2026 July 01/ 03:48: 12am

लिलाधर पौड्याल
प्रिन्सिपल 
श्री क्षितिज ईङ्गलिश बोडिङ्ग स्कूल बनेपा ६ , काभ्रेपलाञ्चोेक 

१.  विद्यालयको शैक्षिक अबस्था कस्तो रहेको छ ? 
वि.सं. २०६३ सालमा स्थापना भएर स्थापना काल बाट नै क्षितिज इङ्गलिश बोडिङ्ग स्कूलको शैक्षिक स्तर अत्यन्तै अब्बल रहेको छ । विद्यालयबाट एस.ई.ई. पूरा गरेका धेरै भन्दा धेरै विद्यार्थीहरुले एम.वि.वि.एस. अध्ययनका लागि नेपाल सरकारको निशुल्क छात्रबृत्ति कोटामा नाम निकाल्न सफल भएका छन भने विभिन्न माथिल्लो ओहोदामा कार्यरत रहेको व्यहोरा अवगत गराउन चाहन्छु । साथै यसै वर्षको एस.ई.ई. परीक्षामा विद्यालयकी छात्रा आरती ढुङ्गानाले ४ जि.पि.ए. ल्याएर विद्यालयको शैक्षिक स्तरलाई नेपाल भरमै उत्कृष्ट बनाउन सफल भएको कुरा पनि अवगत गराउँदछु ।
२. जिल्लाकै नमुनाको रुपमा रहेको विद्यालयमा कस्ता कस्ता शैक्षिक क्रियाकलापहरु सञ्चालन भैईरहेका छन् ? 
विश्वव्यापी अवधारणा अनुरुपको विद्यालयले बालकेन्द्रित शिक्षण विधि, शैक्षणिक प्रविधिको प्रयोग, मल्टिमिडियाको प्रयोग गरी सैद्धान्तिकका साथ साथै व्यवहारिक शिक्षा दिइरहेको छ । यसका साथै बालबालिकाहरुको आवश्यकता, उनीहरुको रुचि अनुरुप अतिरिक्त कक्षाको व्यवस्था गरी शिक्षण क्रियाकलाप सञ्चालन गर्ने गरिएको छ ।     
३. नयाँ शिक्षा ऐनले विद्यालयलाई कस्तो फाईदा वा असर परेको छ ?
शैक्षिक उपलब्धि दर उच्च बनाउनमा संस्थागत विद्यालयहरुको पनि ठूलो भूमिका रहँदा रहँदै पनि राज्य पक्षले संस्थागत विद्यालयहरुलाई हेर्ने दृष्टिकोण त्यति सकारात्मक भएको महसुस गर्न सकिएको छैन । तथापी राज्यले बनाएको निति नियम तथा ऐन कानुन पालना गर्नु हाम्रो कर्तब्य पनि हो र पालना गरिरहेका छौँ । संस्थागत विद्यालयहरुलाई केहि सहजता तथा चुनौतीहरु पनि नयाँ शिक्षा ऐनले थपिदिएको छ ।  
४. क्षितिज विद्यालयलाई अझै उत्कृष्ट बनाउन कस्तो योजना बनाउनु भएको छ ? 
नितान्त बाल मैत्री वातावरणमा अध्ययन अध्यापन कार्य गर्ने छौँ । शैक्षणिक प्रविधीको प्रयोग गरिने छ । कक्षा कोठाहरु उपयुक्त रहनेछन् । आधुनिक तथा युग सुहाउँदो शिक्षण कार्य हुनेछ । सुन्दर शान्त वातावरणमा विद्यालय सञ्चालन हुनेछ । बालबालिकाहरुको व्यवहारिक पक्षलाई पनि सिकाइको मूल्याङ्कन पद्धतिमा राखिने छ । विद्यार्थीहरुको कमिकमजोरीको सुक्ष्म अध्ययनका लागि घटना अध्ययन गरी निर्माणात्मक मूल्याङ्कन गर्नेछौँ । शिक्षक कर्मचारीहरुको बृत्तिविकासलाई विशेष प्राथमिकतामा राख्ने छौँ । 
५. विद्यालयले कस्ता र कति विद्यार्थिहरुलाई छात्रबृत्ति प्रदान गरेको छ ?
