– नवराज केसी
मानव सभ्यताले विज्ञान र प्रविधिको क्षेत्रमा प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि मध्ये एक हो सूचनामा सबैको सहज पहुँच । कुनै समय एउटा पुस्तक पाउन, समाचार थाहा पाउन वा नयाँ कुरा सिक्न महिनौँ लाग्थ्यो । आज मोबाइल फोनको एउटा स्पर्शमै संसारभरका समाचार, विचार, तर्क वितर्क, इतिहास, धर्म, राजनीति, अर्थतन्त्रदेखि व्यक्तिगत जीवनशैलीसम्मका असंख्य सामग्री हाम्रो अगाडि उपस्थित हुन्छन् । यो परिवर्तन निसन्देह हाम्रो लागि ऐतिहासिक र उपयोगी छ । तर यही सुविधासँगै एउटा गम्भीर समस्या पनि बढ्दै गएको छ त्यो हो सूचनाको भार र ज्ञानको भ्रम ।
आज धेरै मानिसहरू आफूले प्राप्त गरेको सूचना नै ज्ञान हो भन्ने मान्यता बनाउन थालेका छन् । कुनै विषयमा केही भिडियो हेरेपछि, केही पोस्ट पढेपछि वा केही टिप्पणी सुनेपछि आफू त्यस विषयको जानकार भइसकेको अनुभूति गर्ने प्रवृत्ति तीव्र बन्दै गएको छ । तर मलाई लाग्छ सूचना र ज्ञान एउटै कुरा होइनन् । सूचना कच्चा सामग्री हो भने ज्ञान त्यसको परीक्षण, विश्लेषण, अनुभव र गहिरो अध्ययन एवं मनन पछि बन्ने परिपक्व निष्कर्ष हो । केवल धेरै कुरा सुन्नु वा पढ्नु मात्रले मानिस विज्ञ हुन सक्दैन तर सामाजिक सञ्जालले यो भ्रमलाई अझ बलियो बनाएको छ । छोटा भिडियो, आकर्षक शीर्षक, उत्तेजक बहस र छिटो प्रतिक्रिया दिने प्रवृत्तिले मानिसलाई सोचेर बोल्नेभन्दा तुरुन्त प्रतिक्रिया दिन प्रेरित गरेको छ । परिणामस्वरूप, अध्ययनभन्दा मत धेरै भएका छन्, तथ्यभन्दा भावना बलिया भएका छन्, र विषयको वास्तविक गहिराइभन्दा हल्ला प्रभावशाली बनेको छ । अहिलेको सन्दर्भमा धेरैजसो मानिस आफूले पूरा नबुझेका विषयमा पनि दृढ विश्वासका साथ टिप्पणी गरिरहेका हुन्छन् । उनीहरूलाई लाग्छ ‘मैले देखेको छु, सुनेको छु, त्यसैले म जान्दछु ।’ यही सोचले उ स्वयंलाई कमजोर बनाएको छ ।
यसको अर्काे असर व्यक्तिको आफ्नै जीवन र पेशामा पनि देखिन्छ । मानिस जुन क्षेत्रमा पेशागत रूपमा निरन्तर लागिपरेको छ त्यो क्षेत्रमा उ दक्ष हुन सक्छ, जहाँ उसले वास्तविक रूपमा क्षमता देखाउन सक्छ, त्यसमै उसले आफ्नो समय र ध्यान दिनुपर्ने हो । तर आज धेरै मानिस आफ्नो ऊर्जा आफ्नो विषय विज्ञता बाहेकका अरू नै विषयमा अनावश्यक बहसमा खर्च गरिरहेका छन् । राजनीति, खेलकूद, धर्म, ईतिहास, अन्तर्राष्ट्रिय सम्बन्ध, मनोरञ्जन हरेक विषयमा मत दिन व्यस्त हुँदा आफ्नै पेशागत विकास, सीप अभिवृद्धि र व्यक्तिगत उन्नतिमा ध्यान कम हुन थालेको छ । यस्तो अवस्थामा न व्यक्ति आफ्नो क्षेत्रमा उत्कृष्ट बन्छ, न अरू क्षेत्रमा सार्थक योगदान दिन सक्षम हुन्छ । परिवार र समाजमा पनि यसको असर गम्भीर रूपमा देखिएको छ । सामाजिक सञ्जालबाट बनेका धारणाले घरभित्रै तिक्तता बढाएको थुप्रै उदाहरण छन् । एउटै परिवारका सदस्य फरक सूचना स्रोतबाट प्रभावित भएर एकअर्कालाई शत्रुजस्तै व्यवहार गर्न थालेका छन् । पारिवारिक बेमेल बढिरहेको छ । मित्रता टुट्ने, सम्बन्ध चिसिने, समुदाय विभाजित हुने अवस्था बढ्दो छ । कुनै पनि कुराको बहस स्वस्थ रूपमा हुनुपथ्र्याे, तर अहिले बहस धेरै ठाउँमा आरोप, अपमान, रिस, राग र द्वेषमा रूपान्तरण भएको देखिन्छ ।
