2026 May 15/ 05:46: 36pm

प्रदिप हुमागाई
          काठमाडौँको एक व्यस्त कफी शपमा सुमन (एकजना काल्पनिक पात्र) आफ्ना दुई साथीसँग बसेको छ  । टेबलमाथि चिसिँदै गरेको कफीभन्दा तातो छ उनीहरूको भविष्यको छलफल । एकजना अष्ट्रेलिया जाने तयारीमा छ, अर्को दुबईबाट भर्खर फर्किएको छ, र सुमन भने अझै दोधारमा छ । मोबाइलको स्क्रिनमा उसले एकातिर विदेशका रोजगारीका विज्ञापनहरू देखिरहेको छ भने अर्कोतिर नेपालमै आयोजना हुने एउटा स्टार्टअप कार्यक्रमको सूचना । उसले आफैंलाई सोध्छ, “के म यहिँ केही गर्न सक्छु ?”
यो प्रश्न केवल सुमनको होइन; आजको नेपाली युवाको साझा मनोदशा हो । आजको नेपाली युवाको मनोविज्ञान बुझ्न यो प्रश्नको उत्तर सरल छैन । विदेश जाने निर्णय केवल पैसासँग मात्र सम्बन्धित छैन; यो अनुभव, अवसर, सामाजिक धारणा र व्यक्तिगत आकांक्षाको मिश्रण हो । विदेशमा काम गर्ने युवाहरूको अनुभव एकनासको हुँदैन । युरोप, अष्ट्रेलिया, अमेरिका वा जापानजस्ता विकसित देशहरूमा धेरैजसोले घण्टाको आधारमा पारिश्रमिक पाउँछन्, जहाँ मेहनत र आम्दानीबीच प्रत्यक्ष सम्बन्ध देखिन्छ । यसले श्रमको मूल्यबोध र आत्मनिर्भरता बढाउँछ ।
           तर खाडी मुलुकहरूमा अवस्था केहि फरक छ । त्यहाँ प्रायः मासिक तलबको प्रणाली हुन्छ, तर नेपालभन्दा तुलनात्मक रूपमा उच्च आम्दानी, आवास सुविधा, र स्थिर रोजगारीले धेरै युवाका लागि आकर्षक विकल्प बनेको छ । मुख्य कुरा के हो भने विदेशमा धेरै युवाले आफ्नो श्रमको मूल्य नेपालभन्दा बढी पाएको अनुभव गर्छन् । यही अनुभवले उनीहरूको अपेक्षा बदल्छ । जब उनीहरू नेपाल फर्किन्छन्, त्यही अनुभव उनीहरूका लागि द्वन्द्वको कारण बन्छ । यहाँ तलब मासिक हुन्छः स्थिर, सीमित, र प्रायः उत्पादकता वा अतिरिक्त कामसँग प्रत्यक्ष सम्बन्ध नभएको । एकजना स्नातक तह उत्तिर्ण युवाले प्रायजसोः धेरै क्षेत्रमा पाउने २५–३० हजार रुपैयाँको मासिक तलबले उसलाई लाग्छ, “मैले यति पढेर, यति मेहनत गरेर पाउने यति हो?” यो केवल पैसाको तुलना होइन; यो आत्मसम्मान र अपेक्षाको तुलना हो ।
              विदेशमा बस्दा उनीहरूले केवल पैसा मात्र कमाउँदैनन् । उनीहरूले एउटा व्यवस्थित समाज देख्छन् जहाँ कामको स्पष्ट परिभाषा हुन्छ, समयको कदर हुन्छ, र प्रणालीले काम गर्छ । सेवा लिन लाइन बस्नुपर्दैन, सानो कामका लागि चिनजान खोज्नुपर्दैन, र नियम सबैका लागि बराबर हुन्छ । यसले उनीहरूलाई “प्रगति” को अनुभूति दिन्छ । तर विदेशको कथा सधैँ चम्किलो मात्र हुँदैन । धेरै युवाले कठिन श्रम, लामो कार्यघण्टा, पारिवारिक दूरी र सामाजिक एक्लोपन पनि भोगिरहेका हुन्छन् । खाडी मुलुकहरूमा श्रम सुरक्षा, कामको प्रकृति, र अधिकारसम्बन्धी चुनौतीहरू अझै पनि चर्चाको विषय छन् । विकसित देशहरूमा पनि उच्च आम्दानीसँगै उच्च जीवनयापन खर्च, कर, र प्रतिस्पर्धाको दबाब हुन्छ ।
तर समाजमा देखिने कथा प्रायः सफलताको हुन्छः घर बनेको, ऋण तिरेको, जीवनस्तर सुधारिएको । यसले विदेशलाई “सफलताको सुनिश्चित बाटो” जस्तो बनाइदिन्छ । यसरी, विदेशको आकर्षण र स्वदेशको निराशा बीचको दूरी केवल आर्थिक होइन, यो त मनोवैज्ञानिक र सामाजिक निर्माण हो ।
तर प्रश्न उठ्छ–के नेपाल साच्चिकै अवसरहीन छ ?