स्थानिय तहले छात्रबृत्तिका लागि तोके बमोजिमको दलित, जनजाती, पिछडिएको वर्ग, सिमान्तकृत, सहिदका सन्ततीहरुलाई पूर्ण तथा आंशिक छात्रबृति प्रदान गर्दै आएको छ भने विद्यालयको आफ्नै प्रावधान अनुरुप मेहनती तथा जेहन्दार विद्यार्थीलाई, कक्षामा प्रथम हुने विद्यार्थीलाई पूर्ण छात्रबृत्ति तथा एस.ई.ई. मा सर्वोत्कृष्ट जि.पि.ए. ल्याउने एक जना विद्यार्थीलाई नगद रु. २० हजार प्रदान गर्ने गरेको छ ।
६. निजी र सामुदायीक विद्यालयको शैक्षिक अवस्था किन फरक रहेको होला ? 
वास्तवमा निजी र सामुदायिक विद्यालयको शैक्षिक अवस्था फरक रहेको छ । यसो हुनुमा धैरै पक्षले प्रभाव पारेको हुन्छ । राज्यले सामुदायिक विद्यालयमा ठूलो लगानी गरेको छ तर लगानी गरे अनुरुप उपलब्धी हासिल गर्न सकेको छैन । मैलै आफैले पनि सामुदायिक विद्यालयमा अध्यापन गरेको अनुभवलाई समेटेने हो भने सामुदायिक विद्यालयमा प्रयोग गरिने मानव संशाधनलाई साम्रो सँग परिचालन गरिएको पाईदैन । प्रविधिको प्रयोग न्यून हुन्छ । शिक्षकहरुलाई तालिमको व्यवस्था गरिएको हुन्छ तर तालिम पश्चात त्यसको शिक्षण कार्यमा त्यती धेरै प्रयोग गरेको पाइदैन । मूल्याङ्कन, पुनर्मूल्याङ्कन, पूनर्ताजगी कार्यक्रमहरु कमै मात्रामा हुने गर्दछ । अभिभावक ज्यूहरु पनि आफ्नो बालबालिकाहरुको अध्ययन स्तरको बारेमा सचेत नहुने र यसको ठिक विपरीत निजी विद्यालयहरुमा यी सबै कार्यहरु हुने भएकोले निजी र सामुदायीक विद्यालयको शैक्षिक अवस्था फरक रहेको होला भन्ने मलाई लाग्दछ । 
७. अहिलेको प्रविधिले विद्यार्थीहरुमा पढ्ने बानि हराउदै गएको हो ? प्रविधि अनुसार विद्यार्थीहरुलाई  कसरी अगाडी बढाउनु भएको छ ?
प्रविधिले विद्यार्थीहरुको पढ्ने बानी हराउने हैन बरु अझ बढी पढ्ने बानीको विकास हुन्छ । प्रविधीलाई कसरी प्रयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । सहि तरीकाले प्रविधिको प्रयोग गरेको खण्डमा विद्यार्थीहरुले सहजै सँग सिक्न सक्दछन् तर यसको गलत प्रयोग भयो भने विद्यार्थीहरुको अध्ययनस्तर खस्कने कुरा नकार्न सकिँदैन । हामीले पनि शैक्षणिक प्रविधिको प्रयोग अत्यधिक रुपमा गर्ने गरेका छौँ । आवश्यकता अनुसार श्रब्यदृष्य सामाग्रीको प्रयोग गर्ने गरेका छौँ । 
८. क्षितिज विद्यालयमा पढाईको अलवा कस्ता कस्ता कार्यक्रमको आयोजना गरिदै आएको छ ? 
