बनेपा/नेपाल शैक्षिक परामर्श संघ (इक्यान) काभ्रेपलाञ्चोकको आयोजनामा देउसी–भैलो कार्यक्रम सम्पन्न भएको छ । नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा संस्थाका सदस्यहरू तथा विभिन्न कलाकारहरूले देउसी–भैलो प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सांस्कृतिक संरक्षणसँगै वैदेशिक अध्ययनका लागि विभिन्न मुलुक पुगेका विद्यार्थीहरूले पालना गर्नुपर्ने अनुशासन, अपनाउनुपर्ने सावधानी तथा ध्यान दिनुपर्ने विषयहरूलाई समेत देउसी–भैलोमार्फत सन्देशका रूपमा प्रस्तुत गरिएको थियो । इक्यान काभ्रेपलाञ्चोकका जिल्ला अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इक्यानका केन्द्रीय प्रथम उपाध्यक्ष बासुदेव दाहाल, द्वितीय उपाध्यक्ष विकल्पराज पोखरेल, केन्द्रीय सदस्यहरू अनन्तराज घिमिरे तथा विवेक बस्नेत, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोद न्यौपाने, फेकनका केन्द्रीय सदस्य सन्तोष घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी इक्यान काभ्रेका पदाधिकारी तथा सदस्यहरू, विभिन्न शैक्षिक परामर्श केन्द्रका सञ्चालकहरू र विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा अशोक तिमल्सिनाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संचालन सचिव बालकृष्ण न्यौपानेले गरेका थिए ।









