2025 January 19/ 06:02: 19am

कुन्साङ लामा
नगर प्रमुख
नमोबुद्ध नगरपालिका

नागरिकहरुका असीमित चाहना र सीमित स्रोतका बीच नमोबुद्ध नगरपालिकाले कसरी काम गरिरहेको छ ? 
    २०७४ सालमा स्थानीय सरकारले गरेको कामहरुलाई निरन्तरता दिँदै अहिलेको सरकारले दिएको कामहरुलाई क्षमताले भ्याएसम्म वडाका सम्पूर्ण जनप्रतिनिधि तथा नागरिकहरुसँग मिलेर काममा लागिपरेका छौं । 
कुन कामलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ ?
    नगरपालिकाले सबै सानो ठूलो कामलाई प्राथमिकतामा राखेको छ । यसभन्दा अघि आआफ्नो अनूकूलका कामहरु गरेको पाईयो । तर अब मेरो कार्यकालमा धेरै जनताहरुलाई सुविधा पाउने हिसाबले बाटोघाटोको कामहरु भैरहेको छ । विपी राजमार्गलाई व्यवस्थित गर्नका लागि नापी विभाग, धुलिखेल नापी, नगरपाालिका मिलेर जनताको जग्गा छुटाएर कामहरु शुरु भैरहेको छ । त्यस्तै नमोबुद्ध परिसरको कुरा गर्नुपर्दा हिजोको दिनमा अव्यवस्थित रहेछ त्यसको लागि त्यहिको लामा गुरु, वडा अध्यक्षहरुसँग छलफल गरी अव्यवस्थित संरचनाहरु हटाउने काम भएको छ । त्यसैगरी पुरातत्व विभागसँग समन्वय गरेर विश्व सम्पदा सूचीमा राख्नको लागि तयारी भैरहेको छ । नमोबुद्ध आफैमा पर्यटकीय र साँस्कृतिक महत्व बोकेको स्थान हो । यसलाई जगेर्ना र व्यवस्थित बनाउन सके त्यहाँबाट उठेको आय श्रोतले अबका दिनमा अन्यत्रबाट सहयोग माग्न पर्दैन भन्ने मेरो भनाई हो । यसको लागि नगरपालिकाले काम सुरु गरिसकेको छ । नमोबुद्ध परिसर भित्र थप मन्दिरहरु बनाउनको लागि पुरातत्व विभागसँग पहल भैरहेको छ । नमोबुद्ध परिसरमा पार्किङ, स्टल र पर्यटकहरुको विश्रामको लागि विश्रामस्थलको निर्माण कार्यमा नगरपालिकाले योजना अगाडि बढाएको छ ।

लुम्बिनीको विकास जस्तै नमोबुद्धलाई पनि विकास गर्न सकिन्छ ? 
    पक्कै पनि विकास गर्न सकिन्छ । नमोबुद्ध विगतका दिनमा बाटोको कारण ओझेलमा परेको रहेछ । अबका दिनमा नमोबुद्ध जाने बाटो २÷३ ठाउँ रहनेछ । नमोबुद्धमाथि विश्वको नजर परेको छ । यसर्थ यसलाई विश्व सम्पदा सूचीमा राख्नको लागि स्थानीय सरकारले मात्र पहल गरेर नहुने रहेछ । यसको लागि सरकारसँग पहल भैरहेको छ । 
ऐतिहासिक स्थल दाप्चालाई संरक्षण गर्न कस्तो योजना रहेको छ ? 
    दाप्चा बजारलाई बन्दिपुर जस्तै बनाउन हामी सबैको चाहना थियो । त्यहाँ बाटोको विषयमा मनमुटाव हुँदा कामहरु अगाडि बढ्न सकेको रहेनछ । तर अहिले त्यो बाटो ढलान भैसकेको अवस्था छ । दाप्चालाई पर्यटकीय क्षेत्र बनाउनको लागि स्थानीय सरकार लागि परेको छ । अर्काे कुरा दाप्चाको बाटोलाई विपी राजमार्गसँग जोड्नको लागि संघ र प्रदेश सरकार सँग कुरा अगाढि बढिरहेको छ । 
नमोबुद्ध बाहेक अन्य कुनै पर्यटकीय क्षेत्र पहिचान गर्नुभएको छ ? जहाँबाट आयआर्जन हुन सकोस् ?
