शिवराम पोखरेल
प्रमुख जिल्ला अधिकारी, काभ्रे
– कोभिड १९ अर्थात कोरोना भाईरस संक्रमण बढिरहेको छ, जिल्लामा कसरी ब्यवस्थापन गरिरहनु भएको छ ?
संक्रमण बढिरहेको छ । नेपाल सरकारले तयार गरेको प्रोटोकल पालना गराउन पहल गरिरहेका छौं । संक्रमण भई सकेपछि उहाँहरुको उपचार र ब्यवस्थापनमा खटिएका छौं । लक्षण नभएका विरामीहरुलाई घरमै आईसोलेसनमा राखिएको छ । तर स्थानीय सरकारहरुले स्वास्थ्यकर्मीहरु मार्फत उहाँहरुको निरन्तर फलो गर्ने काम भएको छ । लक्षण देखिएका विरामीहरुलाई स्थानीय सरकारले तयार गरेको आईसोलेसन कक्ष र अस्पतालहरुमा ब्यवस्थापन गरेका छौं । आईतबारसम्मको तथ्याङ्कमा ७ सय २७ संक्रमित भएका छन् भने ७ जनाको निधन भएको छ । संक्रमण भईसकेकाहरुलाई उपचार गराउने र संक्रमण नभएकाहरुलाई हुनै नदिने तर्फ सचेत गराएका छौं ।
रोग लाग्न नदिने भनेको आफै सचेत हुनु हो । सामाजिक दूरी कायम राखी सुरक्षाका उपायहरु अपनाउन नागरिकहरुले विशेष ख्याल पु¥याउन जरुरी छ । भिडभाडमा नजाने वा भिडभाड हुने कार्यक्रमहरु नगर्ने, आवतजावत गर्दा विशेष ख्याल पु¥याउनु पर्ने र खानापान तथा रहनसहनमा ध्यान दिनु जरुरी छ । हामी र स्थानीय सरकारहरु नागरिकहरुलाई यहि सचेतना गराउने अभियानमा सक्रिय भएका छन् । क्वारेन्टाईन निर्माण र क्वारेन्टाईनमा राख्नुपर्ने ब्यक्तिहरुको पहिचान गरी सुरक्षित बनाउने अभियानमा स्थानीय सरकार पनि लागिरहेका छन् । आईसोलेसन निर्माण र संक्रमित ब्यक्तिहरुको उपचार गर्ने कुरामा हामी निरन्तर सक्रिय भएका छौं । संक्रमितहरुको निधन भए पछिको अन्तिम संस्कार, नागरिकहरुका समस्या समाधान गर्न र कोभिड १९ का कारण हुने संकट समाधानमा निरन्तर कृयाशिल भएका छौं । नागरिकहरुलाई अझै हामीले सूचना पु¥याउन सकेका छैनौ कि भन्ने लाग्छ । पटक पटक फरक फरक मापदण्ड आउने र त्यसका लक्षणहरुले पनि मान्छेहरुलाई त्रास भन्दा पनि हेलचेक्र्याई बढिरहेको छ । सूचना र सचेतिकरण यो रोग रोक्ने एउटै मात्र उपाय हो ।
यतिबेला स्थानीय सरकारहरुले विद्यालय संचालन गर्ने र बालबालिकाहरुको सुरक्षालाई ध्यान दिदै अध्ययन अध्यापन गराउने कार्य गरिरहेका छन् । हामीले भनेका छौं तपाईहरु सुरक्षित हुनुहुन्छ र बालबालिकाहरुलाई सुरक्षित गराउने कुरामा विश्वस्त हुनुहुन्छ र त्यो वातावरण छ भने तपाईहरु विद्यालय खोल्न सक्नु हुनेछ । अभिभावक, विद्यालय ब्यवस्थापन समिति र बालबालिकाहरुको समेत सहभागितामा सुरक्षित हुँदै कक्षा संचालन गर्ने कार्य भएको अवस्थामा अन्यथा भन्न मिल्दैन । सुरक्षित रहने र सुरक्षित रहेर तपाईहरुले नेपाल सरकारले तयार गरेको प्रोटोकल अनुसार कार्य गर्न म पुनः सबैमा अनुरोध गर्दछु ।
– चाडपर्व नजिकिँदै छ, महामारी झनै फैलिएला भन्ने आशंका बढिरहेको छ नि ?
