2026 July 10/ 11:54: 24pm

    बागमती प्रदेशको एउटा सानो पहाडी जिल्ला । त्यहाँको विकट गाउँ रानीडाँडा बिहानको कुहिरोसँगै ब्युँझन्थ्यो । ढुङ्गाले छाएका घरहरू, खरले बनेका गोठहरू, बारीका कान्लामा उम्रिएका मकैका बोट र माथिबाट निरन्तर बगिरहने खोलाको आवाजले त्यो गाउँलाई जीवित राखेको थियो । त्यही गाउँको एउटा सानो घरमा जन्मिएको थियो । उमेर जम्मा तेह्र वर्ष । कक्षा सात उत्तीर्ण गरेर उसले गाउँकै विद्यालयमा सधैं पहिलो स्थान ल्याएको थियो । उसको बुबा रामबहादुर तामाङ वैदेशिक रोजगारीमा कतारमा थिए । आमाले गाउँमै खेतीपाती गरेर दुई छोराछोरी हुर्काइरहेकी थिइन् । 
    अभिषेकको एउटा सपना थियो । भन्थ्यो ठूलो भएर डाक्टर बन्छु । गाउँमा स्वास्थ्य चौकीसम्म राम्रो थिएन । सानी बहिनी बिरामी हुँदा समयमै अस्पताल पु¥याउन नसकेर धेरै दुःख पाएको उसले आफ्नै आँखाले देखेको थियो । त्यसैले गाउँका सबैले भन्थे, यो छोरो धेरै पढ्छ । एक दिन ठूलो मान्छे बन्छ । २०७६ सालको वैशाख महिनामा गाउँमा एउटा ठूलो खबर आयो । काठमाडौं नजिकै रहेको प्रतिष्ठित आवासीय विद्यालयले छात्रवृत्ति परीक्षा लिएको थियो । अभिषेक पनि सहभागी भयो । परिणाम आयो । उसको नाम पहिलो नम्बरमा थियो । घरभरि खुसी छायो । आमाले भगवानलाई धूप बालिन् । बुबाले कतारबाट फोन गरेर भने, बाबु, हाम्रो दुःख सकिने बाटो यही हो । राम्रोसँग पढ । 
    असारको पहिलो साता अभिषेक पहिलो पटक गाउँ छोड्दै थियो । बस चढ्ने बेलामा आमाले एउटा पुरानो झोला हातमा थमाइन् । त्यसमा दुई जोर कपडा, एउटा डायरी, केही किताब र गाउँकै दिदीले बुनेको निलो स्वेटर थियो । बस अगाडि बढ्यो । आमा धेरै टाढासम्म हात हल्लाइरहिन् । अभिषेकले झ्यालबाट हेर्दै सोच्यो, अब मेरो जीवन बदलिनेछ । उसलाई कहाँ थाहा थियो, त्यही यात्राले उसको बाल्यकाललाई सधैंका लागि दुई भागमा बाँड्ने थियो । विद्यालय उसले कल्पना गरेभन्दा धेरै ठूलो थियो । चारतले भवन । फुटबल मैदान । पुस्तकालय । कम्प्युटर ल्याब । अलग छात्रावास । विदेशी शिक्षकहरू । अंग्रेजी बोल्ने विद्यार्थीहरू । सबै कुरा नयाँ थियो । उहाँहरूले छात्रावासको नियम सुनाए । बिहान पाँच बजे उठ्ने । समयमै कक्षा जाने । राति नौ बजेपछि सबै कोठामा बस्ने । अभिषेकलाई छात्रावासको तेस्रो तलाको एउटा कोठा दिइयो । त्यहाँ अर्को विद्यार्थी निरज श्रेष्ठ पनि बस्थ्यो । उमेर उस्तै । ऊ काठमाडौंको थियो । केही दिनमै उनीहरू दाजुभाइजस्तै भए ।
