2026 November 02/ 04:03: 55pm

    काभ्रेपलाञ्चोक जिल्लामा क्षयरोग नियन्त्रणका लागि परीक्षणको दायरा विस्तार गर्नु र समुदायस्तरमै रोगी पहिचानलाई प्रभावकारी बनाउनु आवश्यक देखिएको छ । राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत जिल्लाका स्थानीय तहमा गरिएको स्लाइड परीक्षणमा ६३ जनामा क्षयरोगको संक्रमण पुष्टि हुनुले रोग पहिचान, नियमित परीक्षण र उपचार सेवाको निरन्तरताको महत्वलाई पुनः उजागर गरेको छ । कुल ११ हजार ६५ वटा स्लाइड परीक्षण गर्दा ६३ वटामा पोजेटिभ नतिजा आउनु र समग्र पोजेटिभ दर ०.५७ प्रतिशत रहनु स्वास्थ्य क्षेत्रका लागि ध्यान दिनुपर्ने विषय हो ।
    स्थानीय तहगत तथ्यांकले रोग पहिचानको अवस्था समान नरहेको देखाउँछ । बनेपा नगरपालिकामा सबैभन्दा धेरै ३१ जनामा क्षयरोग पुष्टि भएको छ भने धुलिखेल नगरपालिकामा २३ जनामा संक्रमण देखिएको छ । यी दुई नगरपालिकामा मात्रै कुल संक्रमितमध्ये ५४ जना भेटिएका छन् । मण्डनदेउपुर र पनौतीमा तीन–तीन जना, भुम्लुमा दुई जना तथा पाँचखालमा एक जनामा संक्रमण पुष्टि भएको छ । अन्य परीक्षण गरिएका स्थानीय तहमा पोजेटिभ नतिजा नदेखिए पनि त्यसलाई क्षयरोगको जोखिम पूर्ण रूपमा समाप्त भएको प्रमाणका रूपमा लिन मिल्दैन । परीक्षणको दायरा, समुदायको पहुँच र रोगका लक्षण भएका व्यक्तिको समयमै पहिचानले नतिजालाई प्रभाव पार्न सक्छ ।
    क्षयरोग संक्रामक रोग भएकाले यसको पहिचान र उपचारमा ढिलाइ हुँदा बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै समुदायमा संक्रमण फैलिने जोखिम पनि रहन्छ । त्यसैले लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने, राति पसिना आउने, तौल घट्ने वा अन्य शंकास्पद लक्षण देखिने व्यक्तिलाई समयमै स्वास्थ्य संस्थामा पुग्न प्रेरित गर्नुपर्छ । शंकास्पद बिरामीको परीक्षण, संक्रमण पुष्टि भएका व्यक्तिको नियमित उपचार र उपचार पूरा नगर्ने अवस्थाको निगरानीलाई प्राथमिकता दिन आवश्यक छ । साथै, क्षयरोगसम्बन्धी भ्रम र सामाजिक भेदभाव हटाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्य क्षयरोग नियन्त्रणको आधार हो । स्थानीय तहले जोखिमयुक्त समुदायमा सक्रिय बिरामी खोजपडताल, स्वास्थ्यकर्मीको परिचालन, परीक्षण सेवाको पहुँच विस्तार र उपचारमा रहेका बिरामीको नियमित अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ । परीक्षणमा पोजेटिभ नतिजा नदेखिएका क्षेत्रमा पनि आवश्यकताअनुसार निगरानी र परीक्षण जारी राख्नुपर्छ। विशेषगरी रोशी गाउँपालिकाको परीक्षण संख्या उपलब्ध नभएकाले तथ्यांक अभिलेखीकरण र प्रतिवेदन प्रणालीलाई व्यवस्थित बनाउनु जरुरी छ ।
    क्षयरोग नियन्त्रणको सफलता परीक्षणको संख्या वा संक्रमण पुष्टि भएका बिरामीको तथ्यांकमा मात्र सीमित हुँदैन । रोगीलाई समयमै पहिचान गर्ने, उपचारमा जोड्ने र उपचार पूरा गराउने कार्य उत्तिकै महत्त्वपूर्ण छन् । त्यसैले काभ्रेपलाञ्चोकका स्थानीय तहले नियमित परीक्षण, गुणस्तरीय उपचार, प्रभावकारी अनुगमन र जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्छ । रोग लुकाउने होइन, समयमै परीक्षण र उपचारमा पुग्ने वातावरण निर्माण गर्न सके मात्र क्षयरोगमुक्त समुदाय निर्माणको लक्ष्यतर्फ अघि बढ्न सकिन्छ । दीगो विकास लक्ष्यमा तोकिएको मापदण्ड र नेपाललाई क्षयरोग मुक्त घोषणा गर्ने अभियानलाई नियमित परिक्षण, पहिचान र उपचारले थप सहयोग पु-याउने छ ।