2026 July 01/ 03:48: 12am

पुष्पराज बोलखे
प्रिन्सिपल
श्री लिलावती नेशनल एकेडेमी 
पनौती–३, कुशादेवी

पृष्ठभुमि 
काभ्रेपलाञ्चोक जिल्ला विहावर क्षेत्रको शैक्षिक स्तरोन्नतिको निमित्त सेवामुलक रुपमा स्थापित भएका दुई ठुला शैक्षिक संस्थाहरु लालीगुराँस बोर्डिङ स्कुल र नव प्रतिभा बोर्डिङ स्कुल बिच एकीकरण भई २०७२ सालबाट लिलावती नेशनल एकेडेमी हाल पनौती नपा ३ मा रहि मुख्यतः पनौती नपालाई कार्यक्षेत्र बनाएर शैक्षिक गतिविधि सञ्चालन गरिरहेको विद्यालय हो ।
१. लिलावती नेश्नल एकेडेमी विद्यालयको शैक्षिक अबस्था कस्तो रहेको छ ?
शैक्षिक अवस्थाको बिषयमा भन्नुपर्दा बिगतका बर्षहरुमा यस बिद्यालयले हासिल गरेको शैक्षिक उपलब्धीहरु राम्रो छ । वर्तमान अवस्थामा पनि हाम्रा अभिभावकहरु र विद्यार्थीहरु हाम्रो शैक्षिक गतिविधि सँग परिचित नै हुनुहुन्छ । यहाँबाट अध्ययन पूरा गरेका अधिकांश विद्यार्थीहरुले देशका विभिन्न भागमा गएर उच्च शिक्षा हासिल गर्ने क्रममा जेहेनदार छात्रवृति त्यस्तै नेपाल सरकारबाट विभिन्न विधामा प्रदान गरिएका छात्रवृति प्राप्त गर्न सफल हुनु भएको छ । 
२. विहाबर क्षेत्रकै नमुनाको रुपमा रहेको विद्यालयमा कस्ता कस्ता शैक्षिक क्रियाकलापहरु संचालन भइरहेका छन् ?
शिक्षाको गुणस्तर सुधार तथा विद्यालयमा बालमैत्री सिकाई वातावरण निर्माणको लागि थुप्रै गतिविधिहरु संचालन भइरहेका छन् । विद्यालयलाई यस भेगकै एउटा उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा स्थापित गराउने सिलसिलामा विद्यालयमा दक्ष, अनुभवी तथा बालमैत्री शिक्षकहरुबाट प्रविधिमैत्री ढ∙मा शिक्षण सिकाई क्रियाकलापहरु संचालन भइरहेका छन् । युग तथा परिवेश सुहाउँदो शिक्षालाई प्रवर्दन गर्ने सिलसिलामा बालवालिकाहरुलाई कोरा किताबी ज्ञान मात्र नभई अध्ययन, अवलोकन तथा परियोजना कार्यहरु मार्फत सक्रिय बनाई शिक्षण सिकाईलाई प्रभावकारी बनाइएको छ । बालवालिकाहरुको व्यक्तित्व बिकास तथा चौतर्फी विकासको लागि विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उनीहरुको पहुँच सुनिश्चित गरिएको छ । बालवालिकाहरुको मनोभावना बुझि बालमैत्री सिकाई वातावरणमा शिक्षण सिकाईका नविनतम् विधिहरुलाई अवलम्बन गर्दै शिक्षण सिकाई क्रियाकलापहरु संचालन भइरहेका छन् । केहि कमजोर बालवालिकाहरुको लागि विशेष कक्षाहरुको व्यवस्थापन गरिएको छ भने पुस्तकालय, विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला व्यवस्थित छ । 

३. नयाँ शिक्षा ऐनले विद्यालयलाई कस्तो फाईदा वा असर परेको छ ?
