मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनको तयारी
मोतीराम तिमल्सिना
धुलिखेल
काभ्रेपलाञ्चोक जिल्लामा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन प्रक्रिया शुरु गरिएको छ । यस अघिका निर्वाचनमा भएका अभ्यास र अनुभवका आधारमा निर्वाचन मतदान स्थल र केन्द्रको हेरफेर तथा थपघट हुनेछ ।
जिल्ला मतदानस्थल तथा मतदान केन्द्र निर्धारण तथा सिफारिस समितिको बैठकले मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, २०८३ अनुसार आवश्यक प्रक्रिया र कार्यतालिका तय गरेको हो । मंसिर ४ गतेभित्र वडा मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई आवश्यक कार्यविधि, अनुसूची फाराम, मतदानस्थलको सूची र सम्बन्धित वडाको अन्तिम मतदाता नामावलीको पीडीएफ फाइलसहित पत्राचार गरिएको छ ।
वडा अध्यक्षको संयोजकत्वमा रहेको समितिले मंसिर १५ गतेभित्र कार्यविधिले तोकेको मापदण्डका आधारमा मतदानस्थलको अवस्था, भौगोलिक दूरी, सुरक्षा अवस्था तथा आवश्यकताका विषयमा अध्ययन गरी सर्वसम्मत निर्णय गर्नु पर्नेछ । वडा समितिबाट भएका निर्णय तथा प्रमाणित अनुसूची फाराम मंसिर २५ गतेभित्र निर्वाचन कार्यालयमा पठाउनुपर्नेछ । मंसिर २९ गतेभित्र वडा समितिबाट प्राप्त सिफारिसको एकीकृत विवरण तयार गरी जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकमार्फत विस्तृत अध्ययन गरिने छ । जिल्ला समितिले आवश्यक परे स्थलगत अध्ययनसमेत गरी मतदानस्थल सिफारिससम्बन्धी अन्तिम निर्णय गर्नेछ ।
जिल्ला सिफारिस समितिले गरेको अन्तिम निर्णय तथा आवश्यक अनुसूची फाराम प्रमाणित गरी २०८३ पुस ५ गतेभित्र निर्वाचन आयोगमा पठाउने छ । बैठकमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१ मा भएका व्यवस्था, निर्धारणसम्बन्धी मापदण्ड तथा स्थानीय अनुभवका विषयमा समेत बैठकमा छलफल भएको थियो । यस अघि सम्पन्न २०८२ फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा केहि मतदान स्थल सडकमा भएका कारण असहजता भएको गुनासो आएको थियो भने केहिमा स्थान साँघुरो भएकाले मतदाताहरुलाई असहजता भएको थियो । ति केन्द्रहरु परिवर्तन गर्ने गरी स्थानीय स्तरमा वडा अध्यक्षको समितिले कार्य गर्नेछ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको संयोजकत्वमा बैठक आयोजना गरिएको थियो । बैठकले २०८३ भदौ १५ गतेसम्म संकलन तथा अद्यावधिक भएको र असोज ३० गते प्रकाशित मतदाता नामावलीलाई मतदानस्थल पुनरावलोकनको आधिकारिक आधार बनाउने निर्णय गरेको छ । त्यस्तै, जिल्लामा क्रियाशील राजनीतिक दलहरूलाई मंसिर १ गतेभित्र हाल कायम मतदानस्थलको सूचीसहित पत्राचार गरी पुनरावलोकन तथा आवश्यक सिफारिसका सम्बन्धमा राय–सुझाव माग्ने निर्णय गरेको छ । बैठकले स्थानीय तह, राजनीतिक दल तथा सम्बन्धित सरोकारवालाको सुझावलाई समेत समेटेर मतदानस्थल र मतदान केन्द्रलाई थप व्यवस्थित, सहज र मतदातामैत्री बनाउने निर्णय गरेको छ ।
काभ्रेमा तीन लाख २४ हजार ९ मतदाता
२०८३ असोज ३० गते सार्वजनिक भएको अद्यावधिक विवरणअनुसार तीन लाख २४ हजार नौ मतदाता छन् । निर्वाचन आयोगको मतदाता नामावली अद्यावधिक प्रक्रियाअन्तर्गत जिल्लाका दुई हजार ६०२ जनाको नाम मतदाता सूचीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए । कार्यालयका अनुसार १३ वटा स्थानीय तहमा दोहोरो दर्ता भएका एक हजार १९८, मृत्यु भएका एक हजार ४०२ र नागरिकता परित्याग गरेका दुई जनाको नाम मतदाता नामावलीबाट हटाइएको हो ।
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा १८९ मतदानस्थल कायम थिए । जसमध्ये ८८ वटालाई संवेदनशील र २३ वटालाई अतिसंवेदनशीलका रूपमा वर्गीकरण गरिएको थियो । बाँकी १०१ मतदानस्थल सामान्य अवस्थाका थिए । जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ४०० मतदान केन्द्र कायम गरिएका थिए । यी केन्द्र र स्थलहरु हेरफेर तथा थपघट हुन सक्छन ।
२०८२ फागुन २१ मा कति मतदाता ?
२०८२ फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका समयमा काभ्रेपलाञ्चोक जिल्लामा कुल ३ लाख २६ हजार ६११ मतदाता थिए । जसमा पुरुष १ लाख ६७ हजार ४९९ र महिला १ लाख ५९ हजार ११० जना रहेका थिए । अन्य मतदाता २ जना थिए । निर्वाचन क्षेत्रगत मतदाता क्षेत्र नम्वर १ मा १ लाख ६१ हजार १ सय र क्षेत्र नम्वर २ मा १ लाख ६५ हजार ५११ मतदाता थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ३ लाख १० हजार ६३ जना मतदाता योग्य थिए । पुरुष १ लाख ५७ हजार ९४७ र महिला १ लाख ५२ हजार ११४ जना थिए । २०७९ को निर्वाचनमा १९० मतदान स्थल र ३८९ मतदान केन्द्र कायम थिए ।
२०७९ को स्थानीय तहमा कुन पालिकामा कति मतदाता ?
