2026 March 13/ 08:42: 27pm

    जमाना बदलिँदै गएको छ । कुस्त पैसा, रवाफिलो जीवनशैली र ढल्कँदो उमेरमा २४–२५ वर्षका दुई आकर्षक युवतीसँग सम्बन्ध—सुन्दा अपत्यारिलो लागे पनि यो भोगाई सत्य हो । अझ रोचक त के भने ती दुवै युवती न त ती धनाढ्य पुरुषकी श्रीमती हुन्, न त प्रेमिका नै । उनीहरूबीचको सम्बन्ध केवल ‘लेनदेन’मा सीमित छ । धनाढ्य पुरुषले युवतीहरूको ट्युसन फी, पकेट खर्च र मोजमस्तीको व्यवस्था गर्छन्, त्यसबापत युवतीहरूले उनीहरूसँग सम्बन्ध अघि बढाउँछन । छोराछोरी र श्रीमतीसमेत भएका ती धनाढ्यले कलेज पढिरहेका युवतीहरूलाई बेग्लाबेग्लै फ्ल्याटमा राखिदिएका छन्, स्कुटर किनिदिएका छन् ।
    केही समयअघि एक युवतीले आफूलाई ब्लाकमेल गरेको आरोप लगाउँदै एकजना धनाढ्य व्यवसायी महानगरीय प्रहरी परिसर काठमाडौं पुगे । प्रहरीले निवेदनमाथि छानबिन गर्दा करिब २३ वर्षकी ती आकर्षक युवती ती व्यवसायीसँग लामो समयदेखि सम्बन्धमा रहेको तथ्य खुल्यो । आफ्ना इच्छाहरू पूरा गरिदिने ती युवतीका लागि व्यवसायीले प्रशस्त पैसा खर्च गरेका थिए । यतिसम्म कि उनलाई बस्नका लागि राम्रो फ्ल्याटसमेत उपलब्ध गराएका थिए । तर युवतीले उनीहरूबीचको नाजायज सम्बन्ध सार्वजनिक गरिदिने धम्की दिँदै अझ ठूलो रकम मागेपछि व्यवसायी प्रहरीको शरणमा पुगेका थिए । फिल्मी कथाजस्तो लाग्ने यो घटना, कस्मोपोलिटन सिटीका रूपमा विकसित हुँदै गएको काठमाडौंमा हुर्कँदै गरेको सम्भ्रान्त जीवनशैलीको एउटा सानो उदाहरण मात्र हो । केही समयअघि नेपाली समाजमा कल्पनै गर्न नसकिने यस्ता घटनाहरू अहिले सामाजिक ‘स्टाटस’ का रूपमा अभ्यास हुन थालेका छन् । पश्चिमा समाजमा बाक्लै देखिने यस्तो यौनिक व्यवहार विश्वव्यापीकरण र आधुनिकीकरणसँगै पूर्वीय समाजको सामाजिक जीवनमा पनि प्रवेश गर्न थालेको छ ।
    कतिपय साहित्य र चलचित्रमा ‘सुगर ड्याडी’ का रूपमा चित्रित उमेर छिप्पिएका बयस्क पुरुषहरूसँग सम्बन्ध राखेर पश्चिमा समाजमा कतिपय युवतीहरूले आफ्ना आर्थिक तथा शारीरिक आवश्यकताहरू पूरा गर्दै आएका छन् । यौनका विषयमा खुला र उदार मानिने पश्चिमा मुलुकहरूमा आकर्षक युवती र अधबैंसे धनाढ्यबीचको यस्तो सम्बन्धलाई आजभोलि सामान्य रूपमा लिन थालिएको छ । यौनका मामिलामा अझै पनि बन्द मानिने पूर्वीय समाजका लागि भने ‘सुगर ड्याडी’को अवधारणा अनौठो नै छ । तथापि पछिल्लो समय काठमाडौंमा पनि यस्ता सुगर ड्याडी र सुगर ड्याडीको आवश्यकता अनुसार परिचालित हुन तयार युवतीहरूको संख्या बढ्दै गएको देखिन्छ । प्रायः उच्च शिक्षा अध्ययन र करिअर बनाउन राजधानी पसेका युवतीहरू नै यस्तो सम्बन्धको मोहजालमा पर्ने गरेका छन् ।
