2026 August 16/ 08:30: 33pm

कृष्ण के.सी.
सहायक प्रिन्सिपल
अरुणोदय अँग्रेजी माध्यमिक विद्यालय

१. भखरै सम्पन्न दोस्रो शैक्षिक प्रर्दशनी कस्तो रहयो ?
    अरुणेदय अंग्रेजी माध्यमिक विद्यालयको पठनपाठनको अतिरिक्त क्रियाकलापलाई अध्ययनको महत्वपूर्ण विषयको रुपमा स्विकार गरेको हुनाले विभिन्न गतिविधिलाई अगाडि बढाउदै लगेको छ । यसैले निरन्तरताको रुपमा शैक्षिक प्रर्दशनी रहेको छ । गत वर्ष देखि शुरु भएको शैक्षिक प्रर्दशनी दोस्रो संस्करणमा आइपुग्दा थुपै कुराहरु सुधार भएको छ । यसवर्ष नेपाली, अंग्रेजी, सामाजिक ,विज्ञान लगाएत अन्य थुपै विषयहरु सहित सम्पन्न भएको छ । दोस्रो शैक्षिक प्रर्दशनिमा करिव ८० वटा स्टलहरु रहेकोमा ड्रोन उडान, रोबर्टहरुको प्रर्दशनी इस्क्राइवल लगायत विज्ञानको अन्य क्षेत्रहरुमा समेत केन्द्रित भएको हुनाले दोस्रो शैक्षिक प्रर्दशनी अन्यन्त सफल रहयो । यो कार्यक्रममा शुभारम्भ पनौती नगर पिता भीम न्यौपानेले गर्नु भएको थियो भने विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा उद्घाटन भएको हुनाले यस कार्यक्रमको रौनक अत्यन्त उत्साह थियो ।
२. विद्यालयको शैक्षिक अवस्था कस्तो रहेको छ ?
    अरुणोदय अंग्रेजी माध्यामिक विद्यालय वि.सं. २०४९ सालमा स्थापित शैक्षिक संस्था हो । सुरुमा
Education for Social Development को नारा लिई स्थापित संस्थाले २६ औँ वसन्त पार गरेको छ । SLC र SEE व्याज गरी १८ औँ व्याचहरुले विद्यालय तहको शिक्षा लिइसकेका छन् भने थुपै डाक्टर, इन्जिनियर, सेनामा मेजर लगायत थुप्रै देशका दक्ष जनशक्ति उत्पादनको क्षेत्रमा योगदान गर्न सफल रहेको हुनाले यस विद्यालयको शैक्षिक अवस्था अत्यन्त सफल रहेको देखिन्छ । यस विद्यालयले हाल पठनपाठनको अतिरिक्त कम्प्यूटर शिक्षा, रोवटिक्स, एस.क्यु.सि, इस्क्राबल जस्ता प्राविधिक पक्षलाई पनि अभिन्न अंगको रुपमा लगेको छ जसले गर्दा विद्यार्थीहरु अत्यन्त अभिरुची पूर्ण पठनपाठनमा व्यस्त रहेको हुनाले शैक्षिक अवस्था राम्रो रहेको छ । यस अतिरिक्त मन्टेश्वरी पठनपाठन पद्दतिलाई शुरु गरिएको छ । 
३. विद्यालयमा शैक्षिक तथा अतिरिक्त कक्षाहरु कसरी संचालन भइरहेको छन् ?
    अरुणेदय अंग्रेजी माध्यामिक विद्यालयले शैक्षिक स्तरलाई उकास्न प्रविधिको प्रयोग गरेर सैद्धान्तिक शिक्षा मात्र नभई प्रयोगात्मक शिक्षालाई जोड दिएको छ । साथै अतिरिक्त कक्षाहरुलाई सुव्यवस्थित तरिकाबाट संचालन समेत गरेको छ । महिनाको दुई दिन रोबोटिक्स कक्षा
RAN(Robotics Association of Nepal) का शिक्षकद्वारा लिइन्छ ।  

४. विद्यालयलाई भरखरै आएको शिक्षा ऐनले कसरी प्रभाव पारेको छ ?
