2026 July 05/ 11:53: 46pm

    वि.सं. २०३५ देखि २०४५ सालको आसपास जन्मिएको नेपाली पुस्ता सायद नेपालको आधुनिक इतिहासकै सबैभन्दा धेरै परिवर्तन, उथलपुथल र संक्रमण भोग्ने पुस्ता हो । यो केवल एउटा उमेर समूह मात्र होइन यो दुई फरक युगलाई आफ्नै आँखाले देखेको, अनुभव गरेको र आत्मसात् गरेको पुस्ता हो । एउटा खुट्टा परम्परा, अभाव र सामुदायिक आत्मीयताको संसारमा टेकिएको थियो भने अर्को खुट्टा प्रविधि, विश्वव्यापीकरण र डिजिटल क्रान्तिको आधुनिक युगमा । संसारका धेरै देशमा परिवर्तन क्रमिक रूपमा आए होलान्, तर नेपालमा यो पुस्ताले एउटै जीवनकालमा राजतन्त्रदेखि गणतन्त्रसम्म, पत्र मित्र देखि फेसबुकसम्म, रेडियोदेखि कृत्रिम बुद्धिमत्तासम्मको यात्रा देख्न पाएको छ । त्यो एउटा इतिहास हो । त्यो जमाना थियो जहाँ खवरहरु भेटेरै पु¥याउनु पर्दथ्यो । 
    आज कपाल सेताम्मे हुँदै जाँदा, आँखाको दृष्टि कमजोर बन्दै जाँदा र शरीरमा उमेरको भार थपिँदै जाँदा, यो पुस्ताले पछाडि फर्केर हेर्छ र कहिलेकाहीँ आफैलाई सोध्छ, के साँच्चै हामीले यति धेरै परिवर्तन देख्यौँ त ? उत्तर सँगै आउँछ हो, हाम्रो जीवन नै एउटा इतिहासको पुस्तक रहेछ । त्यो समय अभाव थियो, तर मन धनी थियो । हाम्रो बाल्यकाल अभावले भरिएको थियो, तर त्यो अभावले दुःखी बनाउँदैनथ्यो । किनकी हामीसँग तुलना गर्ने संसार थिएन । गाउँका अधिकांश घर उस्तै थिए । सबैका दुःख र सुख लगभग समान थिए । एक–दुई रुपैयाँ हातमा पर्दा संसार जितेजस्तो लाग्थ्यो । पाहुना घर आउँदा आशीर्वादसँगै पाँच वा दश रुपैयाँ हातमा थमाइदिए भने त्यो दिनको खुशी शब्दमा बयान गर्न सकिँदैनथ्यो । दशैँमा नयाँ कपडा पाइयो भने त्यो वर्ष सफल भएको जस्तो लाग्थ्यो । अहिलेका बालबालिकाले महिनैपिच्छे नयाँ जुत्ता र कपडा फेर्छन्, तर हामी वर्षमा एकपटक पाइने नयाँ कपडाको प्रतीक्षामा महिना गन्थ्यौँ । अझ दशै र तिहारमा घर पोत्न महिनौ अघि देखि ल्याएको रातो र कमेरो माटोले गाउँ नै मगमग बास्ना आउँथ्यो । 
    स्कूल जाने तयारी पनि कति फरक थियो । कपडाको झोला, पुराना कापी, पत्रिकाको गाता, बाँसको कलम, मसी, स्लेट र खरानीले लेखिएको अक्षर । नयाँ शैक्षिक सत्र सुरु हुनु भनेको एउटा ठूलो उत्सव थियो । पुराना किताबमा नयाँ गाता हाल्ने, ठूला दाइदिदीबाट किताब साट्ने, अनि नयाँ कक्षाको उत्साहले रातभर निद्रा नलाग्ने । आजका बच्चाहरूले गुगलमा खोजेर उत्तर पाउँछन् । हामीले भने शिक्षकको बोलीलाई नै अन्तिम सत्य मानेर पढ्यौँ । खेलमैदान नै हाम्रो डिजिटल संसार थियो । आजका बालबालिका मोबाइलको स्क्रिनमा संसार खोज्छन् । हाम्रो संसार भने गाउँको चौर, खोलाको किनार, खेतको आली र टोलका गल्लीहरू थिए । न मोबाइल थियो, न भिडियो गेम । त्यसैले हाम्रो कल्पनाशक्ति नै मनोरञ्जनको स्रोत थियो । काठको फलेक बनाएर क्रिकेट खेलिन्थ्यो । कपडाको बलले विश्वकप आयोजना हुन्थ्यो । डन्डिबियो, चोर–पुलिस, लुकामारी, गट्टा, भकुण्डो, चुङ्गी, कञ्चा, पासा, पिङ–यी सबै खेलले हाम्रो बाल्यकाल रंगीन बनाएका थिए ।
