2026 September 18/ 03:38: 12pm

    त्यो दिन मेरो हातमा चौध लाख रुपैयाँ थियो । अरू कसैलाई चौध लाख एउटा ठूलो रकम होला, कसैलाई सानो हिसाब पनि लाग्न सक्छ । तर मेरो लागि त्यो पैसा केवल नोटको बिटो थिएन । त्यो मेरो मेहनतको कमाइ थियो । त्यसमा मेरो पसिना मिसिएको थियो । त्यसमा मैले देखेका सपना थिए । मलाई के थाहा थियो र त्यो पैसा लिएर निस्किएको दिन मेरो जीवनकै सबैभन्दा नराम्रो सम्झना बन्नेछ । तर लोभले लाभ, लाभले विलाप भन्ने कुरा मैले त्यति बेला सम्झिएँ । जतिबेला मेरा अभिभावकहरुले सुनाउँदा कथा जस्तै लाग्थ्यो । त्यहि दिन प्रमाणित हुन पुग्यो । 
    डलर साट्ने कुरा थियो । डलरको कुरा सुन्दा मलाई त्यति ठूलो शंका लागेन । बरु कारोबारबाट फाइदा होला भन्ने लागेको थियो । मान्छेले भनेको कुरा पत्याएँ । कुरा मिल्यो भनेर पैसा बोकेर म अगाडि बढेँ । मलाई भनिएको थियो, डलर छ, साटेपछि राम्रो रकम हुन्छ । मेरो मनमा हिसाब चलिरहेको थियो । यति पैसा डलरमा जानेछ । साटेपछि यति आउला । केही काम लाग्ला । केही बचत होला । मान्छेले भविष्यको कल्पना गर्दा उसलाई अगाडि देखिने कुरा उज्यालो मात्र हुन्छ । मलाई पनि त्यतिबेला त्यस्तै लागिरहेको थियो । तर अहिले पछाडि फर्केर हेर्दा लाग्छ–त्यो दिन म पैसा लिएर मात्र गएको रहेनछु, आफ्नो विश्वास पनि बोकेर गएको रहेछु । र मलाई सबैभन्दा धेरै दुखेको कुरा यही हो, मैले विश्वास गरेर पैसा दिएको थिएँ । मलाई छल गरिँदैछ भन्ने कुरा मैले सुरुमै बुझ्न सकेको भए सायद यो दिन आउँदैनथ्यो । तर ठगी गर्ने मान्छेले पहिले पैसा होइन, मान्छेको विश्वास जित्दो रहेछ ।
    त्यसपछि मात्रै उसले पैसा लिन्छ । मसँग सम्पर्क गर्ने क्रममा आफूलाई सन्तोष भनेर चिनाउने व्यक्तिले डलरको कुरा ग¥यो । उसले भन्यो आफ्नो साथीको बुवासँग ५२ हजार अमेरिकी डलर छ । त्यो डलर साटेमा नेपाली रुपैयाँ सत्तरी लाखभन्दा बढी हुने कुरा ग¥यो । मैले सुनेँ । मनमा लोभभन्दा पहिले विश्वास आयो । डलर रहेछ भने कारोबार गर्न सकिन्छ होला भन्ने लाग्यो । उसले पटक–पटक फोन ग¥यो । कुरा ग¥यो । प्रलोभन देखायो । मसँग कुरा गर्दै जाँदा मलाई विश्वास लाग्ने वातावरण बन्यो । सायद उसलाई थाहा थियो, मान्छेलाई एकैपटक ठूलो कुरा सुनाएर मात्र फसाउन सकिँदैन । पहिले कुरा मिलाउनुपर्छ । पहिले विश्वास दिलाउनुपर्छ । पहिले शंका हटाउनुपर्छ । अनि मात्र मान्छे आफ्नो पैसा लिएर आउँछ । म पनि त्यही विश्वासमा परेँ । मलाई डलर देखाइयो । पोको देखाइयो । यही हो डलर भनेर विश्वास दिलाइयो । त्यो बेला मैले के सोचिरहेको थिएँ होला ?
