2026 August 18/ 04:20: 08am

उमेरले पाको भइसकेँ । धेरैजसो मान्छेले मलाई किसान, बुढो बा भनेर चिन्छन् । तर आज म त्यो परिचय होइन, एक बाबुको चित्कार लिएर तपाईं सामु उभिएको छु । जसले आफ्नै छोरीको लास चिनेको छ । मेरो जीवनमा त्यस दिनले जुन आगो लगायो, त्यो अहिलेसम्म निभेको छैन ।
    शर्मिला मेरी छोरी । सानैदेखि ऊ अलिक फरक थिई । अलिक बढी जिद्दी, अलिक बढी सोझी । भुइँमा लडे पनि रुँदिनथी । स्कूलमा पहिलो पंक्तिमा बस्ने, मसँग रिसाएर पनि राति निदाउन आउँथी । उसको हाँसो सुनिँदा मलाई लाग्थ्यो, म किसान होइन, राजा हुँ । म उनलाई खेत किन जानु भनेर कराउँथें, ऊ लुकीलुकी गोरु पछ्याउँथी । जीवनभर उसको त्यो आँखा जुन आँट र सपना बोकेको थियो मेरो स्मृतिमा बस्नेछ । उमेर बढ्दै जाँदा उसले प्रेम ग¥यो । म विरोधी थिइनँ । उसको पहिलो विवाह उसकै इच्छाले भयो । हामीले आशीर्वाद दियौं । तर जीवन सबैका लागि एउटै कथा होइन । त्यो सम्बन्ध टिकेन । केही वर्षपछि सम्बन्ध विच्छेद भयो । उनले दोस्रो विवाह गरिन् । बच्चा पनि जन्मिए दुईवटा । मलाई लागेको थियो, अब उसको जीवन सामान्य बन्नेछ । तर त्यो सम्बन्ध पनि भत्कियो । मैले छोरीलाई बुझ्न खोजेँ । ऊ भन्थी, बाबा, जीवनमा दुई चोटि गल्ती भयो भनेर तेस्रो चोटि म बाँच्न नपाउनु भन्ने त होइन नि ! म चुप लाग्थें । बुढो मान्छे, भूतपूर्व सैनिक पनि, तर छोरीको साहस देख्दा म नि नतमस्तक हुन्थें ।
    त्यसपछि ऊ बनेपा बस्न थाली । नानीहरू पढाउँथी, सानो व्यापार गर्थी । काठमाडौंबाट साबुन, फेन्सी समान ल्याएर बेच्थी । मसँग फोनमा कहिले मीठा कुरा, कहिले झर्को । तर मेरो मन खुसी थियो, छोरीले जिन्दगी सम्हालेकी छे । केही समयपछि उनले मलाई सन्तोष सुनारको कुरा बताइन् । भनिन् बाबा, ऊ राम्रो मान्छे हो । मलाई बुझ्छ । मैले भनेँ अब तिमीलाई जे मन पर्छ, गर । तर चोखो साथ खोज, विश्वासिलो साथ खोज । म बुढो भए पनि मन बाघ हो । छोरी दुःखमा परोस् भनेर कहिल्यै चाहिन । तर कहिल्यै सोचेको थिइनँ । त्यही प्रेमी बन्ने सन्तोष नै उसको ज्यान लिनेछ ।
    २०८२ सालको असार ३२ गतेको दिन थियो । बिहान फोनमा कुरा भएको थियो । उनी काम छ  भन्दै निस्किइन् । त्यो नै अन्तिम संवाद भयो । साँझसम्म सम्पर्क भएन । म डराउँदै बनेपातिर लागें ।  नानीहरू छिमेकीकहाँ थिए । डेरा बन्द । मोबाइल अफ । मनमा चिसो पस्यो । भोलिपल्ट पुलिसमा निवेदन दियौ ं। हराएको रिपोर्ट लेखाइयो । हामीले अनुमान पनि गर्न सकेनौं कहाँ गइन् होला, कसको साथमा ? तीनदिन बित्दा पनि केही पत्ता लागेन । मन अब निराश हुँदै गयो । साउन ४ गते दिउँसो प्रहरीबाट फोन आयो एक महिलाको शव फेला परेको छ, भगवान थुम्की सामुदायिक जंगलमा । तपाईं आउनुस् । म गएँ । जंगलमा पुग्दा रुखमुनि ढाकिएको, अर्धनग्न अवस्थामा लास थियो । अनुहार चिन्न सकिने अवस्थामा थिएन । तर म बाबु हुँ । मैले चिनेँ त्यो मेरी छोरी हो । उसको कानको लौंगो, हातको चुरा सबै बोले, बाबा, म यही हुँ । 