    विद्यालयमा एकजना विदेशी शिक्षक थिए । उनको नाम मार्टिन ब्राउन थियो । उनले अंग्रेजी पढाउँथे । विद्यार्थीसँग हाँसेर बोल्थे । खेल्थे । कहिलेकाहीँ चकलेट पनि दिन्थे । धेरै विद्यार्थी उनलाई असाध्यै मन पराउँथे । अभिषेकले पनि पहिलो दिन घरमा फोन गरेर भनेको थियो, आमा, यहाँका सर त धेरै राम्रो हुनुहुँदो रहेछ । आमाले खुसी हुँदै भनिन्, राम्रो शिक्षक भेट्नु भनेको भगवान् भेट्नु जस्तै हो बाबु । पहिलो महिना निकै गाह्रो भयो । राति सुत्दा आमाको याद आउँथ्यो । दशैंमा गाउँ फर्किने दिन गन्दै डायरीमा चिनो लगाउँथ्यो । कहिलेकाहीँ चुपचाप छात्रावासको झ्यालबाट बाहिर हेरेर बसिरहन्थ्यो । निरजले एक दिन सोध्यो, के भयो ? उसले मुस्कुराउँदै भन्यो, केही होइन । घर सम्झिएको । दुवै जना कहिलेकाहीँ भविष्यका सपना सुनाउँथे । निरज इन्जिनियर बन्न चाहन्थ्यो । अभिषेक डाक्टर । उनीहरूलाई लाग्थ्यो, जीवन यत्तिकै सुन्दर रहिरहनेछ । तर कहिलेकाहीँ सुन्दर देखिने ठाउँभित्र पनि केही यस्ता अँध्यारा कुनाहरू हुन्छन्, जहाँ बालबालिकाको विश्वासको परीक्षा लिइन्छ । त्यो अँध्यारो उनीहरूको जीवनतिर बिस्तारै नजिकिँदै थियो । 
    साउनको झरीले विद्यालय परिसर हराभरा बनाएको थियो । छात्रावासको बिहान हरेक दिन एउटै तालिकाअनुसार सुरु हुन्थ्यो । बिहान पाँच बजे घण्टी बज्थ्यो । सबै विद्यार्थी उठ्थे । कसैले अनुहार धुन्थे, कसैले जुत्ता पालिस गर्थे । छ बजेसम्म मैदानमा व्यायाम, त्यसपछि बिहानको खाना र कक्षा । अभिषेक अब विस्तारै नयाँ वातावरणमा घुलमिल हुन थालेको थियो । गाउँको सोझो केटा अहिले अंग्रेजीमा बोल्ने अभ्यास गर्न थालेको थियो । शिक्षकहरूले पनि उसको लगनशीलताको प्रशंसा गर्थे । उसको सबैभन्दा नजिकको साथी निरज थियो । उनीहरू एउटै बेन्चमा बस्थे, एउटै पुस्तकालयमा पढ्थे र राति छात्रावासको झ्यालबाट आकाशका तारा गन्दै भविष्यका सपना बुन्थे । दश वर्षपछि हामी कहाँ हौला ? निरजले एक दिन सोध्यो । अभिषेक हाँस्यो । तँ ठूलो इन्जिनियर । म अस्पतालमा बिरामी जाँच्दै । दुवै हाँसे । उनीहरूलाई लाग्थ्यो, जीवनको सबैभन्दा कठिन परीक्षा भनेको पढाइ मात्र हो । तर जीवनका केही परीक्षा किताबमा लेखिएका हुँदैनन् ।