पक्कै पनि नयाँ शिक्षा ऐन आउनु भनेको विद्यालयको लागि एउटा अति नै सकारात्मक पक्ष हो । यसले असर भन्दा पनि हामी शिक्षण सिकाईजस्तो पवित्र पेशामा लागेका व्यक्तिहरुको लागि तथा समग्र शैक्षिक क्षेत्रको अवस्था सुधार गर्नको लागि मार्ग प्रसस्त गरेको छ । पक्कै पनि केहि व्यवस्थापकिय पक्षहरुलाई प्रभावकारी बनाउनको लागि हामी लाग्नुपर्ने देखिएको छ बाँकी समयको माग अनुसार तथा नेपाल सरकारको निर्देशन बमोजिम हामिले पनि शिक्षण सिकाई गतिविधिहरुलाई सन्चालन गर्ने कुरामा खासै समस्या होला जस्तो मलाई लाग्दैन । हाम्रो विद्यालय अहिले नै ११,१२ संचालन भइरहेको विद्यालय हो । व्यवस्थापन संकायतर्फको ११ र १२ कक्षा हामीले विगतको वर्षबाट नै सुरु गरिसकेको हुँदा हाम्रो लागि यो नयाँ शिक्षा ऐनले असर पार्नुको सट्टा हामीलाई अझ प्रभावकारी रुपमा शैक्षिक क्रियाकलापहरु संचालन गर्न सहज वातावरण तयार भएको छ । 
४. भर्खरै नयाँ जिम्मेवारी सम्हाल्नु भएको छ, विद्यालयलाई अझै उत्कृष्ट बनाउन कस्तो योजना बनाउनु भएको छ ?
मैले मेरो नयाँ जिम्मेवारीलाई चुनौती भन्दा पनि धेरै समग्र विद्यालयको उत्कृष्ट व्यवस्थापनको लागि अवसरको रुपमा लिएको छु । म विगतका वर्ष देखि नै यो विद्यालयमा कुनै न कुनै रुपमा संलग्न भइरहेको छु जसले गर्दा मलाई यो जिम्मेवारी सम्हाल्न पनि त्यति गाह्रो नपर्ला । हाम्रो विद्यालयमा कार्यरत शिक्षकहरुको एकदमै राम्रो समूह छ जुन समूह नै मेरो लागि यो जिम्मेवारीलाई पूरा गर्न सहयोगसिद्ध हुनेछ । विद्यालयलाई अझ उत्कृष्ट बनाउनको लागि युग तथा परिबेश सुहाउँदो शिक्षण सिकाई क्रियाकलापहरु संचालन गर्न हामीले अब विद्यालयका करिब–करिब सबै कक्षाहरुमा मल्टि मिडियाबाट अध्ययन अध्यापन गर्ने गराउने व्यवस्थापन गर्दैछौ । त्यस्तै बालवालिका चौतर्फी विकासलाई ध्यानमा राख्दै उनीहरुको लागि आवश्यक पर्ने अतिरिक्त क्रियाकलापहरुमा उनीहरुको पहुँचलाई सुनिश्चित गर्दै हरेक बालवालिकाहरुमा रहेको अन्र्तनिहित प्रतिभा प्रस्फुटन गर्ने अवसर सिर्जना गर्दे आएकोमा यसलाई अझ प्रभावकारी बनाउदै लैजानेछौ । बालवालिकाहरुलाई विभिन्न क्षेत्रहरुको अध्ययन अवलोकन गर्दै ज्ञान हासिल गर्ने वातावरणको सिर्जना गर्नेछौं भने शिक्षक अभिभावक तथा समुदायका सबै सरोकारवाला व्यक्तित्वहरुसंग हातमा हात मिलाएर समग्र विद्यालयको विकास तथा बालवालिकाहरुको सिकाई उपलब्धि बृद्धिको लागि लागिपर्ने छौं । त्यस्तै बालमैत्री तथा प्रभावकारी शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउनको लागि विद्यालयमा कार्यरत शिक्षकहरुको क्षमता विकासमा समेत पहल गर्नेछौ । 
५. विद्यालयमा छात्रवृत्तिको ब्यवस्था कस्तो रहेको छ ?
हामीले बिद्यालयमा बिशेष जेहेन्दार बिद्यार्थीहरुलाई प्रोत्साहन हुने उद्देश्यले छात्रवृतिको व्यवस्था गरेका छौँ । आर्थिक समस्या भएका तर प्रतिभावान् र जेहेन्दार बिद्यार्थीहरुको हकमा पनि छात्रवृति कोटाको व्यवस्था मिलाएका छौँ ।

६.निजी र सामुदायीक विद्यालयको शैक्षिक अवस्था किन फरक रहेको होला ? 