    खेल्दा घुँडा फुट्थ्यो, हात चिलाउँथ्यो, कहिलेकाहीँ झगडा पनि पथ्र्यो । तर अर्को दिन फेरि सबै साथी मिलेर खेल्थ्यौँ । रिस, ईष्र्या र अहम् केही घण्टाभन्दा बढी टिक्दैनथ्यो । सायद त्यसैले हाम्रो पुस्ताले सम्बन्धलाई सामाजिक सञ्जालको ‘फ्रेन्ड रिक्वेस्ट’ भन्दा धेरै गहिरो अर्थमा बुझ्यो । शिक्षकको कुटाइ, बाबुआमाको अनुशासन र सम्मानको संस्कार थियो । आजको पुस्ताले कल्पना गर्न गाह्रो होला, तर स्कूलमा सरले कुट्नु, कान निमोठ्नु, उभ्याएर सजाय दिनु सामान्य कुरा थियो । घरमा पुगेर गुनासो गर्दा उल्टै बाबुआमाले भन्थे, अझै कम कुट्नुभयो होला । आजको दृष्टिले ती विधिहरू सही थिए कि थिएनन् भन्ने बहस हुन सक्छ । तर त्यो समयको समाजमा शिक्षकलाई अभिभावकसरह सम्मान गरिन्थ्यो । गुरुको आदेश प्रश्न रहित रूपमा स्वीकारिन्थ्यो । बाबुआमाको अगाडि ठूलो स्वरमा बोल्ने कल्पना पनि गर्न सकिँदैनथ्यो । घरका ज्येष्ठ सदस्यप्रति सम्मान, छिमेकीप्रति आत्मीयता, समाजप्रति जिम्मेवारी र सामूहिक जीवनप्रतिको विश्वास बाल्यकालदेखि नै सिकाइन्थ्यो । त्यो आत्मीय समाज, जहाँ ढोका कहिल्यै बन्द हुँदैनथ्यो । हाम्रो पुस्ताले एउटा यस्तो नेपाल देख्यो जहाँ घरका ढोकाहरूमा ताला कम लाग्थे र मनका ढोकाहरू झन् कम बन्द हुन्थे । छिमेकीको घरमा जुनसुकै बेला पस्न सकिन्थ्यो । साथीको घरमा खाना खानु कुनै ठूलो कुरा थिएन । गाउँमा कसैको विवाह, ब्रतबन्ध, पूजाआजा वा दुःखद घटना भए पूरै समुदाय जुट्थ्यो । त्यसबेला ‘समुदाय’ भन्ने शब्द शब्दकोशमा मात्र थिएन, व्यवहारमा थियो ।
    विवाहमा सयौँ निम्तोपत्र बाँड्नुपर्दैनथ्यो । खबर पुग्नासाथ मानिसहरू आफैँ काम गर्न आइपुग्थे । कसैले भाँडा माझ्थ्यो, कसैले परिकार पकाउँथ्यो, कसैले पाहुनाको व्यवस्था गथ्र्यो । आज सुविधा बढेको छ, तर धेरैले स्वीकार गर्छन् आत्मीयता घटेको छ । रेडियोको युग र प्रतीक्षाको सौन्दर्य थियो । आज हजारौँ गीत एउटा क्लिकमै सुन्न सकिन्छ । तर हाम्रो पुस्ताले रेडियोको युग देख्यो । साँझपख रेडियो नेपालको समाचार सुन्न परिवार भेला हुन्थ्यो । नारायण गोपाल, फत्तेमान, अरुणा लामा, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, रामकृष्ण ढकालका गीतहरू केवल मनोरञ्जन मात्र थिएनन् ती जीवनका साथी थिए । त्यसबेला कुनै प्रियजनलाई सन्देश पठाउन चिठी लेख्नुपथ्र्यो । चिठी पुग्न हप्ता लाग्थ्यो । उत्तर आउन झन् समय लाग्थ्यो । तर त्यो प्रतीक्षामा एउटा मिठास थियो। प्रत्येक शब्दमा भावना हुन्थ्यो । आज सेकेन्डमै सन्देश पुग्छ, तर कहिलेकाहीँ सम्बन्धहरू भने पहिलेभन्दा कमजोर देखिन्छन् ।
