आबद्ध छन् र कति रकम अस्पताललाई भुक्तानी गरिएको छ भन्ने अद्यावधिक विवरण सार्वजनिक भएको छैन । 
              विद्यार्थीले बीमाबापत रकम तिरेर पनि सेवा नपाएको गुनासो गरिरहेका बेला विश्वविद्यालय तथा अस्पतालसँग सम्बन्धित कर्मचारीको स्वास्थ्य उपचार र अन्य सुविधा भने कायम छ । कर्मचारीको सुविधा यथावत् रहेको र विद्यार्थीको सुविधा बन्द गरिएको छ । 

नयाँ उपकुलपति र रजिस्ट्रार नियुक्ति पछि रोकियो सेवा 
              काठमाडौँ विश्वविद्यालयमा प्रा.डा.विवेक बराल १४ अगस्ट २०२६ देखि विश्वविद्यालयको छैटौँ उपकुलपति नियुक्त भएका छन् । त्यस्तै, एसोसिएट प्रोफेसर डा.बिराज सिंह थापा ३ सेप्टेम्बर २०२६ देखि विश्वविद्यालयको सातौँ रजिस्ट्रार नियुक्त भएका छन् । यसअघि डा.अच्युत वाग्ले उपकुलपति र प्रा. डा. राजीव श्रेष्ठ रजिस्ट्रार थिए ।  नयाँ नेतृत्व आएपछि पुरानो विवादको निरन्तरता, नयाँ सम्झौताको अवस्था र विद्यार्थीको बीमा सुविधाबारे सार्वजनिक रूपमा के निर्णय भएको छ भन्ने प्रश्न उठेको छ । केहि निर्णयहरु सार्वजनिक हुन सकेका छैनन । विशेषगरी नयाँ उपकुलपति र रजिस्ट्रारले धुलिखेल अस्पतालसँग छलफल नै गर्न सकेका छैनन । 
              विश्वविद्यालय अनुदान आयोग (यूजीसी) नेपालको २०२४÷०२५ को तथ्याङ्कअनुसार काठमाडौँ विश्वविद्यालयमा २२ हजार ८५८ विद्यार्थी अध्ययनरत थिए । सन् २०२६ को अन्त्यसम्म आउँदा विश्वविद्यालयको तथ्यांकमा विद्यार्थी संख्या थपघट छ । तत्कालिन अवस्थामा कुल विद्यार्थी २२,८५८ मध्ये आङ्गिक क्याम्पसका विद्यार्थी १३,२०३, सम्बन्धनप्राप्त क्याम्पसका विद्यार्थी ९,६५५ थिए । कुल क्याम्पस २२ वटा र आङ्गिक क्याम्पस ७ वटा थिए । सम्बन्धनप्राप्त क्याम्पस १५ वटा थिए । यो विश्वविद्यालयभरिका विद्यार्थीको संख्या हो ।