2026 May 01/ 05:53: 21pm

बनेपाबाट नयाँ लाइसेन्सका लागि ट्रायल दिन सकिने भएको छ 
    बनेपा/सरकारले सुशासन, सहज सेवा प्रवाह र प्रविधिमैत्री प्रशासनको नारा अघि सारेसँगै वर्षौंदेखि राजस्व तिरेर पनि समयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नपाएका नागरिकलाई अब नयाँ स्वरूपमा सेवा दिन थालेको छ । 
    चिप्सयुक्त स्मार्ट कार्ड लाइसेन्सको प्रक्रिया अगाडि बढाउन नसकेपछि सेवाग्राहीलाई क्युआर कोड सहितको लाइसेन्स पाउने भएका छन् । तर नागरिकले सरकारलाई चिप्स सहितको राजश्व बुझाएको भए पनि सस्तो मुल्यको क्युआर समावेश भएको लाईसेन्स प्रिन्ट गरेर वितरण गर्न थालिएको हो । ढिलासुस्ती, छपाइ अभाव, वितरणको अन्योल र कार्यालय धाउनुपर्ने बाध्यताबाट हैरान बनेका नागरिकका लागि केही राहत मिले पनि सरकारले यस अघि मोवाईलबाट हेर्न सकिने गरी नागरिक एपमा लाईसेन्स उपलब्ध गराएको थियो । यातायात व्यवस्था कार्यालय काभ्रेपलाञ्चोक, बनेपाले वैशाख ९ गतेदेखि नयाँ लाइसेन्स र वर्ग थपको आवेदन दर्ता पुनः सुरु गरेसँगै स्थानीय सेवाग्राही उत्साहित भएका छन् ।
    कार्यालय प्रमुख राजु प्रसाद मैनालीका अनुसार अब बनेपाबाटै नयाँ आवेदन, वर्ग थप, लिखित परीक्षा र ट्रायलसमेत सञ्चालन हुनेछ । ‘सेवा सुरु भएको छ, क्रमशः सुधार गर्दै थप आवश्यक सेवा पनि विस्तार गरिनेछ’– उनले बताए । बनेपाबाट लाइसेन्स सेवा सुरु गर्ने कि नगर्ने भन्ने विषय लामो समयदेखि विवादमा थियो । सरकारी तहकै ढिलाइ, निर्णयहीनता र विभिन्न स्वार्थ समूहको चलखेलका कारण सेवा सुरु हुन सकेको थिएन । विशेषगरी ट्रायल सेन्टरहरूसँग सम्बन्धित केही पक्षले यस विषयमा प्रभाव पार्ने प्रयास गरेको आरोपसमेत लाग्दै आएको थियो । तर अहिले कार्यालयले पहिलो चरणमा ए, बी, सी, सी–वन, डी र ई वर्गसम्मका सवारी साधनका लागि सेवा उपलब्ध गराउने जनाएको छ । यसले काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर र आसपासका जिल्लाका सेवाग्राहीलाई काठमाडौं धाउनुपर्ने बाध्यता केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ ।
    यसअघि आवेदन फाराम भर्न, लिखित परीक्षा दिन वा ट्रायलका लागि भक्तपुर जानुपर्ने अवस्था थियो । तर अब बनेपाबाटै आवेदन फाराम दर्ता, लिखित परीक्षा र ट्रायल उपलब्ध गराइने भएपछि सेवाग्राहीलाई समय, पैसा र झन्झट दुवै बच्ने भएको छ । स्थानीयवासीहरूका अनुसार बनेपामा सेवा सुरु हुनु निकै ढिलो भए पनि अब प्रभावकारी रूपमा सञ्चालन भए ठूलो राहत मिल्नेछ । ‘राजस्व लिने बेला छिटो, सेवा दिने बेला वर्षौं कुर्नुपर्ने अवस्था थियो’– एक सेवाग्राहीले गुनासो गरे । सरकारले लाइसेन्स छपाइको कामलाई पनि तीव्रता दिएको जनाएको छ । काभ्रेपलाञ्चोककै पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रबाट २०८२ कात्तिक २१ गतेदेखि सवारी चालक अनुमति पत्र छाप्न सुरु गरिएको थियो । यातायात व्यवस्था विभाग र केन्द्रबीच भएको सम्झौताअनुसार छ महिनाभित्र १२ लाख थान लाइसेन्स छापेर उपलब्ध गराउनुपर्ने लक्ष्य राखिएको थियो । सुरुका महिनामा प्राविधिक जनशक्ति अभावका कारण काम सुस्त गतिमा भए पनि अहिले छपाइले गति लिएको छ ।
    केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार हाल दैनिक करिब ४० हजार थान लाइसेन्स छापिँदै आएको छ । आवश्यक सबै संयन्त्र पूर्ण रूपमा सञ्चालनमा आए दैनिक ५० हजार थानसम्म छाप्न सकिने क्षमता केन्द्रसँग रहेको उनले बताए । तर लेमिनेसन मेसिन एउटामात्र भएकाले छपाइको अन्तिम प्रक्रियामा केही ढिलाइ हुने गरेको उनको भनाइ छ । हाल केन्द्रमा ९ इन्जिनियर र १६ प्राविधिक कर्मचारी गरी २५ जना जनशक्ति दैनिक लाइसेन्स छपाइमा खटिएका छन् । छ महिनामा १२ लाख थान छाप्ने सम्झौताअनुसार हालसम्म करिब ३० प्रतिशत लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गरिसकिएकोे छ । यसले लामो समयदेखि थन्किएका आवेदनहरू क्रमशः वितरण हुने आशा जगाएको छ । हजारौं सेवाग्राहीले वर्षौंदेखि रसिद बोकेर लाइसेन्स कुर्नुपरेको अवस्था हट्ने संकेत देखिएको छ ।
    सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स मात्र होइन, अन्य संवेदनशील सामग्री छपाइको काम पनि गरिरहेको छ । केन्द्रले हालसम्म ३० लाख थान हुलाक टिकट छापेर हस्तान्तरण गरिसकेको छ भने आगामी दिनमा डेढ करोड थान छाप्ने योजना रहेको छ । राहदानी, बैंक नोट लगायतका सुरक्षा संवेदनशील सामग्री छपाइका लागि विदेशमा जाने ठूलो रकम स्वदेशमै रोक्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि यो परियोजना अघि बढाएको थियो । पनौती नगरपालिका–५ धनेश्वरमा स्थापना गरिएको सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रेस) अब क्रमशः राष्ट्रिय आवश्यकता पूरा गर्ने केन्द्रको रूपमा विकसित हुँदै गएको छ । क्युआर कोडयुक्त नयाँ लाइसेन्स, स्थानीय स्तरमै आवेदन र ट्रायल, स्वदेशमै छपाइ जस्ता सुधारहरू व्यवहारमै प्रभावकारी भए मात्र नागरिकले राहत महसुस गर्नेछन् ।