    त्यो क्षण... त्यो क्षण मेरो आत्मा च्यातियो । छातीमा आगो सल्क्यो । म त्यही ढुंगामा बसेर चिच्याएँ किन हँ छोरी ? तिमी बाँच्न खोजेकी थियौ, मर्न हैन । प्रहरी अनुसन्धान अघि बढ्यो । शवको परीक्षण भयो । घाँटी थिचेर हत्या गरिएको रिपोर्ट आयो । शरीरभर नीलडाम । उनको मोबाइल, पछिल्लो लोकेशन, फोन संवाद हेर्दै जाँदा अनुसन्धानको दिशा स्पष्ट हुन थाल्यो । त्यो रात, प्रहरीले सन्तोष सुनारलाई पक्राउ ग¥यो । बनेपाकै इँट्टाभट्टाको छेउमा लुकी बसेको अवस्थामा । प्रारम्भिक बयानमै उसले भन्यो शर्मिलाले मलाई धोका दिइन् । अर्कैसँग जान खोजिन् । त्यसैले मारेँ । त्यो सुन्दा मेरो रगत उम्लियो । धोका ? छोरीले प्रेम गर्नु पाप थियो ? वा अपराध थियो ? तर विवाह नगर्न खोज्दा मारिनुपर्ने हो ?
    समाजसँग पनि मेरो गुनासो छ । मेरी छोरीले दुइटा विवाह गरिन् हो, तर त्यो उनका जीवनका पाटाहरू थिए । उनले दुईटा बच्चा जन्माइन् ती उनको आशा थिए । तर समाजले उनलाई कहिल्यै स्विकार्न सकेन । एक स्वतन्त्र महिला, जो आफ्नै बलबुताले उभिन खोजिरहेकी थिई, समाजको नजरमा सकिएकी देखिइन् । अनि जब उनले फेरि प्रेम गरिन् त्यो प्रेम स्वामित्वमा बदलियो । सन्तोषले मेरी छोरीलाई नियन्त्रण गर्न खोज्यो । जब सकिएन, हत्या ग¥यो । जंगलमा लगेर, एक्लै पारेर, चुपचाप हत्या ग¥यो त्यसपछि लास छोडेर भाग्यो । त्यसपछि म प्रहरी कार्यालयमा पुगें । बुढो मान्छे न्यायका लागि जति दौडनु परे पनि दौडिन्छु । 
    पक्राउ परेको केही घण्टा पछि सन्तोषले प्रहरीसमक्ष दिएको बयान मेरो कानमा गुञ्जिरहे जस्तो लाग्छ । उसले ढुक्क भएर भनेछ, मैले उसलाई मारेँ । मलाई थाहा थियो, अब ऊ मेरो हुनेवाली होइन । उसले अन्तै प्रेम गर्न थालेकी थिई । मैले सोचेँ यदि ऊ मेरी होइन भने, कसैकी पनि हुने दिन्न । सन्तोषले केही दिनदेखि नै शर्मिलालाई मानसिक दबाब दिन थालेको रहेछ । फोनमा धम्की दिने, भेट्न बोलाएर रिसाउने, अनि बारम्बार एउटै कुरा दोहोर्याउने मसँग बिहे गर, नत्र नराम्रो हुन्छ । ती दिनहरूमा शर्मिलाले मोबाइलबाट केही कुराहरू हटाएकी थिई । तर केही च्याटहरू फिर्ता ल्याएर हेर्दा पत्ता लागेछ उनी उसबाट टाढा जान चाहन्थिन् । स्वतन्त्र भएर बाँच्छु भनेर निर्णय गरेकी थिईन् ।