     राजतन्त्रको छायाँमा हुर्किएको पुस्ता हो यो । यो पुस्ताले नेपाललाई राजतन्त्रको बलियो प्रभावमा देख्यो । स्कूलका पाठ्यपुस्तकदेखि सरकारी कार्यालयसम्म राजा र रानीका तस्वीर हुन्थे । हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ भन्ने गीत पुस्ताको सामूहिक स्मृतिमा अझै जीवित छ । राजा वीरेन्द्र धेरै नेपालीका लागि केवल शासक मात्र थिएनन्, राष्ट्रिय एकताको प्रतीक थिए । त्यसैले २०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्ड केवल एउटा राजनीतिक घटना थिएन । त्यो लाखौँ नेपालीका लागि भावनात्मक आघात थियो । त्यो रात धेरै मानिसहरूले रेडियो र टेलिभिजन अगाडि बिताए । धेरैलाई अझै पनि त्यो घटना अविश्वसनीय लाग्छ । सशस्त्र युद्ध डर, त्रास र अनिश्चितताको दशक थियो । दरबार हत्याकाण्डपछि देश अझ ठूलो राजनीतिक अस्थिरतातर्फ गयो । दश वर्षे युद्धले गाउँ–गाउँमा त्रास फैलायो । कतै सेना पुग्थ्यो, कतै माओवादी। सामान्य नागरिक दुई पक्षको बीचमा पिसिन्थे । राति ढोका ढकढकिएपछि मानिसहरू डराउँथे । गाउँका युवाहरू बेपत्ता हुन्थे । परिवारहरू विभाजित हुन्थे । हजारौँ मानिसको ज्यान गयो । यो पुस्ताले युद्धको पीडा, शान्तिको महत्व र राजनीतिक परिवर्तनको मूल्य आफ्नै जीवनमा महसुस ग¥यो ।
    गणतन्त्रको जन्म र आशाका नयाँ अध्याय शुरु भएको वर्ष थियो त्यो । तर आजसम्म पनि जनताको अपेक्षा त्यस्तै छ । खासै पुरा भएको महसुस नयाँ पुस्ताले गरेको छैन । २०६२÷६३ को जनआन्दोलनपछि नेपालले ऐतिहासिक मोड लियो । राजतन्त्र अन्त्य भयो । गणतन्त्र स्थापना भयो । यो पुस्ताले एउटा युगको अन्त्य र अर्को युगको सुरुवात आफ्नै आँखाले देख्यो । धेरैले सोचे अब देश बदलिन्छ, समृद्धि आउँछ, समानता स्थापित हुन्छ । केही परिवर्तन आए, केही सपना अधुरै रहे । तर इतिहासको दृष्टिले हेर्दा यो पुस्ताले नेपालकै सबैभन्दा ठूलो राजनीतिक रूपान्तरण प्रत्यक्ष देख्यो । २०७२ को भूकम्प पनि भोग्यो । २०७२ वैशाख १२ गतेको त्यो दिउँसो नेपालीहरूको स्मृतिमा सधैँ रहनेछ । धरती हल्लियो । घरहरू भत्किए । सम्पदाहरू ढले । हजारौँ मानिसले ज्यान गुमाए । तर त्यो विपत्तिमा नेपाली समाजको अर्को सुन्दर रूप पनि देखियो । पालमुनि बसेका मानिसहरूले एकअर्कालाई खाना बाँडे । अपरिचितहरू परिवार बने । विपत्तिले घरहरू भत्कायो, तर मानवता झन् बलियो बनायो । भुकम्पको महामारी विर्सन नपाउँदै कोरोना महामारीको युद्ध शुरु भयो । अदृश्य शत्रुसँगको युद्ध    झनै कडा थियो । 
    नयाँ संविधान जारी पनि भुकम्प पछि नै भएको थियो । त्यो अर्काे परिवर्तन थियो । संविधान जारी हुने बेला भएको हत्या हिंसाका घटना पनि स्मरणीय छन् । त्यतिबेला नयाँ संविधान अनुसार स्थानीय तहको सरकार थियो । मुलुक नयाँ युगमा प्रवेश गरेको थियो । स्थानीय जनप्रतिनिधिकै कारण कोरोना महामारी जस्तो महायुद्धलाई पनि नेपालीहरुले जित्दै सहज जीवन विताईरहे । २०७६÷७७ सालमा संसारभर फैलिएको कोरोना महामारीले यो पुस्तालाई फेरि अर्को अनौठो परीक्षा दियो । पहिलो