काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो समय देखिएको ट्राफिक व्यवस्थापनको सक्रियता सकारात्मक संकेत हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरण, चालक अनुशासन र जनचेतना अभिवृद्धिका लागि थालेका कदमहरू सराहनीय छन् । तर यिनै तथ्यांकहरूले अर्को गम्भीर यथार्थ पनि उजागर गरिरहेका छन् । सडकमा जोखिम बढ्दैछ र समस्या नियन्त्रणभन्दा बाहिर जान सक्ने संकेत देखिँदैछ ।
प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म मात्र ३ सय ४१ जना चालक मादक पदार्थ सेवन गरेर सवारी चलाएको अवस्थामा भेटिएका छन् । अझ ६१ जना लागु पदार्थ सेवनपछि सवारी चलाएको पुष्टि भएको छ । यो केवल नियम उल्लंघनको विषय मात्र होइन, यो समाजभित्र बढ्दो लागु औषध दुरुपयोगको गम्भीर संकेत हो । यदि समयमै नियन्त्रण गरिएन भने यो अवस्था सडक दुर्घटनाभन्दा ठूलो सामाजिक संकटमा परिणत हुन सक्छ । यसका साथै, चालकको स्वास्थ्य अवस्था पनि चिन्ताजनक देखिएको छ । परीक्षण गरिएका ३ सयभन्दा बढी चालकहरूमध्ये धेरैमा उच्च रक्तचाप, आँखाको समस्या, थकान र मधुमेह जस्ता समस्या देखिनु सामान्य होइन। लामो दूरीका चालकहरू पर्याप्त विश्राम विना सवारी चलाइरहेका छन्, जसले दुर्घटनाको जोखिम झन् बढाउँछ ।
सवारी साधनको यान्त्रिक परीक्षणले पनि समस्या देखाएको छ । ब्रेक, टायर, बत्ती जस्ता आधारभूत पक्षमै कमजोरी भेटिनु गम्भीर लापरवाही हो । यस्ता समस्याहरूबीच ट्राफिक प्रहरीको सक्रियता प्रशंसनीय भए पनि यो एक्लो प्रयास पर्याप्त छैन । स्थानीय सरकार, यातायात व्यवसायी र समुदायको संयुक्त पहल आवश्यक छ । विशेषगरी लागु औषधको सहज उपलब्धता नियन्त्रण गर्ने, चालकको नियमित स्वास्थ्य परीक्षणलाई अनिवार्य बनाउने र सवारी साधनको कडाईका साथ प्राविधिक परीक्षण गर्ने नीति आवश्यक देखिन्छ । सडक पूर्वाधार पनि समस्याको अर्को प्रमुख कारण हो । विपी राजमार्ग र अरनिको राजमार्गजस्ता महत्वपूर्ण मार्गहरू वर्षायाममा अवरुद्ध हुने, पहिरो र बाढीको जोखिम रहने अवस्थाले दुर्घटना निम्त्याउने सम्भावना उच्च हुन्छ । वैकल्पिक मार्गहरूको उचित व्यवस्थापन र मर्मतसम्भारमा राज्यको ध्यान जान आवश्यक छ ।
सचेतनामूलक कार्यक्रमहरू जस्तै ‘चालकसँग ५ मिनेट’ अभियान प्रभावकारी देखिएको छ । लाखौं यात्रु र चालकलाई प्रत्यक्ष लाभ पुगेको तथ्य सकारात्मक हो । तर केवल सचेतना पर्याप्त हुँदैन कडा कार्यान्वयन र निरन्तर अनुगमन आवश्यक छ । दुर्घटनाका तथ्यांकले केही आशा पनि देखाएका छन् । विगत वर्षहरूको तुलनामा मृत्यु दर घट्दै गएको छ । तर घाइते हुनेको संख्या बढ्दो क्रममा हुनु चिन्ताजनक हो । यसले देखाउँछ कि दुर्घटना पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । अब प्रश्न उठ्छ के हामी दुर्घटना घट्दै गएकोमा सन्तुष्ट हुने कि जोखिम बढ्दै गएकोमा सचेत हुने ? काभ्रे राजधानी प्रवेशद्वार भएकाले यहाँको ट्राफिक व्यवस्थापन केवल स्थानीय मुद्दा होइन, राष्ट्रिय सरोकारको विषय हो । दैनिक हजारौं सवारी आवतजावत गर्ने यस क्षेत्रमा सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।
अन्ततः, सडक सुरक्षा केवल प्रहरीको मात्र जिम्मेवारी होइन । चालक, सवारी धनी, यात्रु, स्थानीय सरकार र राज्यका सबै निकायको साझा जिम्मेवारी हो । नियम पालना, नियमित परीक्षण र जिम्मेवार व्यवहारले मात्र सुरक्षित यात्रा सुनिश्चित गर्न सक्छ । अहिलेको चेतावनीलाई बेवास्ता गरियो भने भोलि यो समस्या नियन्त्रणभन्दा बाहिर जान सक्छ । त्यसैले, कडा नीति, प्रभावकारी कार्यान्वयन र सामूहिक जिम्मेवारी आजको आवश्यकता हो ।