    हत्या भएको दिन साउन ४ गते उसले शर्मिलालाई ‘अन्तिम कुरा’ गरौं भनेर बोलाएको रहेछ । बनेपामा मजदुरी गरेर बस्ने भए पछि उसले अलिक टाढा एकान्त स्थान रोजेर बनेपामा रहेको भगवान थुम्की जंगलतिर लगेछ । जंगल भित्रको एकान्त ठाउँमा लगेर उसले पहिले प्रेम, अनि डरको कुरा गर्दै गाली निन्दा ग¥यो । त्यसपछि घाँटी समातेर थिचिदियो । घाँटी थिचेर हत्या गरेपछि,उसले त्यहीँ छोडिदियो रुखमुनि । जंगलको जरा–माटोले मेरो छोरीको लाश छोप्न सकेन । कुकुरहरू कराउन थालेपछि स्थानीयले प्रहरी बोलाए अनि लास भेटियो । जति चोटि उसले मसँग टाढा जान खोजी, मलाई आफ्नो इज्जत गुमेकोजस्तो लाग्यो । म उसलाई गुमाउन सक्दिनथें । मेरो जीवन बर्बाद बनाएको छ । उसले मलाई प्रयोग मात्र ग¥यो । प्रयोग के हो, अनि विश्वास के हो ? यदि प्रेममा स्वामित्व हावी भयो भने, त्यो प्रेम हुन्न, त्यो त हिंसा हो । हिंसा अपराधमा परिणत हुन पुग्यो । 
    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले छोरी र पक्राउ परेका युवा २ वर्ष देखि सम्बन्धमा रहेको पुष्टि गराएका थिए । दुई वर्षको सम्बन्ध विवाहमा परिणत गर्न नमानी अर्काे पुरुषसँग प्रेम गरेको थाहा पाए पछि जंगलमा पु¥याएर हत्या गरिदिएको पक्राउ परेका प्रेमी सन्तोष सुनारले प्रारम्भिक अनुसन्धानका क्रममा बयान दिएका रहेछन् । हामीलाई पनि छोरीले उनैसँग विवाह गर्ने गरी सम्बन्ध रहेको बताएकी थिईन् । २०८२ साउन ४ गते दिउँसो करिब २ बजे बनेपा नगरपालिका १३ को भिरालो जंगलमा चिलाउने रुखको फेदमा पहिचान नखुलेकी एक महिला मृत अवस्थामा फेला परेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली खटिएको थियो । धुलिखेल अस्पतालको फरेन्सिक विशेषज्ञ टोली समेत घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो । प्रहरीले पछिल्लो पटक शंकास्पद अपराधमा घटनास्थलमा नै विशेषज्ञहरुको टोली लैजाने अभ्यास शुरु गरेको रहेछ । 
    प्रहरी अनुसन्धानका क्रममा उक्त शव काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाउँपालिका १ डाँडाखर्क घर भई हाल बनेपा नगरपालिका ९ नयाँबस्तीमा बस्दै आएकी ३३ वर्षीया शर्मिला उप्रेतीको भएको खुलेको थियो । उनि मेरी छोरी थिईन् । २०८२ असार ३२ गते देखि शर्मिला बेपत्ता थिइन् । बेपत्ता भएको दुई दिनपछि जंगलमा शव भेटिए पछि घटनालाई रहस्यमय मान्दै प्रहरीले सुक्ष्म अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न भएको आरोपमा शर्मिलाका प्रेमी ३७ वर्षीय सन्तोष सुनारलाई हाम्रो नै सुचनाका आधारमा साउन ४ गते राति बनेपा नगरपालिका १० स्थित एक इँट्टाभट्टाबाट पक्राउ गरेको थियो । सन्तोष रामेछाप जिल्ला मन्थली नगरपालिका १३ का स्थायी बासिन्दा हुन् । कामका सिलसिलामा उनिहरु बीच चिनजान र सम्वन्ध भएको रहेछ । त्यसअघि दुई श्रीमान्बाट एक एक सन्तान जन्मेका भए पनि उनि सँगै बस्न नसकेर एक्लै थिइन् । पुनः उनले सन्तोषसँग सम्बन्ध राख्दै दुई वर्ष देखि सँगै बस्न थालेको खुलेको छ । प्रेममा त्याग हुन्छ । प्रेम प्राप्तीका लागि ब्यक्तिको हत्या गर्ने अपराधीलाई हदैसम्मको सजाँयको अपेक्षा गरेको छु । 

कमलबहादुर उप्रेती
हालः बनेपा, काभ्रे