2026 May 10/ 05:19: 55pm

राम कुमार न्यौपाने
            यो भन्दा अघिल्लो लेखनमा इसाई विचारधारा अन्र्तगत इसाईको छोटो परिचय दिने सानो प्रयास गरेको थिएँ । एउटा स्पष्टीकरण यो पनि दिइराखौं, जुन विचारहरू म राख्दै जाने छु त्यसमा १००% सबै सहमत नहुन सक्लान् त्यसैले मेरो लेखाइको म आफू जिम्मेवार हुनेछु । कसैले त्यो हाम्रो विचार होइन भन्न सक्नेछन् त्यसमा पनि मेरो कुनै आपत्ति छैन । म एक निष्ठावान् इसाईकै परिचयमा लेख्दै जानेछु र लक्षित पाठकहरू चाहिँ इसाई र गैर इसाई दुवै हुन् । उद्देश्य यो हो हामी सबै मानव हौं । सभ्य समाज निर्माणको साझा लक्ष्यमा सबै सकारात्मक भएर लागी परौं । सबै विचारको सम्मान गरौँ । भ्रम र गलत बुझाईमा कोही नपरौं । हरेक व्यक्तिको जन्मसिद्ध नैसर्गिक व्यक्तिगत स्वतन्त्रताको कदर गरौँ । म र मेरो समुदाय ठिक अरु बेठीक नभनौं, आफ्नो कुरा भन्न र अरुको कुरा सुन्न सकियोस् भनेरै हामी हाम्रो समाजमा छौं । यो समाजलाई कस्तो बनाउने हाम्रै सोच विचार र व्यबहार मा भर पर्ने कुरा हो । अतः हामी इसाई समुदाय सुन्दर समाज निर्माणका लागि सधैं सकारात्मक छौं ।
प्रकृति सम्बन्धि धारणा
प्रकृति ईश्वरको वरदान हो । यसलाई पुजा होइन उपयोग गर्न मान्छेलाई दिइएको हो । पुजा चाहिँ त्यसलाई गर्नु उपयुक्त हो जसले प्रकृतिलाई बनायो । बरु मानिसले यसलाई संरक्षण र सदुपयोग गर्नुपर्छ ।
–    यो सबैको साझा हो
–    सबैले माया गरौं, संरक्षण गरौं, प्रेम गरौं, सिकौं
प्रकृतिले भेदभाव गर्दैन हामी पनि नगरौं
–    जून घाम हावा पानी अक्सिजन सबैले पाउँछन्,
–    बनाउने ईश्वरले सबैलाई प्रेम गर्नुहुन्छ,
–    प्रकृतिले ईश्वरको अस्तित्व, महानता र प्रेम देखाउँछ त्यसबाट पनि हामीले सिक्नु पर्छ,
–    हामी पनि प्रकृति जस्तै भेदभाव नगर्ने हुनुपर्छ,
ईशाइ विश्वास र मान्यता
–    प्राकृतिक वरदानका रूपमा सृष्टिमा जेजति छन् ती सबै मानव जातिका लागि हुन् । जुन उद्देश्यका लागि बनाइएको हो त्यसकै लागि उपयोग र संरक्षण गर्नुपर्छ ।
–    प्रकृति नै ईश्वर होइन, यसलाई बनाउने कोही छ सर्वज्ञानी, सर्वशक्तिमान र सर्वव्यापी जसले हामी मानव जातिलाई यो वरदानका रूपमा दिनुभएको छ ईश्वर त्यही हो ।
नेपाली समाज धर्महरु र इसाई विश्वास
              नेपाली समाजमा धेरै धर्महरु र परम्पराहरु छन् । आ–आफ्नो विश्वास अनुसार मान्ने पुज्ने सबैको नैसर्गिक अधिकार हो । जसले जे विश्वास गर्छ उसको लागि त्यही नै ठूलो राम्रो र सत्य लाग्नु स्वाभाविक हो । त्यसकारण एकले अर्काेको धर्म आस्था वा विश्वासलाई होच्याउन, विरोध गर्न अपमान गर्न हुँदैन । कतैकतै त्यस्तो भएको छ भने त्यो जोसुकैबाट भएको भएपनि गलत हो ।