             जवाफ सरल छैन । नेपालमा अवसरहरू छन्–सूचना प्रविधि, पर्यटन, कृषि, ऊर्जा, उद्यमशीलता जस्ता क्षेत्रमा नयाँ सम्भावनाहरू देखिन थालेका छन् । केही युवाहरूले यहीँ बसेर सफल व्यवसाय पनि सुरु गरेका छन् । यहाँ बस्नुका आफ्नै फाइदाहरू पनि छन् । आफ्नो परिवार र सामाजिक सञ्जालसँग नजिक रहनु, कम जीवनयापन खर्च, स्थानीय सन्दर्भअनुसार अवसर पहिचान गर्ने सम्भावना, र दीर्घकालमा आफ्नो देशको विकासमा प्रत्यक्ष योगदान दिने सन्तुष्टि यहाँ बस्नुका मुख्य–मुख्य फाईदाहरु हुन्  ।
यी अवसरहरू अझै सीमित छन्, सबैका लागि पहुँचयोग्य छैनन्, र संरचनागत समस्याले ग्रसित छन् । शिक्षा प्रणाली अझै बजारको आवश्यकतासँग पूर्ण रूपमा जोडिएको छैन । धेरै युवाहरू डिग्री लिएर निस्कन्छन्, तर सीप र व्यवहारिक ज्ञानको अभावले उनीहरू प्रतिस्पर्धामा पछि पर्छन् । उद्योग क्षेत्र कमजोर छ, लगानी वातावरण स्थिर छैन, र उद्यम सुरु गर्न प्रक्रिया जटिल छ । सबैभन्दा ठूलो कुरा–यहाँ मेहनत र प्रतिफलबीचको सम्बन्ध अझै स्पष्ट छैन । त्यसैले, युवालाई देशभित्रै भविष्य देखाउनका लागि केवल “देशमै बस” भन्नु पर्याप्त हुँदैन । उनीहरूले विदेशमा देखेको र भोगेको अनुभवलाई ध्यानमा राखेर प्रणाली परिवर्तन गर्नुपर्छ ।
             विशेषगरी, विदेशमा कमाएको सीप, अनुभव र पूँजीलाई नेपालमा लगानी गर्ने सम्भावना अत्यन्त महत्वपूर्ण छ । धेरै सफल उद्यमहरू यस्तै फर्किएका युवाहरूले सुरु गरेका उदाहरणहरू छन् । यदि सही वातावरण बनाइयो भने, विदेश गएको अनुभव नै देशको विकासको आधार बन्न सक्छ । यहीँनेर सन्तुलनको आवश्यकता देखिन्छ । विदेश जानु गलत होइन, यो व्यक्तिगत निर्णय हो, जसले आर्थिक सुधार र सीप विकासमा योगदान दिन सक्छ । तर सबै समाधान विदेशमै खोज्नु पनि दीर्घकालीन रूपमा दिगो विकल्प होइन ।
त्यसैले प्रश्न “विदेश कि स्वदेश ?” भन्दा पनि “कसरी दुवै अनुभवलाई जोड्ने?” भन्ने हुनुपर्छ ।
               युवालाई देशभित्रै भविष्य देखाउनका लागि अबको बाटो स्पष्ट छ तर सजिलो छैन । शिक्षा प्रणालीलाई बजारसँग जोड्नुपर्छ, सीपमूलक बनाउनु पर्छ । रोजगारी र पारिश्रमिक संरचनामा सुधार गर्दै मेहनतको उचित मूल्य सुनिश्चित गर्नुपर्छ । उद्यमशीलतालाई वास्तविक रूपमा प्रोत्साहन गर्नुपर्छ जसका लागि सहुलियत ऋण, सरल प्रक्रिया, र असफलतालाई स्वीकार गर्ने संस्कार निर्माण हुनु जरुरी हुन्छ । र सबैभन्दा महत्वपूर्ण कुरा  नीतिगत स्थिरता र सुशासनमार्फत विश्वासको वातावरण निर्माण गर्नुपर्छ ।
साथै, समाजले पनि आफ्नो दृष्टिकोण बदल्नुपर्छ । विदेश जानु मात्र सफलता होइन, स्वदेशमै केही गर्नु पनि उत्तिकै सम्मानजनक र महत्वपूर्ण हो भन्ने सोच विस्तार गर्नुपर्छ । सुमनको कथा फेरि सम्झिउँ त । उसले अन्ततः के निर्णय गर्छ भन्ने महत्त्वपूर्ण हुन सक्छ, तर त्योभन्दा ठूलो कुरा के हो भने उसँग विकल्पहरु हुनु  । यदि देशले आफ्ना युवालाई विकल्पहरु दिन सक्यो भने, त्यस दिन “विदेश जानुपर्ने बाध्यता” होइन, “रोज्ने अवसर” हुनेछ ।
           अन्ततः, युवालाई देशभित्रै भविष्य देखाउनु भनेको विदेशलाई अस्वीकार गर्नु होइन; यो स्वदेशलाई पनि उत्तिकै सम्भावनायुक्त बनाउने प्रयास हो । जहाँ युवा भन्छन्, “म बिदेश गएर सिक्न सक्छु, तर फर्केर यहीँ निर्माण पनि गर्न सक्छु ।”