धार्मिक र ऐतिहासिक विषयमा त झन् बढी सावधानी आवश्यक हुनुपर्ने देखिन्छ । आधा अधुरा तथ्य, काटछाँट गरिएका सामग्री, भावनात्मक प्रचार वा गलत व्याख्याले समाजमा अनावश्यक तनाव सिर्जना भइरहेको छ । इतिहासका पात्रहरूलाई सन्दर्भबाहिर तानेर विवाद खडा गर्ने, धार्मिक मान्यतामाथि उक्साहटपूर्ण टिप्पणी गर्ने, वा राष्ट्रिय गौरवसँग जोडिएका विषयलाई सनसनी बनाउने प्रवृत्ति दीर्घकालीन रूपमा खतरनाक हुन सक्छ । राष्ट्रको मानसम्मान, सामाजिक सद्भाव र साँस्कृतिक एकता यस्ता कार्यबाट कमजोर हुन सक्छ ।
तर पनि यसको अर्थ इन्टरनेट वा सामाजिक सञ्जाल पूर्णरूपमा खराब हुन् भन्ने मनसाय मेरो होइन । यी साधनहरू अत्यन्त उपयोगी छन् खास गरेर शिक्षा, स्वास्थ्य व्यवसाय, विपद् व्यवस्थापन, सिर्जना, रोजगारी, विश्वव्यापी सम्पर्क र लोकतान्त्रिक अभिव्यक्तिमा यसको ठूलो भूमिका छ । समस्या साधनमा कदापि होइन, प्रयोगको शैलीमा हो जस्तो लाग्दछ । चक्कुले फल काट्न पनि सकिन्छ, घाउ बनाउन पनि सकिन्छ । त्यसैगरी डिजिटल माध्यमले समाजलाई जोड्न पनि सक्छ, फुटाउन पनि सक्छ ।
त्यसैले यो समस्याको समाधान निषेध होइन, नियमन र सचेतता पूर्वक प्रयोग हो । राज्यले गलत सूचना प्रवाह, घृणात्मक सामग्री, ठगी र हिंसात्मक उक्साहट नियन्त्रण गर्ने स्पष्ट नीतिहरू बनाउनुपर्छ जस्तो लाग्दछ । यस्ता कुरामा सम्बन्धित सबै प्लाटफर्महरूले पनि जिम्मेवारी लिनुपर्छ तर कानुनभन्दा ठूलो कुरा नागरिक चेतना पनि हो । यदि प्रयोगकर्ता आफैं सचेत भएनन् भने कुनै नियमले मात्र समस्या समाधान गर्दैन । हामीले व्यक्तिगत तहमै केही आधारभूत बानी सुधार्न आवश्यक छन् । पहिलो, देखेको, सुनेको सबै कुरा सत्य मान्ने बानी त्याग्नुपर्छ । स्रोत जाँच्ने, तथ्य पुष्टि गर्ने र सन्दर्भ बुझ्ने संस्कार विकास गर्नुपर्छ । दोस्रो, हरेक विषयमा मत दिनैपर्छ भन्ने दबाबबाट मुक्त हुनुपर्छ । थाहा नपाउनु कदापि कमजोरी होइन गलत आत्मविश्वास चाहिँ कमजोरी हो । तेस्रो, आफ्नो समय र ऊर्जा आफैले जानेको क्षेत्रमा आफ्नो दक्षता विकासमा लगानी गर्नुपर्छ । जुन क्षेत्रमा हाम्रो क्षमता छ, त्यही क्षेत्रमा निरन्तर अभ्यास, अध्ययन र श्रमले मात्र विशेषज्ञता दिन्छ । चौथो, कुनै पनि कुरामा असहमति हुँदा पनि सभ्य संवादको संस्कार अपनाउनुपर्छ । आज हाम्रो समाजलाई धेरै जान्ने देखिने मानिसभन्दा सही ढंगले जान्ने मानिस चाहिएको छ । धेरै बोल्नेभन्दा जिम्मेवारीपूर्वक बोल्ने मानिस चाहिएको छ । धेरै प्रतिक्रिया दिनेभन्दा परिणाम दिने मानिस चाहिएको छ । अहिलेको यो सूचनाको युगमा सबैभन्दा ठूलो सीप सूचना पाउनु होइन, सही सूचना छनोट गर्नु, त्यसलाई बुझ्नु र उपयोगी ज्ञानमा रूपान्तरण गर्नु हो ।
अन्ततः, व्यक्तिले आफ्नो क्षेत्रमा पोख्त बन्ने प्रयास गर्नुपर्छ । किसानले खेतीमा दक्षता विकास गरेर उत्पादन बढाओस् शिक्षकले शिक्षणमा गहिराइ ल्याओस् व्यवसायीले व्यवसायमा निपूर्णता बढाओस् कर्मचारीले सेवा सुधारी, विद्यार्थीले अध्ययनमा आफूलाई समर्पण गरून् । जब मानिस आफ्नै काममा उत्कृष्ट बन्न थाल्छ, समाज स्वतः सही दिशातर्फ जान्छ तर यदि हामी सबै विषयका सतही विज्ञ, ढोंगी खालको ज्ञानी बन्न खोज्यौँ भने न आफू सफल हुन्छौँ, न समाजलाई सभ्य राख्न सक्छौँ ।









