2025 January 19/ 05:27: 39am

मे.सु.डा.मधुकर दाहाल
बरिष्ठ स्त्री रोग विशेषज्ञ एवं 
प्रमुख, मेथिन्कोट अस्पताल, मेथिन्कोट, काभ्रे

जिल्लामा अन्य अस्पतालहरु छन्, लामो प्रयास पछि नमोबुद्धमा मेथिन्कोट अस्पताल स्थापना भएको छ ? अहिले मेथिन्कोट अस्पताल के गरिरहेको छ ?
मेथिन्कोट जिल्लाकै सरकारी अस्पताल हो । जिल्लामा अन्य अस्पताल पनि छन् । तर हाम्रो नजरमा त्यो मात्र नभई अब मेथिन्कोट अस्पताल पनि रहेको छ । यो अस्पतालले पनि अरु ठूला अस्पतालले जस्तै सेवा र सुविधा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौं । अब कुनै पनि विरामीहरुले उपचारका लागि अन्य अस्पताल धाइरहनु पर्ने अवस्था रहने छैन । 

मेथिन्कोट अस्पतालमा विशेषज्ञ सुविधा छ ?
    हामीकहाँ विशेषज्ञ सुविधा उपलब्ध छ । हामी कहाँ साईक्राटिक, अर्थाेपेडिक, बालरोग विशेषज्ञ लगायतका विशेषज्ञहरु उपलब्ध छन् । जनमानसमा त्यहाँ केहि पनि विशेषज्ञ सुविधा छैन भनेर भ्रममा नपर्न अनुरोध गर्दछु । 

सरकारी अस्पताल भनेपछि हेर्ने नजरमा पनि फरक हुन्छ हो ? 
पक्कै पनि हो । हामीकहाँ स्वस्थ्य वीमा मार्फत पनि उपचार गराउँछौं । त्यसैगरी हामी दिनदुःखी, गरिबीको लागि भनेर निःशुल्क उपचार समेत गर्ने व्यवस्था मिलाएका छौं । सरकारी अस्पतालले दिने सेवा सुविधामा हामीले कुनै कसर बाँकी राखेका छैनौं । हामी सामाजिक उत्तरदायित्व भित्र रहेर विरामीहरुलाई सेवा सुविधा पु¥याइरहेका छौं । 

मेथिन्कोट अस्पतालमा आकस्मिक सुविधा छ ? 
हामीकहाँ २४ सैं घण्टा आकस्मिक सुविधा रहेको छ । कुनै पनि विरामी कुनैपनि समयमा आएर उपचार गर्न सक्नुहुनेछ । हामीकहाँ अपरेशन कोठाको पनि व्यवस्था रहेको छ । प्रसुति सेवाको लागि पनि २४ सैं घण्टा खुल्ला छ । हामीकहाँ अन्य अस्पतालमा जस्तै गुणस्तरीय सेवा उपलब्ध छ । भवनहरु निर्माण हुने क्रममा छन् । अबको केहि महिना भित्र हामीले सिटि स्क्यान र एमआरआईको पनि सेवा सुविधा दिनेछौं । यसको लागि प्रदेश सरकारसँग छलफल भइरहेको छ । 

अस्पतालमा सेवा लिनेहरु बढेका हुन् ? विश्वास बढ्यो ? 
पछिल्लो समय करिब १ सय ५० भन्दा धेरैले दैनिक सेवा लिइरहेका छन् । हामीले पहिलेको प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पताल बनाएका हौं । सोहि सन्दर्भमा हामीले निर्माण पछि ३ महिनासम्म नागरिकहरुलाई अस्पतालबाट सेवा सुविधा लिन विश्वस्त तुल्यायौं । पहिले साधारण सेवा पनि लिन धुलिखेल अस्पताल जानुपर्ने बाध्यतालाई पन्छाउँदै यहि मेथिन्कोट अस्पतालमै हरेक सेवा सुविधा उपलब्ध गराएका छौं । यसकारण पनि हामीकहाँ सेवा सुविधा लिने सेवाग्राहीहरु बढिरहेको अवस्था छ । 