    मुख्य पर्यटकीय क्षेत्र भनेको नमोबुद्ध नै हो । फुलबारी देखि दाप्चासम्म मन्दिरै मन्दिरले भरिएको पर्यटकीय क्षेत्र हो । त्यतिमात्र नभई तामाङ जातिको बाहुल्यता भएको कोट तिमाललाई पनि हामीले पर्यटकीय दृष्टिले हेरेका छौं । कतिपय पर्यटकीय क्षेत्रहरुमा बाटोको अभावको कारण ओझेलमा परेको छ । त्यो ठाउँहरुलाई पनि अबका दिनमा बाटोको सुविधा पु¥याउनेछौं । हामीले अन्तरपालिकाहरुसँग छलफल गरेर पर्यटकीय क्षेत्रहरु जस्तै रोशीको तीनधारे, तेमालको ठूलो पोखरी नारायणस्थानको विकास, पहिचान संरक्षण गर्नको लागि आवश्यक पहल गरिएको छ । 
पूर्वाधारको विषयमा नगरपालिकाको बनाएको योजना के छ ?
    बजेट महत्वपूर्ण रहेछ । खानेपानी, शिक्षा, स्वास्थ्य, बाटोलाई छुट्याइएको रकमलाई जिरोबाट काम शुरु गरिएको छ । पूर्वाधारको कुरा गर्नु पर्दा मूल सडक नै हुँदो रहेछ । सडकको कुरा गर्नुपर्दा सरकारबाट यस वर्ष अपुग रकम प्राप्त भएको छ । अहिले नमोबुद्ध नगरपालिकामा आम्दानीको स्रोत खासै केहि छैन । सरकारबाट जति बजेट प्राप्त हुन्छ त्यति नै खर्च गर्ने गरेका छौं । त्यहि भएर हामीले उद्योगीहरुलाई पनि आव्हान गरेका छौं । विना उद्योग नगर अगाडि बढ्न सक्दैन । नमोबुद्ध नगरलाई माथि उकास्नका लागि सम्पूर्ण राजनीतिक दल लगायत उद्योग व्यवसायी सम्पूर्णलाई आव्हान गरिएको छ । सडकको बारेमा भन्नुपर्दा सीमित बजेटले विभिन्न ठाउँहरुमा कामहरु भैरहेको छ ।
    त्यसैगरी शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेर काम अगाडि बढिरहेको छ । त्यस्तै खानेपानीको सन्दर्भमा भन्नुपर्दा पर्याप्त मात्रामा बजेट रहेको छ । पहिले र अहिलेको गरेर करिब डेढ अरब लगानी खानेपानी सिंचाईमा भएको छ । शिक्षामा देखिएको ढिलासुस्तीलाई हटाउन सरोकारवालाहसँग छलफल भइरहेको छ । मेरो कार्यकाल अवधिमा अहिलेसम्म मैले गरेका कामहरुमा जनताहरुको कुनै गुनासो आउने काम गरेको छैन जस्तो लाग्छ । विकासको कार्यमा विना अवरोध कामहरु भइरहेको छ । यसमा मलाई सबैको साथ र सहयोग प्राप्त भएको छ । 
तपाईको कार्यकालमा नमोबुद्ध नगरपालिकाको सबै वडामा सडकको सुविधा सहज हुन्छ ?
    पक्कै पनि सहज हुनेछ । अब हाम्रो कार्यकालको अवधि ३ वर्ष रहेको छ । नमोबुद्ध नगरपालिकाको ११ वटै वडामा कुनै पनि समय हिँउद वा वर्षा समयमा गाडी एम्बुलेन्स नरोक्ने गरी व्यवस्था मिलाएका छौं । अत्याधिक वर्षाको कारण कहिलेकाहिँ अवरोध भएको खण्डमा नगरपालिकासँग सानो स्काभेटर तयारी अवस्थामा रहेको छ । अबको तीन वर्ष भित्रमा सबैको सहयोगले सबै वडाको वडा कार्यालय निर्माण गर्ने, सबै वडामा गाडीको पहुँच उपलब्ध गराउने, स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि हामीसँग मेथिनकोट अस्पताल रहेको छ । साथै हरेक वडामा एउटा स्वास्थ्य चौकी उपलब्ध छ । त्यसैगरी पशुसेवाको लागि पनि नगरले सकेको सहयोग गरिहेको अवस्था छ । पछिल्लो समय गाई भैसीमा देखा परेको लम्पी स्किन रोग नियन्त्रणको लागि आवश्यक पहल गरिरहेको छ । यसको लागि जसको गाई भैसी उक्त रोगले मरेको अवस्थामा नगरले कार्यविधि अपनाएर क्षतिपूर्तिको समेत व्यवस्था गरेका छौं । 
नगरका नागरिकहरुलाई स्वस्थ बनाउन शुरु गरिएको निःशुल्क औषधि घर घर पु¥याउने अभियान अहिले पनि जारी छ ?
