2026 August 14/ 11:54: 04pm

‘हामीले नयाँलाई जितायौं, तर हाम्रो जीवनमा नयाँ केही आएन’
    विहानको सात बज्नै लागेको छ । चौरीदेउराली गाउँपालिकाको एउटा डाँडामाथि उभिँदा तल फाट्टफुट्ट घरहरू देखिन्छन् । कतै घरको आँगनमा वृद्ध दम्पत्ति घाम तापिरहेका छन् । कतै गोठबाट गाईबस्तु निकालिँदै छन् । खेतका कान्लाहरू हरिया छन्, तर धेरै बारी बाँझा देखिन्छन् । गाउँमा पहिले जस्तो बालबालिकाको कोलाहल सुनिँदैन । युवाको हाँसो पनि हराउँदै गएको छ । अहिले गाउँमा धेरै सुनिने आवाज भनेको बाँदर कराएको, बँदेल पसेको र विदेशबाट आएको फोनको रिङटोन हो ।
    चुनावका बेला यिनै गाउँहरूमा आशा थियो । पुराना दलप्रति असन्तुष्टि थियो । वर्षौंसम्म उही अनुहार, उही वाचा र उही परिणाम देखेपछि धेरै मतदाताले यसपटक नयाँ अनुहारलाई विश्वास गरे । उनीहरूलाई लाग्यो–अब सरकार नागरिकतर्फ फर्किन्छ, किसानको समस्या सुन्छ, युवालाई रोजगारी दिन्छ, गाउँलाई गाउँमै बाँच्ने आधार बनाउँछ । तर वर्तमान अवस्थासम्म आइपुग्दा चौरीदेउरालीका धेरै नागरिकको अनुहारमा आशाभन्दा बढी निराशा देखिन्छ । ‘हामीले परिवर्तन खोजेर मत हाल्यौं, तर परिवर्तन त भाषणमा मात्रै रहेछ । हाम्रो दैनिकी त उस्तै छ ।’ 
        यो गुनासो कुनै एक दलविरुद्ध होइन । यो गुनासो राज्य सञ्चालन गर्ने शैलीप्रति हो । चुनावअघि देखाइएका सपना र चुनावपछिको यथार्थबीचको दूरीप्रति हो । धेरै मतदाताले यसपटक पुराना दललाई भन्दा नयाँ दल र नयाँ उम्मेदवारलाई रोजे । उनीहरूलाई लाग्यो, पुरानो राजनीतिक सँस्कार बदल्न नयाँ पुस्ता आवश्यक छ । तर आज गाउँमा फेरि अर्को प्रश्न उठ्न थालेको छ । अनुहार फेरियो, तर व्यवहार किन फेरिएन ? नागरिकलाई सरकार कुन दलको छ भन्नेभन्दा पनि आफ्नो जीवनमा के परिवर्तन आयो भन्ने कुराले बढी अर्थ राख्छ । तर किसानका लागि मलको अभाव उस्तै छ । तरकारी बेच्ने किसान बजार खोज्दै हिँडिरहेका छन् । दूध उत्पादन गर्ने किसानले समयमै मूल्य पाउने निश्चितता छैन । महँगी दिनदिनै बढेको छ । युवा गाउँमा बस्ने आधार भेट्दैनन् । स्वास्थ्य सेवा महँगो छ । शिक्षा सहज छैन । सडक पुगे पनि रोजगारी पुगेको छैन । त्यसैले धेरै नागरिक अहिले एउटै वाक्य दोहोर्याउँछन– ‘जो आए पनि गरिबको जीवन उस्तै रहेछ ।’ 
       महँगीको चर्चा काठमाडौंमा पनि हुन्छ । तर चौरीदेउरालीको गाउँमा यसको असर अझ गहिरो छ । दैनिक उपभोगका वस्तुको मूल्य बढेको छ । ग्याँस सिलिन्डर, तेल, चामल, दाल, नुनदेखि विद्यालयको शुल्कसम्म सबै खर्च बढेको छ । तर आम्दानी बढेको छैन । खेतीबाट आउने आम्दानीले वर्षभरी परिवार धान्न सकिँदैन । दैनिक ज्यालादारी काम पनि नियमित छैन । सरकारी रोजगारी त टाढाको कुरा भयो । पहिला पनि दुःख थियो । अहिले पनि दुःख छ । फरक यत्ति हो, अहिले सामानको भाउ धेरै बढेको छ । कमाइ भने उही छ । कृषिप्रधान