             इसाई विश्वासलाई पनि एउटा धर्मका रूपमा बुझ्ने गरेको छ त्यो स्थापित भैसकेको भाष्य हो । तर साँचो अर्थमा इसाई विश्वास केवल एउटै सत्यमा गरिने विश्वास मात्रै हो त्यो हो प्रेम बाइबल शास्त्र अनुसार अप्ठ्यारो पर्दा एकले अर्काको भार उठाउन मद्दत गर्नु प्रेम हो र त्यस्तो प्रेम (निस्वार्थ छ भने अर्थात मैले गरें भने उसले पनि मलाई गर्ला भनेर होइन) नै ईश्वर हो । ईश्वर प्रेम हुनुहुन्छ त्यो जिउँदो ईश्वर निर्जीव जिन्सीमा होइन मानव हृदयमा बस्नुहुन्छ । त्यसैले ईश+आइ ईश्वर आएर हृदयमा बास गरेको व्यक्ति इसाई हो । अर्काे अर्थमा ईश्वरको मन्दिर हो । यो एउटा विचार धारणा मात्र होइन जीवन्त अभ्यास हो किनभने यो आफैं आफ हुँदैन पहिले हामी मानिसले नितान्त स्वेच्छाले स्वीकार गरेर, अनुमती दिएपछि मात्रै सम्भव हुन्छ । धेरै वर्ष अघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले यात्री कवितामा यो विचारधारा पोखेका थिए । अतः नेपाली समाजमा भएका सच्चा इसाईहरु (नामधारी, छद्मभेषी छट्टु बाहेक) ईश्वरीय मानिसहरू हुन् ।
           त्यसकारण ख्रीष्टियन विश्वास एउटा धर्म पन्थ रीतिविधी नभएर निस्वार्थ प्रेमको व्यावहारिक अभ्यास हो । जुन कुराले ईश्वरलाई खुशी पार्छ र उहाँको इच्छा यही हो भन्ने विश्वास लाग्छ त्यो गर्ने जुन कुरा विश्वास लाग्दैन त्यो नगर्ने भएकाले कोही केही बाध्यताको बन्धन मा हुँदैनन् ।
सुन्दर र सभ्य समाज निर्माणमा ईशाइ समर्पित छन्
          इसाईहरु धर्म विरोधी होइनन् । पापबाट टाढा रहन होशियार र सामाजिक दायित्व पूरा गर्न प्रतिबद्ध हुने भएकाले समाज बिगार्नेहरु होइनन् । होइनौं । तर यहाँनेर सोलोढोलो सबै असल नहुन सक्छन् कोही यो सिद्धान्त र मुल्य मान्यतामा छैनन् भने ती वास्तविक इसाई होइनन् । जुनै समुदायमा पनि केही नक्कली र स्वार्थी प्रवृत्तिका मानिसहरू हुनसक्छन् जसले सिंगो समाजको बदनाम गराइरहेका हनसक्छन् ती सबैका बारेमा यो धारणा राखिएको होइन । त्सकारण तथ्य र सत्यतालाई नबुझी सोलोढोलोमा आरोप प्रत्यारोप नगरौं ।
हजारौं प्रकारका फूलको फूलबारी जस्तै असल नेपाली समाज स्वतन्त्र स्वाभिमानी राष्ट्र निर्माणका लागि सद्भाव साथ सहकार्य गर्नमा समर्पित समुदायको तर्फबाट,
लेखक पाँचखाल नगर ख्रीष्टियन समुदायका अध्यक्ष तथा काभ्रे ख्रीष्टियन समुदायका कोषाध्यक्ष हुनुहुन्छ ।