भुपेन्द्र थापा ‘माधव’
नेपालको पहिचान हिमाल, पहाड र तराईको भूगोलले मात्र बनाएको होइन । यहाँको वास्तविक पहिचान पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका भाषा, कला, संस्कार, परम्परा र जीवन पद्धतिमा भेटिन्छ । अनेक जाति, समुदाय र संस्कृतिको साझा फूलबारी नेपालमा हरेक पर्वले आफ्नो विशिष्ट अर्थ बोकेको छ । तीमध्ये गाईजात्रा एउटा यस्तो मौलिक पर्व हो, जसमा नेपाली समाजको संवेदना, स्मृति, कला, हास्य, व्यङ्गय र सामुदायिक चेतना एकैसाथ प्रतिबिम्बित हुन्छ । त्यसैले गाईजात्रा केवल एउटा जात्रा होइन, नेपाली संस्कृतिको जीवन्त ऐना हो । विशेषतः काठमाडौँ उपत्यकाको नेवार समुदायमा ‘सापारु’का रूपमा परिचित गाईजात्रा वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइन्छ । गाई वा गाईको प्रतीकसहित जात्रा निकाल्ने परम्परासँग मृतात्माको शान्ति र परलोक यात्रासम्बन्धी धार्मिक विश्वास जोडिएको छ । तर यसको अर्थ धार्मिक कर्मकाण्डमा मात्र सीमित छैन । यसले मृत्युको पीडामा रहेका परिवारसँग समुदायले दुःख बाँड्ने र शोकलाई सामूहिक अनुभूतिमा बदल्ने सामाजिक संस्कारलाई पनि निरन्तरता दिएको छ ।
मृत्यु मानिसको जीवनको अन्तिम सत्य हो । तर प्रियजन गुमाउनुको पीडा प्रत्येक परिवारका लागि असह्य हुन्छ । यस्तो अवस्थामा गाईजात्रा एउटा परिवारको दुःखलाई समुदायको दुःख बनाइदिन्छ । जात्रामा सहभागी भएर आफन्त, छिमेकी र समाजले मृतकप्रति श्रद्धा व्यक्त गर्छन् र शोकाकुल परिवारलाई साथ दिन्छन् । एउटा घरमा परेको मृत्युको खबर एउटा परिवारभित्र मात्र सीमित रहँदैन; समुदाय त्यस पीडाको साक्षी र सहयात्री बन्छ । यही सामुदायिक भावना गाईजात्राको सबैभन्दा मानवीय पक्ष हो । गाईजात्राको बाहिरी दृश्य हेर्दा भने शोकभन्दा हाँसो बढी देखिन्छ । बाजागाजा, नाचगान, विभिन्न भेषभूषा, प्रहसन र रमाइलोले वातावरण उत्सवमय हुन्छ । तर यही हाँसोभित्र गहिरो आँसु लुकेको हुन्छ । यो पीडालाई बिर्सने हाँसो होइन, पीडालाई स्वीकार गर्दै जीवनतर्फ फर्कने मानवीय साहस हो । मृत्युको सत्यलाई स्वीकार गरेर पनि जीवनलाई निरन्तरता दिनुपर्छ भन्ने दर्शन यस पर्वभित्र अन्तर्निहित छ ।
गाईजात्राको उत्पत्तिबारे विभिन्न किंवदन्ती र ऐतिहासिक मत पाइन्छन् । लोकप्रिय कथनले राजा प्रताप मल्लको समयलाई यसको विकाससँग जोड्छ । पुत्रशोकमा डुबेकी रानीलाई अरू परिवारले पनि आफन्त गुमाएका छन् भन्ने देखाएर सान्त्वना दिने उद्देश्यले मृतकका परिवारलाई जात्रा निकाल्न लगाइएको कथा नेपाली समाजमा प्रचलित छ । तर गाईजात्राको परम्परा प्रताप मल्लभन्दा अघिदेखि नै रहेको हुन सक्ने ऐतिहासिक आधारबारे पनि चर्चा पाइन्छ । त्यसैले यसको सम्पूर्ण इतिहासलाई एउटै व्यक्ति वा एउटै किंवदन्तीमा सीमित गर्नु उचित हुँदैन । यसको वास्तविक शक्ति शताब्दीयौँदेखि समाजले निरन्तरता दिँदै आएको सांस्कृतिक अभ्यासमा छ ।
