2026 July 05/ 11:54: 16pm

नवराज केसी 
    कुनै पनि देशको समृद्धि केवल प्राकृतिक स्रोत, भौगोलिक अवस्था वा आर्थिक पूँजीमा मात्र निर्भर हुँदैन  । त्यसको मूल आधार त्यहाँको राजनीतिक नेतृत्व, राज्य सञ्चालनको दृष्टिकोण र नागरिकप्रतिको उत्तरदायित्वमा निहित हुन्छ । संसारमा विभिन्न कालखण्डमा इतिहासले प्रमाणित गरेको छ कि दूरदर्शी नेतृत्वले सीमित स्रोत भएका राष्ट्रलाई समेत विकसित र समृद्ध बनाउन सक्छ भने कमजोर सोच र स्वार्थकेन्द्रित राजनीतिले प्रशस्त सम्भावना भएका देशलाई पनि पछाडि धकेलेको छ  ।
    राजनीति समाज परिवर्तनको सबैभन्दा शक्तिशाली माध्यम हो  । राजनीतिमा प्रवेश गर्ने व्यक्तिको उद्देश्य केवल सत्ता प्राप्ति वा पदको उपभोग हुनु हुँदैन  । राजनीति भनेको जनताको जीवनस्तर उकास्ने, उनीहरूका समस्या समाधान गर्ने र भविष्यका लागि आशाको आधार निर्माण गर्ने अभियान हो । जब राजनीतिज्ञहरूले जनताको भावना, आवश्यकता र आकांक्षालाई केन्द्रमा राखेर काम गर्छन्, तब देश विकासको मार्गमा अगाडि बढ्छ तर जब राजनीति केवल चुनाव जित्ने, सत्ता जोगाउने र व्यक्तिगत स्वार्थ पूरा गर्ने साधन बन्छ, तब देश र जनता दुवै निराशाको चक्रमा फस्न पुग्छन्  । नेपालको राजनीतिक इतिहासलाई हेर्दा विभिन्न कालखण्डमा परिवर्तनका धेरै आन्दोलन र राजनीतिक उपलब्धिहरू प्राप्त भएका छन् । तर आम नागरिकले अपेक्षा गरेको जीवनस्तरमा सुधार भने अझै पनि पर्याप्त रूपमा हुन सकेको छैन । चुनावका समयमा शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र विकासका आकर्षक नारा प्रस्तुत गरिन्छन् । तर चुनावपछि ती प्रतिबद्धताहरू प्रायः भाषण र घोषणापत्रमै सीमित रहने गरेको पाइन्छ । एउटै विषयलाई दशकौँसम्म राजनीतिक मुद्दा बनाइरहने तर त्यसको समाधानतर्फ प्रभावकारी काम नगर्ने प्रवृत्तिले जनविश्वास कमजोर बनाएको इतिहास हाम्रोमा छ ।
    विश्वका सफल राष्ट्रहरूको अनुभवले एउटा स्पष्ट सन्देश दिन्छ राष्ट्र निर्माणको केन्द्रमा नागरिक हुनुपर्छ । उदाहरणका लागि, सिंगापुरले प्राकृतिक स्रोतको अभाव हुँदाहुँदै पनि गुणस्तरीय शिक्षा, पारदर्शी प्रशासन र दीर्घकालीन योजनाका माध्यमबाट आफूलाई विश्वकै विकसित राष्ट्रहरूको सूचीमा उभ्याएको छ । दक्षिण कोरिया पनि केही दशकअघि गरिब राष्ट्रको रूपमा चिनिन्थ्यो । तर शिक्षा, प्रविधि, औद्योगिकीकरण र सक्षम नेतृत्वका कारण आज विश्व अर्थतन्त्रमा महत्वपूर्ण स्थान बनाउन सफल भएको छ । जापान र हाम्रै छिमेकी चीनलाई पनि उदाहरणका रुपमा लिन सकिन्छ । यसले देखाउँछन् कि समृद्धिको आधार राजनीतिक इच्छाशक्ति र प्रभावकारी कार्यान्वयन हो  ।
    कुनै पनि सरकारले नागरिकलाई दिने सबैभन्दा महत्वपूर्ण सेवा शिक्षा हो । गुणस्तरीय शिक्षा बिना सक्षम नागरिक निर्माण सम्भव हुँदैन । यदि एउटा देशका बालबालिकाले आर्थिक अवस्थाका कारण राम्रो शिक्षा प्राप्त गर्न सक्दैनन् भने त्यो देशको भविष्य नै कमजोर हुन्छ । त्यसैले राज्यले सबै नागरिकलाई समान अवसरसहितको गुणस्तरीय शिक्षा उपलब्ध गराउनु आवश्यक छ । शिक्षाले केवल रोजगारीको आधार मात्र तयार गर्दैन, यसले चेतनशील, जिम्मेवार र लोकतान्त्रिक नागरिक पनि निर्माण गर्छ । शिक्षासँगै स्वास्थ्य अर्काे आधारभूत आवश्यकता हो । नागरिक बिरामी हुँदा उपचारको अभावमा जीवन गुमाउनुपर्ने अवस्था कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन । राज्यले सबै नागरिकलाई सहज, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने दायित्व पूरा गर्नुपर्छ । स्वस्थ नागरिक नै उत्पादनशील नागरिक हो, र उत्पादनशील नागरिकले नै राष्ट्रको आर्थिक विकासलाई गति दिन सक्छ  । त्यसैगरी रोजगारीको सुनिश्चितता पनि राष्ट्र विकासको महत्वपूर्ण आधार हो । शिक्षित युवाहरू अवसरको खोजीमा विदेशिन बाध्य हुने अवस्था कुनै पनि देशका लागि चिन्ताको विषय हो । युवाशक्ति देशको सबैभन्दा ठूलो सम्पत्ति हो । यदि यही शक्ति विदेश पलायन भइरह्यो भने राष्ट्र निर्माणको गति पक्कै पनि सुस्त हुन जान्छ । वर्तमान अवस्थामा नेपालको मुख्य समस्या नै यही हो त्यसैले सरकारले उत्पादनमूलक क्षेत्रको विकास, उद्यमशीलताको प्रवद्र्धन, सीपमूलक शिक्षा र लगानीमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिनुपर्छ । जब युवाले आफ्नै देशमा सम्मानजनक रोजगारी पाउँछन्, तब राष्ट्रको आर्थिक र सामाजिक विकासले नयाँ गति प्राप्त गर्छ । 
नेता वा राजनीतिज्ञलाई प्रायः स्वप्नद्रष्टा भनिन्छ । तर केवल सपना देख्नु पर्याप्त हुँदैनस त्यो सपनालाई व्यवहारमा उतार्ने क्षमता र प्रतिबद्धता पनि आवश्यक हुन्छ । एउटा आदर्श राजनीतिज्ञले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको भविष्यको कल्पना गर्छ । उसले नागरिकलाई विभाजन होइन, एकताको सन्देश, निराशा होइन, आशाको संचार र आश्वासन होइन, परिणामको गति दिन्छ । जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने काम नै नेतृत्वको वास्तविक परीक्षा हो । आज नेपाल युवा जनसंख्याको दृष्टिले अवसरको चरणमा छ । नयाँ पुस्ता सूचना प्रविधिसँग जोडिएको छ, विश्वका सफल अभ्यासहरूसँग परिचित छ र परिवर्तनको अपेक्षा राख्छ । हाम्रो देशमा अहिले सरकारमा युवाले नेतृत्व गरेको अवस्था छ त्यसैले अबको नेतृत्वले पुराना राजनीतिक संस्कार र परम्परागत सोचभन्दा माथि उठेर परिणाममुखी शासन प्रणाली अपनाउन आवश्यक छ । विकासका योजनाहरू भाषणमा होइन, कार्यान्वयनमा देखिनुपर्छ । नागरिकले राज्यबाट प्राप्त गर्ने सेवा सहज पारदर्शी र प्रभावकारी हुनुपर्छ ।
    जब प्रत्येक नेपालीले गर्वका साथ ‘म अवसर, सम्मान र सम्भावनाले भरिएको देशको नागरिक हुँ’ भन्न सक्नेछ, त्यही दिन नेपालको राजनीतिक परिवर्तनले आफ्नो वास्तविक सार्थकता प्राप्त गर्नेछ । अन्ततः राष्ट्र निर्माण सरकार वा नेताहरूको मात्र जिम्मेवारी होइन, नागरिकहरूको पनि उत्तिकै दायित्व हुन्छ । तर नागरिकले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सक्ने वातावरण सिर्जना गर्ने जिम्मा राज्यकै हो । जब सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको आधार मजबुत बनाउँछ, तब नागरिक पनि आत्मनिर्भर, सक्षम र जिम्मेवार बन्छन् । त्यस्ता नागरिकहरूले कर तिर्छन्, उत्पादन बढाउँछन्, नवप्रवर्तन गर्छन् र राष्ट्रको उन्नतिमा योगदान पुर्याउँछन् । समृद्ध नेपाल निर्माणको सपना पूरा गर्न राजनीतिक नेतृत्वले नागरिक केन्द्रित दृष्टिकोण अपनाउनुपर्छ । जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउने नीतिहरू लागू गर्नुपर्छ । जब राजनीति सेवाको माध्यम बन्छ, नेतृत्व दूरदर्शी हुन्छ र नागरिक सशक्त बन्छन्, तब मात्र राष्ट्र समृद्ध, सम्मानित र विकसित बन्न सक्छ । यही नै आजको नेपालको आवश्यकता र भोलिको सफलताको आधार हो ।