2026 June 18/ 11:37: 57pm

रजनी ढुंगाना

           कक्षाकोठालाई शिक्षण–सिकाइ प्रक्रियाको केन्द्रविन्दु मानिन्छ । विद्यार्थीले विद्यालयमा प्राप्त गर्ने अधिकांश ज्ञान, सीप र अनुभव कक्षाकोठाभित्रकै वातावरणसँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् । त्यसैले कक्षाकोठाको भौतिक, सामाजिक तथा मनोवैज्ञानिक वातावरणले विद्यार्थीको सिकाइमा गहिरो प्रभाव पार्ने गर्दछ । व्यवस्थित र प्रेरणादायी कक्षाकोठाले विद्यार्थीलाई सिकाइप्रति आकर्षित गर्छ भने अव्यवस्थित वातावरणले सिकाइको प्रभावकारितामा नकारात्मक असर पार्न सक्छ ।
       कक्षाकोठा व्यवस्थापन अन्तर्गत भौतिक पूर्वाधार, पर्याप्त उज्यालोपन, सूचना तथा सञ्चार प्रविधिको प्रयोग, र विभिन्न शैक्षिक सामग्रीहरूको उचित व्यवस्थापन पर्दछन् । सामान्य रूपमा हेर्दा यी पक्षहरू साधारण जस्ता देखिए पनि वास्तवमा प्रभावकारी शिक्षण–सिकाइका आधारभूत तत्वहरू हुन् । यिनले विद्यार्थीको ध्यान केन्द्रित गर्न, सिकाइलाई रोचक बनाउन तथा ज्ञानलाई दीर्घकालीन रूपमा स्मरण गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।
    भौतिक पूर्वाधारको सन्दर्भमा कक्षाकोठामा उपयुक्त डेस्क–बेन्चको उपलब्धता र तिनको व्यवस्थापन शैली विशेष महत्त्वपूर्ण हुन्छ। नेपालका धेरै विद्यालयहरूमा अझै पनि परम्परागत बसाइ व्यवस्थापन ९त्चबमष्तष्यलब िक्भबतष्लन ब्चचबलनझभलत० प्रचलित छ । यस व्यवस्थामा विद्यार्थीहरू लामबद्ध रूपमा बस्ने र शिक्षकले प्रस्तुत गरेका विषयवस्तु सुन्ने तथा टिपोट गर्ने कार्यमा सीमित रहने गर्दछन् । यस्तो व्यवस्थामा शिक्षक नै सिकाइ प्रक्रियाको केन्द्रमा रहन्छन् भने विद्यार्थीहरू निष्क्रिय श्रोताका रूपमा सीमित हुन पुग्छन् । यद्यपि व्याख्यान विधि (ीभअतगचभ ःभतजयम) सञ्चालन गर्न यो ढाँचा उपयोगी हुन सक्छ, तर यसले विद्यार्थीको सिर्जनशीलता, आलोचनात्मक सोच तथा मौलिक अभिव्यक्तिलाई पर्याप्त प्रोत्साहन दिन सक्दैन । फलस्वरूप, विद्यार्थीहरू बुझेर सिक्नुभन्दा रटेर सिक्ने प्रवृत्तितर्फ उन्मुख हुने सम्भावना बढ्छ ।
    वर्तमान शिक्षा प्रणालीले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञान दिने मात्र होइन, व्यवहारिक जीवनका लागि आवश्यक सीप र दक्षता पनि विकास गर्नुपर्ने आवश्यकता महसुस गरेको छ । त्यसैले आधुनिक शिक्षाशास्त्रले ‘गरेर सिक्ने’ (ीभबचलष्लन दथ म्यष्लन) अवधारणालाई विशेष महत्व दिएको छ । यसका लागि ग्–क्जबउभ, ऋष्चअभि क्भबतष्लन, न्चयगउ क्भबतष्लन जस्ता लचिला बसाइ व्यवस्थापन आवश्यक हुन्छन् । यस्ता व्यवस्थाले विद्यार्थीहरूबीच अन्तरक्रिया, सहकार्य, छलफल तथा समस्या समाधान गर्ने क्षमताको विकास गर्न मद्दत पु¥याउँछन् । विद्यार्थी आफैँ सिकाइ प्रक्रियामा सक्रिय सहभागी हुँदा सिकाइ अझ प्रभावकारी, अर्थपूर्ण र दिगो बन्न पुग्छ ।