    सायद यही, अब कारोबार हुन्छ । तर आज त्यही क्षण सम्झँदा मेरो मन पोल्छ । किन मैले अझै राम्रोसँग जाँचिनँ ? किन मैले त्यो पोको खोलेर प्रत्येक नोट हेर्न सकिनँ ? किन मैले आफ्नो मेहनतको चौध लाख त्यति सजिलै विश्वासमा दिएँ ? तर अहिले म आफूलाई एउटा कुरा भन्न चाहन्छु, विश्वास गर्नु मेरो अपराध थिएन । अपराध त कसैले मेरो विश्वासलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्नु थियो । मलाई चौध लाख लिएर आउन भनियो । म आएँ । मलाई डलरको सपना देखाइयो । म त्यो सपना पत्याएर आएँ । तर मलाई कहाँ थाहा थियो, मैले देखेको डलरको सपना केही मिनेटमै दुःस्वप्नमा परिणत हुँदैछ भनेर । त्यो क्षण म कहिल्यै बिर्सन सक्दिनँ । मैले १४ लाख लिएर पुगेँ । डलर साट्ने कुरा भयो । मैले आफ्नो पैसा दिएँ । अनि उनीहरूले आफूले डलर दिएको जस्तो गरे । पोको थियो । बाहिरबाट हेर्दा विश्वास गर्न सकिने जस्तो बनाइएको थियो । तर त्यो पोकोभित्र डलर होइन, बीस रुपैयाँ दरका नोटहरूको बिटो राखिएको रहेछ । त्यो कुरा मैले त्यही क्षण बुझ्न सकिनँ । मलाई के थाहा ? मलाई त कारोबार भइरहेको छ भन्ने लागिरहेको थियो । मलाई त अब आफ्नो पैसा सही ठाउँमा गइरहेको छ भन्ने लागेको थियो । तर वास्तविकता अर्कै रहेछ । जब उनीहरू पैसा लिएर भागे, मेरो होस नै उड्यो । के भयो ? किन भागे ? डलर कहाँ छ ? मेरो पैसा कहाँ गयो ? मलाई के भयो ? यस्ता प्रश्नहरू एकैपटक मेरो दिमागमा आए । त्यो क्षणलाई शब्दमा लेख्न निकै गाह्रो छ । आफ्नै आँखाअगाडि आफ्नो मेहनतको चौध लाख कसैले लिएर भागेको देख्दा मनभित्र के हुन्छ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । म दौडिएँ । खोजेँ । सम्पर्क गर्न खोजेँ । तर उनीहरू भागिसकेका थिए । मसँग बाँकी थियो–एउटा पोको । बाहिरबाट हेर्दा पैसा जस्तो । भित्र खोल्दा बीस रुपैयाँका नोटहरू । त्यो पोको हातमा लिँदा मेरो मन कस्तो भयो होला ? मसँग पैसा थिएन । तर हातमा पैसा जस्तो देखिने कागज थियो । त्योभन्दा ठूलो विडम्बना मेरो लागि अरू के हुन सक्छ ? मसँग डलर आउने आशा थियो, तर हातमा बीस रुपैयाँका नोटको बिटो आयो । मलाई त्यो बेला पैसा मात्र हराएको महसुस भएन । मलाई लाग्यो–कसैले मेरो विश्वासमाथि नै डकैती गरेको छ । 
    ठगिएपछि सबैभन्दा पहिले मान्छे अरूलाई दोष दिँदैन रहेछ । आफैंलाई दोष दिँदो रहेछ । म पनि त्यही गर्न थालेँ । मैले किन विश्वास गरेँ ? किन पैसा लिएर त्यहाँ गएँ ? किन राम्रोसँग जाँच गरिनँ ? किन उनीहरूको कुरा पत्याएँ ? यी प्रश्नहरू मेरो मनमा बारम्बार आउन थाले । चौध लाखको पीडा एकातिर थियो । तर त्यससँग जोडिएका मेरा सपना अर्कोतिर थिए । मलाई लाग्यो–यदि यो पैसा मेरो मात्र भएको भए सायद म आफैंलाई सम्झाउन सक्थेँ । तर मेहनत गरेर कमाएको पैसा भनेको परिवारको पैसा पनि हो । घरको आवश्यकता हो । भोलिको योजना हो । त्यसैले चौध लाख हराउँदा मेरो मनमा केवल नोटको हिसाब आएन । घरको हिसाब आयो । कति कुरा गर्न सकिन्थ्यो होला ? कति समस्या समाधान गर्न सकिन्थ्यो होला ? कति दिनको मेहनत थियो त्यो ? मैले त्यो पैसा हातमा लिँदा आफूलाई बलियो सम्झिएको थिएँ । तर ठगिएपछि त्यही पैसा सम्झँदा मभित्र एउटा ठूलो खालीपन पैदा भयो । मलाई सबैभन्दा धेरै दुःख लागेको कुरा के हो भने–मैले कसैलाई धोका दिन खोजेको थिइनँ । 