पक्कै पनि बालवालिकाहरुको चौतर्फी विकास तथा शैक्षिक उपलब्धिलाई मापन गर्ने हो भने संस्थागत तथा सामुदायिक विद्यालयहरुको बिचमा एउटा फराकिलो ग्याप रहेको छ । संस्थागत विद्यालयमा अध्ययनरत बालवालिकाहरु सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालवालिकाहरुभन्दा हरेक क्षेत्रमा अब्बल रहेको कुरा त सर्वविदितै छ । चाहे त्यो माध्यमिक शिक्षा परिक्षाको नतिजा नै होस् अथवा विभिन्न अतिरिक्त क्रियाकलापहरुमा संस्थागत विद्यालयका बालवालिकाहरुले प्राप्त गरेको सफलता नै होस्, हरेक क्षेत्रमा संस्थागत विद्यालय अब्बल ठहरिएको छ । यसको पछाडि धेरै कारणहरु रहेका छन् । जस्तो कि संस्थागत विद्यालयहरुमा अध्यापनरत शिक्षकहरुको मिहिनेत तथा लगन, चुस्त तथा उत्कृष्ट व्यवस्थापन, आधुनिक, प्रविधि तथा बालमैत्री शिक्षण सिकाई विधिहरुको अवलम्बन, संस्थागत विद्यालयहरुमा अध्ययनरत बालवालिकाहरुलाई शिक्षकहरुबाट प्रत्येक बालवालिकाहरुको शिक्षण सिकाईलाई प्रभावकारी बनाउन गरिने विशेष प्रयास आदि रहेका छन् । हामी विद्यालयका शैक्षिक तथा अन्य सम्पूर्ण गतिबिधिहरु एउटा योजनाबद्ध तरिकाले गर्ने गर्दछौ जसले गर्दा पनि बालवालिकाहरुको सिकाई को स्तर सुधार गर्न महत्वपूर्ण सहयोग प्राप्त भइरहेको छ । बालवालिकाहरुको सिकाई उपलब्धिको साथ साथमा उनीहरुको आचरण तथा बानि व्यहोरालाई राम्रो बनाउन हाम्रो प्रयास हरदम रहन्छ । यिनै कारणहरुले गर्दा सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरुको बिचमा एउटा ठूलो फरक प्रस्ट देखिएको छ ।
 ७ अहिलेको प्रविधिले विद्यार्थीहरुमा पढ्ने बानि हराउँदै गएको हो, प्रविधि अनुसार विद्यार्थीहरुलाई कसरी अगाडी बढाउनु भएको छ ? 
अहिलेको युग प्रविधिको युग हो । संसारको जुनसुकै स्थानमा भएका क्रियाकलापहरु हामि हाम्रो घरमा नै बसेर थाहा पाउन सक्छौ । यस्तो अवस्थामा शिक्षण सिकाई क्रियाकलापहरुलाई समयानुकुल तथा युग सुहाउँदो बनाउँदै लैजाने सन्दर्भमा प्रविधिको उच्चतम् प्रयोग गर्दै जानु आजको आवश्यकता पनि हो । तर सवाल यहाँ के उठ्छ भने उक्त प्रविधिको उचित प्रयोग भइरहेको छ कि यसको दुरुपयोग भइरहेको छ भन्ने विषयमा भने हामी एकदमै चनाखो हुनुपर्ने स्थिति आएको छ । वर्तमान सन्दर्भलाई हेर्ने हो भने हाम्रा बालवालिकाहरुमाझ प्रविधिको उचित प्रयोगको सट्टा दुरुपयोग बढ्दै गइरहेको छ । अब प्रविधिको प्रयोगलाई व्यवस्थित गर्दै शिक्षण सिकाई क्रियाकलापको लागि यसको प्रयोग गर्नको लागि विद्यालयले हरेक अभिभावक तथा बालवालिकाहरुसँग यसको प्रयोग तथा दुरुपयोगको विषयमा समय समयमा अन्र्तक्रिया गर्दै आइरहेको छ । त्यस्तै बालवालिकाहरुले प्रविधिलाई कसरी प्रयोग गरिरहेका छन् भन्ने विषयमा सुसुचित हुनको लागि प्रत्येक अभिभावकहरुसँग हामी नियमित सम्पर्कमा रहेका छौं ।
८. अन्त्यमा,
अन्त्यमा मलाई केहि कुराहरु राख्ने सुअवसर प्रदान गर्नुभएकोमा तपाईहरुलाई हार्दिक आभार प्रकट गर्दै लिलावती नेशनल एकेडेमी मार्फत समग्र शिक्षा क्षेत्रको विकास तथा प्रर्वद्धनमा हर समय पहल गरिरहने बाचा गर्न चाहन्छु ।