हो हामी त्यसतर्फ सचेत भएका छांै । गाउँमा शहरबाट जाने र शहरमा गाउँबाट आउने ब्यक्तिहरु कसलाई संक्रमण छ भन्न सकिँदैन । त्यहि कारण सरकारले भनिरहेको छ भिडभाडमा नगरौं र नजाउँ । स्थानीय सरकार पनि सक्रिय र सचेत छन् । हामीले स्थानीय सरकारसँग समन्वय गरेर थप सजगता अपनाउन आग्रह गरिरहेका छौं । जीवन भन्दा ठुलो चाड होईन र हुँदैन पनि । आफ्नो कारण परिवार र आफन्तलाई संक्रमण नगराउँ । समाजमा दीर्घ रोग भएका, जेष्ठ नागरिक र बालबालिकाहरु पनि हुनुहुन्छ । उहाँहरुलाई संक्रमणले आक्रमण चाँडो हुन सक्ने भएकाले सबैले ख्याल पु¥याउनु पर्छ । पुनः म अनुरोध गर्दछु चाडबाडमा देश र विदेशबाट फर्कने नागरिकहरुले आफुलाई सुरक्षित राख्दै परिवारका सदस्यहरुलाई सुरक्षित राख्नुस् ।
दशंै तथा तिहारका सममयमा संक्रमण फैलियो र महामारी बढ्यो भने पनि हामी ब्यवस्थापनका लागि पूर्व तयारीमा जुटेका छौं । जिल्लामा भएका अस्पताल र स्थानीय सरकारले तयार गरेका आईसोलेसनहरुलाई पनि चालु र तयारी अवस्थामा राखेका छौं । नागरिकहरुलाई नआत्तिन र सचेत रहने कुरामा ध्यान दिन अनुरोध गर्दछु । अस्पतालहरुलाई पनि तयारी अवस्थामा रहन भनेका छौं । विद्यालयमा भएका क्वारेन्टाईन र आईसोलेसन तत्काल हटाउने अवस्था छैन । विद्यालय संचालन गर्ने अवस्था भएमा छिमेकी विद्यालय वा अन्य संरचनामा कक्षाहरु संचालनका लागि अनुरोध गरेका छौं । स्थानीय सरकारहरुले पनि त्यसको ब्यवस्थापन गरिरहेका छन् । सदरमुकाम धुलिखेलमा महाभारत, खानीखोला र चौरीदेउराली गाउँपालिकाको आईसोलेसन वार्ड तयार गरिएको छ । विकटता र भौगोलिक अवस्थाले पनि नागरिकहरुलाई छिटो भन्दा छिटो सेवा प्रवाह गर्न स्थानीय सरकारहरुले धुलिखेल नगरपालिकाको सहयोग र समन्वयमा धुलिखेलमा आईसोलेसन राखेका हुन् ।
हामी कोभिडलाई मात्रै ध्यान दिएका छैनौ । अन्य रोगका विरामीहरुको उपचार र परिक्षणलाई पनि सहज बनाउन जुटेका छौं । अस्पतालहरुमा देखिएको त्रासलाई कम गराउँदै उपचारमा आएका नागरिकहरुलाई सहज गराउने र उपचार गराएर मात्रै फर्काउने वातावरणका लागि अस्पतालहरु सक्रिय भएका छन् । त्यस्तो संकट र समस्या आएमा तत्काल खवर गर्न अनुरोध गर्दछु । नागरिकहरु महामारीका बेला कुनै पनि समस्याबाट जीवन ब्यतित गर्ने अवस्थामा नपुगोस भन्ने योजनाका साथ हामी काम गरिरहेका छौं ।
– चाडवाड नजिकिदै गर्दा बजार ब्यवस्थापनको काम कसरी भईरहेको छ ?
