2026 May 16/ 06:10: 22am

  जिल्लामा कोरोनाका कारण दुई नागरिकले ज्यान गुमाउनु परेको छ। जीवनभर समाजसेवामा सक्रिय ब्यक्ति जन्म दिन मनाउन भब्य तयारी गरिरहदा स्वास्थ्यमा आएको सामान्य समस्याका कारण अस्पताल पुग्दा कोरोना पुष्टी भयो। धुलिखेल नगरको विकासमा सक्रिय जेष्ठ नागरिक ९८ बर्षीय ब्यक्तिको निधनले धुलिखेललाई अपुरणिय क्षति पुगेको त छ नै जिल्लामा कोरोनाले जोखिम बढाएको पुष्टी भएको छ। पाँचखाल नगरपालिकामा ज्यान गुमाउने महिला सामान्य परिवारको सदस्य हुनुहुन्थ्यो। अस्पताल घुमाउँदा घुमाउँदै उहाँको निधन भएको हो। उहाँमा मृत्यु पछि कोरोना पुष्टि भयो। धुलिखेलमा निधन भएका जेष्ठ नागरिकलाई कोरोना पुष्टि भए पछि बचाउन अधिकम प्रयास गर्दा गर्दै निधन भएको छ। 
    जोखिम बढ्दै गए पछि जिल्लामा रहेका स्थानीय सरकारहरुले सतर्कता अपनाएका छन्। केहि स्थानीय सरकारले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेका छन्। नागरिकहरुले स्वतस्र्फुत रुपमा पेशा ब्यवसाय बन्द गरेका छन्। अत्याधिक जोखिम बढे पछि अस्पतालहरुले समेत सतर्कता अपनाएका छन्। नगरपालिकाहरुले क्वारेन्टाईनका साथै आईसोलेसन वार्डहरु तयार गरेका छन्। संक्रमित ब्यक्तिहरु अस्पतालमा उपचार नपाए पछि घरमै बस्न बाध्य भएका छन्। गम्भिर प्रकृतिका विरामीहरुलाई अस्पतालमा उपचार गराउनै समस्या हुन थालेको छ। जिल्ला स्थित कमाण्ड पोष्ट, नागरिकहरुको विपद् ब्यवस्थापनमा सहयोग गर्ने टिम तयारी अवस्थामा राखिए पनि संक्रमणको दर बढ्दै गएपछि सचेतना अपनाईएको छ। बैदेशिक रोजगारबाट फर्कने नागरिकहरुमा पनि कोरोना संक्रमण देखिएको छ। अधिकांश ब्यक्तिहरु समुदायमा घुलमिल हुन थालेकाले समुदायमा संक्रमणको संख्या बढेको हो। 
    नागरिकहरुले कोरोनालाई अझै बेवास्ता गरिरहेका छन्। २०७६ चैत्र ११ गते पहिलो चरणमा भएको लकडाउन अवधीमा नागरिकहरुलाई कोरोनाबाट असाध्यै धेरै त्रास थियो। एकजना ब्यक्तिमा संक्रमण पुष्टि हुँदा धेरै ब्यक्ति त्रसित हुन्थे। अहिले कोरोनाबाटै नागरिकहरुको निधन हुँदा पनि त्रास छैन। ब्यक्ति सुरक्षित बन्ने प्रयास गरिरहेको छ। भिडभाडमा नजान, नियमित सरसफाईको कार्य गर्न, माक्स, फेस शिल्ड जस्ता सामाग्रीहरु प्रयोग गर्न, रोगसँग लड्न सक्ने प्रतिरोधात्मक खाद्यान्नको प्रयोग गर्न अनुरोध गरिएको छ। कोरोनाकै त्रासका कारण अन्य रोगबाट मर्ने ब्यक्तिहरुको संख्या धेरै हुन थालेको छ। अस्पताल जान नसक्ने अवस्थाका विरामीहरुका लागि बैकल्पिक ब्यवस्था गरिएन भने कोरोनाले भन्दा अन्य रोगका कारण मर्नेहरुको संख्या थपिन सक्छ। समयमै सबैजना सचेत बनौं। बढ्दै गएको जोखिमलाई न्युनीकरण गरौं।