राजा बदलिए, शासन व्यवस्था बदलिए, राजनीतिक प्रणाली बदलिए, समाजको जीवनशैली बदलियो; तर गाईजात्रा बदलिँदो समयसँगै आफूलाई रूपान्तरण गर्दै आजसम्म जीवित रह्यो । यही निरन्तरता यसको जीवन्तताको प्रमाण हो । संस्कृति कुनै पुस्तकमा लेखिएको इतिहास मात्र होइन; पुस्ताले पुस्तालाई हस्तान्तरण गर्ने जीवन्त अभ्यास हो । गाईजात्रा यसको उत्कृष्ट उदाहरण हो । यस पर्वको अर्को विशिष्ट पक्ष यसको हास्य र व्यङ्ग्य परम्परा हो । नेपाली समाजमा वर्षभरी देखिएका विकृति, विसङ्गति र बेथितिमाथि हास्य तथा प्रहसनमार्फत टिप्पणी गर्ने संस्कार गाईजात्रासँग गहिरोसँग जोडिएको छ । राजनीतिक नेतृत्व, प्रशासनिक कमजोरी, भ्रष्टाचार, महँगी, सामाजिक विभेद, सार्वजनिक बेथिति र नागरिक जीवनका विसङ्गतिसम्म यसका विषय बन्न सक्छन् । गाईजात्राको व्यङ्ग्यले शक्तिशालीलाई प्रश्न गर्ने र समाजलाई आफ्नै कमजोरीतर्फ फर्केर हेर्न बाध्य बनाउने काम गर्छ ।
यस अर्थमा गाईजात्रा नेपाली समाजको साँस्कृतिक ऐना हो । ऐनाले अनुहार राम्रो वा नराम्रो भनेर फैसला गर्दैन; उसले वास्तविक अनुहार देखाउँछ । गाईजात्राको व्यङ्गयले पनि समाज र सत्ताको वास्तविक अनुहार देखाउने प्रयास गर्छ । गम्भीर आलोचना सुन्न नसक्ने समाजमा एउटा चोटिलो व्यङ्ग्यले कहिलेकाहीँ ठूलो प्रश्न उठाइदिन्छ । हाँसोको माध्यमबाट व्यक्त गरिएको सत्य धेरै टाढासम्म पुग्न सक्छ । तर व्यङ्गयको पनि आफ्नै मर्यादा हुन्छ । व्यक्ति विशेषको अपमान, चरित्रहत्या वा अश्लीलता व्यङ्ग्य होइन। व्यङ्ग्यले व्यक्तिभन्दा प्रवृत्तिमाथि प्रहार गर्नुपर्छ। भ्रष्टाचार, अन्याय, सत्ताको दुरुपयोग, सामाजिक कुरीति र सार्वजनिक बेथितिलाई प्रश्न गर्नु यसको शक्ति हो । कमजोरमाथि थप चोट गर्नु होइन । गाईजात्राको मौलिक व्यङ्ग्य चेतनालाई जोगाउने हो भने यो सीमा बुझ्न आवश्यक छ ।
समयसँगै गाईजात्रा काठमाडौँ उपत्यकाबाट बाहिर पनि विस्तार भएको छ । देशका विभिन्न भू–भागमा बसोबास गर्ने नेवार समुदायले यसलाई निरन्तरता दिइरहेका छन् । विदेशमा रहेका नेपाली समुदायले पनि आफ्ना सन्ततिलाई आफ्नो संस्कृति र परम्परासँग जोड्न गाईजात्रालगायतका पर्व मनाउने गरेका छन् । यो विस्तार नेपाली संस्कृति जीवित र गतिशील रहेको सकारात्मक संकेत हो । तर सँस्कृतिको विस्तारसँगै यसको मौलिकता जोगाउने चुनौती पनि थपिएको छ । आज सँस्कृति कहिलेकाहीँ प्रदर्शन र मनोरञ्जनको वस्तु बन्ने खतरा छ । गाईजात्राको नाममा केवल सतही हास्य, व्यक्तिगत आक्षेप वा अश्लील प्रस्तुतिले स्थान पाउँदै जाने हो भने यसको गहिरो साँस्कृतिक अर्थ ओझेलमा पर्न सक्छ । हामीले गाईजात्राको बाहिरी रङ जोगाएर मात्र पुग्दैन; यसको भित्री आत्मा पनि जोगाउनुपर्छ ।
