2025 March 15/ 11:19: 56pm

    अमेरिकामा राष्ट्रपति निर्वाचित हुनु अघि नै डोनाल्ड ट्रम्पका कारण आप्रवासी नागरिकहरुमा त्रास थियो । अमेरिकी अध्यागमन कार्यालयले आफ्नो देशमा बसिरहेका अबैद्य आप्रवासीको संख्या १४ लाख ४५ हजार ५ सय ४९ रहेको बताएको छ । नेपालबाट अमेरिका गएर बसिरहेका नेपालीहरुको संख्या पनि उत्तिक्कै छ । विभिन्न मुलुकका नागरिकहरु अमेरिकामा आप्रवासीका रुपमा बसिरहेका छन् । अमेरिकालाई बलियो बनाउन भएको प्रयास राम्रो मानिए पनि विदेशीहरुलाई संकट पर्ने देखिएको छ । एकातिर अमेरिकामा कडाई हुने अर्काे तिर नेपालका गाउँ बस्ति खाली हुँदै जाने । अमेरिका, युरोप लगायतका देशहरुमा पुगेका बालबालिकाहरु पनि काम नपाएर हैरान भएका छन् । अध्ययनका नाममा अरवौ रकम बाहिरिएको छ । नेपालमा अवसर सिर्जना गर्ने वातावरण भएर पनि राजनीतिक अस्थिरता मुख्य कारण मानिएको छ । परदेश जाने मानसिकता बनाईरहेका नेपालीहरुका लागि स्वदेशमा रोक्ने कार्यक्रम कसरी बन्न सक्छन् ? 
    एकै दिन अमेरिकी राष्ट्रपतिले दुई सय भन्दा धेरै कार्यकारी आदेश जारी गर्दा नेपालमा संसदले बनाउनु पर्ने कानून समेत बर्षाै बन्न सकेका छैनन । सरकारले नागरिकहरुलाई सेवा दिन ल्याएको अध्यादेशका बारेमा समेत बहस हुने गरेको छ । संसद कानून बनाउँदैन, कानून नबनेका कारण सरकार काम गर्न सक्दैन, सरकारले कानून नभएका कारण नागरिकहरुलाई सेवा प्रवाह गर्न सकेको छैन । नागरिकहरु कानून नभएकै कारण सेवा प्रवाहबाट बञ्चित बनिरहेका छन् । यस्तो अवस्थामा मुलुक निर्माणको भन्दा सत्ता र पदका लागि मात्रै मरिहत्ते गर्ने युवाहरु, युवा नेताहरु, दलका नेताहरु, दलहरुले परदेश जाने योजनालाई फर्काउन सक्लान ? चुनौती नै चुनौतीका बाबजुत राज्यले लिनु पर्ने थुप्रै कार्यभारलाई कानून र वातावरण तयार बनाउँदै युवा जनशक्तिलाई नेपालको हावापानी, माटो सुहाउँदो अवसरको सिर्जना गर्न ढिलाई गर्नु हुँदैन । राष्ट्रिय जनगणना २०७८ अनुसार काभ्रेपलाञ्चोक जिल्लाका ५.४५ प्रतिशत नागरिक पर–देश अर्थात विदेशमा छन् । अध्ययन तथा रोजगारका लागि विदेश जाने नागरिकहरुको संख्या दिन प्रतिदिन थपिए पनि तीन तहका सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा नागरिकहरु विदेशिन बाध्य भएका हुन् । मुलुकमा शान्ति होला, अवसर सिर्जना होला भन्ने सोच थियो । माओवादी शशस्त्र द्वन्द्वले आक्रान्त भईरहँदा माओवादी र शाही नेपाली सेनामा जानु पर्ने डरले गाउँ छाडेर हिडियो । गाउँ छाडेर शहर आउँदा पनि अवसर पाउन सकिएन । विदेशिनुको विकल्प रहेन । जनआन्दोलन, संविधान सभा निर्वाचन, संविधान निर्माण, तीन तहका सरकार निर्माण भए । जे जे भए पनि नेताहरुले कार्यकर्ता ब्यवस्थापन गर्ने थलो बाहेक केहि भएन । नागरिकहरुको चाहना र रोजगारको अवसर सिर्जना हुन सकेन ।
    जिल्लामा ९१ हजार ४ सय २८ घर परिवार छन् । तथ्यांक अनुसार १५ हजार १ सय ९४ घर परिवारका १९ हजार ८ सय ५८ जना नागरिक विदेश गएका छन् । कुल घर परिवारको १६.६२ प्रतिशत नागरिक विदेश गएका छन् । जसमा ३ लाख ६४ हजार ३९ जनसंख्याको थप ५.४५ प्रतिशत नागरिक विदेशिएका हुन् । जसमा पुरुष १४ हजार ८ सय १२ अर्थात ८.२८ प्रतिशत र महिला ५ हजार ४६ जना २.७३ प्रतिशत विदेशिएका छन् । विदेशिएका मध्ये सबै भन्दा धेरै चौरीदेउराली गाउँपालिकाका छन् । चौरीदेउराली गाउँपालिकाका ८२८ घर परिवारका १९.९२ अर्थात ११ सय ४२ जना विदेशिएका छन् । ८४३ जना पुरुष र २ सय ९९ महिला छन् । उक्त पालिकाका ११ हजार १ सय ६४ नागरिक पालिका बाहिर छन् । स्थानीय तह अनुसार स्वेदशमा अनुपस्थित संख्या सवै भन्दा धेरै चौरीदेउराली गाउँपालिकामा कम्तीमा एक जना अनुपस्थित स्वदेशमा भएको परिवार २५६३ मा जम्मा ७९.३१ प्रतिशत जसमध्ये पुरुष ८९.७८ प्रतिशत र महिला ६९.९१ प्रतिशत रहेको छ । अन्य पालिकामा पनि औषत यस्तै समस्या बल्झिन थालेको छ । परदेश जानबाट रोक्न, गएर फर्किएकाहरुको सीप, ज्ञान र पुँजी परिचालन गर्न तीन तहकै सरकारले तत्काल योजना निर्माण गरी कार्यान्वयन गर्न आवश्यक छ ।