2026 September 11/ 04:32: 34pm

    बनेपा/जिल्लाको व्यापारिक तथा ऐतिहासिक नगरी बनेपामा १ सय २४ वर्षदेखि निरन्तर हुँदै आएको बृहत् कन्या पूजा सम्पन्न भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुँदै आएको बनेपाको कन्या पूजा धार्मिक आस्था, सांस्कृतिक परम्परा र ऐतिहासिक महत्वका कारण विशेष मानिँदै आएको छ ।
    बनेपामा हुँदै आएको कन्या पूजालाई संस्कृति संरक्षणसँगै पर्यटन प्रवद्र्धनसँग जोडेर अघि बढाउनुपर्ने इतिहासविद्हरूले बताउँदै आएका छन् । यस वर्षको कन्या पूजामा ७ हजारभन्दा बढी कन्याको पूजा गरिएको कन्या पूजा प्रबन्ध समितिले जनाएको छ । सनातन कन्या पूजा प्रबन्ध समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले हरेक वर्ष हर्षोल्लासका साथ कन्या पूजा मनाउँदै आएको बताए। उनका अनुसार यस वर्ष रसुवामा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विगतका वर्षको तुलनामा पूजा कार्यक्रमलाई बृहत्तर नबनाइएको हो ।
    कन्या पूजामा अविवाहित, रजस्वला नभएका तथा बेल विवाह नगरिएका कन्याहरूलाई विभिन्न धार्मिक विधिअनुसार पूजा गर्ने परम्परा छ । कन्याहरूलाई पूजा गर्दा उनीहरूको सु–स्वास्थ्य, शुभ–मङ्गल र सुखमय जीवनको कामना गरिन्छ। कन्याहरूको आशीर्वादबाट मन हलुङ्गो हुने, आत्मसन्तुष्टि प्राप्त हुने तथा मनोकांक्षा पूरा हुने विश्वाससमेत रहँदै आएको छ । बनेपामा सुरु भएको यो परम्परा अहिले बनेपा आसपासका साँगा, बुडोल, नाला, चौकोट, धुलिखेल, पनौती, धनेश्वरलगायतका विभिन्न स्थानमा समेत विस्तार भएको छ। बनेपाको कन्या पूजा व्यवस्थापनका लागि कन्या पूजा प्रबन्ध समिति गठन गरिएको छ । समितिका उपाध्यक्ष वैद्यले बाजे–बराजुले सुरु गरेको परम्परालाई निरन्तरता दिन जतिसुकै खर्चिलो भए पनि पूजा आयोजना गर्दै आएको बताए । उनले भने – ‘घरबाट सुरु गरिएको कन्या पूजा अहिले नेपालमै नमुना भएको छ। बाजे–बराजुले सुरु गरेको संस्कृतिलाई निरन्तरता दिने अभियानमा छौँ ।’ बनेपाका आसपासका सात गाउँका कन्याहरूलाई बनेपामा ल्याएर पूजा गर्ने परम्परालाई व्यवस्थित बनाउन समिति गठन गरिएको हो। कोषमा जम्मा भएको रकमको ब्याजबाट कन्या पूजाको व्यवस्थापन हुँदै आएको समितिले जनाएको छ । बनेपाको भोलाखाटोलबाट सुरु हुने पूजाअघि भोलाखा गणेशको पूजा गरिन्छ । त्यसपछि विधिअनुसार पूजा, टीका र जंजका (काँचो धागो) लिएर कन्या पूजा सुरु गरिन्छ । कन्याहरूलाई स्वारी, मालपुवा, चकलेट, छोकडा, बिस्कुट, सिजनअनुसारका खानेकुरा, फ्रुटी, चाउचाउ तथा दक्षिणालगायतका सामग्री प्रदान गरिन्छ । यस वर्ष एउटी कन्यालाई करिब पाँच सय रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइएको समितिले जनाएको छ ।
    पूजा भोलाखाटोलबाट सुरु भई स्वधाटोल, वकुटोल हुँदै दक्षुटोलसम्म पुग्ने र त्यसपछि लायकु ध्वाखा हुँदै पुनः भोलाखाटोलमा पुगेर विसर्जन गर्ने परम्परा छ । बाटोका दायाँतर्फका सडक पेटीमा आसनमा बसिरहेका कन्याहरूलाई क्रमशः पूजा गर्दै यो धार्मिक तथा सांस्कृतिक यात्रा सम्पन्न गरिन्छ । बनेपाको कन्या पूजा एक सय वर्षभन्दा लामो समयदेखि निरन्तर चल्दै आएको महत्वपूर्ण सांस्कृतिक परम्परा भएकाले यसको संरक्षण, दस्तावेजीकरण र प्रचारप्रसार आवश्यक रहेको स्थानीयहरूको भनाइ छ । धार्मिक आस्थासँगै ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यस परम्परालाई पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा समेत विकास गर्न सकिने देखिन्छ ।
    कन्या पूजा प्रबन्ध समितिको नेतृत्व रामगोपाल कायस्थले गर्दै आएका छन् । समितिको उपाध्यक्षमा सुरकृष्ण वैद्य, सचिवमा प्रकाश कायस्थ र कोषाध्यक्षमा दिनेश कायस्थ रहेका छन्। सदस्यहरूमा ध्रुवराज कर्माचार्य, रामेश्वर श्रेष्ठ, निरञ्जुल कायस्थ, मणिराज कायस्थ, ग्रुवेन तौजले, शुभराज जोशी, प्रताप वैद्य र उदय सिं मुस्याजु रहेका छन् ।