2026 February 15/ 11:06: 38pm

    म जन्मिँदा राज्य आएन । मलाई कसैले कागजमा लेखेन । न त नाम दियो भनेर कतै दर्ता गरियो । म आमाको पेटबाट निस्कँदा घरको कुनामा एउटा पुरानो टाटमा राखिएको थिएँ । काभ्रेको महाभारत–गोकुले । त्यो विकटता । त्यो अभाव । त्यो छट्टपट्टि । सायद आजको महाभारतमा पनि जिउँदै छ । अहिले सुगमतासँगै हेलिकप्टर घुमेको हुन्छ तर सबै महिलाले त्यो अवसर पाउँदैनन् । कि हेलिकप्टर नआउँदै महिलाको निधन हुन्छ । कि महिलाले हेलिकप्टर भन्न नपाउँदै बच्चाको ज्यान जान्छ । पेट भित्रै बच्चाको ज्यान गएको, महिना नपुगी गाउँमा नै बच्चा जन्मिएको वा बच्चाले पाउनु पर्ने पोषण नपाएको, आमाले नियमित स्वास्थ्य जाँच गर्न नसकेको जस्ता तमाम समस्या आज पनि उस्तै उस्तै छन् । 
    पहाडको गाउँ । जहाँ छोरी जन्मिँदा खुसी भन्दा पहिले चिन्ता आउँछ । छोरी त अर्काको घर जाने हो, आमाले भनेको मैले पछि सम्झिएँ । त्यसैले होला, म जन्मँदा राज्यलाई बोलाइएन । मलाई लाग्छ, त्यही दिनदेखि म राज्यको नजरबाट हराएँ । पहिला त्यस्तो चलन पनि थिएन । छोरी जन्मँदा राज्यलाई भन्नुपर्छ । अझ त्यसका बारेमा टिपोट गरेर छोराको जस्तै चिना लेखाई दिनुपर्छ । छोरीहरुको चिना लेखाएको मैले सुनेको थिईनँ । छैन । पछिल्लो चरण छोरी र छोरा बराबरी भन्दै बाबु आमाले चिना टिप्पणी लेखेका छन् । राज्यका निकायले जन्मदर्ता अनिवार्य गरेको छ । त्यो बाहेक अरु सम्भावना थिएन र छैन पनि ।
    मेरो बाल्यकाल खेल होइन, काम थियो । दाउरा । घाँस । भाइबहिनी । स्कुल जाने बाटो देखिन्थ्यो, तर त्यो बाटो मेरो लागि होइन भन्ने सानैमा बुझिसकेकी थिएँ । मैले अक्षर चिन्न सकिनँ, तर मान्छेको स्वर चिन्न सिकेँ । कुन स्वर रिसको हो, कुन स्वर डरको । त्यो सीपले पछि मलाई धेरै पटक बचायो, धेरै पटक झन् डुबायो पनि । १७ वर्ष पुगेँ । मेरो शरीरका आधारमा ठूलो भइसकेँ भनेर बताइरहेको थियो, तर मेरो मन अझै डराउँथ्यो । त्यही बेला एकजना पुरुष आयो । उसले मलाई नामले बोलायो । पहिलोपटक कसैले मलाई नामले बोलाउँदा म रोएँ । मायाले माया पाएको ठानेँ । छोटो अवधीको भेटभाट र चिनजान अनि हलक्कै बढिरहेको उमेरका कारण हामीले प्रेम विवाह ग¥यौँ । सायद त्यो बालापन र अन्धो प्रेम थियो । माइती छोडेँ । एक हिसाबले माईतीका लागि बोझ पनि घटें । विवाह गरिदिनु पर्ने त्यसका लागि खर्च गर्नुपर्ने र केटा पनि खोज्नुपर्ने झन्झटबाट मुक्ति दिलाएको आभाष भयो । फर्केर हेर्न सकिनँ । किनकी फर्केर हेर्नु भनेको कमजोर हुनु हो भन्ने मलाई सिकाइएको थियो ।
    सिन्धुपाल्चोक पुगेँ । घर नयाँ थियो, मान्छे नयाँ थिए तर डर उही थियो । दुई वर्षमै दुई बच्चा जन्मिए । एक बच्चा अरूजस्तो छैन भन्ने आमाको आँखाले देख्थेँ । डाक्टरले के भने मैले बुझिनँ, तर मन भारी भयो । त्यही बेला श्रीमान्ले भने म विदेश जान्छु । विदेश । त्यो शब्द सुन्दा मलाई पेट दुख्थ्यो । जे भए पनि उनको निर्णय थियो । आर्थिक अभाव थियो । रोजगारका लागि विदेश जानुको विकल्प थिएन । परिवार पनि त्यहि चाहन्थ्यो । मेरो ब्यक्तिगत चाहनाको कुनै कदर हुँदैन थियो । त्यो पुरुष जसलाई भर्खरको कलकलाउँदो श्रीमती छाडेर मन पनि त थिएन होला नि ? तर पनि उसको बाध्यता मैले बुझ्नुको विकल्प थिएन । केहि महिनाको तयारी पछि उ विदेश गयो । 