पटक मानिसहरू घरभित्र थुनिए । सडक सुनसान भए । विद्यालय बन्द भए । मन्दिरहरू खाली भए । मानिसहरू एकअर्कासँग डराउन थाले । तर यही महामारीले प्रविधिलाई जीवनको केन्द्रमा ल्यायो । श्ययm बैठक, अनलाइन कक्षा, भिडियो कल, डिजिटल बैंकिङ, ई–कमर्स–सबै तीव्र रूपमा फैलियो । ६०–७० वर्षका बुबाआमाले पनि स्मार्टफोन चलाउन सिके । विदेशिएका छोराछोरीसँग भिडियो कलमा कुरा गर्न थाले । महामारीले हामीलाई सिकायो, प्रविधि उपयोगी छ, तर मानव स्पर्शको विकल्प होइन ।
    वैदेशिक रोजगारको अर्काे अध्याय पनि बाँकी थियो । समृद्धि र पीडाको दोहोरो कथा छँदैछ । यो पुस्ताले वैदेशिक रोजगारको विस्फोट पनि देख्यो । गाउँका हजारौँ युवाहरू खाडी, मलेसिया, कोरिया, जापान, युरोप र अमेरिका पुगे । गाउँमा पक्की घर बने। छोराछोरी राम्रा विद्यालयमा पढ्न पाए । तर यसको अर्को पाटो पनि थियो । गाउँहरू रित्तिए । बूढाबूढीहरू एक्लिए । बालबालिकाहरू बाबुआमाको माया बिना हुर्किए । डलर आयो, तर धेरै ठाउँमा गाउँको हाँसो हरायो । कृत्रिम बुद्धिमत्ता र जेन–जीको युगको शुरुवात पनि भएको छ । त्यहि कारण नेपालमा २०८२ भदौ २३ र २४ गते युवाहरुले क्रान्ति देखाए । आज संसार फेरि अर्को ठूलो परिवर्तनको संघारमा छ । कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, डिजिटल मुद्रा, भर्चुअल संसार र सामाजिक सञ्जालले मानव जीवनको परिभाषा नै बदलिरहेका छन् । जेनजी पुस्ता जन्मँदादेखि इन्टरनेटसँगै हुर्कियो । उनीहरूको सोच, जीवनशैली र संघर्ष फरक छ । उनीहरू पुराना संरचनामाथि प्रश्न गर्छन् । सामाजिक न्याय, पारदर्शिता र दक्ष नेतृत्वको माग गर्छन् । सामाजिक सञ्जालमार्फत आफ्नो आवाज उठाउँछन् । 
    यो ऊर्जा स्वागतयोग्य छ । तर पुरानो पुस्तालाई कहिलेकाहीँ लाग्छ, के धैर्यता, सामाजिक सम्बन्ध, पारिवारिक मूल्य र गुरुजनप्रतिको सम्मान आधुनिकताको दौडमा कतै हराउँदै त छैन ? हाम्रो पुस्ता एउटा पुल थियो । सायद इतिहासले हाम्रो पुस्तालाई एउटा विशेष नाम दिनेछ, संक्रमणकालको पुस्ता । हामीले लालटिनको उज्यालो पनि देख्यौँ र स्मार्टफोनको स्क्रिन पनि । चिठीको प्रतीक्षा पनि भोग्यौँ र भिडियो कलको सुविधा पनि । राजाको शासन पनि देख्यौँ र गणतन्त्र पनि । सशस्त्र युद्ध, भूकम्प, महामारी र डिजिटल क्रान्ति सबै भोग्यौँ । हामी अन्तिम पुस्ता हौँ, जसले इन्टरनेटबिनाको बाल्यकाल बितायो र कृत्रिम बुद्धिमत्ताको युगसम्म आइपुग्यो । त्यसैले जब आज हामी पुराना साथीहरू भेटेर भन्छौँ, हाम्रो पनि एउटा जमाना थियो, त्यो केवल सम्झना होइन, त्यो एउटा सम्पूर्ण युगको इतिहास हो । एउटा यस्तो युग, जहाँ अभाव थियो तर आत्मीयता थियो; दुःख थियो तर एकता थियो, संघर्ष थियो तर आशा थियो । सायद यही कारणले आज पनि हामी गर्वका साथ भन्न सक्छौँ, हामी केवल समयका यात्रु थिएनौँ, हामी इतिहासका साक्षी थियौँ । 

खड्गबहादुर खुलाल
पनौती, काभ्रे