    शिक्षा राज्यले निर्धारण गर्ने हुदाँ शिक्षा सुधारको लागी शिक्षा ऐन आउनु सुखद् कुरा हो । ऐनमा उल्लेखित शिक्षा सुधारका थुपै पक्षहरुलाई अध्ययन गर्दा मिति २०७५ साल असोज २ गते सम्माननिय राष्ट्र प्रमुखद्वारा प्रमाणिकरण भई आएको शिक्षा ऐनले अनिवार्य तथा निःशुल्क शिक्षालाई जोड दिएको देखिन्छ । शिक्षालाई आधारभुत मानव अधिकार एवं प्रदान मौलिक हकलाई व्यवहारमा उतार्न चाहेको आभाष हुन्छ । तसर्थ नयाँ शिक्षा ऐनले सम्पूर्ण नागरिकहरुलाई साक्षर बनाउन प्रयत्न गरेको देखिन्छ ।
५. अरुणोदय अंग्रेजी माध्यामिक विद्यालयलाई अझै उत्कृष्ट बनाउन कस्तो शैक्षिक योजना बनाउनु भएको छ ?
    अरुणोदय अंग्रेजी माध्यमिक विद्यालय काभ्रे जिल्लाकै उत्कृष्ट विद्यालयहरुको पंक्तिमा पर्ने विद्यालय हो । तसर्थ यसलाई उत्कृष्ट बनाउन भौत्तिक पूर्वाधारहरुको विकास, विज्ञान प्रयोगशाला, कम्प्यूटर कक्ष, रोवोटिक कक्ष, इस्काइवल र एस.क्यू.सि जस्ता कक्षाहरु संचालन गरेका छौं आगामी वर्ष देखि छुटै मन्टेश्वरी कक्षा पनि संचालन गरिने छ । यस अतिरिक्त युरोपका विभिन्न विद्यालयहरुसंग लिंक जोडेका छौ । पनौती नगरपालिकाकै उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा लाने योजना बनाएका छौ ।
६. विद्यालयमा कस्ता र कति विद्यार्थीहरुले छात्रावृति प्रदान गरिरहेका छन् ?
    अरुणेदय अंग्रेजी माध्यामिक विद्यालय समूदाउको हित तथा विकास गर्नको लागि सामाजिक उतरदायित्वहरु निभाउदै आएको संस्था हो । फल स्वरुप यस विद्यालयले आर्थिक रुपमा विपिन्न विद्यार्थीहरुका लागि छात्रवृतिको व्यवस्था छ । हाल यस विद्यालयमा गरिब, विपन्न विद्यार्थीहरु ९१ जना ले छात्रवृति प्राप्त गरि अध्ययन गरेका छन् भने नगरपालिका, वडा कार्यालयहरु लगाएत अन्य सामाजिक संस्थाहरुले सिफारिस गरि पढाएका विद्यार्थीहरुलाई पनि छात्रवृतिहरु प्रदान गरिरहेका छौ । यस्तै गरि अनाथ वालवालिकाहरुलाई पनि छात्रवृति प्रदान गरिरहेका छौ ।
७. अहिले प्रविधिले विद्यार्थीहरुमा पढने बानी हराउँदै गएको हो, प्रविधि सदुपयोग गर्न विद्यार्थीहरुलाई कसरी सिकाउनु भएको छ ?
    आजको समयमा ज्ञान विज्ञानको विकास, नयाँ–नयाँ खोज तथा अनुसन्धानले थुपै आविष्कारहरु भैरहेका छन् । जसले गर्दा पुराना पठन–पाठन पद्दतीलाई नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको छ । प्रविधिहरु थुपै भित्रिरहेको सन्दर्भमा विशेष गरि अनलाईन, मोवाईल फोन, इन्टरनेट, युट्युव जस्ता कुराहरुले विद्यार्थीहरुको सोचमा परिवर्तन ल्याएको छ । विद्यार्थीहरु पुरातनवादी पठन पाठनहरु प्रति नकारात्मक भावना राख्दै आएको देखिन्छ । जसले गर्दा पठन पाठन र प्रविधिसंग तालमेल नमिल्दा विद्यार्थीहरुको पठन पाठनप्रति रुची घटिरहेको देखिन्छ ।
    विद्यार्थीहरुको पठन पाठन प्रतिको चाहना उनिहरुको रुचि जगाउनको लागी प्राविधिक प्रयोग अनिवार्य गरिनुपर्दछ । किनभने प्रविधिको सदुपयोग गर्न नसकेमा आधुनिक शिक्षा प्रणालीनै फेल हुन जान्छ । तसर्थ विद्यार्थीहरुलाई प्राविधिको प्रयोग अनिवार्य गरिनु पर्दछ । यहि तथ्यलाई विचार गरि अरुणेदय अंग्रेजी माध्यामिक विद्यालयले कम्प्यूटर शिक्षा, प्रेजेन्टेशन प्रविधि, खेल प्रविधि, इ–लाईब्ररीहरु मात्र नभई स्वतन्त्र रुपमा इन्टरनेट शिक्षा प्राप्त गर्ने वातावरण तयार गरेका छौ । केवल हामीले प्रविधिको सदुपयोग गर्ने तरिका सिकाईदिनु पर्दछ । यो कार्य हामीले छुटै तरिकावाट गरेका छौं ।
८. अरुणोदय अंग्रेजी माध्यमिक विद्यालयले पढाईको अलावा कस्ता कस्ता शैक्षिक कार्यक्रमको आयोजना गरिदै आएको छ ?