    म त कारोबार गर्न गएको थिएँ । म त आफ्नो पैसा लिएर गएको थिएँ । म त विश्वास गरेर गएको थिएँ । तर फर्किंदा मसँग आफ्नो पैसा थिएन । डलर थिएन । बरु मनमा एउटा यस्तो घाउ थियो, जसको औषधि पैसा फिर्ता पाउनु मात्र पनि नहुन सक्छ । त्यसपछि मैले बुझें–ठगीमा पैसा एकपटक जान्छ, तर पीडा पटक–पटक आउँछ । दिनमा सम्झना आउँछ । रातमा सम्झना आउँछ । एक्लै हुँदा सम्झना आउँछ । कसैले डलरको कुरा गर्दा झन् सम्झना आउँछ । कसैलाई विश्वास गर्नुपर्दा पनि त्यो घटना अगाडि आउँछ । म चाहन्थेँ–मेरो पैसा फिर्ता आओस् । तर त्यसभन्दा पहिले म चाहन्थेँ–सत्य बाहिर आओस् । मलाई ठग्ने को हो ? कसरी योजना बनाइएको थियो ? मसँग कसरी सम्पर्क गरियो ? किन मलाई नै छानियो ? मेरो पैसा कहाँ गयो ? यी प्रश्नहरूको उत्तर खोज्न म लागेँ । सम्पर्क गरिएका मोबाईल नम्बरहरूमा फोन गर्न खोजेँ । तर अवस्था झन् निराशाजनक हुँदै गयो । सम्पर्क बन्द । फोन उठेन । मान्छेहरू हराए । मलाई त्यतिबेला झन् महसुस भयो–यो संयोग मात्र होइन रहेछ । मैले कसैलाई भेटेर सामान्य कारोबार गरेको मात्र होइन रहेछ । मलाई योजनाबद्ध रूपमा विश्वास दिलाइएको रहेछ भन्ने शंका बलियो हुँदै गयो ।
    मलाई आफ्नो वास्तविक नामसमेत नबताई अरू नामबाट कुरा गरिएको कुरा थाहा पाएपछि मेरो मन झन् दुख्यो । किनकी मैले जसलाई विश्वास गरेको थिएँ, सायद मैले उसको वास्तविक परिचय नै चिनेको रहेनछु । त्यो क्षण मेरो मनमा एउटा कुरा आयो–मान्छेको अनुहार हेरेर उसको नियत कसरी चिन्ने ? मलाई पैसा फिर्ता चाहिएको थियो । तर अब मेरो लडाइँ त्यतिमै सीमित थिएन । म चाहन्थेँ यो कुरा बाहिर आओस् । म चाहन्थेँ–मजस्तै अरू कोही नफसोस् । किनकी आज म फसेँ । भोलि अर्को मानिस हुन सक्छ । आज मेरो चौध लाख गयो । भोलि अरू कसैको जीवनभरको कमाई जान सक्छ । त्यसैले मैले आफ्नो पीडालाई चुपचाप बोकेर बस्न चाहिनँ । मलाई थाहा थियो–आफ्नो कुरा राख्न सजिलो छैन । मान्छेहरूले प्रश्न गर्छन् । कसैले पीडितलाई नै दोष दिन्छ । किन विश्वास गरेको ? किन पैसा दिएको ? किन जाँच नगरेको ? तर म एउटा कुरा भन्न चाहन्छु–ठगिएको मान्छेलाई तिमी किन ठगियौ ? भनेर मात्र प्रश्न नगरौँ । पहिले ठग्ने मान्छेलाई प्रश्न गरौँ–तिमीले कसैको विश्वास र मेहनतको पैसा किन लुट्यौ ? आज म त्यो घटना सम्झँदा मन भारी हुन्छ । मसँग चौध लाख थियो । म डलर साट्न गएको थिएँ । मलाई लागिरहेको थियो–एउटा कारोबार हुँदैछ । तर त्यो कारोबार मेरो जीवनको एउटा ठूलो चोट बनेर आयो । मसँग पैसा थियो । मसँग विश्वास थियो । मसँग मानिसको बोलीमाथि भरोसा गर्ने सामान्य मानवीय भावना थियो । तर त्यो सबैको बदलामा मैले के पाएँ ? धोका । मलाई सबैभन्दा धेरै पीडा पैसाको मात्र छैन । पैसा फेरि कमाउन सकिन्छ । मेहनत ग¥यो भने फेरि जोड्न सकिन्छ । तर त्यो दिनपछि मानिसको बोलीमा विश्वास गर्नुअघि मेरो मनले धेरैपटक सोच्नेछ । डलरको पोको सम्झँदा अहिले पनि मनमा एउटा प्रश्न उठ्छ–त्यो पोकोमा बीस रुपैयाँका नोट राख्नेहरूलाई मेरो चौध लाखको पीडा थाहा थियो कि थिएन ? 