    विद्यालयमा शिक्षक मार्टिन ब्राउन निकै लोकप्रिय थिए । उनले कहिलेकाहीँ अतिरिक्त अंग्रेजी कक्षा लिन्थे । राम्रो पढ्ने विद्यार्थीलाई पुस्तक उपहार दिन्थे । खेलकुदमा पनि सहभागी हुन्थे । कतिपय अभिभावकले समेत उनीप्रति ठूलो विश्वास राखेका थिए । एक दिन उनले अभिषेकलाई भने, तिमी धेरै राम्रो पढ्छौ । अझ राम्रो बनाउन अतिरिक्त अभ्यास गरौँ । अभिषेकलाई त्यो अवसरजस्तै लाग्यो । गाउँबाट आएको एउटा विद्यार्थीका लागि शिक्षकको प्रशंसा ठूलो कुरा थियो । उसले घरमा फोन गरेर आमालाई सुनायो । आमा, सरले मलाई धेरै राम्रो विद्यार्थी भन्नुभयो । आमाले खुसी हुँदै उत्तर दिइन्, त्यसै भएर त भगवानले तिमीलाई त्यहाँ पु¥याउनुभयो बाबु । दिनहरू बित्दै गए । मार्टिन सरले केही विद्यार्थीलाई बेलाबेलामा छुट्टै बोलाउन थाले । कहिले अतिरिक्त अभ्यासको बहाना, कहिले पुस्तक दिने बहाना, कहिले प्रतियोगिताको तयारी । सबै कुरा बाहिरबाट सामान्य नै देखिन्थ्यो । तर निरजले एउटा कुरा महसुस गर्न थालेको थियो । 
    अभिषेक पहिलेजस्तो खुला हाँस्न छोड्दै थियो । राति ढिलोसम्म जागा बस्न थालेको थियो । डायरी लेख्ने बानी पनि कम हुँदै गएको थियो । एक दिन निरजले सोध्यो, तँलाई के भयो ? अभिषेक केहीबेर चुप रह्यो । केही छैन । झूट बोलिस् । अभिषेकले मुस्कुराउने प्रयास ग¥यो । थाकेको मात्र । तर त्यो मुस्कान उसको आँखासम्म पुगेन । बालबालिका प्रायः आफ्नो मनको पीडा शब्दमा भन्न सक्दैनन् । उनीहरू व्यवहारबाट बोल्छन् । अभिषेक पनि बदलिन थालेको थियो । पहिले पहिलो बेन्चमा बस्ने केटा अब पछाडि बस्न रुचाउँथ्यो । पहिले सबैसँग खेल्ने केटा अब खेल मैदानभन्दा पुस्तकालयको कुनामा एक्लै बस्न थालेको थियो । राति कहिलेकाहीँ निद्रामै झस्किन्थ्यो । एक दिन वार्डेनले पनि ध्यान दिए । अभिषेक, तिमी बिरामी छौ ? उसले टाउको हल्लायो । छैन । तर उसको अनुहारले भने अर्कै कथा सुनाइरहेको थियो । दशैं नजिकिँदै थियो । विद्यालयबाट सबै विद्यार्थीलाई घरमा पत्र लेख्न भनियो । अभिषेकले पनि कागज निकाल्यो । उसले धेरैबेर कलम समातिरह्यो । पहिलो वाक्य लेख्यो, आमा, म यहाँ ठीक छु । त्यसपछि कलम रोकियो । ऊ धेरै कुरा लेख्न चाहन्थ्यो । तर लेख्न सकेन । 
    अन्ततः पत्रमा केही सामान्य कुरा मात्रै लेखियो–पढाइ, परीक्षा र दशैंमा घर आउने उत्साह । उसले मनभित्र लुकाइरहेको भारी कागजमा उतार्न सकेन । कक्षा शिक्षिका सरिता अधिकारीले पनि परिवर्तन देखेकी थिइन् । अभिषेकको नतिजा घट्न थालेको थियो । पहिले सधैं पूर्ण अंक ल्याउने विद्यार्थी अहिले सामान्य गल्ती गर्न थालेको थियो । उनले स्टाफ बैठकमा भनिन्, हामीले केही विद्यार्थीसँग