2026 October 04/ 01:23: 21pm

    काभ्रेपलाञ्चोक कृषि उत्पादनका दृष्टिले सम्भावनायुक्त जिल्ला हो । मकै, धान, गहुँ, आलु, तरकारी, फलफूल, कफी लगायतका विभिन्न कृषि उपजको उत्पादन हुँदै आएको तथ्यांकले जिल्लाको कृषि क्षेत्रको विविधता र सम्भावनालाई स्पष्ट देखाउँछ । तर कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्यांकले एउटा गम्भीर प्रश्न पनि उठाएको छ–यति धेरै कृषि उत्पादन हुने जिल्लाले आफ्नै जनसंख्याको खाद्यान्न आवश्यकता किन पूरा गर्न सकेको छैन ?
    आर्थिक वर्ष २०८२/०८३ को समीक्षा तथा चालु आर्थिक वर्षका कार्यक्रम सार्वजनिक गर्ने क्रममा जिल्लामा उपभोगयोग्य खाद्यान्नको उपलब्धता आवश्यकताभन्दा १० हजार २७० मेट्रिक टन कम रहेको छ । जिल्लामा ६२ हजार ३२० मेट्रिक टन उपभोगयोग्य खाद्यान्न उपलब्ध हुँदा आवश्यकता ७२ हजार ५९१ मेट्रिक टन रहेको तथ्यांकले उत्पादन मात्र होइन, कृषि नीति र प्राथमिकतामाथि पनि पुनर्विचार गर्नुपर्ने देखाउँछ । काभ्रेमा मकै २६ हजार १२० हेक्टरमा खेती भएर ९४ हजार १२० मेट्रिक टन उत्पादन भएको छ । आलु, तरकारी, धान, गहुँ तथा फलफूलको उत्पादन पनि उल्लेखनीय छ । तर उत्पादनको ठूलो हिस्सा बजारमुखी वा नगदे तथा उच्च मूल्यका बालीतर्फ केन्द्रित हुँदा स्थानीय खाद्यान्न आवश्यकता र उत्पादनबीचको अन्तर कायमै रहेको हुन सक्छ । त्यसैले कृषि विकासको अर्थ उत्पादनको मात्रा बढाउनु मात्र होइन, जिल्लाको खाद्य सुरक्षा सुनिश्चित गर्नु पनि हो । 
    कृषकलाई बढी आम्दानी हुने बालीतर्फ आकर्षित गर्नु आवश्यक छ । तर त्यससँगै धान, मकै, गहुँजस्ता आधारभूत खाद्यान्नको उत्पादन र उत्पादकत्व बढाउने नीति पनि उत्तिकै महत्वपूर्ण हुन्छ । खाद्यान्नको आवश्यकता बाहिरबाट पूरा गर्नुपर्ने अवस्था रहिरहँदा कृषि उत्पादनको उच्च तथ्यांकले मात्र आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माण भएको मान्न सकिँदैन । यसका लागि सबैभन्दा पहिले सिँचाइको समस्या समाधान गर्न आवश्यक छ । वर्षामा निर्भर कृषि प्रणालीले उत्पादनको स्थायित्वमा असर पार्छ । आधुनिक सिँचाइ, उन्नत बीउ, कृषि यान्त्रीकरण, माटो परीक्षण, रोग तथा कीरा व्यवस्थापन र जलवायु अनुकूल प्रविधिलाई किसानको खेतसम्म प्रभावकारी रूपमा पु¥याउनुपर्छ । कार्यालयले चालु आर्थिक वर्षमा सिँचाइ, बीउ उत्पादन तथा प्रशोधन, एकीकृत कीट व्यवस्थापन, कृषि यान्त्रीकरण र जलवायु अनुकूल उत्पादन प्रणालीलाई प्राथमिकता दिनु सकारात्मक सुरुवात हो ।
    अर्काे महत्वपूर्ण पक्ष बजार हो । किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य नपाउने हो भने कृषि व्यवसाय दिगो हुन सक्दैन । उत्पादन, संकलन, भण्डारण, प्रशोधन र बजारीकरणलाई एउटै शृंखलामा जोड्नुपर्छ । विशेषगरी आलु, तरकारी, फलफूल र कफीजस्ता उच्च मूल्यका उत्पादनलाई प्रशोधन उद्योग र बजारसँग जोड्न सके कृषकको आम्दानी बढाउन सकिन्छ । उत्पादन बढाउने तर बजार नपाउने अवस्था पनि कृषि विकासकै अर्को चुनौती बन्न सक्छ । स्थानीय तहको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । कृषि कार्यक्रम संघ वा प्रदेश सरकारको कार्यालयबाट मात्र सञ्चालन गरेर अपेक्षित परिणाम हासिल गर्न कठिन हुन्छ । स्थानीय तहले आफ्नो भूगोल, माटो, पानी, बजार र कृषकको आवश्यकताअनुसार कृषि योजना बनाउनुपर्छ । एक वडा, एक कृषि उत्पादन जस्ता कार्यक्रम प्रभावकारी बनाउन वास्तविक सम्भावना र बजारको अध्ययनसहित कार्यक्रम छनोट हुन आवश्यक छ ।
    कार्यक्रम कार्यान्वयनमा लागत साझेदारी, स्थानीय तहको स्वामित्व, प्राविधिक उपयुक्तता र समयमै बजेट तथा अख्तियारी प्राप्त नहुने समस्या देखिनु पनि गम्भीर विषय हो। बजेट विनियोजन मात्र पर्याप्त हुँदैन । विनियोजित बजेट समयमै, पारदर्शी र परिणाममुखी रूपमा खर्च हुनुपर्छ । विगतका कार्यक्रमको उपलब्धि र कमजोरीको वस्तुगत समीक्षा गरेर आगामी कार्यक्रम तय गरिनुपर्छ । काभ्रेपलाञ्चोकको कृषि क्षेत्रमा सम्भावना कमी छैन । प्रश्न सम्भावनाको होइन, त्यसलाई व्यवस्थित उत्पादन, प्रविधि, सिँचाइ, बजार र प्रशोधनसँग जोड्ने क्षमताको हो । पाँच करोडभन्दा बढीको वार्षिक कृषि विकास बजेटले किसानको जीवनमा वास्तविक परिवर्तन ल्याउन सके मात्र त्यसको औचित्य पुष्टि हुन्छ ।
    अबको कृषि नीति उत्पादनको तथ्यांक देखाएर सन्तुष्ट हुने होइन, किसानको आम्दानी बढाउने, स्थानीय खाद्य सुरक्षा सुनिश्चित गर्ने र कृषि उत्पादनलाई मूल्य शृंखलासँग जोड्ने दिशामा केन्द्रित हुनुपर्छ । काभ्रेपलाञ्चोकले आफ्नो कृषि सम्भावनालाई व्यवस्थित ढंगले उपयोग गर्न सके खाद्यान्न घाटा घटाउँदै व्यावसायिक र दिगो कृषि अर्थतन्त्र निर्माण गर्न सक्ने आधार पर्याप्त छ । चुनौतीलाई अवसरमा बदल्ने समय यही हो ।