नेपाल अहिले एउटा अत्यन्तै संवेदनशील र तरल मोडमा उभिएको छ । राजनीतिक परिवर्तन भइरहेका छन्, सरकारको नेतृत्व र संरचनामा नयाँ पुस्ताको सहभागिता बढिरहेको छ, प्रविधिले हरेक नागरिकलाई आफ्ना विचार सार्वजनिक गर्ने अभूतपूर्व अवसर दिएको छ । तर यही समयमा एउटा गम्भीर प्रश्न पनि हाम्रो अगाडि उभिएको छ–हामीले बहसको दिशा सही ठाउँमा लगिरहेका छौँ कि भीडको मनोविज्ञानसँगै बगिरहेका छौँ ? आज सामाजिक सञ्जालमा जुन मुद्दालाई जसले प्रभावकारी ढंगले उठाउन सक्यो, त्यही मुद्दाले सार्वजनिक बहसमा प्रभुत्व जमाइरहेको छ । विषयको गम्भीरता, तथ्य र दीर्घकालीन प्रभावभन्दा भावनात्मक प्रस्तुति, उत्तेजना र तत्काल प्राप्त हुने लोकप्रियता महत्वपूर्ण बन्न थालेको देखिन्छ। कुनै घटना वा विषयलाई निश्चित व्यक्ति वा समूहको स्वार्थअनुसार व्याख्या गरिन्छ, त्यसलाई सामान्यीकरण गरिन्छ र त्यसैका आधारमा समाजलाई पक्ष–विपक्षमा विभाजित गरिन्छ ।
तर हाम्रो बहसको केन्द्र कहाँ हुनुपर्ने हो ?
आज हामीले बहस गर्नुपर्ने विषय यीनै हुनुपर्ने होइन र रु नेपालले आगामी दशकमा कस्तो अर्थतन्त्र निर्माण गर्नेरु शिक्षा कस्तो बनाउने ? युवालाई स्वदेशमै अवसर कसरी दिनेरु कृषि र पर्यटनलाई आधुनिक प्रविधिसँग कसरी जोड्ने ? स्वास्थ्य र पूर्वाधारमा कसरी गुणस्तरीय सुधार ल्याउने ? कृत्रिम बौद्धिकता, डिजिटल अर्थतन्त्र र नयाँ प्रविधिको विश्वव्यापी दौडमा नेपालले आफ्नो स्थान कसरी बनाउनेरु सामाजिक न्याय, सुशासन र मानवीय विकासलाई कसरी बलियो बनाउने ? विश्वका धेरै देशले विगतका विभाजन, द्वन्द्व र कटुताबाट पाठ सिकेर विकासको बाटो समातेका छन् । युरोपको इतिहास हेर्दा धार्मिक र राजनीतिक द्वन्द्वले कति ठूलो मानवीय क्षति गराएको थियो भन्ने स्पष्ट हुन्छ । तर त्यसबाट पाठ सिक्दै संस्थागत लोकतन्त्र, कानुनी शासन, विज्ञान, शिक्षा, प्रविधि र आर्थिक सहकार्यलाई प्राथमिकता दिइयो। आज त्यही समाजहरू विश्वका विकसित एवं सभ्य समाजका रूपमा उभिएका छन् । हामीले पनि इतिहासबाट सिक्नुपर्छ । हरेक गल्ती आफैँ दोहोर्याएर मात्र पाठ सिक्नुपर्छ भन्ने छैन । अहिले धर्मका नाममा, जातका नाममा, क्षेत्रका नाममा वा अन्य पहिचानका आधारमा समाजलाई उत्तेजित बनाउने प्रवृत्र् िबढ्नु गम्भीर विषय हो । धर्म र संस्कृति मानिसको आस्था र पहिचानसँग जोडिएका संवेदनशील विषय हुन्। त्यसैले यिनलाई उत्तेजना फैलाउने हतियार बनाउनु झन् खतरनाक हुन्छ । कुनै व्यक्तिको गल्तीलाई सम्पूर्ण समुदायको गल्तीका रूपमा प्रस्तुत गर्नु न्यायसंगत हुँदैन । कुनै एउटा घटनालाई लिएर सम्पूर्ण धर्म, जात वा समूहलाई दोषी ठहर्याउनु समाजलाई समाधानतर्फ होइन, द्वन्द्वतर्फ लैजानु हो । दुर्भाग्यवश, सामाजिक सञ्जालको अर्थतन्त्रले पनि यसलाई प्रोत्साहित गर्ने वातावरण बनाएको छ । उत्तेजक शीर्षक, आक्रोशपूर्ण अभिव्यक्ति र विवादास्पद सामग्रीले धेरै ध्यान तान्छन्। ध्यानले पहुँच बढाउँछ, पहुँचले लोकप्रियता र कतिपय अवस्थामा आम्दानी पनि बढाउँछ । त्यसैले केही व्यक्तिका लागि समाजमा शान्ति र समझदारीभन्दा विवाद नै ‘कन्टेन्ट’ बन्न पुग्न सक्छ ।