स्वास्थ्य वीमाको सन्दर्भमा के भन्नुहुन्छ ?
यसमा चाहिँ हामीलाई अलि समस्या परेको छ । पहिले यस भेगका नागरिकहरु धुलिखेल अस्पतालमा मात्रै केन्द्रित थिए । तर पछिल्लो समय धुलिखेलमा पाउने सेवा सुविधा मेथिन्कोट अस्पतालमा समेत पाउने भएकोले नागरिकहरुले आफ्नो वीमा कार्ड धमाधम परिवर्तन गर्न थालेका छन् । यदि स्वास्थ्य वीमा मार्फत रकम खर्च भएको अवस्थामा भने हामीलाई सेवा दिन अलि असहज हुन्छ तर वीमामार्फत रकम खर्च भएको छैन भने हामी त्यो स्वास्थ्य वीमामार्फत हुने सेवा सुविधा प्रदान गर्न तयार छौं ।  

आकस्मिक दुर्घटनामा आइपर्ने विरामीको चापलाई मेथिन्कोट अस्पतालले कसरी व्यवस्थापन गर्छ ?
यस अस्पतालमा अहिलेको समयमा इमरजेन्सी बेड १० वटा रहेको छ । डक्टरहरु हर समय तयार अवस्थामा रहेका हुन्छन । इमरजेन्सी परेको खण्डमा हामीले १० वटा बेड बाहेक थप ५० जना विरामीहरुलाई सेवा दिन तयारी अवस्थामा रहेका छौं । विशेषज्ञ डाक्टर आवश्यक परेको खण्डमा तत्कालै आउनुहुन्छ । यसर्थ हामीकहाँ सेवाग्राहीहरुले कुनैपनि समय सेवा सुविधा लिन पाउनुसक्नुहुनेछ । पहिलेको जस्तो अवस्था अहिले छैन । हामीकहाँ पूर्वाधारहरु निर्माण भैसकेका छन् ।

नियमित सेवा सुविधाहरु के के छन् ? 
    हामीले नियमित सेवा सुविधा दिइरहेका छौं । जस्तै क्लिनिकल, अर्थाेपेडिक, साइकाट्रिक, बालरोग सेवा नियमित रुपमा गराइरहेका छों । केहि दिनभित्र हामीले सर्जरी सुविधा पनि दिदैछौं । 

यति धेरै सेवा सुविधाको बाबजूद पनि सरकारी अस्पताललाई अलि हेयको दृष्टिले किन हेरिन्छ ?
नागरिकहरु चाहिँ सरकारी अस्पताललाई हेल्थपोष्टको रुपमा चिन्छन् । हामीले सरकारी अस्पताल भएता पनि प्राईभेट अस्पतालले दिने सेवा सुविधामा कुनै कन्जुस्याइँ गरेका छैनौं । नागरिकहरुले के बुझिदिनु प¥यो भने पहिलेको हेल्थपोष्ट र अहिलेको अस्पतालले दिने सेवा सुविधामा धेरै फरक छ । यसर्थ विश्वस्त भएर सेवा लिन आग्रह गर्दछु ।

ल्याबको लागि पूर्वाधारहरु के कस्तो रहेको छ ?
हामीकहाँ नाम चलेका अस्पतालहरुमा हुने ल्याबको सेवा उपलब्ध छ । हामीकहाँ केहि रोगको परिक्षण बाहेक हरेक किसिमका रोगहरुको परिक्षणका लागि ल्यावको ब्यवस्था गरेका टौं । त्यो किसिमको पूर्वाधारहरु हामीकहाँ रहेको छ । हामीले न्युनतम शुल्कमा परिक्षणहरु गराइरहेका छौं । यसको लागि नागरिकहरु अन्यत्र गइराख्नुपर्ने छैन । 

