राज्य संयन्त्रका कमजोर प्रणालीमा टेक्दै पटक–पटक अपराधिक समुहले लुटपाट, डाँका, हातहतियार प्रयोग तथा नागरिकहरुलाई अशान्ति हुने गरी गरिएका ब्यवहारमा कारवाही हुन नसक्दा जिल्लाका विभिन्न स्थानमा पटक पटक अपराधिक घटना हुन थालेका छन् । अपराधिक घटनालाई राज्यका संयन्त्रहरुले नै मलजल गरिरहेका छन् । हुर्कन, फक्रन सहज बनाएका छन् । ब्यक्ति विशेषका स्वार्थ पूरा गर्ने नाममा आम नागरिकहरुलाई असुरक्षित बनाउँदै त्रसित वातावरणमा जिउन बाध्य पारिएको छ । हरेक वर्ष हुने यस्ता घटना न्यूनीकरणमा नभई बृद्धि भएका छन् । जसमा राज्यका एक पछि अर्काे निकाय संलग्न हुँदै गएका छन् । पछिल्लो घटना रोशी ५ मा भएको बुद्धचित्रका दाना फल्ने रुख कटान सँगै प्रर्दशित बमहरुले नागरिकहरुले सहज जीवनयापनमा समेत कठिनाई ब्यहोरेका छन् ।
२०७७ सालमा तेमाल गाउँपालिका ६ घर भएका ४१ बर्षिय सिजन भन्ने मानबहादुर तामाङले रोशी गाउँपालिका ५ स्थित ठकुरानी तामाङसँग किनेका बुद्धचित्तका दानाहरु विर्खबहादुर तामाङ समेत ९ जनाको समुले लुटेको अभियोगमा डाँका सम्वन्धी मुद्दा दर्ता गरेका थिए । मानबहादुर तामाङले खरिद गरेर किन्न नपाएका दाना सम्बन्धी मुद्दा जिल्ला अदालतमा विचाराधिन थियो । २०७७ असोज २६ गते दर्ता गरिएको डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजना सम्वन्धी मुद्दामा ढिला गरी अदालतले अर्काे घटना घटेको सुईको पाए पछि मात्रै फैसला सुनायो । अझै सजायँ निर्धारण गरेको छैन । ३ वर्ष र ३० हजार भन्दा धेरै कैद तथा जरिवाना भएका मुद्दामा अभियोग प्रमाणित भए पछि सजाँय निर्धारणका लागि आदेश हुन्छ । सोहि प्रकरणमा केहि ब्यक्ति पक्राउ परेका थिए भने केहि अझै फरार थिए । २०७७ सालमा निवेदन दिएर पीडित भएका मानबहादुर लगायत अहिले लुटपाटमा संलग्न भएको अभियोगमा पक्राउ परेका छन् । चोरको खुट्टा काट भन्दा उचाले जस्तै मानबहादुर आफैंले डाँका मुद्दा दर्ता गरेका थिए । सोहि अभियोगमा चार वर्ष पछि उनै मानबहादुर डाँका मुद्दामा पक्राउ परेका छन् । अदालतले समयमा नै फैसला गरिदिएको थिए भने सायद दोश्रो घटना हुने थिएन कि ? प्रश्न राज्यका निकायमा तेर्सिन थालेका छन् । बुद्धचित्र सम्वन्धीका मुद्दा अदालतमा अझै दर्जनौ छन् ।
रोशीमा भएको घटनामा अपराधसँगै राजनीति पनि जोडिएको छ । हिजो त्यहि समुह लुटपाट र अपहरणमा संलग्न भएको भन्दै फरार थिए । आज त्यहि समुह पीडित भएको भन्दै जाहेरी बोकेर दौडिएको छ । उता नेपाल कम्युनिष्ट पार्टीका नाममा घटनाको जिम्मेवारी लिदै घटनालाई ब्यक्तिगत भन्दा राजनीतिक र संगठित अपराधमा जोडिएको छ । चिनियाँ नागरिक याङ कैलिङ सहित लुटपाटमा ८ जना संलग्न रहेको किटानी जाहेरी दर्ता गरिएको छ । चिनियाँ नागरिकह पछिल्लो समय नागरिकता, लुटपाट तथा अबैध जुवा लगायतका घटनामा संलग्न हुन थालेका छन् । नेपालमा त्यस्ता गतिविधिका लागि सहज वातावरण बनेको घटनाले पुष्टि गर्दै लगेका छन् । डाँका, विस्फोट पदार्थ र संगठित अपराध विरुद्धको कसुर सजायँको माग गरिएको छ । दाना किन्ने ब्यापारी समेत रहेका नेकपा एसका कार्यकर्ता जाहेरवाला समीप त्रिपाठीले ५ करोड ४० लाख र रुख धनी निरबहादुरले ३० वर्षसम्म आम्दानी हुने रुखको बार्षिक १ करोडका दरले ३० करोड क्षतिपूर्ति माग गरेका छन् । यति धेरै कमाई हुने देखिएका रुखबाट स्थानीय सरकारले भने हजारमा राजश्व प्राप्त गर्दै आएको छ । ब्यक्ति धनी, राज्य कमजोर बनाउन भएका सबै संयन्त्र प्रयोग गर्दै हुने दुरुपयोग रोक्न पनि यस्ता अपराधिक घटना न्यूनीकरण हुन आवश्यक छ ।