    प्रेम, यौन र विवाहजस्ता विषयमा परम्परागत सोच हाबी रहेको नेपाली समाजमा देखिएको यो नयाँ प्रवृत्तिको कारण के हो त ? समाजशास्त्री अनुसार विश्वव्यापीकरण मात्र कारण होइन, नेपालको शिक्षा प्रणाली र जीवनलाई हेर्ने दृष्टिकोण नै पश्चिमी सोचले निर्माण गरिदिएको छ । यौनलाई हेर्ने सन्दर्भमा हाम्रो समाजमा अहिले दुईवटा ‘लेन्स’ सक्रिय छन् । एउटा परम्परागत र अर्को आर्थिक। परम्परागत लेन्सले नैतिकता, मूल्य–मान्यता र सीमाहरू निर्धारण गर्छ भने आर्थिक लेन्सले आवश्यकता र लाभको हिसाब गर्छ । एकातिर यौन, अर्कोतिर पैसा । दुवैको आवश्यकता मिलेपछि धनीले युवतीलाई र युवतीले धनीलाई प्रयोग गर्ने अवस्था सिर्जना भयो । यसले यस्तो संस्कार हुर्कन सहयोग पु¥यायो ।
    काठमाडौंमा केही धनाढ्यले अपार्टमेन्ट लिएर ‘सुगर बेबी’ राख्ने गरेका रहेछन् । महानगरीय प्रहरीका अनुसार पैसा र सुख–सयलका लागि केही युवती आफ्ना सबै आवश्यकता पूरा गरिदिने धनाढ्यसँग उसकै सर्तमा सम्बन्ध बनाउन थालेका छन् । फ्ल्याट, गाडी, स्कुटर वा नगद दिएर आकर्षक युवतीसँग रोमान्स गर्ने चलन मौलाउँदै गएको छ । यस्ता सम्बन्धमा दुवै पक्षले लाभ–हानीको हिसाब गरेर सम्बन्ध कायम गर्छन् । यस प्रकारको सम्बन्धमा प्रायः आर्थिक रूपमा कमजोर युवतीहरू बढी सक्रिय देखिन्छन् । कलेजको शुल्क तिर्न, दैनिक खर्च धान्न तथा हाइफाइ जीवनशैली अपनाउने चाहनाले उनीहरू यस्तो सम्बन्धमा प्रवेश गर्ने गरेको जानकारहरू बताउँछन् । नेपालमा यो वा त्यो ढंगले पहिलेदेखि नै सुगर ड्याडीको अभ्यास हुँदै आएको छ । यो सामन्ती समाजको अवशेष हो । पैसा, शक्ति र सम्पत्तिवालाले कमजोर वर्गलाई मनोरञ्जनका लागि प्रयोग गर्ने र त्यसको सट्टामा दैनिक गुजारा, लुगा, कलेज शुल्क, स्कुटी वा विलासिताका सामग्री उपलब्ध गराउने चलन नै सुगर ड्याडीको रूप हो । युवतीहरूले बुढा पुरुषसँग सम्पत्ति र पैसा देख्छन्, त्यसमाथि उनीहरू हिंसात्मक नहुने धारणा पनि यस्तो सम्बन्धको एउटा कारण बनेको छ । काठमाडौंका दरबारमार्ग, ठमेल, लाजिम्पाटलगायत क्षेत्रका बार, लाउन्ज र क्लबहरू धनाढ्य