प्रविधि, खुल्लापन, अविश्वास, असमझदारी, आशंकाका कारण समाजमा पारिवारिक सम्बन्ध बिग्रँदै गएका छन् । ब्यक्तिका सम्बन्ध भत्कँदै गएका छन् । जिल्ला अदालतमा मुद्दा दर्ता गरेर सम्बन्ध विच्छेद भएका ब्यक्तिहरुले आफ्नै सन्तानलाई विचल्ली बनाएका कारुणिक दृश्यहरु देखिन थालेका छन् । बाबु र आमा दुबैले सन्तानको जिम्मेवारी लिँदैनौ भन्दै बहस गरिरहेका हुन्छन् । सम्बन्ध विच्छेद र पारिवारिक असमझदारीले समाजमा विग्रह मात्रै निस्कँदै छैन । बालबालिकाहरुको अन्धकार भविष्य, गलत संगतका कारण हुन सक्ने अपराधका बारेमा समेत सचेत भएको देखिदैन । परिवार अशान्ति भएकै कारण मनहरु अशान्ति भएका छन् । ब्यक्तिले आत्महत्या त्यसैकारण गरिरहेको छ । आत्महत्या रोक्न, मानसिक रोगको उपचार नियमित गर्न, परिवारमा खुशी र शान्ति ल्याउन ब्यवहारिक कुराहरु मिलाउँदै समयअनुकलको आवश्यकता पुरा गर्न समझदारी महत्वपूर्ण छ ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतमा आर्थिक वर्ष २०७९÷०८० को बार्षिक प्रतिवेदनमा पारिवारीक विवादका १ हजार २ सय ३७ वटा मुद्दा दर्ता भएका छन् । चालु वर्षको ९ महिनामा करिब ८ सय भन्दा धेरै मुद्दा पारिवारिक विवादका छन् । आर्थिक वर्ष २०७९÷०८० मा विवाह सम्बन्धी एउटा मुद्दा दर्ता हुँदा सम्वन्ध विच्छेदमा ६ सय ५९ वटा मुद्दा दर्ता भए । जसमा ५ सय ३८ वटा फछ्र्याैट भएका थिए । मातृत्व तथा पितृत्व कायम सम्बन्धी एउटा मुद्दा दर्ता भएको थियो । सम्बन्ध विच्छेद पछि अंशबण्डा सम्बन्धी ५ सय १९ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये ३ सय ४ वटा मुद्दा फैसला भए । अपुताली सम्बन्धी ६ वटा मुद्दा दर्ता भई ५ वटा फछर्याैट भएका थिए । मानाचामल सम्बन्धी ४९ वटा दर्ता भए । जसमा ३१ वटा सोहि आर्थिक वर्षमा टुंगिए । नाता कायम सम्बन्धी २ वटा गरी सोहि आर्थिक वर्ष पारिवारिक विवादका १ हजार २ सय ३७ मुद्दा दर्ता भएका थिए । जसमध्ये ८ सय ८२ वटा फछ््र्याैट भए भने ३ सय ५५ वटा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेका थिए । चालु वर्षमा दर्ता भएका पारिवारिक विवादका मुद्दाको संख्या गत वर्ष जस्तै उल्लेख्य छन् । जिल्ला अदालत काभ्रेकी अधिकृत एवं सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार पारिवारिक विवाद सम्बन्धी मुद्दाको संख्यामा बृद्धि भएको छ । केहि मुद्दा दर्ता भए पछि मिलापत्र भएका पनि छन् । जिल्ला अदालतमा त्यस्तै बहुविवाह सम्वन्धी १२ वटा मुद्दा दर्ता भएका थिए । सोहि आर्थिक वर्षमा सम्पत्ति सम्बन्धी ९ सय थान मुद्दा दर्ता भएका थिए । भोगाधिकारका २ वटा, जग्गा सम्बन्धी १ सय ७ वटा, लेनदेन सम्वन्धी २ सय ९८ वटा, सार्वजनिक जग्गा सम्बन्धी २ वटा, सम्पत्ति हस्तान्तरण १, लिखत बदरका ४ सय ८२, घरबहाल ४, दानवकस १ र क्षतिपुर्ति सम्वन्धी ३ वटा गरी ९ सय थान मुद्दा दर्ता भएका थिए । अहिले उक्त संख्या ह्वात्तै बढेको छ ।
हरेक दिन बढिरहने यस्ता घटना र मुद्दाका कारण के हुन् ? राज्यका तीनै तहका निकायले नागरिकहरुलाई खुशी राख्न भौतिक पुर्वाधार मात्रै होईन । मान्छेका मनहरु खुशी राख्नेतर्फ विभिन्न कार्यक्रहरु आयोजना गर्नु आवश्यक छ । पछिल्लो समय देखिएको स्वच्छन्दता, स्वतन्त्रता र पैसा, पद र सम्पत्तिप्रतिका आशक्ति प्रमुख कारण हो । त्यसलाई नियन्त्रण गर्दै परिवार खुशी बनाउँदै ब्यक्ति खुशी हुन जरुरी छ ।









