स्थानीय सरकार निर्वाचित भएको दुई वर्ष पुरा भएको छ। तेश्रो वर्षका लागि स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि टोल टोलमा भेला, अन्तक्र्रिया र वडागत रुपमा योजनाहरुको छनौट भईरहेको छ। तीन तहका सरकार मध्ये संघ र प्रदेश सरकारले बजेट सार्वजनिक गरेका छन्। बजेटले आशा जगाएको छ । उत्साह भरेको छ। अभावलाई टार्ने प्रयास गरिएको छ। विकटतालाई सुगमता तर्फ लगेको छ। जिल्ला विकास समिति हुँदै अहिलेका शक्तिशाली अधिकार सम्पन्न स्थानीय सरकार मार्फत प्रदेश र संघ सरकारले पनि बजेटहरु विनियोजन गरेका छन्।
जिल्लामा रहेका १३ वटा तह मध्ये डाँडापारी क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारत, कोशिपारीको चौरीदेउराली र भुम्लु, रोशी, बेथान्चोक दुर्गम मानिन्छन्। गाउँपालिकाका केहि भागहरु सुगम पनि छन्। नगरपालिकाका केहि वडाहरु पनि दुर्गम छन्। स्थानीय सरकारको प्रयास विकटतालाई सुगमतातर्फ ल्याउँदै स्थानीय नागरिकहरुको आर्थिक समृद्धलाई प्राथमिकता दिईरहेका छन्। विकट मानिएको खानीखोला गाउँपलिकामा १५ शैयाको अस्पताल निर्माण शुरु भएको छ। प्रदेश सरकारको सहयोगमा शुरु भएको अस्पताल निर्माण प्रकृयामा गाउँपालिकाले जग्गा ब्यवस्थापन देखि अन्य कार्य सम्पन्न गरेको छ। विद्युतिकरणमा पछाडी परेको अझ राष्ट्रिय प्रसारण लाईन नजोडिएको डाँडापारीको खानीखोला दशैंबाट झलमल्ल गाउँका रुपमा चिनिने भएको छ। सरकारले झण्डै अर्ब बराबरको बोलपत्र आब्हान गरी काम शुरु गरिसकेका छ भने गाउँपालिकाकै पहलमा धमाधम विजुलीको तार तान्ने र पोल गाड्ने काम भईरहेको छ।
सडक नभएका कारण संचार र एम्बुलेस सेवा नभएको खानीखोला दुबै कुराको धनी हुन थालेको छ। मोबाईलका सबै प्रकारका सेवा सूचारु भए सँगै इमेल इन्टरनेटको सहजता भएको छ। गाउँपालिकामा बैंकको स्थापना भएको छ भने वित्तिय कारोवारका लागि सहकारीहरुले पनि विगत वर्ष देखि काम गरिरहेका छन्। ४९ किमी नयाँ सडक निर्माण गरिएको छ भने ५१ किमी स्तरोन्नती गरिएको छ। विगत वर्षहरुमा जिल्लाबाट औषधी खरिद गरी पठाउँदा दुर्गम गाउँमा औषधी हुँदैन थियो। स्थानीय सरकार निर्वाचित भए लगत्तै शुरु भएको अभाव हट्यो तर कर्मचारी समायोजनका कारण आवश्यक कर्मचारी उपलब्ध हुन सकेका छैनन्। कृषिमा आधुनिकीकरण, पशुमा नश्ल सुधार लगायतका कामहरु शुरु भएका छन्। स्थानीय सरकारले पहिलो प्राथमिकतामा स्थानीय क्षेत्रकोे सम्भावना बढाउँदै आयआर्जनलाई जोड दिएको छ। कफि खेती, बाख्रा पालन जस्ता आय–आर्जनका कार्यक्रमहरुले बार्षिक करोडांैकोे आम्दानी हुन थालेको छ । सडक सञ्जालसँगै जोडिएका विकासका हरेक पाटाहरुले विकट भएको अनुभूति टाढिदै छ। तीन दिन लाग्ने सडकको यात्रा आधा दिनमा झरेको छ।
युवाहरु विदेशिने क्रम अझै रोकिएको छैन। सरकारका विभिन्न कार्यक्रमहरुले स्थानीय स्तरमा हुने हरेक गतिविधिलाई प्राथमिकतामा राखेको छ। तसर्थ आवश्यकता अनुसारको विकास र विकासको सदुपयोग सबैले गर्न सकेको अवस्थामा हिजोको डाँडापारी डाँडावारी बन्नेछ। विकटता भगाउन गरिएका स्थानीय सरकारका योजनाहरु प्रशंसनीय छन्।