यसका लागि राज्य, स्थानीय समुदाय, साँस्कृतिक संस्था र नयाँ पुस्ताको भूमिका महत्वपूर्ण छ । गाईजात्राको इतिहास, लोककला, संगीत, नृत्य, भेषभूषा, भाषा र व्यङ्गय परम्पराको अभिलेखीकरण आवश्यक छ । विद्यालय र विश्वविद्यालयमा नेपाली मौलिक पर्व तथा सँस्कृतिबारे अध्ययनलाई प्रोत्साहित गर्नुपर्छ । साँस्कृतिक संरक्षणलाई केवल पर्वका दिन औपचारिक कार्यक्रम आयोजना गर्ने काममा सीमित नराखी अनुसन्धान, प्रशिक्षण, दस्तावेजीकरण र पुस्तान्तरणसँग जोड्नुपर्छ ।
आजको पुस्ता प्रविधिको तीव्र विकाससँगै हुर्किरहेको छ । संसार उसको हातमा रहेको एउटा सानो पर्दामा अटाएको छ । तर आफ्नो समाज, आफ्नो इतिहास र आफ्नो संस्कृतिको अर्थ बुझ्न सकेन भने त्यो आधुनिकता अधुरो हुन्छ । नयाँ पुस्ताले गाईजात्राबाट केवल रमाइलो गर्न होइन, दुःखमा एकअर्काको साथ दिन, मृत्युको सत्य स्वीकार गर्न र समाजका गलत प्रवृत्तिमाथि प्रश्न गर्न सिक्नुपर्छ । संस्कृति पुस्तान्तरण भएन भने कुनै दिन त्यो संग्रहालयमा राखिएको वस्तु मात्र बन्न सक्छ । जीवित संस्कृति त्यो हो, जसलाई नयाँ पुस्ताले बुझ्छ, अपनाउँछ र आफ्नो समयअनुकूल सिर्जनात्मक रूपमा अगाडि बढाउँछ । त्यसैले गाईजात्रालाई ‘मनाउने’ मात्र होइन, ‘बुझ्ने’ संस्कारको विकास गर्नु आजको आवश्यकता हो ।
नेपालको सांस्कृतिक विविधता हाम्रो कमजोरी होइन, शक्ति हो । गाईजात्रा त्यही विविधताको एउटा सुन्दर अभिव्यक्ति हो । नेवार समुदायको मौलिक परम्पराबाट विकसित भएको यो पर्व आज नेपाली साँस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा बनेको छ । यसको संरक्षण गर्नु भनेको एउटा समुदायको परम्परा जोगाउनु मात्र होइन, नेपालको बहुल सांस्कृतिक चरित्रलाई सम्मान गर्नु पनि हो । गाईजात्राले शोकलाई स्मृतिमा बदल्छ, आँसुलाई सामूहिक सहानुभूतिमा बदल्छ, परम्परालाई कलामा बदल्छ र व्यङ्ग्यलाई सामाजिक चेतनामा बदल्छ । आज समाजमा असहिष्णुता बढिरहेको छ, आलोचना सुन्ने धैर्य घटिरहेको छ र शक्तिशालीलाई प्रश्न गर्न कठिन हुँदै गएको छ । यस्तो समयमा गाईजात्राको व्यङ्गय चेतना अझ सान्दर्भिक हुन्छ । यसले हामीलाई सिकाउँछ–आफ्नै कमजोरीमाथि हाँस्न सक्ने समाज मात्र आफूलाई सुधार्ने बाटोमा अघि बढ्न सक्छ ।
अन्ततः गाईजात्रा केवल मृतकको सम्झनामा निकालिने एउटा जात्रा होइन । यो मृतकप्रतिको श्रद्धा, जीवितप्रतिको सहानुभूति, समाजप्रतिको जिम्मेवारी र सत्ताप्रतिको प्रश्न हो । यो दुःखलाई सामूहिक शक्तिमा बदल्ने सँस्कार हो । यो नेपाली समाजले आफ्नै अनुहार आफैँलाई देखाउने साँस्कृतिक ऐना हो । गाईजात्रा हाम्रो विगतको अवशेष होइन; यो वर्तमानलाई प्रश्न गर्दै भविष्यको नेपाली पहिचान जोगाइरहेको जीवन्त परम्परा हो । त्यसैले यसको संरक्षण केवल एउटा पर्वको संरक्षण होइन–हाम्रो स्मृति, हाम्रो संवेदना, हाम्रो सिर्जनशीलता र हाम्रो साँस्कृतिक आत्माको संरक्षण हो ।