देश भन्ने नारा धेरै सुनिन्छ । तर किसानका लागि सबैभन्दा ठूलो प्रश्न अझै पनि रासायनिक मल नै हो । रोपाइँ सुरु हुँदा किसानले मल खोज्नुपर्छ । कहिले सहकारी धाउनुपर्छ । कहिले सदरमुकाम पुग्नुपर्छ । कहिले निजी पसलमा महँगो मूल्य तिर्नुपर्छ । किसानको प्रश्न सरल छ–सरकारले कम्तीमा खेती गर्न आवश्यक मल त सहज बनाइदिओस् । उत्पादन बढाउने भाषण धेरै छन् । तर उत्पादन गर्ने आधार नै कमजोर हुँदा किसानको आत्मविश्वास पनि घट्दै गएको छ । धेरै किसानले तरकारी, आलु, दूध, फलफूल उत्पादन गर्छन् । तर उत्पादन बेच्ने बेला उनीहरूको अनुहारमा चिन्ता देखिन्छ । बजारसम्म लैजान यातायात खर्चिलो छ । मूल्य निश्चित छैन । बिचौलियाले भनेको मूल्य स्वीकार गर्नुपर्छ । कतिपय किसानले तरकारी टिपेर बिक्री गर्नुभन्दा खेतमै छोडिदिनु सस्तो पर्ने अवस्था आएको बताउँछन् । पाँचखालमा आलु विक्री नभएर किसानहरुले त्यहि गरे । यता बजारमा त्यही तरकारी उपभोक्ताले महँगो मूल्यमा किनिरहेका छन् । यसले एउटा ठूलो प्रश्न उठाउँछ–किसानले उचित मूल्य किन पाउँदैन ? दूध बेच्ने किसानको पीडा उस्तै छ । धेरै परिवारको आम्दानीको आधार पशुपालन हो । बिहान सबेरै उठेर दूध दुहिन्छ । सङ्कलन केन्द्रसम्म पु¥याइन्छ । तर कहिलेकाहीँ भुक्तानी ढिलो हुन्छ । दाना महँगो छ । औषधि महँगो छ । श्रम महँगो छ । तर किसानले पाउने मूल्य त्यसअनुसार बढ्दैन । यसले गर्दा धेरै युवाले पशुपालन छाडेर विदेश जाने निर्णय गरेका छन् । 
        नागरिकले सरकारलाई चुनावका बेला मात्रै देख्न चाहँदैनन् । उनीहरू दैनिक जीवनमा राज्यको उपस्थिति खोज्छन् । बिरामी पर्दा अस्पतालमा । खेती गर्दा मलमा । उत्पादन गर्दा बजारमा । विपद् आउँदा राहतमा । रोजगारी खोज्दा अवसरमा । तर चौरीदेउरालीका धेरै नागरिकको अनुभूति फरक छ । उनीहरू भन्छन्, सरकार चुनावताका धेरै नजिक आउँछ । त्यसपछि फेरि धेरै टाढा जान्छ । आशा मरेको छैन । निराशा धेरै छ । गुनासा धेरै छन् । तर आशा पूर्ण रूपमा समाप्त भएको छैन । नागरिक अझै पनि राज्यसँग धेरै ठूलो अपेक्षा राखेका छैनन् । हामीलाई चाहिएको छ–सहज मल । उचित बजार । स्वास्थ्य सेवा । गुणस्तरीय शिक्षा । युवाका लागि रोजगारी । गाउँमै बाँच्न सक्ने वातावरण । यति मात्रै । राजनीतिक परिवर्तनको मापन संसद्का सिटले होइन, नागरिकको भान्साले गर्छ । सरकार सफल भयो कि भएन भन्ने उत्तर प्रेस विज्ञप्तिले दिँदैन, किसानको मुस्कानले दिन्छ । आज हरेक गाउँमा त्यो मुस्कान कम देखिन्छ । डाँडाहरू उस्तै छन् । वन उस्तै छन् । खोला उस्तै बगिरहेका छन् । फेरिएको छ त केवल एउटा कुरा–परिवर्तनप्रतिको विश्वास कमजोर हुँदै गएको छ । अर्को चुनाव आउँदा फेरि नयाँ अनुहार देखिनेछन्, नयाँ वाचा सुनिनेछन् । तर नागरिकको एउटै प्रश्न हुनेछ, यसपटक हाम्रो जीवन साँच्चै बदलिन्छ, कि फेरि वाचामै सीमित हुन्छ ?