२०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि काभ्रेमा ३ लाख ३ हजार ५६० जना मतदाता कायम रहेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जानकारी दिएको छ । जसमा पुरुष १ लाख ५४ हजार १८३, महिला १ लाख ४९ हजार ३७५ र अन्य २ जना मतदाता रहेका थिए । जिल्लाका १३ स्थानीय पालिकामा १ सय ८९ मतदान केन्द्र र ३ सय ८१ मतदान स्थल थिए । पनौती नगरपालिका क्षेत्रमा सबैभन्दा बढी मतदाता थिए । पनौतीमा जम्मा ३८ हजार १४५ जना मतदाता थिए । जसमा १८ हजार ७८१ जना पुरुष र १९ हजार ३६४ जना महिला थिए । बनेपा नगरपालिकामा ३७ हजार ५८१ जना मतदाता थिए । जहाँ १८ हजार ३४० जना पुरुष तथा १९ हजार २४१ महिला थिए ।
पाँचखाल नगरपालिकामा जम्मा मतदाता संख्या २९ हजार ६९७ थियो भने १४ हजार ९११ पुरुष तथा १४ हजार ७८६ महिला थिए ।
मण्डनदेउपुर नगरपालिकामा जम्मा मतदाता संख्या २८ हजार ५३१ थियो । जसमध्ये १४ हजार ६४५ जना पुरुष र १३ हजार ८ सय ८६ जना महिला थिए ।
नमोबुद्ध नगरपालिकाको जम्मा मतदाता संख्या २५ हजार ९५२ थिए । जसमध्ये १३ हजार २९२ पुरुष र १२ हजार ६६० महिला थिए ।
धुलिखेल नगरपालिकामा जम्मा मतदाता संख्या २५ हजार ५०८ रहेको छ, जहाँ १२ हजार ६४५ पुरुष तथा १२ हजार ८६३ जना महिला थिए ।
गाउँपालिकामध्ये सबैभन्दा धेरै मतदाता रोशी गाउँपालिकामा रहेका छन् भने सबैभन्दा कम खानीखोला गाउँपालिकामा रहेका छन् । रोशी गाउँपालिकामा २२ हजार ५४३ जना मतदाता रहेका छन्, जसमध्ये ११ हजार ७९२ पुरुष र १० हजार ७५१ महिला थिए ।
खानीखोला गाउँपालिकाको जम्मा मतदात संख्या १० हजार ३०९ जना हो । ५ हजार ४४३ पुरुष र ४ हजार ८ सय ६५ जना महिला थिए ।
तेमाल गाउँपालिकामा जम्मा मतदाता २१ हजार १०८ थिए । जसमध्ये ११ हजार ३ पुरुष र १० हजार १०५ जना महिला थिए ।
चौँरीदेउरालीमा २० हजार १९१ मतदाता थिए, जसमध्ये पुरुष १० हजार ५६७ र महिला ९ हजार ६२४ जना थिए ।
भुम्लुमा १७ हजार २४ जना मतदाता मध्ये पुरुष ८ हजार ९४५ र महिला ८ हजार ७८ जना महिला थिए ।
बेथानचोकमा १४ हजार ५५१ जना मतदाता मध्ये पुरुषको संख्या ७ हजार २७६ र महिला ७ हजार २७५ रहेको थियो ।
महाभारत गाउँपालिकामा १२ हजार ४२० मतदाता मध्ये पुरुष ६ हजार ५४३ र महिला ५ हजार ८७७ जना थिए ।
कुन पालिकामा कति मतदान स्थल र मतदान केन्द्र
काभ्रेका पालिकाहरु मध्ये बनेपा नगरपालिकामा सबैभन्दा बढी २४ मतदान स्थल र ४९ मतदान केन्द्र तोकिएको छ भने सबैभन्दा कम महाभारत गाउँपालिकामा ८ मतदान स्थल र १६ बटा मतदान केन्द्र तोकिएको थियो । त्यस्तै पनौती नगरपालिकामा २० वटा मतदान स्थल र ४४ वटा मतदान केन्द्र तोकिएको थियो । पाँचखालमा १८ वटा मतदान स्थल र ३७ वटा मतदान केन्द्र तोकिएको थियो । धुलिखेल नगरपालिकामा १९ वटा मतदान स्थल र ३४ वटा मतदान केन्द्र तोकिएको थियो ।
नमोबुद्ध नगरपालिकामा १६ वटा मतदान स्थल र ३० वटा मतदान केन्द्र थिए । मण्डनदेउपुर नगरपालिकामा १६ मतदान स्थलमा ३६ वटा मतदान केन्द्र तोकिएको थियो । गाउँपालिकाहरुमा रोशीमा १४ वटा मतदान स्थल र २८ वटा मतदान केन्द्र तोकिएको थियो । खानीखोलामा ९ मतदान स्थल र १५ मतदान केन्द्र, चौरीदेउराली गाउँपालिकामा ११ मतदान स्थल र २४ मतदान केन्द्र, तेमाल गाउँपालिकामा १२ मतदान स्थल र २७ मतदान केन्द्र, बेथानचोक गाउँपालिकामा ९ मतदान स्थल र १८ मतदान केन्द्र, भुम्लु गाउँपालिकामा १३ मतदान स्थल र २३ मतदान केन्द्र रहेका थिए ।