बजार अनुगमनका लागि टिम बनिसकेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बजार अनुगमन गर्ने गरी काम शुरु भएको छ । बजारमा खाद्यान्न अभाव हुन नदिन, भएका खाद्यान्नहरुको गुणस्तर तथा मुल्यका बारेमा पनि अनुगमन हुनेछ । यदि तपाईहरुलाई त्यस्तो सूचना छ भने हामीलाई जानकारी गराई दिनु भएमा हामी कानूनी कारवाही गर्नेछौं । बजारमा भएका सामानहरुको अभाव नगर्न, मुल्य अस्वभाविक रुपमा बढाउन र गुणस्तरहिन सामाग्री विक्री वितरण नगर्न उद्योगी ब्यवसायीहरुलाई अनुरोध गर्दछु । त्यस्तो भएको अवस्थामा कानुन अनुसार हदैसम्मको कारवाही गरिनेछ ।
चाडवाडको समयमा ग्रामिण भेगका सडकहरु बन्द हुन नदिन र नगराउन स्थानीय सरकारहरु सक्रिय भएका छन् । बर्षात्का कारण बन्द भएका सडकहरु खुलाउने क्रम शुरु भएको छ । यातायात ब्यवसायीहरुबाट समेत नागरिकहरुलाई दुःख दिने काम नगराउन मैले ब्यवसायीहरुलाई अनुरोध गरेको छु । यात्रुहरुको गुनासो आएको अवस्थामा हामी तत्काल त्यस्तो गर्ने ब्यक्तिहरुलाई कारवाही गर्छाै । चाडवाडलाई मात्रै लक्षित गरेर धेरै मुनाफा आर्जन गर्ने काम कोहि कसैले नगरौं । त्यस्तो गरेमा कानुन अनुसार कारवाही हुनेछ ।
– लकडाउन र चाडपर्वको पूर्व सन्ध्यामा अपराधका घटनाहरु बढेका हुन् ? आत्महत्या र जर्बजस्ति करणीका घटनामा बृद्धि भएको हो ?
घटना बढेका हुन् तर यहि कारण बढेको भन्ने त हैन र छैन पनि । तथ्याङ्कले त्यस्तो देखाएका छैन । तर पनि घटनाहरु भएका छन् । जर्बजस्तिकरणी र आत्महत्या पनि भईरहेका छन् । नागरिकहरु सचेत हुनु जरुरी छ । परिवारका सदस्यहरु पनि सचेत हुनु प¥यो । ब्यक्ति स्वयम् आत्महत्याका लागि तयार हुँदा उसका मनका भावनाहरु सुन्ने र सुनाउने अवस्थाको खाँचो हुँदो रहेछ । समाजमा हुने यस्ता खालका घटनामा परिवारका सदस्यहरुले सबैका कुरा सुन्ने र सुनाउने अवस्था सृजना गरेको अवस्थामा आत्महत्या कमी हुन जान्छ । तत्काल आवेशमा मात्रै गरिने घटना होईन आत्महत्या । त्यसका लागि केहि समय अघि देखिको उसको पूर्व तयारीलाई रोक्न निरन्तरको मनोविर्मश आवश्यक छ । उसको स्वभाव हेरेर गरिने ब्यवहारमा आउने परिवर्तनलाई ख्याल पु¥याउनु पर्छ ।
चाडपर्व लक्षित सुरक्षा योजना सुरक्षा निकायले तयार गरिसकेको छ । त्यसलाई कार्यान्वयन गर्र्ने र नागरिकहरुलाई हरेक हिसाबले ढुक्कसँग चाडपर्व मनाउने र सुरक्षित महसुस गराउने अभियानमा सुरक्षा निकाय सक्रिय छ । अपराध, चोरी तथा अन्य कुनै खालका घटना हुन नदिन, दुर्घटना हुन नदिन यातायात ब्यवसायी र चालक तथा सहचालकहरुलाई अनुरोध गर्ने कार्य भईरहेको छ । चाडपर्वमा सबै चनाखो हुन अनुरोध गर्दछु ।
– सुशासन पालना गराउन के भईरहेको छ ?