        ग्रामीण भेगका धेरै किसानको दैनिकी अहिले खेतीभन्दा बढी बाली जोगाउने संघर्षमा बित्न थालेको छ । घर छन्, तर मानिस छैनन् । एक समय गाउँहरू बिहानैदेखि चहलपहलले भरिन्थे । गोठतिर जाने किसान, विद्यालय हिँड्ने बालबालिका, खेतमा रोपाइँ गर्ने युवायुवती, मेलापातको रमाइलो, गाउँको चौतारीमा गफ । आज ती दृश्य धेरै ठाउँमा स्मृतिमा सीमित हुँदै गएका छन् । घरहरू छन् । आँगन छन् । गोठ छन् । तर धेरै घरमा ताला झुन्डिएको छ । कतिपय घर वर्षमा एकपटक मात्रै खुल्छन्–दशैँतिहारमा, जब विदेश वा काठमाडौंबाट परिवार फर्किन्छ । गाउँका बाटोमा खेल्ने बालबालिकाको ठाउँमा अहिले झार उम्रिएको छ । विद्यालयमा विद्यार्थी घटेका छन् । केही विद्यालयमा कक्षा चलाउनसमेत विद्यार्थी अपुग हुने अवस्था छ । एक समय यो बाटोमा बिहान–बेलुका मान्छे भेटिन्थे । अहिले दिनभरी हिँड्दा पनि कसैसँग भेट नहुन सक्छ । धेरै युवाको सपना अब आफ्नै गाउँमा खेती गरेर जीवन चलाउने होइन । उनीहरूको सपना छ, पासपोर्ट । मेडिकल । भिसा । हवाई टिकट । र विदेश । खाडी, मलेसिया, कोरिया, जापान, युरोप–जहाँ अवसर देखिन्छ, त्यतै जाने होड छ । गाउँमा बस्यो भने भविष्य छैन भन्ने वाक्य अहिले धेरै युवाको साझा निष्कर्ष बनेको छ । एक युवकले तीन रोपनी जग्गामा तरकारी खेती सुरु गरेका थिए । सुरुका दुई वर्ष उत्साह थियो । उत्पादन पनि राम्रो भयो । तर बजारको अभाव, ढुवानी खर्च, मूल्यको अनिश्चितता र बाँदरको क्षतिले उनको उत्साह विस्तारै हरायो । आज उनी कतारमा छन् । उनको खेत अहिले झाडीले ढाक्न थालेको छ । उनका बुबा भन्छन् छोरो खेतीमा टिकेन । ऋण तिरेर विदेश गयो । अब घर खर्च उसैले पठाएको पैसाले चल्छ ।    चौरीदेउरालीको उर्वर भूमि अहिले धेरै ठाउँमा बाँझो देखिन्छ । जहाँ पहिले धानका बाला हल्लिन्थे, त्यहाँ अहिले काँडा र झाडी बढेका छन् । कारण धेरै छन् । काम गर्ने युवा छैनन् । खेती लाभदायक छैन । बजार छैन । वन्यजन्तुको आतंक छ । र किसानको उत्साह पनि घटेको छ । खेती गरेर नाफा हुँदैन । उल्टै घाटा हुन्छ । पहिले वन्यजन्तु जंगलमा सीमित थिए । आज जंगल गाउँतिर झरेको छ । बाँदर दिनमै आउँछन् । बँदेल राति आउँछन् । एक रातको आक्रमणले महिनौँको मेहनत समाप्त हुन्छ । मकै, आलु, कोदो, फापर, तरकारी—केही पनि सुरक्षित छैन । कतिपय किसान पालैपालो रातभरि खेतमा बस्छन् । कतिले टिन बजाउँछन् । कतिले पटाका पड्काउँछन् । कतिले कुकुर पाल्छन् । तर समाधान दीर्घकालीन छैन । हामी किसानभन्दा चौकीदार बढी भएका छौँ, एक स्थानीय किसान हाँस्न खोज्छन्, तर त्यो हाँसोभित्र पीडा स्पष्ट देखिन्छ । 