    पहिला पहिला फोनहरु आएका थिए । विस्तारै कम हुँदै गयो । अन्त्यमा न मान्छे न फोन केही  पनि आएन । घरमै थिएँ । तर घर म सँग थिएन । मान्छेले सोध्थे खबर आयो ? म मुस्कुराउँथेँ । भित्रभित्रै म बिस्तारै एक्लिँदै गएँ । म न विधवा थिएँ, न श्रीमती । कानूनले मलाई चिन्न सकेन । त्यतिकैमा २५ वर्ष पुगेँ । अर्को पुरुष आयो । उसले भन्यो तिमी र बच्चा मेरो जिम्मा । म थाकिसकेकी थिएँ एक्लै बाँच्न । मैले फेरि भरोसा गरेँ । उसँग मेरो दोश्रो विवाह भयो । केही महिनामै सत्य बाहिर आयो । उसको अर्की श्रीमती विदेशमा रहिछिन् । त्यो दिन उसले पहिलो पटक मलाई दाउराले हिर्कायोे । म चिच्याउन सकिनँ । किनकि बच्चाहरू हेरिरहेका थिए ।
    त्यसपछि हिंसा भाषा बन्यो । हात । लात । शब्द । म सबै सहन्थेँ । किनकी जानु कहाँ ? विकल्प केहि भएन । केही वर्षमै ऊ हरायो । न फर्कियो । न सम्बन्ध टुंगियो । केहि वर्ष बिते । त्यतिका वर्षसम्म म न कसैकी पत्नी भएँ, न स्वतन्त्र महिला । बच्चाहरुको जन्मदर्ता खोज्न थालियो । उनीहरुलाई विद्यालय पठाउनु थियो । त्यसपछि याद भयो म नागरिक भएकै रहेनछु । दुई सन्तानको आमा भएर पनि केहि भएन । दुई श्रीमान्को श्रीमती भएर पनि श्रीमती हुन सकिनँ । म नागरिकता खोज्न गएँ । माइतीले भने तँ त बिहे गरेर गएकी । घरले भने हामी जिम्मेवार होइनौं । वडामा गएँ । कानून सुनाइयो । तर कसैले मेरो जीवन सुनिदिएन ।
    जिउनै पर्ने थियो । मैले नाङ्गलो पसल खोलें । चिया, बिस्कुट । त्यही पसलमा हिंसा फेरि आयो । ऊ आयो । कुट्यो । सामान फाल्यो । म भागेँ । माइती गएँ । तर माइतीघर रहेन । माइती पुगेँ । ढोका उही थियो, तर ढोकाभित्रको संसार फेरिएको रहेछ । बुबा–आमा अब छैनन् । घरमा दाजु, भाउजू, बुहारीहरू । म भित्र पस्दा कसैले सोधेन के भयो ? बरु भनियो फेरि किन आइस् ? मसँग उत्तर थिएन । किनकी म आफैलाई पनि थाहा थिएन म किन जिउँदै छु । सायद बाबु आमा बाँचिरहेका भए उनीहरुको मन त्यस्तो हुँदैन थियो । अझ माईती आएकी छोरीसँग गर्ने ब्यवहार त्यस्तो हुँदैन थियो । 
    माइतीमा म पाहुना पनि होइन, घरकी मान्छे पनि होइन । भान्सामा काम गरेँ । पानी बोकेँ । तर अपमान पनि बोकेँ । यसकै कारण घर बिग्रियो, यसले लाज ल्यायो । एकदिन बुहारीले मलाई हिर्काइन् । म केही बोलिनँ । किनकी बोल्नु भनेको फेरि घर छोड्नु हो । त्यहीबेला मैले विदेश जाने कुरा गरेँ । यहाँ बस्न सकिनँ, मैले भनेँ । सबैले एकै स्वरमा भने नागरिकता छैन भने कसरी जान्छेस् ? त्यो प्रश्नले मलाई पहिलोपटक पूरै भत्कायो । मैले बुझ्दै गएँ नागरिकता भनेको कागज होइन रहेछ, यो त बाँच्ने अनुमति रहेछ । मरांै कि बाँचौ ? बाँच्न पनि त नागरिकता त चाहियो ?
