2026 October 09/ 04:32: 54am

    बनेपा/यात्रुको सुरक्षा तथा सहज यात्राका लागि काभ्रेपलाञ्चोकमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्लाका बीपी राजमार्ग, अरनिको राजमार्गलगायत विभिन्न स्थानमा गरी ६ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले बनेपा चारदोबाटोमा यात्रु सहायता कक्षको शुभारम्भ गरेका हुन् । सहायता कक्षले यात्रुहरूको सुरक्षा तथा यात्राका क्रममा आइपर्ने समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने एसपी कार्कीले बताए । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले यात्रु सहायता कक्षले नागरिकमा हुने भय, डर तथा त्रास न्यूनीकरण गर्न सहयोग पुग्ने बताए । यात्राका क्रममा हुने चोरी, पकेटमारी, लुटपाटलगायतका घटना रोकथाम तथा यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराउन सहायता कक्ष प्रभावकारी हुने उनको भनाइ छ ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले यात्रु सहायता कक्षमार्फत सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनमा समेत सहयोग पुग्ने बताए । यात्रु तथा सवारी चालकलाई ट्राफिक नियम पालना गर्न सचेत गराउने र सडक सुरक्षासम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउने काममा पनि सहायता कक्षको भूमिका रहने उनले बताए । यात्रु सहायता कक्ष शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, यातायात व्यवसायी, प्रहरी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
    प्रहरीका अनुसार यात्रु सहायता कक्षबाट यात्राका क्रममा समस्या परेका यात्रुलाई आवश्यक सूचना, सुरक्षा तथा सहजीकरण उपलब्ध गराइनेछ ।