2026 May 16/ 06:25: 07am

    २३ वर्षपछि छिमेकी राष्ट्र शक्तिशाली मुलुक चीनका राष्ट्रपति सी चीनफिङको दुईदिने नेपाल भ्रमण उपलब्धी मुलक भएको छ । नेपाल र नेपालीहरुलाई आशा जगाउने महत्वपूर्ण भ्रमणका उपलब्धीहरुलाई दुवै देशले इमान्दारीपूर्वक कार्यान्वयन गर्नु जरुरी छ। सरकारसँग भएका सम्झौताहरु कार्यान्वयन एउटा पाटो हो भने पार्टीका नेताहरुसँग भएका वान टु वान वार्ता र सामूहिक भेटघाटका क्रममा भएका सम्झौता तथा महत्वपूर्ण विषयलाई कार्यान्वयन गर्नु जरुरी छ। सरकार पार्टीले निर्देशित गर्छ। पार्टीका नेताहरु अनुशासित हुनुपर्छ। पार्टीले बनाएको नीति अनुसार मुलुकको भाग्य रेखा कोर्न सक्ने क्षमता भएको नेतृत्व आवश्यक छ। 
    नेपालमा विश्वास गर्न सकिने स्थायी कम्युनिष्टको सरकार छ। त्यहि देखेर छिमेकी देश चीनले नेपाल सरकार र नेपालका पार्टीहरुलाई स्थायीत्व, इमान्दारिता र अनुशासित भएर जनताको मन जित्न सुझाव दिएका छन्। राष्ट्रपति सी चीनफिङले नेपाललाई भुपरिवेष्ठितबाट भुजडित बनाउन सहयोग पु¥याउने बताएका छन्। यसको अर्थ महत्वपूर्ण छ। पहुँच नभएको मुलुकले विश्व हल्लाउने मुलुकसँग प्राप्त गर्ने थुप्रै विषय मध्ये यी महत्वपूर्ण हुन्। प्रकृतिले नेपाललाई दिएका अनेक सकारात्मक तत्वका बीचमा भूपरिवेष्ठित हुनुको सीमाले नेपालको राष्ट्रिय चरित्रमा भारतसँग एकादेशीय निर्भरता गाँसिदिएको थियो। नेपालको राष्ट्रिय मनोविज्ञानलाई पनि भूपरिवेष्ठित हुनुको पीडाले प्रभावित गरि नै रहेको छ। नेपाली नागरिकको सोच्ने तरिका, आन्तरिक राजनीति र विदेश नीतिलाई खुम्च्याई दिएको थियो। तीन तिरबाट नेपाललाई घेर्ने भारतमाथि पनि यसले नेपालका लागि केही गरिदिइरहनु पर्ने निरन्तरको दवाब पैदा गरेको थियो। भारतले नेपालको भौगोलिक बाध्यताबाट फाइदा लिन पनि खोजिरहेकै हुन्छ। नेपालका लागि स्वतन्त्र भौगोलिक पहुँचको नयाँ वैकल्पिक मार्ग स्थापित भएपछि भारतसहित सबै मुलुकसँग सम्मानजनक र मित्र्वत् सम्बन्धको नयाँ आधारशीला तयार भएको छ। सन् २०१६ मा प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि भूगोलको बन्धनबाट नेपालको उन्मुक्तिको समय नजिकिँंदै आएको आभाष भएको हो ।
    सीको भ्रमणले त्यो आभाष थप बलशाली बनाएको छ। भूपरिवेष्ठित भूगोलबाट मुक्त हुने नेपाली सपनालाई सघाउने प्रतिबद्धतासहित नेपाल अब भू–जडित हुने सीको घोषणा नै भ्रमणको सबभन्दा ठूलो उपलब्धि हो। संयुक्त वक्तव्यमा उल्लेख भएका विकास परियोजनाहरू यही बृहत्तर ‘मिसन’लाई सघाउन केन्द्रित छन्। चीन, भारत वा अन्य मित्रराष्ट्रको सहयोग नेपालको विकासका लागि दोस्रो विषयमात्र हो। नेपाली नागरिकको आफ्नै मिहिनेत र सरकारको नेतृत्व कुशलता विकासको पहिलो र अन्तिम सर्त हो। नेपालीले जति मेहनत गर्छन् त्यसले मुलुक बनाउन सक्छन् भन्ने विश्वास पनि अन्य मुलुकमा परेको छ। नेपालीहरुको क्षमता अनुसार मुलुक निर्माणमा अग्रसर हुने बेला आएको छ। छिमेकी सहयोगलाई भरपूर उपयोग गरी मुलुक समृद्ध बनाउने अभियानमा यो भ्रमण अझै महत्वपूर्ण भएको छ।