    वडा कार्यालय गएँ । कुर्सीमा बसेका मान्छेले मेरो अनुहार हे¥यो, कागज खोज्यो । बाबुको नागरिकता ? श्रीमान्को कागज ? मैले भनेँ बुबा त बित्नुभयो । श्रीमान् हराउनुभयो । उनीहरूले टेबल ठोक्दै भने कानूनले मिल्दैन । मैले सोधेँ कानूनले म जस्ती महिलालाई कहाँ राखेको छ ? उनीहरूले जवाफ दिएनन् । गाउँ फर्किएँ । ज्यालापानी गरें । ढुंगा बोकें । बालुवा चालें । मेरो शरीर ढलान् जस्तै भयो दिनदिनै पेलिँदै । तर मन झन् भारी । किनकी म काम गर्थें, तर म अस्तित्वमा थिएनँ । फेरि शहर आएँ । सानो कोठा भाडामा लिएँ । नाङ्गलो पसल फेरि खोलेँ । चिया बेच्दा मान्छेले पैसा दिन्थे, तर सम्मान दिँदैनथे । त्यही पसलमा ऊ फेरि आयो । उ आउँदा म सास रोक्थेँ । उसले कुट्यो । मेरो सामान फाल्यो । छिमेकी हेर्दै थिए । कसैले केही भनेन ।
    त्यो रात मलाई लाग्यो म अब धेरै बाँच्दिन । तर भोलिपल्ट फेरि बाँच्नैपर्ने भयो । दुईवटा बच्चाहरु थिए । उनीहरुको अभिभावक को ? म पनि बाँचिन भने उनिहरुले गर्छन् के ? यस्ता थुप्रै प्रश्नले मलाई बचायो । ढलानको काम पाएँ । दिनभर सिमेन्ट, रातभर दुखाई । एक वर्षजति यसरी बित्यो । एकदिन मेरो शरीरले भन्यो अब म सक्दिन । पेट दुख्न थाल्यो । रगत बग्न थाल्यो । कमजोरी । म अस्पताल पुगेँ । डाक्टरले रिपोर्ट हेरे । मलाई हेरे । भने तपाईंलाई पाठेघरको क्यान्सर छ । म चुप लागेँ । म रोइनँ । किनकि रोएर पनि सुन्ने कोही थिएन । मैले सोधेँ पैसा कति लाग्छ ? डाक्टरले जवाफ दिए । म बुझिसकेँ त्यो रकममेरो जीवनभन्दा ठूलो थियो । मैले सबै कुरा भनेँ । मेरो जीवन । मेरो हिंसा । मेरो नागरिकता । त्यो डाक्टर पहिलो मान्छे थिए जसले मेरो कथा पूरै सुने । उनले पहल गरे । उपचार सुरु भयो । त्यो दिन मलाई लाग्यो सायद भगवान मान्छेकै रूपमा आउँछन् ।
    अस्पतालमा मैले अरू महिलाहरू देखेँ । धनी । गरिब । विवाहित । एक्ला । सबै एउटै लाइनमा । त्यहाँ मैले बुझें रोगले अर्थात क्यान्सरले मान्छेको जात, धन, श्रीमान केही पनि सोध्दैन । तर उपचारले
सबै सोध्छ । उपचार पछि मलाई अस्पतालले नै मलाई सरसफाइको काम दियो । त्यहीँ बस्न पाएँ । त्यहीँ काम । बिरामी भए उपचार सजिलो । आज म बाँचिरहेकी छु । तर म सोध्छु । म जन्मिँदा राज्य आएन । म कुटिँदा राज्य आएन । म नागरिकता खोज्दा राज्य आएन । म क्यान्सर हुँदा एउटा डाक्टर आयो । राज्य भने कहिल्यै आएन । आज पनि म सँग नागरिकता छैन । तर मसँग कथा छ । घाउ छन् । अडान छ । म एउटी महिला हुँ । म कुनै कागज होइन । यदि राज्यले आज पनि मलाई नदेख्ने हो भने भोलि म जस्ती अरू धेरै जन्मिने छन् ।