छुट्टै कुरा गर्नुपर्छ । उनीहरू पहिलेजस्ता देखिँदैनन् । तर व्यस्त तालिका, परीक्षा र विद्यालयका अन्य कामबीच त्यो कुरा त्यहीँ हरायो । कहिलेकाहीँ एउटा सानो संवादले पनि ठूलो दुर्घटना रोक्न सक्थ्यो । तर त्यो संवाद हुन सकेन । अभिषेकले आफ्नो डायरीमा एउटा वाक्य मात्र लेख्यो, कहिलेकाहीँ मानिसहरू बाहिरबाट सुरक्षित देखिने ठाउँभित्र पनि एक्लो हुन्छन् । उसले किन त्यो लेख्यो, कसैले बुझेन । तर वर्षौँपछि जब त्यो डायरी फेरि खोलियो, त्यो एउटा वाक्यले बालबालिकाको मौन पीडाको सबैभन्दा गहिरो अर्थ बोकेको थियो ।
    भदौ महिनाको अन्तिम सातातिर मौसम फेरिन थालेको थियो । बिहानको चिसो बढ्दै गइरहेको थियो । छात्रावासको आँगनमा रहेका देवदारका रूखबाट झरेका पातहरू हावासँगै उडिरहेका थिए । विद्यालयको जीवन भने पहिलेजस्तै व्यस्त थियो । परीक्षाको तयारी । अतिरिक्त कक्षा । खेलकुद । सांस्कृतिक कार्यक्रम । बाहिरबाट हेर्दा सबै सामान्य थियो । तर केही बालबालिकाको मनभित्र भने एउटा अदृश्य आँधी चलिरहेको थियो । अभिषेक अब पहिलाको जस्तो रहेन । उसले बिहानको व्यायाममा जान छोडेको थिएन, तर पहिलेझैँ जोश पनि थिएन । कक्षामा शिक्षकले प्रश्न सोध्दा ऊ उठ्थ्यो ।  उत्तर पनि दिन्थ्यो । तर उसको आवाजमा पहिलेको आत्मविश्वास हराइसकेको थियो । निरजले फेरि एक दिन सोध्यो, तँ घर जान चाहन्छस् ? अभिषेकले धेरै बेर केही बोलेन । पछि बिस्तारै भन्यो, घर गएर पनि के हुन्छ र ? यो उत्तर सुनेपछि निरज झस्कियो । किनकी अभिषेक त सधैं घर जान दिन गन्दै बस्ने साथी थियो । 
    छात्रावासमा राति दस बजेपछि सबै बत्ती निभाइन्थ्यो । त्यसपछि सारा भवन शान्त हुन्थ्यो । तर केही कोठामा भने निद्रा आउँदैनथ्यो । अभिषेक कहिलेकाहीँ झस्किएर उठ्थ्यो । उसको सास तीव्र हुन्थ्यो । निरजले एक रात उसको काँध समातेर भन्यो, के भयो ? केही होइन । नराम्रो सपना । बारम्बार एउटै सपना देख्छस् ? अभिषेकले टाउको झुकायो । हो...। तर सपना के थियो, उसले कहिल्यै बताएन । उसले फेरि डायरी लेख्न सुरु ग¥यो । तर यसपटक शब्दहरू फरक थिए । कहिलेकाहीँ सबैभन्दा ठूलो पीडा भनेको कसैले विश्वास नगर्ला भन्ने डर रहेछ । अर्को पानामा लेखिएको थियो, म बोल्न चाहन्छु । तर शब्द भेट्दिनँ । त्यसपछि धेरै पाना खाली थिए । कक्षा शिक्षिकाको चिन्ता । सरिता अधिकारीले फेरि अभिषेकलाई स्टाफ रुममा बोलाइन् । अभिषेक, केही समस्या छ ? छैन, म्याम । घर सम्झिएको हो ? 
