देश कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा होमिएको छ। सबै निकाय र ब्यक्तिहरु कोरोनाकै रोकथाममा सक्रिय भएका बेला अन्य रोगहरुका कारण ब्यक्तिहरुले ज्यान गुमाईरहेका छन्। दैनिक ब्यक्तिहरुले अन्य रोगबाट मरिरहँदा सरकार र विभिन्न संघ संस्थाहरुको ध्यान जान सकेको छैन। मुलुक कोरोना भाईरसको चपेटामा छ। विश्व आक्रान्त भएका बेला नेपालमा संक्रमण फैलँदो अवस्थामा छ। समुदायमा प्रवेश गरेको संक्रमणबाट नागरिकहरुले ज्यान गुमाउन थालेका छन्। तर कोरोना संक्रमण भन्दा अन्य रोग तथा घटनाका कारण नागरिकहरुले ज्यान गुमाएका छन्। जिल्लाको तथ्याङ्क अनुसार कोरोना संक्रमणका कारण दुई नागरिकले ज्यान गुमाएका छन्। तर कोरोना भन्दा खतरा अन्य रोगहरुको छ। अन्य रोगको उपचारका लागि अस्पताल र नागरिक समाजले पनि ध्यान दिन जरुरी छ।
कोभिडका त्रासका कारण गम्भीर प्रकृतिका रोगका विरामीहरु अस्पताल जाने अवस्था छैन। गएका विरामीहरुमा पनि कोभिड १९ सर्ने त्रास छ। कोभिड लागेर अस्पतालको आईसोलेसन पुगेका नागरिकहरुको त्रास फरक खालको छ। एकपछि अर्काे त्रासले आक्रान्त भएका नागरिकहरुको उपचारका लागि अस्पतालमा भएको ब्यवस्थापनले मन जित्न सकेको छैन। दैनिक एक हजार भन्दा धेरै ब्यक्तिहरुको उपचार हुने अस्पतालहरुमा एक सय जना विरामी भर्ना हुन सकेका छैनन्। त्यति धेरै विरामीहरुको संख्या कहाँ छ ? कस्तो अवस्थामा छ ? सुगर, प्रेसरका विरामीहरुले मासिक रुपमा परिक्षण गरी औषधी सेवन गर्नु पर्नेमा त्यसो नभई ६ महिनासम्म पुरानै औषधी सेवन गरिरहेको अवस्था छ। सामान्य ज्वरो आएका विरामीहरु आफै उपचार गराईरहेका छन्। कतिसम्म भने फेसबुक तथा सामाजिक सञ्जालमा हुने विभिन्न खाले सन्देश विरामीहरुका लागि डाक्टर भन्दा प्यारा भएका छन्।
चैत्र ११ गते देखि सरकारले गरेको लकडाउनका बीचमा जिल्लामा थुप्रै घटना भएका छन्। ६ महिनाको बीचमा जिल्लामा ६० जनाले ज्यान गुमाएका छन्। कोरोनाको संक्रमणबाट बच्न गरिएका प्रयासहरुले अन्य नागरिकहरुलाई प्रभावित बनाएको छ। जिल्लामा सबैभन्दा धेरै आत्महत्याका घटना छन्। आत्महत्याका कारण ४४ जनाले ज्यान गुमाएका छन्। जिल्लामा झुण्डिएर मर्नेहरुको संख्या ३१ रहेको छ भने ११ जनाले विष सेवन गरेर ज्यान गुमाएका छन्। भवितब्य ज्यान जानेहरुको सख्या ७ छ। ज्यान गुमाउनेहरु मध्ये ४७ पुरुष, १७ महिला, ५ बालक र १ बालिका रहेका छन्। कतब्र्य ज्यान मुद्दामा २ जनाले ज्यान गुमाएका छन् भने करेन्ट लागेर १, लडेर ४, डुबेर मृत्यु ४, सवारी ज्यानमा ३, आगलागीबाट निधन हुनेहरुको संख्या ३ रहेको छ। फुटकर ज्यान जानेहरुको संख्या ३ र सवारी भवितब्यमा १ गरी जिल्लामा लकडाउन शुरु भएपछि भदौ १५ सम्म ६ महिनाको अवधिमा ६० जनाले ज्यान गुमाएका छन्।
अतः नागरिकहरु आफु र आफ्नो परिवारप्रति सचेत हुनु जरुरी छ। परिवारका सदस्यहरुको रेखदेखमा ध्यान दिएर कोरोनासँगै अन्य रोगबाट बच्नु आजको आवश्यकता भएको छ।