र युवतीबीच सम्बन्ध विकास हुने प्रमुख थलो बनेका छन् । अहिले यो चलन प्राय शहरी क्षेत्रमा बढेको छ । कतिपय अवस्थामा युवतीहरू स्वयं हाईफाई जीवनशैलीको चाहनाले यस्ता सम्बन्धका लागि अग्रसर हुने गरेका छन् । केही धनाढ्यले आफ्नै कार्यालयमा काम गर्ने युवतीसँग पनि यस्तो सम्बन्ध बनाएको पाइन्छ । श्रीमतीसँग बिछोड भएका वा विधुर बनेका केही पुरुषले अर्को विवाह नगरी यस्ता सम्बन्धलाई विकल्पका रूपमा अपनाएको देखिन्छ ।
    नेपालमा ‘सुगर ड्याडी’ र ‘सुगर बेबी’ को अवधारणालाई प्रायः धनाढ्य वयस्क पुरुष र कम उमेरकी आकर्षक युवतीबीचको यौनसम्बन्धका रूपमा बुझ्ने गरिन्छ । तर सबै अवस्थामा यौनसम्बन्ध अनिवार्य हुँदैन । कतिपय अवस्थामा उनीहरू केवल डेटिङ, साथ र मनोरञ्जनका लागि मात्रसँगै रहने गर्छन् । यस्तो सम्बन्धमा रहेका युवतीहरूले मोटो रकम, गाडी वा फ्ल्याटजस्ता सुविधा प्राप्त गर्ने गरेका छन् । सामान्यतया २०–३० वर्षका युवतीहरू ४५–५५ वर्ष उमेरका पुरुषसँग यस्तो सम्बन्धमा रहने देखिन्छ । पछिल्लो समय धनाढ्य महिलाहरूले पनि ‘सुगर ब्वाई’ का रूपमा तन्नेरी युवालाई आर्थिक प्रलोभनमा राखेर आफ्ना आवश्यकता पूरा गराउने गरेको पाइन्छ । यस्तो सम्बन्धमा विवाहको बाध्यता हुँदैन, दुवै पक्ष स्वतन्त्र हुन्छन् । एउटै व्यक्तिसँग सीमित रहने भएकाले यसलाई परम्परागत अर्थमा बेश्यावृत्ति पनि मानिँदैन । के हो सुगर ड्याडी ? वयस्क धनाढ्य पुरुषले कम उमेरकी युवतीलाई पैसा र सुविधा दिएर त्यसको बदलामा सम्बन्ध बनाउने प्रचलनलाई ‘सुगर ड्याडी’ भनिन्छ । बुढ्यौली उमेरमा रहेको धनाढ्य व्यक्तिले आफ्ना शारीरिक तथा अन्य आवश्यकताहरू पूरा गर्न युवतीलाई उपहार र सुविधा प्रदान गर्ने चलन नै सुगर ड्याडी हो । अर्बन डिक्सनरीले भने यौनसम्बन्धका लागि आर्थिक सहयोग गर्ने व्यक्तिलाई सुगर ड्याडीका रूपमा परिभाषित गरेको छ । समाजमा मौन रूपमा हुर्कँदै गएको यो प्रवृत्ति अझै स्वीकार्य सार्वजनिक बहसको विषय बनिसकेको छैन । धेरैजसो यस्ता सम्बन्धहरू गोप्य रहन्छन्, किनभने यसले सामाजिक प्रतिष्ठा, पारिवारिक सम्बन्ध र व्यक्तिगत छविमाथि प्रश्न उठाउँछ । त्यसैले पनि यो अभ्यास तथ्यांकभन्दा बढी अनुभव, प्रहरीका उजुरी, सामाजिक सञ्जाल र कफी–गफका कुराकानीमा मात्र देखिन्छ ।