    कक्षाकोठाको उज्यालोपन पनि सिकाइको गुणस्तरसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको पाइन्छ । पर्याप्त प्राकृतिक वा कृत्रिम प्रकाशको व्यवस्था भएको कक्षाकोठामा विद्यार्थीहरू बढी सजग, सक्रिय र केन्द्रित रहन्छन् । विभिन्न अनुसन्धानहरूले पर्याप्त उज्यालो भएको वातावरणले विद्यार्थीको ध्यान केन्द्रित गर्ने क्षमता बढाउने, मानसिक थकान कम गर्ने तथा सकारात्मक सोचको विकास गराउने तथ्य पुष्टि गरेका छन् । उज्यालो र हावापानीको उचित व्यवस्थापनले सिकाइ वातावरणलाई थप सहज र आकर्षक बनाउँछ ।
    आजको युग विज्ञान तथा प्रविधिको युग हो। सूचना तथा सञ्चार प्रविधिले मानव जीवनका हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको छ र शिक्षा क्षेत्र पनि यसबाट अछुतो छैन । डिजिटल प्रविधिको प्रयोगले शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, रोचक र विद्यार्थीमैत्री बनाउन सहयोग पु¥याएको छ । तर, नेपालका धेरै विद्यालयहरूमा अझै पनि पर्याप्त इन्टरनेट सुविधा, कम्प्युटर, प्रोजेक्टर तथा अन्य आधुनिक उपकरणहरूको पहुँच सीमित रहेको अवस्था छ। यसले गुणस्तरीय शिक्षाको लक्ष्य हासिल गर्न चुनौती सिर्जना गरिरहेको छ ।
    प्रविधिको प्रभावकारी प्रयोगले विद्यार्थीमा खोज, अनुसन्धान, विश्लेषण तथा सिर्जनात्मक सोचको विकास हुन्छ। इन्टरनेट, डिजिटल पुस्तकालय, अनलाइन स्रोत तथा शैक्षिक एप्लिकेसनहरूको प्रयोगले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी विश्वव्यापी ज्ञानसँग जोड्ने अवसर प्रदान गर्दछ। यसले उनीहरूलाई स्वतन्त्र रूपमा सिक्ने, नयाँ जानकारी खोज्ने तथा विभिन्न विषयमा गहिरो अध्ययन गर्ने बानीको विकास गराउँछ ।
    त्यसैगरी, शिक्षण–सिकाइ क्रियाकलापमा मल्टिमिडिया (ःगतिष्mभमष्ब) को प्रयोगले विद्यार्थीहरूको रुचि र सहभागितामा उल्लेखनीय वृद्धि ल्याउँछ । पाठ्यवस्तुलाई चित्र, भिडियो, एनिमेसन, ध्वनि तथा प्रस्तुतीकरणमार्फत प्रस्तुत गर्दा विद्यार्थीले विषयवस्तुलाई सहज रूपमा बुझ्न र स्मरण गर्न सक्छन् । विशेष गरी जटिल अवधारणाहरूलाई दृश्य तथा श्रव्य माध्यमद्वारा प्रस्तुत गर्दा सिकाइ अझ प्रभावकारी बन्ने गरेको छ। मल्टिमिडियाको प्रयोगले कक्षाकोठालाई जीवन्त, अन्तरक्रियात्मक र विद्यार्थीकेन्द्रित बनाउन महत्वपूर्ण योगदान पु¥याउँछ ।
    अन्ततः शिक्षा नै राष्ट्रको समग्र विकास र समृद्धिको आधार हो। गुणस्तरीय शिक्षा बिना सक्षम नागरिक निर्माण सम्भव हुँदैन। त्यसैले शिक्षालाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यावहारिक, सीपमूलक, प्रविधिमैत्री र जीवनोपयोगी बनाउन आवश्यक छ। यसका लागि नेपाल सरकार, शिक्षा क्षेत्रका सरोकारवाला निकाय, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक सबैले समन्वयात्मक रूपमा कार्य गर्नुपर्छ। समयमै आवश्यक पूर्वाधार निर्माण, प्रविधिको पहुँच विस्तार तथा आधुनिक शिक्षण पद्धतिको प्रयोगलाई प्राथमिकता दिन सकिएमा शिक्षण–सिकाइ प्रक्रिया अझ प्रभावकारी, गुणस्तरीय र दिगो बन्ने निश्चित छ ।