2026 May 15/ 05:46: 36pm

    पाँचखाल/पाँचखालमा कृषि उत्पादनको प्रवद्र्धन तथा सुरक्षित तरकारी खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले दुई दिने कृषि मेला सम्पन्न भएको छ । पाँचखाल नगरपालिका र प्यारो हरियो नेपालको संयुक्त आयोजनामा तामाघाट बोहोरे दोभान चोकस्थित कृषि उपज संकलन तथा बजार केन्द्रमा मेला आयोजना गरिएको हो । 
    मेलाको उद्घाटन नगरप्रमुख महेश खरेलले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पाँचखाललाई ‘कृषि शहर’को रूपमा परिचित गराउँदै यहाँ उत्पादन हुने तरकारीमा विषादीको मात्रा न्यून रहेको बताए । उनका अनुसार लवग्रीन नेपालको सहकार्यमा नगरपालिकाका १ हजार २ सयभन्दा बढी कृषकलाई आई.पि.एम. (एकीकृत कीरा व्यवस्थापन) पद्धतिबाट तरकारी खेती सम्बन्धी तालिम प्रदान गरिएको छ । उक्त प्रविधिको प्रयोगले स्थानीय तरकारी उत्पादन क्रमशः अर्गानिकतर्फ उन्मुख भएको उनले उल्लेख गरे । नगरप्रमुख खरेलले कृषककै अग्रसरतामा साप्ताहिक कृषि हाटबजार सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि नगरपालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
    कार्यक्रमका सभापति तथा लवग्रीन नेपालका महासचिव राजिव रत्न शाक्यले पाँचखाल नगरपालिकामा विगत नौ वर्षदेखि आई.पि.एम. सम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिए । उनले पाँचखाल नगर कृषि शहर भन्ने मूल नारालाई आत्मसात गर्दै नगरपालिकाले स्वस्थ र सुरक्षित कृषि उत्पादनलाई प्राथमिकता दिएको बताए । आई.पि.एम.तालिमले मानव स्वास्थ्य संरक्षण, उत्पादन वृद्धि तथा कृषकको आम्दानी बढाउन महत्वपूर्ण योगदान पु¥याएको उनको भनाइ थियो । लवग्रीन नेपालले २०७४ सालदेखि पाँचखाल नगरपालिकासँग सहकार्य गर्दै रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोग न्यूनीकरण गर्ने अभियान सञ्चालन गरिरहेको जनाएको छ । त्यसको सकारात्मक प्रभावस्वरूप विषादी परीक्षणका नतिजामा सुधार आएको र धुलिखेल, बनेपा, काठमाडौंलगायत १६ स्थानमा आई.पि.एम. पहिचान सहित पाँचखालका तरकारी बिक्री भइरहेको शाक्यले बताए ।
    उनका अनुसार वि.सं.२०८० सालको असोजदेखि सञ्चालन गरिएको ताजा आई.पि.एम. तरकारी उत्पादन तथा बजारीकरण परियोजना अन्तर्गत गत चैत मसान्तसम्म १२ लाख ८ हजार किलोभन्दा बढी तरकारी आई.पि.एम. पहिचानसहित बजारमा बिक्री भइसकेको छ । कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष संजय लामा, राष्ट्रिय कृषि कम्पनी नेपालका अध्यक्ष विशाल हुमागाई तथा कृषक सजन गिरीलगायतले कृषि मेलाको महत्वबारे धारणा राखेका थिए । मेलामा बाली शिविर सञ्चालन, रैथाने उत्पादनहरूको प्रदर्शनी तथा बिक्री, कृषि उपजहरूको प्रतिस्पर्धात्मक कार्यक्रम, कृषक तथा कृषक समूहसँग प्रत्यक्ष संवाद, आई.पि.एम. पद्धतिबाट उत्पादित कृषि उपजहरूको प्रदर्शनी तथा बिक्री, पाँचखालमा उत्पादित आलुलगायतका परिकारको प्रस्तुति, उत्कृष्ट कृषक तथा समूहलाई पुरस्कार र सम्मानको व्यवस्था गरिएको नारायण प्रसाद ज्ञावालीले जानकारी दिए ।