    सुगर ड्याडी संस्कृतिको विकास केवल व्यक्तिगत चाहनाको परिणाम होइन, यो संरचनागत समस्या पनि हो । बढ्दो बेरोजगारी, महँगो शिक्षा, आवासको अभाव र शहरमा टिकिरहनुपर्ने दबाबले युवतीहरूलाई यस्ता सम्झौतामूलक सम्बन्धतर्फ धकेलिरहेको छ । काठमाडौंमा एउटा सामान्य विद्यार्थीले महिनामा तिर्नुपर्ने कोठाभाडा, कलेज शुल्क र दैनिक खर्च जोड्दा मध्यम वर्गीय परिवारका लागि समेत धान्न गाह्रो हुने अवस्था छ । यस्तोमा ‘सुरक्षित सहारा’ जस्तो देखिने सुगर ड्याडीको प्रस्ताव केही युवतीका लागि विकल्पजस्तो देखिन सक्छ । पछिल्लो समय प्रविधिको सहजता र उपयोग यसको भरपर्दाे माध्यम बन्न थालेको छ । यो सम्बन्धलाई पूर्ण रूपमा सहमतिमा आधारित मात्र भनेर बुझ्नु पनि अपूरो हुन्छ । शक्ति सन्तुलन यहाँ सधैं बराबर हुँदैन । आर्थिक रूपमा सबल पक्षले नियम बनाउने, सीमा तोक्ने र आवश्यक पर्दा सम्बन्ध तोड्ने अधिकार आफूसँग राख्छ । सुरुमा सहज र आकर्षक देखिने यो सम्बन्ध समयसँगै मानसिक दबाब, निर्भरता र असुरक्षामा रूपान्तरण हुन सक्ने जोखिम पनि उत्तिकै हुन्छ । पछिल्लो समय सार्वजनिक भएका ब्ल्याकमेलिङ, हिंसा र मानसिक उत्पीडनका घटनाहरूले यसको अँध्यारो पाटो पनि उजागर गरेका छन् ।
    साँस्कृतिक दृष्टिले हेर्दा, नेपाली समाज अझै पनि यौन र सम्बन्धका विषयमा दोहोरो मापदण्डमा अडिएको देखिन्छ । यस्ता सम्बन्धमा रहेका युवतीहरू नै बढी आलोचनाको शिकार हुन्छन्, जबकी पुरुषहरूको आर्थिक शक्ति र सामाजिक पहुँचका कारण उनीहरू सजिलै जोगिन्छन् । यसले लैङ्गिक असमानताको पुरानै संरचनालाई नयाँ स्वरूपमा पुनःस्थापित गरेको छ । अर्कोतर्फ, केही युवती भने यसलाई शोषण होइन, सचेत छनोटको रूपमा व्याख्या गर्छन् । उनले भोगेको अनुभव यस्तो थियो । यो सम्बन्ध मेरो योजना थिएन । काठमाडौंको एक निजी कलेजमा स्नातक तह पढ्दै गरेकी २४ वर्षीया ‘अनु’ को घटना हो यो । मध्यम वर्गीय परिवारबाट राजधानी आएकी अनुका लागि काठमाडौं सुरुमा सपनाको शहर थियो । तर सपनासँगै चुनौती पनि उत्तिकै कठोर थिए । मासिक कोठाभाडा, कलेज शुल्क, किताब–कापी र दैनिक खर्च जुटाउन उनलाई परिवारबाट आउने सीमित पैसाले धान्न गाह्रो पर्न थाल्यो ।
