2026 October 09/ 04:32: 54am

    पनौती/रोटरी क्लब अफ पनौतीले यस वर्ष पनि विश्व रेबिज दिवसका अवसरमा पनौती–७ मा रहेका कुकुर र बिरालोहरुका लागि रेबिजविरुद्धको निःशुल्क खोप साथै जुकाको औषधि वितरण गरेको छ ।
    रेबिजलाई पशुकोमात्रै समस्या ठान्ने प्रवृत्तिलाई हटाउन र ‘एक स्वास्थ्य नीति’लाई समुदायस्तरबाट प्रवद्र्धनका निम्ति क्लबले पूर्व अध्यक्ष रोटरियन मणिप्रसाद सापकोटा पनौती नगरपालिका, कृषि तथा पशुपंछी शाखाका कार्यरत रहेकै बेलाबाट यो अभियान सुरु गरेको हो ।
    अभियानलाई पनौती नगरपालिका वडा नम्वर ७ को कार्यालय, पशु सेवा प्राविधिक समूह पनौती, पशु सेवा कार्यालय (तत्कालीन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र) धुलिखेलले सहकार्य गर्दै आएका छन् । यस्तै, नेपालकै अग्रणी पशुपंछी खोप तथा औषधि आयातकर्ता कान्तिपुर भेट डिष्ट्रि«व्यूटर्स प्रालिले युरोपियन रेबिज भ्याक्सिन (बायोक्यान–आर) र मुलुककै औषधि उत्पादक क्यूमेड फर्मूलेसन प्रालिले जुकाको औषधि(प्राजिक्वेन्टल) सहयोग गर्दै आएको छ ।
    क्लबका अध्यक्ष रोटरियन राजेश सुन्दर सैंजका अनसार सरकारी, गैरसरकारी एवं निजी कम्पनीको सहयोग र सहकार्यमा रोटरी क्लब अफ पनौतीले विगतदेखि नै भेटेरिनरी जनस्वास्थ्य प्रवद्र्धन गर्दै आएको हो । ‘अन्तर्राष्ट्रि«य संस्था रोटरीले पोलियो उन्मूलनमा सबैभन्दा ठुलो सहयोग गर्दै आएको छ भने विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरेको सन् २०३० सम्म कुकुरबाट मानिसमा सर्ने रेबिजका कारण हुने मानव मृत्युलाई शून्यमा झार्ने विश्वव्यापी लक्ष्य ‘जिरो बाई ३०’ लाई क्लबको सर्भिस प्रोजेक्टका रुपमा अँगाल्दै लक्ष्य हासिलका लागि योगदान गर्दै आएको छ’– सैंजुले भने ।
    यसै गरी क्लबले हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने विश्व स्कुल दूध दिवस यस वर्ष पनौती–४ स्थित बालोद्वार माध्यमिक विद्यालयमा मनाएको छ । बलियो हड्डी, बलियो शरीर ः खेलकुद र विकासका लागि दूध अमूल्य आधार भन्ने मूल नाराका साथ यो दिवस नेपालसहित संसारभर मनाइएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) को आह्वानमा सन् २००० देखि मनाउन थालिएको यो दिवस विद्यालयमा दूधको महत्वबारे जनचेतना अभिवृद्धि तथा विद्यालय दूध कार्यक्रम प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमसहित मनाइने गरिएको छ ।
    रोटरी क्लब अफ पनौतीले सो क्लबका पूर्व अध्यक्ष एवं पनौती नगरपालिका कृषि तथा पशुपंछी शाखाका पुर्व प्रमुख मणिप्रसाद सापकोटाको पहलमा सुरु भएको विश्व स्कूल दुध दिवसलाई निरन्तरता दिँदै ७ वर्षदेखि सामुदायिक स्कूलहरुमा यसै गरी मनाउँदै आएको छ । विद्यालय तहदेखि नै दूध तथा दुग्धजन्य पदार्थको पौष्टिक महत्व, सुरक्षित तथा गुणस्तरीय दूधको सेवन र स्वस्थ खानपानबारे विद्यार्थीहरुमार्फत अभिभावकमा सचेतना बढाउन आवश्यक रहेको हुँदा विद्यार्थीलाई रोजिएको सापकोटाको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि एवं पनौती वडा नं। ४ का वडा अध्यक्ष दीपकप्रसाद दाहालले पनौती नगरपालिकाले नगरलाई पोषणमैत्री नगर बनाउने घोषणा समेत गरेको सन्दर्भमा यसको लक्ष्य प्राप्तिका लागि पनि दुधको सेवन महत्वपूर्ण हुने बताए ।
    पनौती नगरपालिका पशुपंछी शाखाकी प्रमुख डा. दीपिका रेग्मीले दूध तथा दुग्धजन्य पदार्थहरु प्रोटिन, क्याल्सियम, भिटामिन बी–१२ लगायतका पोषक तत्वका स्रोत भएकाले बालबालिकाको सन्तुलित आहारको महत्वपूर्ण हिस्सा बन्न सक्ने बताइन् । विश्व स्कूल दुध दिवसलाई विगत ७ वर्षदेखि निरन्तर सहयोग गर्दै आएको पनौती–३, कुशादेवीस्थित हिमालयन दुग्ध चिस्यान केन्द्रका सञ्चालक रबिन्द्र हुमागाईंले बालबालिकाको पोषणमा टेवा पु¥याउन र प्रति व्यक्ति÷प्रति वर्ष दूधको उपभोग दर बढाउनका लागि विद्यालय दूध कार्यक्रमले विश्वव्यापी मान्यता प्राप्त गर्दै आएको सन्दर्भमा स्थानीयस्तरमा समेत प्रवद्र्धन गर्दै आएको बताए ।
    रोटरी क्लब अफ पनौतीका अध्यक्ष रोटरियन राजेश सुन्दर सैंजुले रोटरीका कार्यक्षेत्रका आयामहरुमध्ये मानव स्वास्थ्य र पोषणका क्षेत्रमा विगतदेखि नै सहयोग गर्दै आएको बताए । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष औसत दूधको उपलब्धता र खपत करिब ७२ देखि ७८ लिटर रहेको छ, जुन खाद्य तथा कृषि संगठन (एफएओ) र राष्ट्रिय दुग्ध विकास बोर्ड (एनडिबी) ले सिफारिस गरेको प्रतिव्यक्ति वार्षिक ९१ देखि ९२ लिटरको लक्ष्यभन्दा कम हो । यस्ता दिवसहरुका माध्यमबाट लक्ष्य पूरा गर्न सहज हुने आयोजकले आशा गरेका छन् ।