    अस्पतालको विहान अरू बिहान भन्दा फरक हुँदैन । फरक यति मात्र हो यहाँ मानिसहरू बाँच्ने पालो कुर्दै बस्छन् । म झाडु लगाउँछु । फ्लोर पुछ्छु । रोगीका आँखामा आफ्नै आँखा देख्छु । कहिलेकाहीँ म आफ्नो पेट समाउँछु । अझै दुख्छ । तर दुःख अब नयाँ छैन । म काम गर्छु । बिरामी भए डाक्टर देखाउन पाउँछु । यति सुविधा मेरो जीवनमा पहिलोपटक आएको हो । तर कहिलेकाहीँ म ऐनामा हेर्छु र आफैलाई सोध्छु के म साँच्चै बाँचिरहेकी छु, कि केबल सास फेरिरहेकी ? मसँग आज पनि नागरिकता छैन । कसैले सोध्दा म हाँसिदिन्छु । किनकि रोएर केही हुँदैन । नागरिकता नभएर पनि म अस्पतालको सरसफाई गर्छु, तर अस्पतालकै फाइलमा मेरो नामसँग खाली ठाउँ छ । कहिलेकाहीँ वडाको कुरा सम्झिन्छु ।
    टेबल पछाडि बसेका मान्छे । कानूनको किताब । म उभिएकी थिएँ । उनी बसेका थिए । म जीवन बोकेकी थिएँ । कागज । उनीहरूले मलाई कहिल्यै सोधेनन् । तिमी कसरी बाँचेकी छौ ? म समाज सम्झिन्छु । जहाँ छोरी जन्मिँदा कागज आवश्यक ठानिँदैन । जहाँ विवाह पछि महिला हराउँछिन् । जहाँ हिंसा सहनुलाई धैर्य भनिन्छ । म त्यही समाजकी छोरी हुँ । म मेरा बच्चाहरू सम्झिन्छु । उनीहरू अहिले आफ्नै संसारमा छन् । म उनीहरूलाई धेरै दिन सकिनँ । तर म चाहन्छु उनीहरूले मेरो जस्तो जीवन नबाँचून् । उनीहरूले राज्य खोज्दै भौँतारिनु नपरोस् । म कहिलेकाहीँ भगवानलाई धन्यवाद दिन्छु । किनकि म बाँच्न पाएँ । तर तुरुन्तै आफैलाई रोक्छु । किनकि बाँच्नु कुनै उपकार होइन । म राज्यलाई सोध्न चाहन्छु म जन्मिँदा तिमी कहाँ थियौ ? म कुटिँदा तिमी किन चुप थियौ ? म नागरिकता खोज्दा तिमी किन किताब खोलेर बन्द भयौ ?
    म कुनै नारा होइन । म कुनै तथ्यांक होइन । म एउटी महिला हुँ जो बाँचिरहेकी छ । मेरो शरीरमा घाउ छन् । मेरो जीवनमा खाली ठाउँ छन् । तर म अझै उभिएकी छु । यदि राज्यले आज मलाई देखेन भने भोलि मेरो जस्तै अरू धेरै आवाज यसरी नै चुपचाप हराउनेछन् । म नागरिकता बिना बाँचिरहेकी छु । तर म मान्छे हुँ । म जिउँदै छु । अब प्रश्न यत्ति हो–राज्य, तिमी मलाई कहिले देख्छौ ?

सुन्तली थिङ
बनेपा, काभ्रे