बनेपा/बनेपा ६ गोसाईस्थानमा रहेको नैमिषारण्य संस्कृत गुरुकुलमा चोरी गर्ने ओखलढुंगा स्थायी घर भई धुलिखेल नगरपालिका वडा नम्बर ३ बाँसघारी बस्ने २४ बर्षिय प्रेम मगरलाई पक्राउ गरेको थियो । पक्राउ परेका प्रेमलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।
गुरुकुलका प्राचार्य दिव्यमणि अधिकारीको जाहेरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । प्रहरीका अनुसार २०८३ असार ३२ गते राति करिब साढे १२ बजे प्रेम मगर आफ्ना साथी रञ्जित केसीलाई साथमा लिएर गुरुकुलको कम्पाउण्डभित्र प्रवेश गरेका थिए । उनीहरूले भान्सा कोठाको ढोका फलामको रड प्रयोग गरी फुटाउनुका साथै ताल्चासमेत तोडेर भित्र रहेका सामान चोरी गरेका थिए ।
चोरीपछि बनेपा बजारमा हिँडिरहेका बेला प्रहरीले प्रेम मगरलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा गुरुकुलबाट चोरी भएका १० थान चरेसका थालरञ्जित केसीलाई बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ । रञ्जितले थाल किनेबापत प्रेमलाई २ हजार रुपैयाँ दिएको बताइएको छ।गुरुकुलबाट चोरी भएका १० थान चरेसका थालको मूल्य २२ हजार रुपैयाँ, दानपेटिकामा रहेको २० हजार रुपैयाँ तथा प्रतिवादीको साथबाट बरामद १ हजार ३ सय रुपैयाँ घटाउँदा हुन आउने १८ हजार ७ सय रुपैयाँ गरी कुल ४० हजार ७ सय रुपैयाँ बिगो भराउन माग गरिएको थियो । यसअघि अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला अदालत काभ्रेबाट प्रेम मगरलाई १ महिना १५ दिन कैद र २ हजार ५ सय रुपैयाँ जरिवाना हुने फैसला २०८३ असार ३ गते भएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काभ्रेका सहायक जिल्ला न्यायाधिवक्ता निकुञ्ज श्रीवास्तवले २०८३ साउन २६ गते चोरीसम्बन्धी अभियोगपत्र जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता गराएका थिए । जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले प्रेम मगरलाई धरौटीमा छाड्ने आदेश दिएको हो।घटनामा वतन नखुलेका रञ्जित केसीसहित अन्य व्यक्तिको समेत संलग्नता रहेको खुलेमा उनीहरूलाई पक्राउ गर्न अनुमति मागेको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान जारी राखेको जनाएको छ । प्रहरीले पछिल्लो समय बनेपा र आसपासका क्षेत्रमा चोरी लगायतका अपराधमा संलग्नहरुलाई धमाधम पक्राउ गरी अनुसन्धान गरिरहेको छ । धुलिखेल नगरपालिका वडा नम्वर ३ को कार्यालयको ल्यापटप लगायतका सामानहरु पनि चोरी भएको थियो । उक्त घटनामा भने आफु संलग्न नभएको उनले बयानमा भनेका छन् ।
बनेपा नगरपालिका वडा नम्वर ७ गोदामचोकमा रहेको सुविन गतराजको ज्वेलर्सबाट २०८३ साउन ५ गते दिउँसो १ बजे तीन तोला चाँदीका गहना चोरी गर्ने नमोबुद्ध नगरपालिका वडा नम्बर ५ भकुण्डे घर भई धुलिखेल ७ बस्ने २२ वर्षिय रञ्जित श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । रञ्जितले रकम सापट माग्दा नदिएकाले चोरी गरेको बयान दिएका छन । बनेपामा पाकेट मार्ने, लुटपाट गर्ने समुहको पनि भागाभाग भएको छ । विशेषगरी महिला तथा जेष्ठ नागरिकहरुलाई बेहोस बनाएर लुट्ने, नक्कली डलर देखाएर ठगी गर्ने गिरोहका केहि सदस्यहरु पनि पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएस्पी राकेश थापाका अनुसार प्रहरीले बढाएको सक्रियताका आधारमा अपराधमा संलग्नहरु धमाधम पक्राउ परिरहेका छन् ।