तर यहाँ हामीले एउटा कुरा बुझ्नैपर्छ कुनै व्यक्तिको कन्टेन्टबाट कमाएको पैसा क्षणिक हुन सक्छ, तर त्यसले समाजमा सिर्जना गरेको घृणा र विभाजनको मूल्य पुस्तौँले चुकाउनुपर्ने हुन सक्छ । आज सामाजिक सञ्जालमा लगभग हरेक व्यक्ति एउटा सञ्चारमाध्यम बनेको छ । हामीसँग आफ्नो विचार राख्ने स्वतन्त्रता छ । तर स्वतन्त्रता सँगै जिम्मेवारी पनि आउँछ। हामीले लेखेको एउटा वाक्य, बोलेको एउटा शब्द वा बनाएको एउटा भिडियोले हजारौँ मानिसको धारणा प्रभावित गर्न सक्छ । त्यसैले ‘मलाई जे मन लाग्यो, त्यही बोल्छु’ भन्ने स्वतन्त्रता मात्र पर्याप्त हुँदैनस ‘मैले बोलेको कुराले समाजमा के असर पार्छ ?’ भन्ने आत्मप्रश्न पनि आवश्यक हुन्छ । अझ गम्भीर कुरा के छ भने हामी सामाजिक सञ्जालमा धेरैपटक न्यायाधीश, वकिल र अनुसन्धानकर्ता सबै आफैँ बन्न खोजिरहेका हुन्छौँ । कुनै घटना सार्वजनिक हुनासाथ तथ्य पूर्ण रूपमा नबुझी फैसला सुनाइन्छ । कानुनी प्रक्रिया आफ्नो बाटोमा अघि बढ्नुअघि नै सामाजिक सञ्जालमा दोषी र निर्दोष छुट्याइन्छ । यसले न्यायको प्रक्रियालाई सहयोग गर्दैन, बरु विषयलाई थप जटिल बनाउन सक्छ । अन्यायको विरोध गर्नु पर्छ । सरकारका कमजोरीमाथि प्रश्न उठाउनुपर्छ । सामाजिक विकृतिको आलोचना गर्नुपर्छ । धर्म, राजनीति वा कुनै संस्थामा भएका गलत कामका विरुद्ध आवाज उठाउनुपर्छ । यो नागरिकको अधिकार हो। तर विरोध र घृणाबीचको अन्तर, आलोचना र अपमानबीचको अन्तर तथा तथ्य र अफवाहबीचको अन्तर बुझ्नु पनि उत्तिकै आवश्यक छ । हामीले समाजलाई भड्काएर होइन, बुझाएर परिवर्तन गर्न सकिन्छ भन्ने विश्वास गर्नुपर्छ । कसैमाथि अन्याय भएको छ भने उसको जात वा धर्म हेरेर होइन, मानव भएको आधारमा उसको पक्षमा उभिनुपर्छ । सरकार कमजोर देखियो भने सरकारलाई गाली मात्र गर्ने होइन, समाधानसहित प्रश्न गर्नुपर्छ । कुनै समुदाय पछाडि परेको छ भने अर्काे समुदायलाई तल झारेर होइन, पछाडि परेको समुदायलाई माथि उठाएर समाज अघि बढाउनुपर्छ ।
मानवीयता नै हाम्रो सबैभन्दा ठूलो साझा परिचय हो । हामी नेपाली हौँ । हाम्रो जात, धर्म, भाषा र संस्कृति फरक हुन सक्छ तर हाम्रो भविष्य एउटै देशसँग जोडिएको छ । समाज विभाजित भयो भने विकासको आधार कमजोर हुन्छ । अविश्वास बढ्यो भने देशमा लगानी घट्छ । द्वन्द्व बढ्यो भने शिक्षा, पर्यटन, व्यापार र रोजगारी प्रभावित हुन्छ । सबैभन्दा ठूलो कुरा नयाँ पुस्ताले सहकार्य भन्दा घृणा सिक्न थाल्छ । हामीले कस्तो पुस्ता निर्माण गर्दैछौँ भन्ने प्रश्न यहीँबाट सुरु हुन्छ । आजका बालबालिका र युवाले