2026 November 20/ 02:37: 45am

    धुलिखेल/धुलिखेलमा सुरु भएको ‘चेन्ज–पीएच’ परियोजनाको वार्षिक कन्सोर्टियम बैठक काभ्रेपलाञ्चोक, धुलिखेलमा सुरु भएको छ ।
    मंसिर २ देखि ५ गते (नोभेम्बर १७–२०, २०२६) सम्म सञ्चालन हुने उक्त चारदिने अन्तर्राष्ट्रिय बैठकमा नेपालसहित विभिन्न पाँच देशका उच्च शैक्षिक तथा साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ । युरोपेली आयोगको ‘इरास्मस प्लस’ क्षमता अभिवृद्धि कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालित यस परियोजनामा नेपालसँगै डेनमार्क, नेदरल्यान्ड्स, फिलिपिन्स र स्पेनका विश्वविद्यालय तथा साझेदार संस्थाहरू आबद्ध छन् ।
    बैठकमा परियोजनाको हालसम्मको प्रगति समीक्षा गर्नुका साथै जलवायु परिवर्तन, वातावरणीय स्वास्थ्य र प्लानेटरी हेल्थ शिक्षाका क्षेत्रमा आपसी सहकार्य सुदृढ बनाउने तथा आगामी क्षमता अभिवृद्धि कार्यक्रमहरूको योजना तय गरिने बताईएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका प्रमुख प्रशासकीय अधिकृत एवं धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक प्रा.डा. विराजमान कर्माचार्यका अनुसार यस अन्तर्राष्ट्रिय भेलाले प्लानेटरी हेल्थ शिक्षा र जलवायु परिवर्तनका विषयमा सीमापार ज्ञान आदानप्रदान तथा शैक्षिक सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । कार्यक्रममा स्थानीय तह तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।