2026 May 16/ 06:25: 09am

    धुलिखेल नगरपालिकाले गत साता तालिम लिने र रोजगार दिनेहरु बीच अन्र्तक्रिया कार्यक्रम आयोजना ग¥यो । यो स्थानीय तहले गरेको नयाँ अभ्यास हो । जसले तालिम दिन्छ उसले तालिम दिने ब्यक्तिहरुलाई अवसरको खोजी गरिदिनु उपयुक्त र असल अभ्यास हो । स्थानीय सरकारको असल कार्यहरु मध्ये यो नमुना हो । आफ्नो नगरका नागरिकहरुलाई रोजगार बनाउन र रोजगार नागरिकहरुबाट समृद्धी हासिल गर्न तर्फ उन्मुख भएको संकेत गर्छ । त्यतिमात्रै नभई रोजगारदाताहरुलाई पनि नगरपालिकाले सहुलियत प्रदान गर्नु अर्काे असल कार्य हो । यसले स्थानीय सरकारहरु स्थानीय स्तरमै अवसरका लागि प्रयासरत भएको देखाएको छ । 
    जिल्लामा हरेक वर्ष झण्डै ५ हजार ब्यक्तिहरुले विभिन्न प्रकारका सिपमुलक तालिम लिने प्रारम्भिक तथ्याङ्क छ । घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलले आर्थिक वर्ष २०७५/२०७६ मा ९ सय २७ जनालाई सिप विकास तालिम प्रदान गरेको छ भने १ सय २३ जनालाई प्रविधी हस्तान्तरण गरेको छ । स्थानीय तहहरुले पनि हरेक वर्ष झण्डै ३ सय भन्दा धेरै ब्यक्तिहरुलाई विभिन्न किसिमको सिप दिने गरेका छन् । सिप लिएका अधिकांश ब्यक्तिहरु बेरोजगार बन्ने गरेको उदाहरण प्रस्तुत गर्दै धुलिखेल नगरपालिकाले ग्लोबल इक्ष्टिच्युट अफ होटल म्यानेजमेन्टद्वारा नगरपालिकासँग संयुक्त रुपमा संचालन गरिएको वेटर र हाउस किपिङ सम्बन्धि तालिममा सहभागिहरुलाई रोजगारीको अवसर उपलब्ध गराउने होटल एसोसिएसनका सदस्यहरुले प्रतिवद्धता ब्यक्त गरेका छन् । धुलिखेलमा रहेका अधिकांश होटलहरुलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गरी रोजगार उपलब्ध गराउँदा नगरपालिकाले होटलहरुसँग लिदै आएको राजश्वमा समेत छुट गर्नेछ । धुलिखेल भित्रका नागरिकहरुलाई रोजगारको अवसर दिने होटल तथा उद्योगहरुलाई नगरपालिकाले लिदै आएको करमा सहुलियत दिनेछ । २ वर्षको बीचमा नगरपालिकाले ४ सय ६० जनालाई सक्षम बनाई आत्मनिर्भर बनाएको छ । 
    जिल्लाका विभिन्न पालिकाहरुले विभिन्न क्षेत्रको तालिम उपलब्ध गराउँदै नागरिकहरुलाई दक्ष र आत्मनिर्भर बनाएका छन्  तर रोजगारका बारेमा सोचेका छैनन । स्थानीय सरकारले आफुसँग सिप लिने ब्यक्तिहरुको आवस्था, उनिहरुलाई भएको समस्या र उद्योग तथा ब्यवसायमा सहयोग गर्न सक्ने आधारहरुका बारेमा खोजी गरेको छैन । सिप लिएर कोहि विदेशिएका छन् भने कोहि बेरोजगार छन् । कोहि आत्मनिर्भर बन्ने प्रयासमा छन् । स्थानीय सरकार, नीजि क्षेत्र र सरकारका अन्य निकायहरुले सिप प्राप्त जनशक्तिलाई अवसरको विषयमा सोच्नु जरुरी छ । सिपसँगै अवसर प्रदान गर्ने हो भने विदेशिने जनशक्ति विस्तारै घट्नेछ ।