    ‘घरबाट पठाइने पैसाले दुई हप्ता पनि टिक्दैनथ्यो । पार्ट–टाइम काम खोजिन् । तर पढाई र काम सँगै धान्न सकिनन् ।यही दबाबबीच एक साँझ ठमेलको एउटा क्याफेमा उनको भेट ५० वर्ष नाघेका एक व्यवसायीसँग भयो । सुरुमा सामान्य चिनजान, त्यसपछि फोन कल र कफी भेटघाट । केही हप्तामै उनले अनुको समस्या बुझिसकेका थिए । ‘उनले सीधै प्रस्ताव राखेनन् । पहिला सहयोग गर्न चाहन्छु भने । कलेज फिस, कोठाभाडा—सबै कुरा विस्तारै आयो । अनुका लागि त्यो सहयोग तत्काल राहतजस्तो लाग्यो । केही समयपछि उनीहरूबीचको सम्बन्ध स्पष्ट सर्तमा बदलियो । व्यवसायीले खर्च बेहोर्ने, बदलामा उनी उपलब्ध रहने । ‘मलाई थाहा थियो, यो प्रेम होइन,’ उनले सुनाईन् ‘तर त्यो बेला विकल्प अरु थिएन ।’ शुरुका दिन सहज थिए । राम्रो फ्ल्याट, स्कुटर, घुमघाम—सबै कुरा अचानक जीवनमा आए । तर समयसँगै सम्बन्धको स्वरूप फेरिन थाल्यो । ‘उनले मेरो समयमाथि अधिकार जमाउन थाले । साथी भेट्न, घर जान, सबै कुरा सोधिन्थ्यो,’ उनले भनिन्–‘ आर्थिक निर्भरता बढेसँगै निर्णय गर्ने स्वतन्त्रता खुम्चिँदै गयो ।’
    एक वर्षपछि अनु मानसिक रूपमा थकित भइसकेकी थिइन् । ‘छोड्न चाहन्थें, तर डर लाग्थ्यो—पढाई बीचमै छाड्नुपर्ने हो कि, घरले थाहा पायो भने के होला ?’ अन्ततः उनले पढाइ सकिने नजिक पुगेपछि सम्बन्ध तोड्ने निर्णय गरिन् । ‘म बाहिर निस्किएँ, तर सजिलै होइन,’ उनी भन्छिन्, ‘अहिलेसम्म पनि त्यो अनुभवले पछ्याइरहेको छ ।’ अनुले अनुभव सहितको घटनालाई चेतावनीका रूपमा लिन आग्रह गरिन् । ‘सबैका लागि यो एउटै अनुभव नहुन सक्छ, तर आर्थिक विवशतामा गरिएको सम्झौता कहिल्यै पूर्ण रूपमा सुरक्षित हुँदैन ।’ ‘आफ्नो समय, साथ र आकर्षणको मूल्य आफैं तोक्छु,’ भन्ने उनीहरूको तर्क छ । विवाहजस्ता दीर्घकालीन बन्धनमा बाँधिनुभन्दा स्पष्ट सर्तमा आधारित स्वतन्त्र सम्बन्ध कम जोखिमपूर्ण हुन्छ । तर प्रश्न उठ्छ— के यो स्वतन्त्रता साँच्चै स्वतन्त्र छ, कि आर्थिक विवशताबाट जन्मिएको सम्झौता मात्र ? सुगर ड्याडीको अवधारणाले नेपाली समाजलाई एउटा असहज ऐना देखाइदिएको छ । यो ऐनामा शहरको चम्किलो जीवनशैली, वर्गीय खाडल, लैङ्गिक राजनीति र नैतिकताको पुनव्र्याख्या सबै एकसाथ देखिन्छन् । यसलाई केवल विकृति भनेर अस्वीकार गर्ने वा केवल आधुनिकता भनेर स्वीकार गर्नेदुवै दृष्टिकोण अपूरा छन् । आवश्यक छ, यसमाथि गम्भीर, तथ्यपरक र संवेदनशील बहस । सुगर ड्याडी केवल व्यक्तिहरूबीचको निजी सम्बन्धको कथा होइन । यो काठमाडौंजस्ता शहरले बोकेको आर्थिक दबाब, सामाजिक रूपान्तरण र मौन सम्झौताहरूको सामूहिक कथा पनि हो ।

निलहिरा खड्का
अनुसन्धानकर्ता, काठमाडौं