हामी शैक्षिक सत्र २०७६ बाट आफ्नै भवनमा सरी सकेका छौँ । हामीले विद्यालय भवन काभे्रपलाञ्चोक जिल्लामानै नमुना भवनको रुपमा निर्माण गरेका छौ । अत्यन्तै सुविधा सम्पन्न, भुकम्प प्रतिरोधी, वातावरणमैत्री, अपाङ्गता भएका बालबालिकाहरुलाई समेत मध्यनजर गरी विद्यालय भवन निर्माण गरिएको  र अत्याधुनिक प्रविधी भएकोले विद्यार्थीहरुलाई अध्ययन अध्यापन गर्न गराउन सहज हुने महसुुस गरेका छौँ । बालबालिकाहरुलाई शैक्षणिक प्रविधिमा जोड, स्मार्ट कक्षाको व्यवस्था, शिक्षामा नविनतम् सोचको विकास, आधुनिक सूचना प्रणाली, बालमैत्री शिक्षण विधिको व्यवस्था गरी विद्यालय सञ्चालन गरिएको छ । विद्यालयले बार्षिक कार्य योजना निर्माण गरी बालबालिकाहरुको बौद्धिक, शारिरीक तथा मानसिक बिकास गराउने उद्देश्यले विभिन्न अतिरिक्त तथा सह–क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ । अतिरिक्त कृयाकलापको लागि अतिरिक्त कक्षा सञ्चालनमा ल्याएका छौँ । नृत्य, संगीत, खेलकुद तथा मार्सल आर्टका कक्षाहरु नियमित रुपमा सञ्चालन गरेका छौँ ।
९. निजी विद्यालयहरुको भर्नाको समयमा अस्वस्थ्य प्रतिस्पर्धा हुने गरेको पाईन्छ नि यसलाई रोक्न कस्तो पहल गर्नु पर्ला ?
सर्व प्रथम त विद्यालयहरुले अस्वस्थ्य प्रतिस्पर्धा गर्नु नै हुँदैन । विद्यालयले अवलम्बन गरेका अध्ययन अध्यापनका गतिविधिहरु, विद्यालका विगतका सफलताहरु, विद्यालयबाट उत्पादित विद्यार्थीहरु तथा उहाँहरुको उच्च शिक्षाका उपलब्धीहरु तथा दक्ष शिक्षकहरुको व्यवस्थापन नै अभिभावकूहरुको लागि विद्यालयलाई विश्वास गर्ने आधारहरु हुन । क्षणिक लाभको भरमा अभिभावकहरु पर्नु हुँदैन । विद्यालयको शैक्षिक अवस्थाको लामो अध्ययन गरेर मात्र आफ्ना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउनु पर्दछ । अभिभावकज्यूहरुले विद्यालयको सम्पूर्ण शैक्षिक, भौतिक, बातावरणिय अवस्था अध्ययन गरी आफ्ना बालबालिकाहरुलाई भर्ना गरेको खण्डमा अस्वस्थ प्रतिस्पर्धा गर्ने अवस्था नै सिर्जना हुँदैन ।
१०. अन्त्यमा पत्रिका मार्फत सम्पूर्णलाई के सन्देश दिन चाहानुहुन्छ ? 
सर्वप्रथम त म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु किनकी यहाँले मलाई हाम्रो विद्यालयको वारेमा यहाँको पत्रिका मार्फत केही कुरा राख्ने अवसर दिनु भयो । विद्यालयमा रहेका विभिन्न समस्याहरुलाई समाधान गर्न सबै पक्षबाट सहयोग पाइरहेको कुरा अवगत गराउन चाहन्छु । विद्यालयले हाल सम्म जुन सफलता प्राप्त गरेको छ यसको श्रेय सम्पूर्ण विद्यालयका शेयर सदस्य, अभिभावक, शिक्षक कर्मचारी, पूर्व विद्यार्थी, पत्रकार, शुभचिन्तक तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु लाई जाने कुरा नकार्न सकिँदैन । यहाँहरुप्रति आभार प्रकट गर्दै भविष्यमा पनि यहाँहरुको सद्भाव पाइरहने विश्वास लिएको छु ।