         साँझ पर्न थालेको छ । पहाडका टाकुरामाथि घामको अन्तिम किरण विस्तारै हराउँदै छ । तल बस्तीमा धुवाँका मुस्ला उठ्न थालेका छन् । कतै गोठमा गाईबस्तु बाँधिँदै छन्, कतै बृद्ध आमा घरको आँगनमा बसेर परदेशिएको छोराको फोनको प्रतीक्षा गर्दै हुनुहुन्छ । कतै एउटी महिला भोलिको बजारका लागि तरकारी टिप्दै छिन् । कतै एक वृद्ध किसान फेरि खेततिर आँखा लगाउँदै सोचिरहेका छन आज राति बँदेल पस्ला कि नपस्ला ? चौरीदेउरालीमा जीवन रोकिएको छैन । तर सहज पनि छैन । वर्षौंको राजनीतिक परिवर्तन, सरकार फेरबदल, चुनाव, गठबन्धन र नयाँ–पुराना दलका बहस गाउँका मानिसका लागि अब खासै आकर्षणका विषय रहेनन् । उनीहरूका लागि राजनीति त्यतिबेला अर्थपूर्ण हुन्छ, जब त्यसले भान्सामा चुल्हो बाल्न सघाउँछ, खेतमा मल पु¥याउँछ, बिरामीलाई उपचार दिलाउँछ, युवालाई गाउँमै काम दिन्छ र किसानको उत्पादनलाई उचित मूल्य दिलाउँछ । 
        आज चौरीदेउरालीका धेरै नागरिकको प्रश्न एउटै छ, हामीले मत दियौँ, अब राज्यले हाम्रो जीवनमा के दियो ? आशा किन कमजोर हुँदै गयो ? चुनावअघि धेरै वाचा गरिए । कृषि सुधार । रोजगारी । भ्रष्टाचार नियन्त्रण । सुशासन । सहज सेवा । गरिबमुखी कार्यक्रम । तर गाउँका नागरिक भन्छन उनीहरूले आफ्नो दैनिकीमा अपेक्षित परिवर्तन देखेनन् । किसान अझै मलको चिन्तामा छन् । तरकारीले बजार खोजिरहेको छ । दूधको मूल्य र भुक्तानीको अनिश्चितता उस्तै छ । युवा विदेश जाने तयारीमै छन् । स्वास्थ्य सेवा महँगो छ । शिक्षाका लागि परिवारले गाउँ छोड्नुपर्ने अवस्था धेरै ठाउँमा अझै कायम छ । जग्गा, बसोबास, सार्वजनिक सेवा र स्थानीय विकासका कतिपय मुद्दा वर्षौँदेखि समाधानको प्रतीक्षामा छन् । त्यसैले नागरिकको निराशा कुनै एउटा घटना वा एउटा सरकारसँग मात्र जोडिएको छैन । यो निराशा वर्षौँदेखि थुप्रिँदै आएको अनुभवको परिणाम हो । चौरीदेउरालीका चिया पसल, चौतारा र मेलापातमा अहिले राजनीति कम, जीवन बढी छलफल हुन्छ । सर्वसाधारण मानिसहरू भन्छन्–हामीलाई झण्डा होइन, काम चाहिएको हो । हामीलाई भाषण होइन, बजार चाहिएको हो । हामीलाई घोषणा होइन, सेवा चाहिएको हो । यी वाक्य कुनै नाराजस्तो होइनन् । यी गाउँको दैनिक जीवनबाट जन्मिएका निष्कर्ष हुन् । नागरिकको धैर्य सीमित हुन्छ । उनीहरू वर्षौंसम्म पर्खन सक्छन्, तर अन्ततः परिणाम खोज्छन् । यो गाउँसँग सम्भावना पनि उत्तिकै छ । उर्बर जमिन