रेडियोलोजिको सुविधाका बारेमा के भन्नुहुन्छ ?
यस अस्पतालमा भिडियो एक्स–रे म आफैले गर्ने गरेको छु । मैले धेरै पटक रेडियोलोजिस्ट विशेषज्ञलाई सम्पर्क गरेर बोलाएँ तर उहाँ आउनु भएन । तसर्थ म आफैंले यो सेवा प्रदान गरिरहेको छु । म नभएको खण्डमा अन्य डाक्टरहरु मार्फत उक्त सेवा सुविधा पाउन सक्नुहुन्छ ।

अन्य थप सेवा सुविधाको लागि केहि योजना छ ? 
हामीले भदौ १ गतेबाट डाइलोसिसको सेवा दिन प्रयास गरिरहेका छौं । काभ्रे जिल्लामै डाइलोसिसको सुविधा छैन । यसर्थ हामीले १० वटा मेसिनबाट डाइलोसिसको सेवा प्रदान गर्न गइरहेका छौं । यसमा नगरपालिकाले समेत चासो देखाएको छ । अर्काे कुरा हामीले ट्रमाको लागि पनि योजना बनाइरहेका छौं । हाम्रो अस्पताल विपी राजमार्गमा पर्दछ । यो राजमार्गमा धेरै दुर्घटना भइरहने हुनाले यसको योजना पनि हामीले तयारी गरेका हौं । 

अस्पतालको भौतिक संरचनाको बारेमा के भन्नुहुन्छ ?
अस्पतालको आफ्नै भवन छ । सानै भएता पनि सेवा सुविधा गुणस्तर रुपमा दिन सकेका छौं । ठूलो ठूलो भवन हुदैमा गुणस्तरीय सेवा सुविधा हुन्छ भन्न सकिँदैन । जे छ त्यसमै सन्तुष्ट रहेर सेवा सुविधा दिन सकेका छौं । नागरिकमा के भ्रम नहोस् भने अस्पतालले कुनै घर भाडामा लिएर सुविधा दिएको छ तर यो नितान्त अस्पतालकै जग्गामा बनेको निजी भवन हो । के मात्र फरक हो भने हिजो प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा थियो अहिले अस्पतालको रुपमा परिणत भएको छ ।

मेथिन्कोट अस्पतालमा नागरिकले औषधि सहजै पाउँछन् ?
नागरिकहरुको लागि औषधिको उपलब्धता सहज गरेका छौं । सेवाग्राहीहरुले औषधि पाएन भनेर फर्किनुपर्ने अवस्था छैन । हामीकहाँ निःशुल्क पाउने र सशुल्क पाउने औषधिहरु उपलब्ध छन् । 

पछिल्लो समय महिलाहरुमा पाठेघरसम्बन्धी तथा अन्य केहि रोग महिलाहरुमा देखा परेका छन् ? यसको लागि शिविर गर्नुहुन्छ वा अस्पताल आएको बखत मात्र परिक्षण गर्नुहुन्छ ? 
म एउटा गाइनोक्लोलोजिष्ट हुँ । महिला विशेषज्ञ डाक्टर भएको नाताले एउटा महिलामा हुने सम्पूर्ण किसिमको रोगको पहिचान गरी उपचार गर्ने गर्दछु । यदि शंका लागेको कुरामा ल्याब परिक्षण गर्नुपरेमा धुलिखेलमा रहेको प्रादेशिक ल्याबसँग समन्वय गर्दछौं । 

अन्तमा, 
जिल्लामा रहेको भकुण्डेमा अवस्थित मेथिन्कोट अस्पताललाई माया गरिदिनुहोला । हाम्रो उद्देश्य भनेको कमाउने होइन जनतालाई सेवा प्रदान गर्ने हो । आउनुस् सेवा लिनुस् भन्न चाहन्छु । हामीले स्वास्थ्य क्षेत्रमा दिने सेवा सुविधा प्रदान गर्न कुनै कसर बाँकी राखेका छैनौं । 

 – प्रस्तुती लोकबहादुर थापा