नागरिकहरुले कर तिरे पछि सुशासन होस् भन्ने चाहना राख्नु अस्वभाविक होईन । कानुन पालना गराउन, नागरिकहरुलाई सहज र सरल ढंगबाट सेवा प्रदान गर्न हामी सबै सचेत र सक्रिय हुनु पर्छ । कार्यालयमा सेवा लिन आउने नागरिकहरुलाई तत्काल उहाँहरुको सेवालाई सहज बनाउन कार्यालय प्रमुखहरु तथा कर्मचारीहरुले ध्यान पु¥याउनु पर्छ । शुसासन भए समाज र राज्यले खोजेको लक्ष्य पनि पुरा हुन्छ । सूचनामा पारदर्शिता, नागरिकहरुको सुरक्षा र सेवाका लागि सक्रिय हुनुपर्छ । स्थानीय सरकारहरु पनि त्यसका लागि सक्रिय भएका छन् । नागरिकहरुका अपेक्षा धेरै छन् श्रोत र साधन कम छ । भएको श्रोत र साधनको सहि सदुपयोग गर्ने र सबै नागरिकहरुले त्यसको अनुभुति गर्ने खालको लोककल्याणकारी राज्यको अवधारणालाई सबैले ख्याल पु¥याउनु पर्छ । नागरिकहरुको गुनासो आउँछ तर सम्बोधन र समाधानमा सबैले ध्यान दिनु पर्छ । गुनासा आउँनै नदिने गरी कार्य गर्न र गराउन तर्फ हामी सबै सचेत हुनुपर्छ ।
– भुकम्प पछिको पुनर्निर्माणको कार्य रोकिएको हो ?
पुनर्निर्माण रोकिएको होईन कोरोनाका कारण केहि समय ढिलाई भएको हो । जिल्लामा पहिलो किस्ता लिएर घर निर्माण नगर्नेहरुको संख्या धेरै रहेछ । हामीले पहिले घर किन नबनाएको ? बनाउने भए के समस्या भयो ? नबनाउने भए तत्काल रकम फिर्ता गर्न अपिल गर्ने गरी स्थानीय सरकारसँगको पहलमा पुनर्निर्माण प्राधिकरणले कार्य गरिरहेको छ । नागरिकहरुलाई हामी पुनः अनुरोध गर्दछौं तत्काल घर पुनर्निर्माण गर्ने भए गरिहाल्नोस नत्र राज्यले कानुनी बाटो अपनाउनेछ । सरकारी पूर्वाधारहरु निर्माणको कार्य धमाधम भईरहेको छ । विद्यालय पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
– विपद् ब्यवस्थापनमा कसरी काम भईरहेको छ ?
म आए लगत्तै जिल्लामा हुने विपद् र त्यसको ब्यवस्थापनका लागि पूर्व तयारी योजना पास गरेका छौं । स्थानीय सरकार, सरोकारवाला निकायहरुको उपस्थितीमा भएको उक्त योजनाले जिल्लामा वर्षातको मात्रै हैन अन्य विपद्हरुको पूर्व तयारी र ब्यवस्थापनका बारेमा तयारी गरेका छौं । स्थानीय सरकारले वडा स्तरमा समेत यसको तयारी गरेका छन् । हामीले निर्माण गरेका संरचना कतै विपद्का लागि स्वागत गर्न त तयार भएका छैनन् ? हामी कस्तो विकास गरिरहेका छौं ? विपद् कसरी कस्तो अवस्थामा आउन सक्छ ? यस्ता विषयमा जानकारी गराउने, स्थानीय नागरिकहरुलाई सचेत गराउने र विपदमा खटिने स्वयंसेवकहरु तयार गर्ने योजनामा हामी सक्रिय छौं । सुरक्षा निकायका सबै अङ्गहरु, स्थानीय सरकार र सरोकारवाला निकायहरु यसका लागि तयारी अवस्थामा छन् ।
अन्त्यमा.......
सबै सुरक्षित रहौं । स्वास्थ्य पहिलो कुरा हो । यसलाई ध्यान दिएर सबै नागरिक सचेत हुँदै दैनिक जीवनयापन गर्न अनुरोध गर्दछु ।





