2026 May 16/ 06:10: 05am

    हरेक वर्ष असार मसान्तमा विकास रकम खर्च भएको देखिन्छ। विकास रकम समयमै खर्च हुन नसक्दा मुलुकको अर्थतन्त्रमा समेत प्रभाव पर्दै आएको छ। अर्थतन्त्रसँगै मुलुकको हितका लागि नागरिकहरुले उपभोग गर्ने विकासलाई समयमै वितरण गरी कार्यान्वयनमा ल्याउन सकिएको अवस्थामा बजेटको सदुपयोग र उपलब्धी पूर्ण हुने छ। आर्थिक वर्ष २०७६÷०७७ कोरोना भाईरसका कारण सोचे जति उपलब्धी हासिल गर्न असफल भयो। विकास निर्माणका कार्यहरु सूचारु हुन नसक्दा आर्थिक क्षेत्र चलायमान हुन सकेन। खर्च हुनै नसकेका कारण आम्दानी घट्न पुग्यो। तीन तहकै सरकारले लक्ष्य निर्धारण गर्न नसक्दा मुलुकका थप आर्थिक मन्दि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मौद्रिक नीति सार्वजनिक गरिएको छ। काभ्रेपलाञ्चोक जिल्लामा कोरोना महामारीका बाबजुत विभिन्न कार्यालयहरुले गरिरहेका आर्थिक गतिविधि, आम्दानी, खर्च तथा मुलुकको राजश्व संकलनमा देखिएका विषयहरुले चालु आर्थिक वर्षलाई सुधार गरी अगाडि बढ्ने प्रेरणा दिएको छ। 
आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा प्राप्त रकम मध्ये संघ सरकारको ४० प्रतिशत र प्रदेश सरकारको ६२ प्रतिशत पुँजीगततर्फ खर्च भएको छ भने चालुतर्फ संघ सरकारको ९७ प्रतिशत र प्रदेशतर्फ ७६ प्रतिशत खर्च भएको छ। संघ सरकारको जिल्लामा प्राप्त चालु खर्च १० अर्ब २० करोड ५८ लाख २७ हजार २ सय ९० रुपैयाँ बजेट प्राप्त भएकोमा ९ अर्ब ८६ करोड ४९ लाख २२ हजार ४ सय ५ रुपैयाँ खर्च भएको छ। प्रतिशतका आधारमा ९७ प्रतिशत चालुतर्फ खर्च भएको छ। त्यस्तै पुँजीगततर्फ प्राप्त ३ अर्ब ३४ करोड ६९ लाख ४० हजार ७ सय ४० रुपैयाँमा १ अर्ब ३३ करोड ८२ लाख ५७ हजार २ सय ४१ रुपैयाँ खर्च भएको छ। प्रतिशतका आधारमा विकासतर्फको खर्च जिल्लामा प्राप्त बजेटका आधारमा ४० प्रतिशत हो। चालु र पुजिँगत तर्फ गरी १३ अर्ब ५५ करोड २७ लाख ६८ हजार ३० रुपैयाँ प्राप्त भएकोमा ११ अर्ब २० करोड ३१ लाख ७९ हजार ६ सय ४७ रुपैयाँ खर्च गरेको छ। जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार तर्फ २ अर्ब ६८ करोड ९४ लाख २ हजार ८ सय ४० रुपैयामा २ अर्ब ६२ करोड ३८ लाख ४२ हजार २ सय ४७ रुपैयाँ खर्च भएको छ। 
खर्चसँगै जिल्लामा आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लाबाट २ अर्ब ७८ करोड ६ लाख ५३ हजार २ सय ४४ रुपैयाँ राजश्व संकलन भएको छ। संघीय सरकार अन्र्तगत २ अर्ब ७५ करोड १ लाख ३३ हजार २ सय १९ रुपैयाँ जम्मा भएको छ भने प्रदेश सरकार अन्र्तगत ३ करोड ५ लाख १९ हजार ९ सय ४४ रुपैयाँ आम्दानी भएको छ। आन्तरिक राजश्व कार्यालय काभ्रेले २ अर्ब ४१ करोड १२ लाख ४१ हजार २ सय ६७ रुपैयाँ राजश्व संकलन गरेको छ। संघीय सरकार अन्र्तगतका ३३ र प्रदेश सरकार अन्र्तगतका १३ वटा कार्यालयले राजश्व दाखिला गरेका छन्। आन्तरिक राजश्व कार्यालय धुलिखेलले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका करदाताहरुबाट २ अर्ब ७८ करोड ५४ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। आर्थिक वर्ष २०७५÷०७६ मा उक्त कार्यालयले २ अर्ब ३५ करोड ३५ लाख १८ हजार रुपैयाँ संकलन गरेको थियो। प्रतिशतका आधारमा अघिल्लो आर्थिक वर्ष भन्दा २०७६÷०७७ मा १८ प्रतिशत धेरै राजश्व संकलन गरेको भए पनि लक्ष्यमा पुग्न सकेन। राजश्व उठाउने लक्ष्य भन्दा कम अर्थात ८४.१९ प्रतिशत मात्रै राजश्व संकलन भयो। जिल्लाको हकमा उक्त कार्यालयले २ अर्ब ४२ करोड राजश्व संकलन गरेको छ। कोरोना महामारीका बाबजुत भएको आम्दानी र विकास निर्माणको खर्च सन्तोषजनक नभए पनि आशालाग्दो भने देखिएको छ।