    सायद उनीहरूका लागि त्यो केवल पैसा थियो । तर मेरो लागि ? त्यो मेरो जीवनको एउटा हिस्सा थियो । मेरो मेहनत थियो । मेरो आशा थियो । मेरो विश्वास थियो । त्यसैले आज म केवल आफ्नो पैसा मागिरहेको छैन । म आफ्नो न्याय मागिरहेको छु । म चाहन्छु–मलाई जे भयो, त्यसको सत्य बाहिर आओस् । दोषी जो हो, उसले जवाफ दिनुपर्छ । र यदि मेरो पैसा कसैले ठगी गरेर लगेको हो भने, त्यो पैसा फिर्ता हुनुपर्छ । तर त्यससँगै मेरो मनमा अर्को चाहना पनि छ । मजस्तै अरू कोही पनि यस्तो पोको बोकेर नहिँडोस्, जसको बाहिर डलर देखिन्छ र भित्र बीस रुपैयाँका नोट हुन्छन् । कसैको मेहनतको पैसा खेलौना होइन । कसैको विश्वास व्यापार गर्ने वस्तु होइन । कसैको बाध्यता र सपनामाथि खेल्नु मानवीयता होइन । आज पनि म त्यो चौध लाख सम्झन्छु । मलाई नोटको बिटो सम्झिँदैन । मलाई सम्झिन्छ–मैले त्यो पैसा कमाउन गरेको मेहनत । मलाई सम्झिन्छ–त्यो पैसा घरमा पुगेपछि पूरा हुने सपना । मलाई सम्झिन्छ–मैले विश्वास गरेको क्षण । र अन्त्यमा एउटै कुरा मनमा आउँछ–म डलर साट्न गएको थिएँ, तर फर्किंदा मेरो हातमा बीस रुपैयाँका नोटको पोको थियो र मनमा एउटा गहिरो प्रश्न–मान्छेले मान्छेको विश्वास यति सजिलै कसरी बेच्न सक्छ ? त्यो प्रश्नको उत्तर म आजसम्म खोजिरहेको छु । 
    म ठगिएको मान्छे हुँ । तर म चुप लागेर बस्ने मान्छे होइन । मेरो पैसा हराएको छ, मेरो विश्वासमा चोट लागेको छ–तर मेरो आवाज अझै बाँकी छ । नेपाल प्रहरीलाई मैले तत्काल जानकारी गराएँ । ढिलै भए पनि प्रहरीको सक्रियताले ठगी गिरोहमा संलग्न एकजना ब्यक्ति पक्राउ परेका छन् । प्रहरीले अनुसन्धान जारी राखेको छ । म जस्ता थुप्रै ब्यक्ति ठगिएका रहेछन् । अनुसन्धान प्रहरीको सहि निशानामा पुगेको छ । म त ठगिएँ ठगिएँ अरु नठगिउन । नेपाल प्रहरीलाई धन्यवाद । आशा छ मेरो पैसा असुल हुनेछ । 

सोनाम सोर्पु तामाङ
बनेपा, काभ्रे