2026 June 26/ 12:02: 38am

पुरुषोतम ताम्राकार
    पनौती केवल एउटा प्राचीन सहर मात्र होइन, मन्दिरै–मन्दिरले भरिएको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको धनी नगर पनि हो । नेपालकै पुराना बस्तीहरूमध्ये एक मानिने पनौतीमा हरेक वर्ष मनाइने ज्या पुन्ही जात्रा स्थानीय समुदायको आस्था, परम्परा र सांस्कृतिक पहिचानसँग गहिरोसँग जोडिएको छ । यस वर्ष यो जात्रा आषाढ शुक्ल पूर्णिमाका दिन अर्थात् आषाढ १५ गते सोमबार मनाइँदै छ ।
    यस वर्षको जात्राको विशेष आकर्षणमध्ये एक हो परापूर्वकालदेखि जात्रामा प्रयोग हुँदै आएको उन्मत्त भैरवनाथको मूर्तिको स्थानमा नयाँ मूर्तिको स्थापना । एक शाक्य थरका व्यक्तिबाट पनौतीलाई सौजन्यस्वरूप प्राप्त भएको उक्त मूर्तिको आषाढ ८ गते विधिवत् प्राणप्रतिष्ठा गरिएको थियो । विभिन्न बाजागाजासहित नगर परिक्रमा गराई सम्पन्न गरिएको धार्मिक समारोहपछि नयाँ मूर्तिलाई इन्द्रेश्वर मन्दिर अगाडि स्थापना गरिएको छ । झण्डै सयौँ वर्ष पुरानो मूर्तिको स्थानमा नयाँ मूर्ति राखिएसँगै यस वर्षको जात्रा अझ विशेष बनेको छ ।
    ज्या पुन्हीको पूर्वसन्ध्यामा मनाइने सिठी नख पर्वसँगै पनौतीमा जात्रीय वातावरण सुरु भइसकेको छ । यस अवसरमा बारा, चटामरीलगायत विभिन्न नेवारी परिकार बनाएर ‘सिन्द ज्या’ सम्पन्न गरिन्छ । नेवारी भोजको माहोल सिर्जना हुने यस दिन अधिकांश परिवारले बाँकी रहेका देवाली तथा धार्मिक कार्यहरू पनि सम्पन्न गर्ने परम्परा छ । आषाढ १२ गते शुक्रबारदेखि जात्राको औपचारिक सुरुवात मानिन्छ । यस दिन ‘दे थहं विज्यागु’ र ‘दे क्वहं विज्यागु’ नामक धार्मिक परम्परा सम्पन्न गरिन्छ ।
    विशेषगरी भद्रकाली मातालाई आसनबाट तल झार्ने कार्य गरिन्छ । कर्माचार्य थरका पुजारीले विधिपूर्वक पूजा सम्पन्न गरेपछि देवतालाई विशेष स्थानमा राखिन्छ । जात्रा समाप्तिपछि पुनः भद्रकाली मातालाई विधिसम्मत रूपमा मूल आसनमा स्थापना गरिन्छ, जसलाई ‘दे थहं विज्यागु’ भनिन्छ । यस अवसरमा बलिपूजा, सोह्रश्रृङ्गार पूजा तथा अन्य धार्मिक अनुष्ठानहरू सम्पन्न गरिन्छन् ।
    शुक्रबार मनाइने जात्रालाई स्थानीय भाषामा कुलक्या भनिन्छ । यसदिन राति भद्रकाली माताको मूर्तिलाई रथमा विराजमान गराइ बाजागाजासहित नगर परिक्रमा गराइन्छ । पनौतीको गल्ली र चौबाटोहरूमा हजारौँ श्रद्धालु तथा दर्शकहरूको उपस्थितिमा हुने यो रथयात्रा अत्यन्त रोमाञ्चक दृश्य बन्ने गर्दछ । त्यसपछि सम्पूर्ण समुदायको सहभागितामा रथलाई तानेर ब्रह्मायणी मन्दिरसम्म पु¥याइन्छ । रथयात्राका क्रममा ब्रह्मायणी मन्दिर नजिकको झोलुङ्गे पुलमा विशेष धार्मिक परम्परा निर्वाह गरिन्छ । त्यहाँ चिप्लो नागमाथि कुल्चिँदै दुइँचा थरका युवक र युवतीले पूजा सामग्री बोकेको विशेष खर्पन पार गराउँछन् ।