    अलिकति । कसैले दुःख दिएको छ ? अभिषेकले केही क्षण म्यामको अनुहार हेरिरह्यो । उसका आँखा रसाए । तर उसले फेरि उही उत्तर दियो, छैन । सरिताले उसलाई पानी दिइन् । यदि कहिल्यै केही भन्न मन लाग्यो भने, म सधैं सुन्न तयार छु । त्यो वाक्य अभिषेकको मनमा धेरै दिनसम्म गुञ्जिरह्यो । छात्रावासमा बस्ने अर्का विद्यार्थी रोहन पनि केही दिनदेखि असामान्य देखिन थालेका थिए । पहिले खेलकुदमा सधैं अगाडि हुने रोहन अहिले मैदान नै जान छोडेका थिए । खाना पनि कम खान्थे । निरजले एक दिन दुवैलाई पुस्तकालयमा सँगै देख्यो । अभिषेक र रोहन केहीबेर एकअर्कालाई हेरे । कुनै शब्द बोलेनन् । तर उनीहरूबीच एउटा साझा पीडा थियो । त्यो पीडाले शब्दभन्दा गहिरो संवाद गरिरहेको थियो । असोजको दोस्रो शनिबार विद्यालयमा अभिभावक दिवस आयोजना भयो । सबै अभिभावक आफ्ना छोराछोरी भेट्न आए । आमाले अभिषेकलाई देख्नेबित्तिकै अँगालो हालिन् । किन दुब्लायौ बाबु ? अभिषेक मुस्कुरायो । पढाइ धेरै भएर होला । आमाले उसको अनुहार ध्यान दिएर हेरिन् । उनी आमै थिइन् । छोराको मुस्कानभित्रको दुःख पनि देख्न सक्थिन् । सबै ठीक छ नि ? अभिषेक केही क्षण मौन रह्यो । 
    उसले वरिपरि हे¥यो । विद्यालयका कर्मचारीहरू यताउता हिँडिरहेका थिए । विद्यार्थीहरू खेलिरहेका थिए । उसले आमाको हात समात्यो । तर फेरि केही भन्न सकेन । ठीक छ, आमा । घर फर्किँदा आमाको मन भने हलुका भएन । केही दिनपछि छात्रावासको अध्ययन कक्ष सफा गर्ने क्रममा कर्मचारीले एउटा च्यातिएको कागज भेटे । त्यसमा लेखिएको थियो । यदि कसैले शिक्षकको डरले बोल्न नसकेको छ भने, उसलाई दोष नदिनुहोस् । उसलाई सुन्नुहोस् । त्यो कसले लेखेको थियो, कसैलाई थाहा भएन । तर त्यो नोट प्रधानाध्यापकसम्म पुग्यो । उनले शिक्षकहरूको बैठक बोलाए । विद्यार्थीहरूको मानसिक अवस्थालाई गम्भीर रूपमा लिनुपर्छ, उनले भने । त्यो निर्णय ढिलो थियो । तर अत्यन्त आवश्यक पनि । विद्यालय प्रशासनले परामर्शदाता बोलाउने निर्णय ग¥यो । विद्यार्थीसँग व्यक्तिगत रूपमा कुरा गर्ने योजना बन्यो ।
धेरै बालबालिका सहज थिए । तर केही विद्यार्थीहरू प्रश्न सुन्नासाथ चुप लाग्थे । अभिषेक पनि तीमध्ये एक थियो । परामर्शदाताले उसलाई कुनै दबाब दिएनन् ।
    उनले केवल एउटा वाक्य भने, तिमीले आज केही नभने पनि हुन्छ । तर सम्झ, तिमी एक्लो छैनौ । त्यो वाक्य सुनेपछि अभिषेकको आँखाबाट आँसु झ¥यो । सायद महिनौँपछि पहिलो पटक कसैले उसलाई दोषी होइन, पीडित हुन सक्ने बालकको रूपमा हेरेको थियो । त्यही क्षणदेखि मौनताको पर्खालमा पहिलो सानो चिरा पर्न सुरु भयो । घटनालाई दस वर्ष बितिसकेको थियो । रानीडाँडाको त्यो सोझो बालक अभिषेक तामाङ अब २३ वर्षको युवा बनिसकेको थियो । उसको अनुहारमा बाल्यकालको सरलता अझै बाँकी थियो, तर