    हामीले दमका रोगीहरुको लागि अक्सिजन सिलिण्डर घर घरमै पु¥याउन नसके तापनि अक्सिजन सेन्टरको स्थापना गरी अभियानलाई जारी राखेका छौं । नागरिकहरुको स्वास्थ्यको लागि मेथिनकोट अस्पतालमा सम्पूर्ण सेवाहरु उपलब्ध भइरहेका छन् । हाम्रो स्रोत र साधनले भ्याएसम्म जनताहरुको स्वास्थ्यमा कुनैपनि कसर बाँकी राखेका छैनौं । शैक्षिक गुणस्तरका लागि नगरपालिका के गर्दैछ ? यो समस्या समाधान गर्नको लागि वडा वडामा शिक्षाप्रेमी मित्रहरुसँग सल्लाह गरेर विद्यार्थी संख्याको हिसाबले पछि समस्या नआउने गरी मिलाउन अनुरोध गरेको छु । त्यस अलावा नगरमा शिक्षा समिति गठन गरी बेला बेला अनुगमनमा समेत जाने गरेका छौं । अर्काे कुरा के छ भने २०÷२५ वर्षदेखि दुःख गरिरहनु भएका शिक्षकहरुमा प्राविधिक शिक्षाको कमी देखिएको छ । उहाँहरुलाई पेशाबाट बाहिर जान भन्न पनि नमिल्ने अवस्था छ । यसको लागि नगरपालिकाले उहाँहरुलाई राजिनामा दिएको खण्डमा आवश्यक राहत प्रदान गर्छाै भनेको छ । केहिले राजिनामा दिएका छन् । 
कृषि र पशुपालन क्षेत्रमा........? 
    कृषि क्षेत्रको मुख्य समस्या भनेको मलको अभाव हो । मैले सोझै प्रधानमन्त्रीसँग भेटेर समेत मलको विषयमा कुरा राखें । गत साल भन्दा यो वर्ष अलि मलको कम अभाव रह्यो । नमोबुद्ध नगरपालिकामा आउने कोटाको मल सहकारीहरुमा वितरण गरेका छौं । अझै पनि मल पर्याप्त मात्रामा वितरण गर्न सकिरहेका छैनौं । त्यस्तै खेतीको लागि टनेलको माग भएको खण्डमा नगरपालिकाले आवश्यक टनेलको व्यवस्था गरेको छ । त्यसैगरी युवा तथा महिलाहरुको लागि समूह गठन गरी आएमा नगरपालिकाबाट आवश्यक सहुलियत प्रदान गर्ने व्यवस्था मिलाएका छौं । नगरपालिकाले कृषि क्षेत्रलाई स्थापित गर्नको लागि समूहमा रहेर खेती गर्न सबै सबै वडामा रहेका नागरिकहरुलाई आव्हान गरेको छ ।  पशुहरुको ब्यवसायीक पालनमा सहयोग र समन्वय गर्ने योजना बनाएका छौं । अहिलेको विपदमा पनि सहयोग गरेका छौं । शिविर संचालन गर्ने, रोग लाग्न नदिने, लागेमा उपचार गर्ने र ब्यवसायीक उत्पादनमा पहल गर्ने योजनामा रहेका छौं । 
बिपी राजमार्गको अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्न कस्तो योजना रहेको छ ? 
    मैले यो नगरका बाटोमा पर्ने सम्पूर्ण साथीहरुलाई छलफलमा बोलाएँ । नगरपालिकाकाले मुअब्जा खाएको जग्गा छोड्ने कि नियमानुसार जाने भन्दा उहाँहरुले छोड्छु भन्नुभयो । तर बाटो विस्तार गर्ने क्रममा विभिन्न किसिमको विवाद आउन थाले । यसर्थ नापी कार्यालयसँग सल्लाह गरेर नापी दस्तुर कर तिरी नाप्ने कार्य गरि मापदण्ड छुट्याईसकेका छौं । सडक विभागलाई काम गर्न निर्देशन दिइसकेका छौं । केहि मुअब्जा लिएर जग्गा नछोड्नेहरु पनि छन् उहाँहरुलाई पनि अबका दिनमा छोड्न लगाउने छौं । सडक विभागले सडक बनाउँदै गर्दा हामीले विरुवा पनि रोप्दै छौं । अर्काे वर्षमा सडक विभाग र नगरपालिका मिलेर विपी राजमार्गको भकुण्डे बजारको स्वरुपमा परिवर्तन आएको देख्नु हुनेछ । 
अन्तमा,
    आमाबुबाको स्याहारको लागि स्वास्थ्यको सुविधा, बालबालिकाका भविष्यका लागि शिक्षाको पहुँचता, बजेटमा अनियमितता नहोस् भनेर सबै जनप्रतिनिधिहरु र कर्मचारी मिलेर नगर बनाउने अभियानमा लागिहेको छौं । मैले गर्नुपर्ने कामहरु दायित्वहरु मन र बचनले गरिरहेको छु । सबै नगरबासीहरु मिलेर नमोबुद्धलाई राम्रो बनाउन अनुरोध गर्दछु । यसमा सबैको साथ र सहयोगको आवश्यक छ ।