    स्थानीय किम्बदन्तिअनुसार पनौतीका बासुकी नागले गोरखनाथ डाँडाबाट आएर आफ्नो शरीर फैलाउँदै पुलको रूप लिएका थिए र मानिसहरूलाई ब्रह्मायणी मन्दिरसम्म पूजा गर्न सहयोग गरेका थिए । यही कथाको स्मरणस्वरूप उक्त परम्परा आजसम्म जीवित छ । ब्रह्मायणी मन्दिरमा कर्माचार्य पुजारीहरूको नेतृत्वमा रातभर विशेष यज्ञ तथा धार्मिक अनुष्ठान सञ्चालन हुन्छ । बलि चढाइएको बोकाको टाउकोलाई यज्ञकुण्डमा होम गरी भस्म बनाउने परम्परा पनि यसै अवसरमा निर्वाह गरिन्छ । रातभर जाग्राम बसेर सम्पन्न हुने यो धार्मिक कार्यक्रम पनौतीको साँस्कृतिक जीवनको महत्वपूर्ण पक्ष मानिन्छ । 
    अर्को दिन अर्थात् आषाढ १४ गते मूल जात्रा मनाइन्छ । बिहानदेखि ब्रह्मायणी मन्दिरमा विशेष पूजा, देश पूजा, बलिपूजा तथा दर्शनका लागि श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्दछ । घर–घरमा भोजभतेर, आफन्त र पाहुनाको आगमन तथा सामुदायिक भेटघाटले पनौतीको वातावरण पूर्ण रूपमा उत्सवमय बन्छ । स्थानीय संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई मजबुत बनाउने अवसरका रूपमा पनि यो दिनलाई लिइन्छ । ज्या पुन्ही ः जात्राको मुख्य दिन

आषाढ १५ गते मनाइने ज्या पुन्ही नै पनौती जात्राको मुख्य दिन हो । ‘ज्या’ अर्थात् काम र ‘पुन्ही’ अर्थात् पूर्णिमा भन्ने अर्थबाट विकसित भएको यस पर्वलाई कामको चटारो सुरु हुने समयसँग पनि जोडेर हेर्ने गरिन्छ । यस जात्रासँग साँखु बजारको ऐतिहासिक तथा धार्मिक सम्बन्ध रहेको किम्बदन्ति पनि प्रचलित छ । यही कारणले ज्या पुन्ही केवल धार्मिक पर्व मात्र नभई ऐतिहासिक स्मृति र सांस्कृतिक निरन्तरताको प्रतीक बनेको छ ।
    ऐतिहासिक सम्पदा, प्राचीन मन्दिर, जीवित संस्कृति र अनौठा जात्रा–पर्वहरूले समृद्ध पनौती विश्व सम्पदामा सूचीकृत हुन योग्य नगरका रूपमा लामो समयदेखि चर्चा हुँदै आएको छ । यहाँका सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र अन्तर्राष्ट्रिय पहिचानका लागि राज्यले विशेष पहल गर्नुपर्ने स्थानीयवासीहरूको अपेक्षा रहेको छ । ज्या पुन्ही जात्रा पनौतीको गौरव मात्र होइन, नेपालकै जीवित सांस्कृतिक सम्पदाको अनुपम उदाहरण हो । हिन्दू र बौद्ध धर्मको साझा सांस्कृतिक विरासत बोकेको यस नगरको ऐतिहासिक जात्रा अवलोकन गर्न यस वर्ष सम्पूर्ण श्रद्धालु, संस्कृति प्रेमी तथा पर्यटकलाई हार्दिक निमन्त्रणा छ । (लेखक अभियान्ता हुन् ।)