आँखामा उमेरभन्दा धेरै अनुभव देखिन्थ्यो । त्यो रातले उसको बाल्यकाल खोसेको थियो । तर उसको भविष्य भने खोस्न सकेको थिएन । वर्षौंसम्म उसले मनोवैज्ञानिक परामर्श लियो । धेरै पटक उसले आफूलाई दोषी ठान्यो । धेरै रात ऊ निदाउन सकेन । कसैलाई विश्वास गर्न गाह्रो भयो । मानिससँग खुल्न समय लाग्यो । तर विस्तारै उसले एउटा सत्य बुझ्यो, अपराध गर्ने दोषी हुन्छ, सहने होइन । त्यही बुझाइले उसको जीवन बदल्न थाल्यो । अभिषेकले चिकित्सा शिक्षा पूरा गर्न नसके पनि मनोविज्ञान अध्ययन गर्ने निर्णय ग¥यो । किनभने उसले बुझिसकेको थियो, शरीरका घाउभन्दा मनका घाउ निको पार्न अझ धेरै समय लाग्छ । उसले पछि बाल संरक्षण र मनोसामाजिक परामर्शको क्षेत्रमा काम गर्न थाल्यो । विद्यालयहरूमा पुग्थ्यो । विद्यार्थीसँग कुरा गथ्र्यो । शिक्षकलाई प्रशिक्षण दिन्थ्यो । अभिभावकसँग संवाद गथ्र्यो । उसले कहिल्यै आफ्नो व्यक्तिगत पीडालाई प्रचारको विषय बनाएन । तर प्रत्येक कार्यक्रममा एउटा वाक्य भने दोहो¥याउँथ्यो, बालबालिकाले बोल्न नसक्नु उनीहरूको कमजोरी होइन । सुरक्षित वातावरण नदिनु हाम्रो कमजोरी हो । 
    एक दिन ऊ आफ्नो पुरानो छात्रावासजस्तै देखिने एउटा विद्यालयमा पुगेको थियो । कार्यक्रम सकिएपछि कक्षा सातको एउटा बालक चुपचाप उसको नजिक आयो । उसले बिस्तारै भन्यो, सर... म तपाईंसँग एक्लै कुरा गर्न सक्छु ? अभिषेक केही क्षण मौन रह्यो । त्यो वाक्यले उसलाई दस वर्षअघिको आफ्नै अनुहार सम्झाइदियो । उसले मुस्कुराउँदै भन्यो, अवश्य सक्छौ । त्यो दिन उसले एउटा बालकको कुरा सुन्यो । सायद त्यो बालकको जीवन त्यसैदिन बदलियो । किनभने यसपटक कसैले उसको कुरा बीचमै रोकेन । कसैले उसलाई दोष दिएन । कसैले चुप लाग भनेन । साँझ घर फर्किँदा अभिषेकले आफ्नो पुरानो डायरी निकाल्यो । त्यसको पहिलो पानामा बाल्यकालमा लेखिएको एउटा वाक्य थियो, म बोल्न चाहन्छु । तर शब्द भेट्दिनँ । उसले त्यो वाक्यको तल नयाँ वाक्य थप्यो, आज म बोल्न सक्छु । अझ महत्वपूर्ण कुरा, म अरूको आवाज पनि सुन्न सक्छु । केही महिनापछि सरकारले बाल संरक्षणसम्बन्धी राष्ट्रिय कार्यक्रममा उसलाई सम्मान ग¥यो । 
    त्यो रात ऊ आँगनमा बसेर आकाशतिर हेर्दै थियो । बाल्यकालमा देखेका तिनै तारा अझै त्यही थिए । फरक यति मात्र थियो, पहिले ऊ भविष्य खोज्दै तारा हेथ्र्यो । आज ऊ भविष्य बनाउन अर्को बालकको हात समाउन तयार थियो । हरेक विद्यालय सुरक्षित हुनुपर्छ । हरेक छात्रावास विश्वासको घर हुनुपर्छ । हरेक शिक्षक बालबालिकाको संरक्षक हुनुपर्छ । र हरेक अभिभावकले आफ्ना छोराछोरीको व्यवहारमा आएको सानो परिवर्तन पनि ध्यान दिनुपर्छ । कहिलेकाहीँ बालबालिकाले आफ्ना आँसुले होइन, आफ्नो मौनताले सहायता मागिरहेका हुन्छन् । 

सरोज तामाङ
उसको मिल्ने साथी 
सिन्धुपाल्चोक