    अरुणेदय अंग्रेजी माध्यमिक विद्यालय एउटा यस क्षेत्रको लोकप्रिय शैक्षिक संस्था हो । पठन पाठनलाई विशिष्ट उद्देश्य अनुरुपको प्रविधिमय बनाई लगेका छौं भने पठन पाठनका अतिरिक्त अन्य थुप्रै शैक्षिक कार्यक्रमको समेत आयोजना गर्दै आएका छौं । स्थान अवोलोकन भ्रमण, शैक्षिक भ्रमण, विभिन्न क्रियाकलापहरुको प्रतियोगिता, खेलकुद सप्ताह, साँस्कृतिक पक्षका विभिन्न गतिविधिहरु समेत गर्दै आएका छौं । समयको परिवर्तन संगै विकसित SQC कार्यक्रम, Robotics कार्यक्रम, स्क्यावल कार्यक्रम समेत गर्दै आईरहेका छौ । यस अतिरिक्त अति Advance Program हरु पनि भित्र्याउने तरखरमा छौं । आगामी दिनमा पनौती क्षेत्रमा मात्र नभई काभ्रे हुदै नेपालभरी उदाहरण हुने कार्यको थालनी गर्न विभिन्न योजनाहरु बनाईरहेका छौं ।

९. निजी विद्यालयहरुको भर्नाको समयमा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको पाईन्छ नि यस्तालाई रोक्न के गर्नुपर्ला ?
    निजी विद्यालयहरु सेवा र नाफाका लागि मात्र  संचालित छैनन् । यि संस्थाहरुले समय सापेक्ष सामाजिक क्षेत्रको परिवर्तनका लागि समेत सचेत हुनु पर्दछ । प्रतिस्पर्धा आवश्यक कुरा हो । तर अस्वस्थ हुनु दुखद् पक्ष हो । शैक्षिक विकास, सामाजिक उत्थान, प्रविधि र गुणस्तरमा प्रतिस्पर्धा हुनुपर्दछ । तर एक अर्का लागी गाली गरेर होईन । सम्मान गरेर प्रतिस्पर्धा गरिनु पर्दछ । यहाँहरुले जुन अवस्था प्रतिस्पर्धा को कुरा गर्नुभयो,केहि स्थानमा छैन भन्दिनँ म तर पनौती प्याबसनले एउटा आचार संहिता जारी गरेको छ । जसले गर्दा धेरै हद सम्म अस्वस्थ प्रतिस्पर्धा रोकिएको छ । म आशावादी छु कि भविष्यमा स्वस्थ प्रतिस्पर्धाका लागी सवै विद्यालयहरुले विचार गर्नेछन् । सत्यको सधैं जीत हुन्छ तसर्थ सत्यको साथ सबै मिलेर अगाडि बढौं र आफ्नो सोच बदलौ जसले गर्दा अस्वस्थ प्रतिस्पर्धा आफै बन्द हुन्छ । 
१०. अन्त्यमा पत्रिका मार्फत के सन्देश दिन चाहनुहुन्छ ?
    अन्त्यमा शिक्षा सबै नागरिकका लागी नैसर्गिक अधिकार भएको हुनाले सबै नागरिकलाई शिक्षा दिनु पर्दछ । यसका लागि हामी प्राईभेट शैक्षिक संस्थाहरुको उतरदायित्व रहेका छ । म यो पत्रिका मार्फत सम्पूर्ण विद्यालय संञ्चालक, प्र.अ.हरु, शिक्षक मित्र, अभिभावक वर्ग एवं विद्यार्थीहरुमा नयाँ जाँगरको लागि कामना गर्दछु । शिक्षा नै नेपाल निर्माणको जग भएको हुनाले उत्कृष्ट शिक्षा, व्यवहारिक शिक्षा विकाशका लागि हामी सबैको पहल हुनुपर्दछ भन्न चाहन्छु । साथै सम्पूर्ण अभिभावकहरुमा के भन्न चाहन्छु भने विद्यार्थीको भविष्यको लागि लगानी गर्न पछि हट्नु हुँदैन र उचित शिक्षामा लगानी गर्नुहोस् ।
    अन्त्यमा, यस चर्चित पत्रिकालाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु जसले मेरा केहि शैक्षिक विचार तपाई समक्ष राख्न मद्दत मिलेको छ ।