हामीबाट के सिकिरहेका छन् ? असहमति हुँदा संवाद गर्ने कि गाली गर्ने ? प्रमाण खोज्ने कि अफवाह फैलाउने ? कमजोरलाई सहयोग गर्ने कि उसको कमजोरीमाथि रमाउने ? फरक विचारलाई सम्मान गर्ने कि फरक विचार राख्ने मानिसलाई शत्रु ठान्ने ? यदि आज हामीले घृणाको भाषा सामान्य बनायौँ भने भोलि त्यसको परिणाम हाम्रो आफ्नै पुस्ताले भोग्नुपर्नेछ । त्यसैले अब हाम्रो राष्ट्रिय बहसको दिशा परिवर्तन गर्न आवश्यक छ । राजनीतिक परिवर्तन मात्र पर्याप्त हुँदैन, बहसको संस्कार पनि परिवर्तन हुनुपर्छ । सरकारमा युवा आए भन्दैमा देश स्वतः विकसित हुँदैन । युवाको ऊर्जा सही दिशा, नीति, ज्ञान, अनुशासन र संस्थागत क्षमतासँग जोडिनुपर्छ ।
अबको नेपालले ‘को ठूलो, को सानो’ भन्ने बहसबाट माथि उठेर ‘को कति सक्षम, सिर्जनशील र जिम्मेवार’ भन्ने बहस गर्नुपर्छ । ‘मेरो धर्म ठूलो, तिम्रो धर्म सानो’ होइन–‘हाम्रो समाज कसरी सभ्य, न्यायपूर्ण र मानवीय बनाउनेरु’ भन्ने प्रश्न गर्नुपर्छ । ‘कसलाई हराउने ?’ होइन–‘देशलाई कसरी जिताउने ? ’ भन्ने सोच विकसित गर्नुपर्छ । समाजका बुद्धिजीवी, शिक्षक, पत्रकार, कलाकार, लेखक, राजनीतिकर्मी, धार्मिक अगुवा र सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूको भूमिका यसमा अझ महत्वपूर्ण हुन्छ । उनीहरूले समाजको कमजोरीमा आगो थप्ने होइन, विवेकको पानी हाल्ने भूमिका खेल्नुपर्छ । हामीले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन कुनै पनि खालको स्वार्थ समूहले जितेर देश हार्नु हुँदैन । हामीले आफ्नो तर्क जित्न खोज्दा सम्बन्ध नहारौँ । आफ्नो समूहको स्वार्थ जोगाउँदा देशको भविष्य नहारौँ । एउटा भाइरल भिडियो बनाउन खोज्दा समाजको विश्वास नजलाऔँ । क्षणिक लोकप्रियताका लागि पुस्तौँसम्म बोक्नुपर्ने घृणाको बीउ नरोपौ । नेपाललाई अहिले उत्तेजना होइन, विवेक चाहिएको छ । आरोप होइन, तथ्य चाहिएको छ । विभाजन होइन, संवाद चाहिएको छ । घृणा होइन, मानवीयता चाहिएको छ ।
हामीसँग समस्या धेरै छन्, तर सम्भावना पनि त्यत्तिकै ठूला छन्, अब हाम्रो बहस विकास, सुशासन, शिक्षा, विज्ञान, प्रविधि, रोजगारी, उद्यमशीलता, वातावरण, संस्कृति र मानवीय विकासतर्फ मोडिनुपर्छ । किनकी अन्ततः देश कुनै एउटा धर्म, जात, पार्टी वा समूहको मात्र होइन । देश हामी सबैको साझा घर हो । यो घरलाई बलियो बनाउन हामीले एकअर्काको भित्तामा ढुंगा हान्ने होइन, एकअर्काको घरको छानो बलियो बनाउन हातेमालो गर्नुपर्छ । आज हामीले सामाजिक सञ्जालमा लेखेको एउटा शब्द भोलिको पुस्ताको संस्कार बन्न सक्छ । त्यसैले बोलौँ तर जिम्मेवार भएर। विरोध गरौँ तर संयमित भएर । प्रश्न गरौँ तर तथ्यका आधारमा । र सबैभन्दा महत्वपूर्ण, असहमति राखौँ तर मानवीयता नछोडौँ । यही संस्कारबाट मात्र समृद्ध, सभ्य र एकताबद्ध नेपालको यात्रा सुरु हुन सक्छ ।