छ । मेहनती किसान छन् । दूध, तरकारी, फलफूल, आलु, अदुवा, बेसार, मह, जडीबुटी र पशुपालनको राम्रो आधार छ । पर्यटनको सम्भावना छ । निकटको बजारसँग जोडिने अवसर छ । यदि कृषि उत्पादनलाई बजारसँग जोड्न सकियो, वन्यजन्तु नियन्त्रणमा प्रभावकारी काम भयो, सडकसँगै ढुवानी र भण्डारणको व्यवस्था सुधारियो, स्वास्थ्य र शिक्षाको पहुँच सहज बनाइयो, स्थानीय उद्यमलाई प्रोत्साहन दिइयो भने चौरीदेउराली फेरि जीवन्त बन्न सक्छ । यो सम्भावना अझै समाप्त भएको छैन । राज्यले अब के सुन्नुपर्छ ? चौरीदेउरालीका नागरिकका माग धेरै जटिल छैनन् । उनीहरू भन्छन, समयमा रासायनिक मल उपलब्ध होस् । किसानको उत्पादनको न्यूनतम मूल्य सुनिश्चित होस् । दूध, तरकारी र फलफूलको व्यवस्थित बजार बनोस् । बाँदर र बँदेलबाट हुने क्षतिको दीर्घकालीन समाधान खोजियोस् । स्वास्थ्य सेवा पहुँचयोग्य र सुलभ बनोस् । युवाले गाउँमै रोजगारी पाउने वातावरण बनोस् । सुकुम्बासी र बसोबासका समस्या समाधानतर्फ ठोस प्रगति होस् । विकास योजना कागजमा होइन, गाउँमा देखियोस् । यी माग कुनै विलासिताका माग होइनन् । यी सम्मानपूर्वक बाँच्न चाहने नागरिकका आधारभूत अपेक्षा हुन् । चौरीदेउरालीका डाँडाहरू आज पनि उस्तै सुन्दर छन् । जंगल हरिया छन् । खोला बगिरहेका छन् । तर गाउँको सबैभन्दा ठूलो सम्पत्ति–मानिस–विस्तारै टाढिँदै गएका छन् । यदि यही क्रम जारी रह्यो भने भविष्यमा यहाँ सडक त हुनेछ, तर हिँड्ने मान्छे कम हुनेछन् । विद्यालय त रहनेछन्, तर विद्यार्थी घट्नेछन् । घर त रहनेछन्, तर तिनमा ताला धेरै झुन्डिनेछन् । खेतीयोग्य जमिन त रहनेछ, तर खेती गर्ने हात कम हुनेछन् । त्यसैले अहिलेको सबैभन्दा ठूलो प्रश्न कुनै दलले चुनाव जित्यो कि हार्यो भन्ने होइन । सबैभन्दा ठूलो प्रश्न यो हो, के चौरीदेउरालीका नागरिकले आफ्नो गाउँमै सम्मानपूर्वक बाँच्ने भरोसा फेरि पाउँछन् ? यस प्रश्नको उत्तर भाषणले होइन, कामले दिनुपर्छ ।
        इतिहासले देखाएको छ, नागरिकले सरकारलाई धेरै पटक अवसर दिन सक्छन्, तर विश्वास गुमेपछि त्यो फर्काउन धेरै समय लाग्छ । आज चौरीदेउरालीका मानिस अझै पनि आशा त्यागेका छैनन् । उनीहरू फेरि पनि खेतमा बीउ छर्छन् । गोठमा गाई पाल्छन् । छोराछोरी पढाउँछन् । कर तिर्छन् । मत हाल्छन् । देश छोड्न नपरोस् भन्ने मनले गाउँ सम्हालिरहेका छन् । अब पालो राज्यको हो । किनकी परिवर्तनको वास्तविक अर्थ सरकार परिवर्तन होइन, नागरिकको जीवन परिवर्तन हो । 

बाबुलाल गौतम
चौरीदेउराली, काभ्रे